'कृष्णको साधना र गुरु दक्षिणा' श्रृङ्‌खला अन्तर्गत अघिल्लो भागमा आफ्ना गुरुको पुत्र पुनर्दत्तलाई समुद्री डाँकुहरूले अपहरण गरेर लगेको कुरा थाहा पाएपछि कृष्णले गुरु दक्षिणाको रूपमा पुनर्दत्तलाई फर्काएर ल्याउने वाचा गर्छन् । यसको लागि उनले गुरु सन्दीपनीलाई ब्रह्मचर्यबाट एक वर्षको लागि छुट्टी दिन अनि समुद्री डाँकुहरूको खोजमा जान दिनको लागि अनुमति माग्छन् । अब अगाडि: 


सद्‌गुरु: पुनर्जन समूहको मुखिया पाञ्चजन्य जहाज लिएर आफ्नो धन्दाको लागि छिट्टै बन्दरगाहतर्फ आउने कुरा कृष्णले थाहा पाए । समुद्री डाँकुहरू एउटा ठाउँबाट सामान चोरेर अर्कै ठाउँमा बेच्दछन् । यस्ता लुटेराहरूले सामान बेच्ने काम मात्रै गर्छन्; उनीहरूले केही पनि किन्दैनन् । यो एक प्रकारको व्यापार थियो, अनि पाञ्चजन्य ठूलो व्यापारी थियो । पाञ्चजन्य त्यहाँ आइपुग्यो, आफ्नो जहाजलाई किनारातिर रोकेर अङ्कुश लगायो । ऊ आफ्नो जहाजबाट बाहिर आयो अनि बहुमूल्य रत्नहरू, दुर्लभ जडीबुटीहरू अनि मानिसहरूको मोलतोल गर्न थाल्यो ।

उसको धन्दा राम्रोसँग चल्दै गएकोले उसले अर्को एक महिना त्यहीँ रोकिने निधो गऱ्यो । पाञ्चजन्यको गतिविधहरू अनि उसको तौर–तरिकाहरू नियाल्दै कृष्णले धैर्यतापूर्वक त्यहीँ प्रतीक्षा गरिरहे । एकदिन पाञ्चजन्य आफ्ना सबै हिसाब–किताबहरू फत्ते पारेर सानो डुङ्गामा आफ्नो जहाजतर्फ आइरहेको थियो । यो सबै दृश्य नियालिरहेका कृष्ण र बलराम पौडिँदै जहाजतर्फ पुगे अनि जहाजमा चढेर भित्र लुके । केही समयपछि जहाजको चालक बिकरुले उनीहरूलाई फेला पार्यो । "को हौ तिमीहरू ? किन चढेको यो जहाजमा ?"- उसले सोध्यो ।

बिकरुलाई हेरेर कृष्ण मुस्कुराइरहे । उनीसँग भएको एकमात्र हतियार भनेको उनको मुस्कान थियो । कृष्ण मुस्कुराउँदै बोले, "हाम्रो भाइ पुनर्दत्तलाई तपाईंहरूले लिएर जानुभएको थियो । तपाईंहरूले उहाँलाई जहाँ छोड्नुभएको थियो, हामीलाई पनि त्यहीँ लिएर जानुहोस् । हामी आफ्ना दाइबाट टाढिएर बस्न सक्दैनौँ । हामी उहाँलाई फेला पार्न चाहन्छौँ ।"

ती केटाहरू कतिबेला जहाजबाट हाम फालेर जमिनतिर पौडिने कोशिस गर्लान् भन्ने कुरा दिमागमा खेलाउँदै बिकरुले दुवैमाथि नजर राखिरह्यो ।

यो देखेर बिकरु अचम्मित भयो । उसलाई यी दुवै केटाहरू स्थानीय चोर हुन् अनि जहाजबाट केही चोरेर लैजान आएका हुन् भन्ने लाग्यो । उसले भन्यो, "तिमीहरू यहाँ मेरो अगाडि आएर बस । नचलिकन बस्नू ।” जहाज अलि परसम्म जाँदै गर्दा यी केटाहरूले के गर्दा रहेछन् भनेर ऊ हेर्न चाहन्थ्यो । उसले यो सोच्यो कि अलि पर पुगेपछि केटाहरू दिक्क मानेर जहाजबाट हाम फाल्नेछन् । ती केटाहरू कतिबेला जहाजबाट हाम फालेर जमिनतिर पौडिने कोशिस गर्लान् भन्ने कुरा दिमागमा खेलाउँदै बिकरुले दुवैमाथि नजर राखिरह्यो ।

तर, दुवैजना त्यहीँ बसिरहे अनि ऊसँग हाँसो–ठट्टा गर्दै कुराकानी शुरु गरे । जहाज कसरी चलाइन्छ, ती कहाँ जान्छन्, कहाँ आउँछन् भनेर सोध्न थाले । यस्तै सामान्य कुराकानीहरू चलिरह्यो । कृष्णले सोधे, “म जहाज चलाउन सिक्न चाहन्छु । के तपाईं मलाई जहाज चलाउन सिकाइदिनु हन्छ ?” लामो समयदेखि अपराधको लागि मात्र जहाज चलाइरहेको बिकरुले पहिला कसैलाई पनि यसरी आनन्दपूर्वक हाँसिरहने अनि ऊसँग यसरी उत्सुक भएर कुरा गर्ने व्यक्ति देखेको थिएन । त्यसअघि, त्यहाँ त्यस्तो घटना कहिल्यै भएको थिएन । उसले आफ्नो जीवनमा आतङ्क, लुटपाट र हत्या जस्ता कुराहरू मात्र देखेको थियो । यी केटाहरूको रमाइलो कुराकानीबाट बिकरु प्रसन्न भएको थियो ।

तथापि, कतै यी केटाहरूको मनशाय केही अरू नै भएको अनि आफूले त्यो नबुझेको त होइन भन्ने सोचेर उसले जोखिम उठाउनु अनुचित ठान्यो । उसले दुवैजनाको हातखुट्टा डोरीले बाँधेर आफ्नो अगाडि बसाल्यो । ऊ एक पलको लागि पनि उनीहरूलाई आफ्नो नजरबाट पर राख्न चाहँदैनथ्यो ।

पाञ्चजन्य त्यहाँ आयो, उनीहरूलाई ध्यानपूर्वक हेऱ्यो अनि सोच्यो, "यो त राम्रो माल हो । यो निलो वर्णको केटालाई बेच्दा राम्रो दाम हात पार्न सक्छौँ । अनि, यो अर्को केटो पनि खासै नराम्रो छैन ।”

हातखुट्टा बाँधिएको अवस्थामा समेत कृष्णले जहाज कसरी सञ्चालित हुन्छ, कसरी ताराको सहायताले जहाजलाई दिशा–निर्देश गरिन्छ जस्ता प्रश्नहरू बिकरुलाई सोधिरहे । हातखुट्टा बाँधिएर के भयो त, तपाईं त्यसबेला पनि सिक्न सक्नुहुन्छ ! उनीहरूको कान त छोपिएका थिएनन् । त्यसैले, कुराकानी जारी रह्यो । यी सबैथोकले बिकरु पूरै अल्मलिएको थियो । यद्यपि, बिस्तारै उसलाई यी केटाहरू मन पर्न थाल्यो, किनकि उनीहरू साह्रै भलादमी थिए अनि जहाज चलाउनेबारे मात्रै जान्न चाहन्थे । यो मान्छेले ५० वर्षभन्दा पनि बढी समयदेखि जहाज चलाइरहेको थियो, अनि पहिलो पटक कसैले त्यसको बारेमा यसरी रुचि व्यक्त गरिरहेको थियो । जहाज कसरी सञ्चालन गर्ने भन्नेबारे बिकरु निपुण थियो अनि अब बल्ल उसलाई आफूले जानेको कुरा अरूलाई बाँड्ने मौका मिलेको थियो । ऊ उत्सुक हुँदै बोल्न शुरु गऱ्यो, “मेरो बुबाले पनि यही जहाज चलाउनुभएको थियो । जब उहाँ बित्नुभयो, मेरा काकाले यो जहाज चलाउन थाल्नुभयो अनि अहिले मैले यसलाई चलाउन थालेको पनि पचास वर्ष भइसक्यो...” रातभरि उनीहरूले जहाजकै बारेमा कुराकानी गरिरहे । बिहान हुँदासम्म उनीहरू राम्रा साथी बनिसकेका थिए— तर, कृष्ण र बलरामको हात–खुट्टाहरू अझै पनि बाँधिएका थिए !

जहाजको मूखिया पाञ्चजन्य निकै कडा मिजासको व्यक्ति थियो । यदि कुनै पनि कुरा उसले चाहेअनुरूप भएन भने, उसले कि त कडा दण्ड दिन्थ्यो वा निर्दयी भएर मारिदिन्थ्यो । त्यसैले, बिकरुले बिहानीको प्रतीक्षा गऱ्यो, ताकि ऊ पाञ्चजन्यलाई यो बताउन सकोस् कि जहाजमा दुईजना केटाहरू घुसेका छन् । पाञ्चजन्य त्यहाँ आयो, उनीहरूलाई ध्यानपूर्वक हेऱ्यो अनि सोच्यो, "यो त राम्रो माल हो । यो निलो वर्णको केटालाई बेच्दा राम्रो दाम हात पार्न सक्छौँ । अनि, यो अर्को केटो पनि खासै नराम्रो छैन ।” उसले बिकरुलाई आदेश दियो, "दुवैलाई कुनै भारी काममा नलगाउनू । यिनीहरूलाई राम्रोसँग खान दिनू र यहीँ राखिरहनू । यी केटाहरूलाई बेचेर हामी साँचिक्कै राम्रो दाम हात पार्न सक्छौँ । यी केटाहरू घामले डढ्नु हुँदैन अनि कुनै घाउचोट लाग्नु हुँदैन । यिनीहरू राम्रा छन् । दुवैलाई यही अवस्थामा राखीरहनू । दुवैको राम्रो हेरचाह गर्नू ।”

कृष्ण र बलरामलाई राम्रो भोजन दिइयो अनि उनीहरूको उचित हेरचाह गरियो । कृष्ण जहाजमा खुला रूपमा यताउती डुल्थे । उनले अरू मानिसहरूलाई पनि साथी बनाउन शुरु गरे । पाञ्चजन्यले उनको गतिविधि हेरिरहेको थियो । उसलाई मित्रता मन पर्दैनथ्यो । मित्रता खतरनाक हुन्छ ! ऊ जहाजका मानिसहरू जतिबेला पनि सावधान रहून् अनि आफूबाट भयभीत बनून भन्ने चाहन्थ्यो । जब उसले अरूहरूलाई पनि कृष्णसँग ठट्टा गर्दै कुराकानी गरिरहेका देख्यो, उसले कृष्णलाई भन्यो, "ल अब बढी नै भइसक्यो ! तिमी यता मेरो क्याबिनमा आऊ अनि यहीँ बसिरहनू, बाहिर निस्किने होइन !” कृष्ण पाञ्चजन्यसँग बसिरहे र ऊसँग पनि लामो कुराकानी शुरु भयो । अनजानमै, पाञ्चजन्यले पनि कृष्णका सबै प्रश्नहरूको उत्तर दिइरहेको थियो । ऊ कृष्णसँग लामो वाद-विवाद र वार्तालाप गर्न थाल्यो ।

डाँकुहरूको जहाजमा यो विचित्रको घटना भएको थियो । त्यसअघि जहाजमा त्यस्तो कहिल्यै भएको थिएन, जहाँ एउटा व्यक्तिले अर्को व्यक्तिसमक्ष गएर त्यसरी हेरचाह र प्रेम व्यक्त गरेको होस् ।

कृष्णले अर्को गन्तव्यको बारेमा जान्न चाहे । जहाजको चालक बिकरुले भने, "अर्को गन्तव्य कुशस्थली हो । हाम्रो मालिकले तिमीलाई त्यहाँ बेच्न चाहनुहुन्छ, तर यदि त्यहाँ तिम्रो भाउ राम्रो भएन भने, हामी तिमीलाई अर्को बन्दरगाह, व्यवस्थापुरीमा बेच्नेछौँ । त्यहाँ पुग्नको लागि लामो दूरीको यात्रा गर्नुपर्ने हुन्छ । त्यहाँ पक्कै पनि तिमी राम्रो दाममा बिक्नेछौ । हामीले सन्दीपनीको छोरा पुनर्दत्तलाई पनि त्यहीँ बेचेका हौँ ।"

कृष्णले भने, ”ल, ठिक छ ! म पनि यही चाहन्छु कि मलाई त्यहीँ बेचियोस् ।”

जहाजमा हुक्कू र हुल्लू नाम गरेका दुईजना अङ्गरक्षकहरू पाञ्चजन्यसँगै रहन्थे । विशालकाय शरीर भएका दुवै अङ्गरक्षकले पशुलाई हिर्काउने कोर्रा बोकिरहेका हुन्थे । यदि कसैले कुनै गडबडी गऱ्यो भने, उसलाई कोर्राले दण्ड दिइन्थ्यो ।

यात्राको क्रममा, राधी नाम गरेको युवक लामो समयसम्म काम गरिरहेको अनि सन्चो नभएकोले निदाउन पुग्यो । यो खबर पाञ्चजन्यसमक्ष पुग्यो । यस्तो कुरामा पाञ्चजन्यले दया देखाउने कुरै थिएन । अरूहरूले पनि यसबाट पाठ सिकून् भन्ने मनशायले, राधीलाई घिसार्दै जहाजको माथिल्लो तहमा लगियो । यसलाई ६ चोटि कोर्रा हिर्काउनू भनेर उसले हुक्कूलाई आदेश दियो । राधीलाई घोप्टो फर्काएर त्यो राक्षश जस्तो मान्छेले यसरी कोर्रा हान्यो कि उसको ढाड रगताम्मे भयो अनि ऊ बेहोश भयो । कृष्णलाई यो पूरै दृश्य पटक्कै मन परेन । जब राति भयो, कृष्ण र बलराम ती युवक भएतिर गए । कृष्णले उसको शिरलाई आफ्नो काखमा राखे । उनले उसलाई पानी पिलाए, कपडाले सबै घाउहरू सफा गरिदिए अनि जहाजमा भेटिएको मलहम लगाइदिए । ऊ नसुतुञ्जेल दुवैजना त्यहीँ पर्खिरहे ।

सबैले लुकीछिपी यो दृश्य हेरेका थिए । डाँकुहरूको जहाजमा यो विचित्रको घटना भएको थियो । त्यसअघि जहाजमा त्यस्तो कहिल्यै भएको थिएन, जहाँ एउटा व्यक्तिले अर्को व्यक्तिसमक्ष गएर त्यसरी हेरचाह र प्रेम व्यक्त गरेको होस् । उनीहरूलाई केवल आफ्नो चिन्ता हुन्थ्यो, कसैले पनि अरूलाई सहयोग गर्दैनथे, सबैजना पाञ्चजन्यको नियमहरूका बन्दी बनेका थिए । तर, यी दुईजना केटाहरू भने, आफ्नो त्यस कार्यको लागि भोलि कस्तो सजाय पाइने हो भन्ने कुराप्रति मतलब नै नराखी त्यस युवकको उपचार गरिरहेका थिए, अनि ऊ ननिदाउञ्जेल त्यहीँ पर्खिरहेका थिए ।

अर्कोदिन, १७ वर्षको अर्को केटाले केहि चोरेछ अनि उसलाई पनि दण्ड दिइयो—१२ कोर्रा ! बाह्र पटक कोर्रा हानिएपछि उसको ढाडको छाला नै निस्किएको थियो । रातमा कृष्ण र बलराम केटा सुतिरहेको ठाउँमा गएर पानी पिलाए, उसका घाउहरू सफा गरिदिए र अनि औषधी लगाइदिए । पिडाले केटा एकदमै छटपाटइरहेको हुनाले दुवैजना त्यहीँ बसिरहे ।

अचानक, विशालकाय शरीर भएको व्यक्ति ढोकामा देखा पऱ्यो । हुल्लू आइपुगेको थियो । कृष्ण र बलराम बिहान सजाय पाएको केटासँग बसेका अनि त्यसमाथि उसको औषधि–उपचार गरिरहेका दृश्यले हुल्लू चकित पऱ्यो ।

उसले सोध्यो, “तिमीहरू यहाँ के गरिरहेका छौ ?"

कृष्णले भने, "हामी उसलाई निदाउन सहयोग गरिरहेका छौँ ।"

हुल्लूले भन्यो, "तिमीहरूले यस्तो काम गर्न मिल्दैन । यो हाम्रो मालिकको आदेश हो ।"

कृष्णले भने, “तर, म त यही गर्छु । यदी कोही पिडामा छ भने, उसको मद्दतको लागि म त्यहाँ हुनेछु । तिम्रो मालिकले मलाई रोक्न सक्दैनन् ।”

भलै, हुल्लू शक्तिशाली भएपनि, ऊसँग यस्ता कुराहरूको लागि कुनै उत्तर थिएन । उसलाई आफ्नो सामुन्नेका मानिसहरूको भयभीत अनुहार मात्र हेर्ने बानी परेको थियो । तर, यहाँ यस्तो केटा थियो, जो उसलाई हेरेर मुस्कुराइ रहन्थे, कुराकानी गर्थे अनि उसलाई उसको कामको बारेमा थुप्रै प्रश्नहरू सोध्थे । हुल्लू अक्क न बक्क परे, किनकि यस्तो व्यक्तिलाई के गरिनुपर्छ भनेर उसलाई थाहा थिएन ।

उसले भन्यो, "तिमी मसँग आऊ । म तिमीलाई हाम्रो मालिकसमक्ष लैजान्छु । तिमी यी सबैकुराहरू उहाँसँगै गर्नू । यी सबैथोक मेरो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो ।"

हुल्लूले कृष्ण र बलरामलाई पाञ्चजन्यको कक्षमा लिएर गयो । पाञ्चजन्य एकदमै क्रोधित भयो र सोध्यो, "तिमीहरू त्यहाँ के गर्दै थियौ ?”

कृष्णले भने, "हामी त उसलाई निदाउन सहयोग गरिरहेका थियौँ । के यसमा केही समस्या छ ?” पाञ्चजन्य चिच्यायो, "मेरो जहाजमा तिमीहरूलाई जथाभावी गर्ने अधिकार छैन ।”

“यदि मैले कसैलाई दु:खमा देखेँ भने, उसको निम्ति म त्यहाँ अवश्य पुग्नेछु । यही मेरो धर्म हो । मलाई यो पालन गर्नबाट कसैले पनि रोक्न सक्दैन ।"

पाञ्चजन्य कड्कियो, "के हो यो वाहियात् धर्म ? यो जहाजमा म नै कानुन हुँ । यहाँ मैले जे भनेँ, त्यहीँ हुनुपर्छ । मैले 'त्यस्तो नगर्नू' भनिसकेँ ।”

तब कृष्णले भने, “मसँग त्यस्तो चल्दैन । म जहाँसुकै भएपनि, म आफ्नो धर्मको पालना गर्छु । मेरो धर्म यही हो कि जसलाई सहायताको खाँचो छ, म अवश्य पनि उनीहरूको मद्दत गर्नेछु, चाहे कानुनले जेसुकै भनोस् ।"

यी केटाहरूलाई पाठ पढाउनै पर्ने भयो भन्ने विचार मनमा उब्जिए तापनि, दुवैजना राम्रो भाउमा बिक्ने सोचले पाञ्चजन्य रोकियो । यदि उनीहरूलाई कोर्रा हानेर ढाड खुइल्याइयो भने, उनीहरूको राम्रो मोल आउने थिएन । त्यसैले, उसले आदेश दियो, "हुल्लू, यिनीहरूलाई त्यो कोठाको खोरमा बन्द गर्नू । खान दिइरहनू, तर बाहिर निस्किन नपाऊन् । कोर्रा लगाउनुको फाइदा छैन, किनकि भाउ घट्नेछ ।” दुवैजनालाई लगियो र काठको खोरभित्र बन्द गरियो ।

पाञ्चजन्यको अगाडि त्यसरी उभिएर निडर भई बोल्ने हिम्मत पहिला कसैले गरेको थिएन । अझ त्यसमाथि, उसको आदेश नमान्ने व्यक्ति जीवितै रहनु त कल्पनाभन्दा परको कुरा थियो ।

यति बेलासम्म जहाजमा काम गर्ने मानिसहरूमाझ दुवैजनाको बारेमा थुप्रै कथाहरू फैलिसकेको थियो । आफूभन्दा निकै साना र फुच्चे देखिने केटाहरूले यी सबैथोक कसरी गरिरहेका छन् भनेर उनीहरूलाई बुझ्न कठिन भएको थियो । उनीहरूले निष्फिक्री रूपमा आफ्नै तरिकाले काम गरेका देखेर अरू मानिसहरू दङ्ग परिरहेका थिए । पाञ्चजन्यको अगाडि त्यसरी उभिएर निडर भई बोल्ने हिम्मत पहिला कसैले गरेको थिएन । अझ त्यसमाथि, उसको आदेश नमान्ने व्यक्ति जीवितै रहनु त कल्पनाभन्दा परको कुरा थियो । तसर्थ, बिस्तारै–बिस्तारै अशिक्षित कामदारहरूमाझ ती केटाहरूमा अद्‌भुत शक्ति हुनुपर्छ भन्ने कुराहरू फैलिन थाल्यो । उनीहरूलाई यस्तो लाग्न थाल्यो कि दुवैजना मानिसहरू होइनन्, बरु कुनै आत्माहरू हुन् ! विशेषगरि हुल्लू र हुक्कूले उनीहरूलाई आत्मा नै मान्न थालेका थिए, किनकि उनीहरूको पालन–पोषण त्यस्तो ठाउँमा भएको थियो, जहाँ आत्मा जस्ता कुराहरूलाई निकै मानिन्थ्यो । उनीहरूलाई भूत–प्रेतको कुराहरूले सताउन थाले । त्यसैले, उनीहरूले जहाजमा रहेको दुष्ट आत्माले केही नबिगारोस् भनेर प्रार्थना गर्न थाले ।

अबेर रातमा जहाजका चालक बिकरु कृष्णलाई भेट्न गयो अनि भन्यो, "हामी दिशा बदल्दै छौँ । अब हामी व्यवस्थापुरी नजाने । हामी त्योभन्दा पनि पार जाँदै छौँ ।" कृष्णले बिकरुलाई झट्टै भनिहाले, "म व्यवस्थापुरी नै जान्छु । मलाई यो खोरबाट छिटो निकाल्नुहोस्, नत्रभने म यसलाई भत्काएर बाहिर आउने छु ।”

बिकरुले भन्यो, "त्यस्तो कुनै काम नगर्नू । यदि तिमीले त्यसो गऱ्यौ भने, तिमीलाई मृत्युको सजाय हुनेछ ।"

कृष्णले भने, "यसको ताला तोड्ने उपाय निकाल्नुहोस् अनि मलाई बिहानसम्म यहाँबाट मुक्त गर्नुहोस् । यदि तपाईंले मेरो मद्दत गर्नुभएन भने, म यो ताला तोडेर आफैँ बाहिर निस्किनेछु । यदि तपाईंले मलाई अन्यत्रै लैजानुभयो भने, म त्यहाँ के गरूँ ? म त व्यवस्थापुरी जान चाहन्छु ।"

बिहानपख हुनै लाग्दा, कृष्णले खोरलाई भत्काएर बाहिर आए । कृष्णले जुन मिस्त्रीको उपचार गरिदिएका थिए, उसले चूपचाप खोरलाई पहिलेकै अवस्थामा जोडिदियो । कृष्ण र बलराम जहाजको माथिल्लो भागमा गए अनि खुल्ला रूपमा हिँड्न थाले । पाञ्चजन्यले यो कुरा चाल पायो अनि जङ्गिदै सोध्यो, "यिनीहरूलाई कसले बाहिर निकाल्यो, हँ ?”

सबैले भने, ”कसैले पनि बाहिर निकालेको होइन ।”

“ए ! त्यसोभए, के तिनीहरूले खोरलाई भत्काए । यदि त्यसो हो भने, दुवैलाई मृत्यु दण्ड हुनेछ । चाहे पैसा पाऊँ वा नपाऊँ, अब त अत्ति भयो ! यी दुवै स्वाँठहरूको खेल खत्तम गरिदिन्छु । गएर हेर्नू, खोर भत्काएको हो कि होइन ?”

हुल्लू गयो अनि खोरको जाँच गऱ्यो । उसले खोर पहिलेकै अवस्थामा देख्यो । खोर जस्ताको त्यस्तै थियो । त्यसको ताल्चा जहीँको त्यहीँ थियो । तर, केटाहरू चाँहि बाहिर निस्किएका थिए । ऊ एकदमै भयभीत भयो । यी साँच्चिकै कुनै दुष्ट आत्माहरू हुनुपर्छ ! थरथर काँप्दै हुल्लू पाञ्चजन्य भएतिर गयो अनि भन्यो, "यी केटाहरूले खोर भत्काएका होइनन् । ताल्चा जस्ताको त्यस्तै छ । तर, खै कसरी यिनीहरू बाहिर निस्किए ?"

यो सुनेर पाञ्चजन्य पनि अलिकति हच्कियो, "होइन, यी कस्ता खालका केटाहरू हुन् ?"

हुल्लूले कृष्णलाई हेऱ्यो । कृष्ण उसलाई हेरेर मुस्कराए । हुल्लू भयभीत भयो ।

यी सबैथोकले जहाजमा रहेका मानिसहरूबिच गलत सन्देश फैलिएको कुरा महसुस गरेपछि, पाञ्चजन्यले सबैको अगाडि दुवैजनालाई दण्डित गर्ने निधो गरे । उसले सबै कामदारहरूलाई छतमा बोलायो, अनि दुवैजनालाई त्यही ल्याइयो । उसले हुल्लूलाई आदेश दियो, "यी केटाहरूलाई कोर्रा हान्नू ।”

हुल्लूले कृष्णलाई हेऱ्यो । कृष्ण उसलाई हेरेर मुस्कराए । हुल्लू भयभीत भयो । "यो कुनै प्रकारको दुष्ट आत्मा हुनुपर्छ । यो केटाले खोर नभत्काइकनै बाहिर आयो । यहाँ आएदेखि केही न केही विचित्र कार्यहरू गरिरहेको छ ।” उसले दुष्ट आत्माहरूको बारेमा सुनेको सबै कथाहरू उसको दिमागमा बेसरी घुम्न थाल्यो । हुल्लू यति डरायो कि उसले कोर्रा चलाउनै सकेन ।

पाञ्चजन्यले त्यहाँको स्थिति आफ्नो नियन्त्रणबाट बाहिर जाँदै गरेको महसुस गऱ्यो । त्यहाँ उपस्थित अरू मानिसहरूलाई हुक्कू र हुल्लूले आफ्नो निर्देशन पालना नगरेको जस्तो आभास नहोस् भन्ने चाहनाले उसले भन्यो, "खै, त्यो कोर्रा । म नै यिनीहरूलाई बजाइदिन्छु ।"

पशुहरूमाथि प्रयोग गरिने त्यस किसिमको लामो कोर्रा चलाउनको लागि विशेष सीप चाहिन्छ । यो काम सबैले गर्न सक्दैनन् । यदि तपाईंले कसरी कोर्रा चलाउने भनेर जान्नुभएको छैन भने, तपाईंले आफ्नै ढाड सेक्नुहुनेछ !


 
पाञ्चजन्यलाई कसरी कोर्रा चलाउने भनेर थाहा थिएन । जबकि, कृष्णको पूरै बाल्यकाल गाईवस्तुहरू चराउँदै बितेको थियो, त्यसैले उनलाई राम्रोसँग कोर्रा चलाउन आउँथ्यो । पाञ्चजन्यले कृष्णमाथि कोर्रा हिर्काउन खोज्यो, तर ठीकसँग लागेन । प्राय: कोर्राले हिर्काउँदा ढाडको छाला नै निस्किन सक्छ, तर कृष्णको ढाडमा यसले सानो निशान मात्र बनायो । त्यसैबेला, कृष्णले कोर्राको अर्को छेउ समाते अनि उसको हातबाट खोसे अनि पाञ्चजन्यको प्राण निस्किने गरी कोर्राले हिर्काए ! पाञ्चजन्य यति नराम्रोसँग पिटियो कि उसको पूरै छाला खुइलियो अनि ऊ बेहोश भयो । हुक्कू र हुल्लूको सहयोगमा कृष्णले पाञ्चजन्यलाई उसको कक्षमा लगे, अनि उसको घाउमा औषधी पनि लगाइदिए ।

केही समयपछि जब पाञ्चजन्य होशमा आयो, तब कृष्णले उनलाई सम्झाप्ए, "हेर, तिमीसँग मेरो केही लिनुदिनु छैन । मेरो एकमात्र उद्देश्य भनेको आफ्ना गुरुको पुत्रलाई बचाउनु हो, जसलाई तिमीले बेचिदिएका थियौ । मलाई थाहा छ कि मेरा गुरु वा उहाँको छोराप्रति तिम्रो मनमा कुनै प्रकारको द्वेष छैन । तिमी आफ्नो व्यापार गरिरहेका छौ । तिमी लुटेरा हौ । यही तिम्रो धर्म हो, त्यसैले तिमी त्यही गरिरहेका छौ । म आफ्नो शिष्यको धर्म पालना गरिरहेको छु । मलाई व्यवस्थापुरीमा उतारिदेऊ अनि तिमी आफ्नो बाटो लाग । म तिमीसँग कुनै सरोकार राख्न चाहँदिनँ ।

तर, पाञ्चजन्य सजिलै मान्ने वाला थिएन । ऊ पीडाले तड्पिरहेको थियो, तर त्योभन्दा पनि बढी आफ्ना कामदारहरूको अगाडि भएको अपमानको आगोले भित्रैबाट जलिरहेको थियो । यदि उसले कुनै कठोर कदम चालेन भने, त्यसउपरान्त कसैले पनि उसको आदेशको पालना गर्ने छैनन् भन्ने कुरा उसले राम्रोसँग बुझेको थियो । जहाजको कप्तानको रूपमा उसको सत्ता समाप्त हुने थियो ।

पाञ्चजन्यसँग एउटा निकै सुन्दर शङ्ख थियो, जुन उसले जतिबेला पनि आफ्नो काँधमा सजाएर राख्थ्यो । आदेश दिन, जहाजलाई दिशा प्रदान गर्न अनि यस्तै अरू कामहरूमा शङ्खको प्रयोग गरिन्थ्यो । कृष्णले त्यो शङ्ख देखे । त्यो अत्यन्तै सुन्दर र उत्कृष्ट ढङ्गले बनाइएको थियो । जब कृष्णले शङ्ख फुके, असाध्यै सुरिलो ध्वनि निस्कियो । कृष्णले पाञ्चजन्यको शङ्ख लिए अनि भने, "म यो शङ्ख आफूसँगै राख्नेछु । म यसलाई पाञ्चजन्यबाट पाएको उपहारको रूपमा सम्झिनेछु ।" कृष्णले त्यो शङ्खको नाम पनि पाञ्चजन्य राखिदिए, अनि त्यो शङ्ख सधैँभरि आफूसँगै राखे । महाभारतको युद्धको बेला पाञ्चजन्य शङ्खले अहम भूमिका निभाएको थियो । यसलाई शक्ति र विजयको प्रतीक मानिन्थ्यो ।

राति कृष्ण जहाजको माथिल्लो कक्षमा गए । उनीहरूले जहाजलाई व्यवस्थापुरीतर्फ मोडे । कृष्ण जुन ठाउँमा जान चाहन्थे, त्यो यस्तो राज्य थियो जहाँ महिलाको शासन थियो अनि त्यहाँका मानिसहरू उनलाई देवी माता मान्दथे । कृष्णले जहाज चलाउन सिकिसकेका थिए अनि राति उनी आफैँले जहाजलाई अघि लगिरहेका थिए ।

त्यसैबेला, कृष्णले विशाल आकृति देखे, जसको हातमा सानो छुरी थियो अनि आफू भएतिरै आइरहेको थियो । ऊ पाञ्चजन्य थियो, जो हमला गर्न आएको थियो । त्यस्तो विशालकाय मान्छे अनि त्यसमाथि हातमा छुरी लिएर आएको हुँदा, ऊसँग लड्न निकै कठिन हुने कुरा कृष्णलाई थाहा थियो । कृष्णले त्यसबाट उम्किने उपाय खोजे । तर, आफ्नो ज्यान बचाउनको लागि उनले जहाजबाट बाहिर हाम फाल्नुपर्ने विकल्प मात्र देखे ।

जब कृष्णले पानीमा हाम फाल्नै लागेका थिए, ठीक त्यसैबेला हुल्लू त्यहाँ आइपुग्यो । आफ्नो पूरै जीवन पाञ्चजन्यको दास बनेर सेवा गरेको हुल्लूले त्यो स्थिति देख्नेबित्तिकै पछाडिबाट पाञ्चजन्यलाई जुरुक्क उचाल्यो अनि समुद्रमा फ्याँकिदियो । पूरै शरीरको छाला उप्किएको व्यक्ति अनि त्यसमाथि नुनिलो पानी... ! त्यसपछि, उनीहरूले आफ्नो यात्रा जारी राखे ।

क्रमशः

Editor’s Note: Watch the Leela series, for more of Sadhguru’s talks on Krishna.

Image courtesy: Krishna blows the conch, Panchajanya, declaring the end of Mahabharata war, Wikipedia.