सद्‌गुरुः यस धर्तीमा स्त्रैण (स्त्री प्रकृति) को पूजा निकै प्राचीन समयदेखि चलिआएको छ, जुन यहाँ मात्र नभई यूरोप, अरब साथै अफ्रिकाको ठुलो भागमा फैलिएको थियो । दुर्भाग्यवश, पश्चिममा कथित मूर्तिपूजा, विभिन्न देवी–देवताहरूप्रति रहेको आस्था र एकभन्दा बढी देवी–देवताहरूको पूजाको पूरै निशान मेटाउनको लागि सङ्गठित रूपमा सम्पूर्ण देवी मन्दिरहरूलाई ध्वस्त पारिएको थियो । विश्वका अन्य भागहरूमा समेत त्यही भयो ।

नवरात्रि पर्व दिव्यताको स्त्री प्रकृति अर्थात् देवीमा समर्पित छ । दुर्गा, लक्ष्मी र सरस्वती स्त्री प्रकृतिको तीनवटा आयामहरूको प्रतीक हुन् । साथै, तमस रजस र सत्त्व अर्थात् अस्तित्वका तीन मूल गुणहरूको प्रतीक समेत हुन् ।

यस संस्कृतिमा मात्रै देवीको पूजा अझै जारी छ । यो यस्तो संस्कृति हो, जसले हामीलाई आफ्ना आवश्यकताहरू अनुरूप आफ्नै देवी–देवताहरू स्थापना गर्ने स्वतन्त्रता दिएको छ । प्राण-प्रतिष्ठाको विज्ञानद्वारा हरके गाउँमा आफ्नो निश्चित आवश्यकताहरू अनुसार आफ्नै मन्दिर निर्माण गर्ने गरिन्थ्यो । आज पनि गाउँ–गाउँमा तपाईंले देवी मन्दिरहरू देख्न सक्नुहुन्छ ।

स्त्री प्रकृतिको लोप हुनु दुर्भाग्य

आजको समाजमा पौरुष (पुरुष प्रकृति) महत्त्वपूर्ण भएको छ । यस्तो किन भएको हो भने, हामीले हाम्रो जीविको-पार्जनलाई असाध्यै बढी महत्त्व दिएका छौँ । अहिलेको समाजमा अर्थशास्त्र (आर्थिक क्रियाकलाप) मानक भएको छ— सौन्दर्य वा नृत्य वा सङ्गीत वा प्रेम वा दिव्यता वा ध्यान होइन । जब आर्थिक पक्षलाई मात्र बढी महत्त्व दिइन्छ वा भनौँ जब जीवनका सूक्ष्म र सुन्दर पक्षहरूलाई उपेक्षा गरिन्छ, तब स्वतः पुरुष प्रकृतिको प्रभुत्व हुन्छ । यस्तो समाजमा स्त्री शक्तिलाई वशमा राख्नु वा शोषण गर्नु अवश्यम्भावी हो । त्योभन्दा पनि ठूलो दुर्भाग्य के हो भने, अहिले थुप्रै नारीहरूमा पुरुष जस्तै हुनुपर्छ भन्ने भावना जाग्दै गएको छ, किनकि उनीहरूले पुरुष प्रकृति बढी शक्तिशाली हुन्छ भनेर बुझेका छन् । यदि स्त्री प्रकृति नाश भयो भने, जीवनका सम्पूर्ण सुन्दर, सौम्य, सहज, प्रतिस्पर्धा–रहित तथा पोषण गर्ने गुणहरू लोप हुनेछन् । जीवनको अग्नि सधैँको लागि नष्ट हुनेछ । यो निकै भयानक क्षति हो, जसलाई सजिलै भरपाइ गर्न सकिँदैन ।

आधुनिक शिक्षाको दुर्भाग्यपूर्ण परिणाम यही हो कि हामी ती सबै चीजहरूलाई नष्ट गर्न चाहन्छौँ, जुन हाम्रा तर्क र कारणहरूको घेरामा पर्दैनन् ।

आधुनिक शिक्षाको दुर्भाग्यपूर्ण परिणाम यही हो कि हामी ती सबै चीजहरूलाई नष्ट गर्न चाहन्छौँ, जुन हाम्रा तर्क र कारणहरूको घेरामा पर्दैनन् । हामी यस हदसम्म पुरुष-प्रधान भएका छौँ कि यस संस्कृतिमा समेत देवीहरूको पूजा गोप्य रूपमा गर्न थालिएको छ । अधिकांश देवी मन्दिरहरूमा, सानो समूहका पुजारीहरूले मात्र मुख्य पूजा गर्ने गर्छन् । तथापि, यसको जरा यति बलियोसँग स्थापित छ कि यसलाई कहिल्यै पूर्णतया मेटाउन सकिँदैन ।

नवरात्रिको उत्सव

पहिलो तीन दिन देवी दुर्गामा समर्पित हुन्छ, अर्को तीन दिन देवी लक्ष्मीमा समर्पित हुन्छ र अन्तिम तीन दिन देवी सरस्वतीमा समर्पित हुन्छ ।

नवरात्रि पर्व दिव्यताको स्त्री प्रकृति अर्थात् देवीमा समर्पित छ । दुर्गा, लक्ष्मी र सरस्वती स्त्री प्रकृतिको तीनवटा आयामहरूको प्रतीक हुन् । साथै, तमस रजस र सत्त्व अर्थात् अस्तित्वका तीन मूल गुणहरूको प्रतीक समेत हुन् । तमस अर्थात् जडता । रजस अर्थात् सक्रियता, जोश । सत्त्व अर्थात् सीमाबाट पर जानु, विलिन हुनु अनि एक हुनु । जो व्यक्तिहरूमा बल वा शक्तिको आकाङ्क्षा हुन्छ, उनीहरू भूमि वा दुर्गा वा काली जस्ता स्त्रैण शक्तिहरूको पूजा गर्छन् । जो व्यक्तिहरूमा धन, जोश वा भौतिक वस्तुहरूको आकाङ्क्षा हुन्छ, उनीहरू लक्ष्मी वा सूर्यको पूजा-आराधना गर्छन् । जो व्यक्तिहरूमा ज्ञान पाउने, विलिन हुने वा नश्वर (नाशवान्) शरीरको सीमाभन्दा पर जाने तीव्र चाहना हुन्छ, उनीहरू सरस्वती वा चन्द्रमाको उपासना गर्छन् ।

नवरात्रिका नौ दिनहरूलाई यी मौलिक गुणहरूको आधारमा छुट्याइएको छ । पहिलो तीन दिन देवी दुर्गामा समर्पित हुन्छ, अर्को तीन दिन देवी लक्ष्मीमा समर्पित हुन्छ र अन्तिम तीन दिन देवी सरस्वतीमा समर्पित हुन्छ । दशौँ दिनलाई विजयादशमी भनिन्छ, जसले जीवनका यी तीनवटै पक्षहरूमाथि विजय प्राप्तिको सङ्केत गर्दछ ।

यो प्रतीक मात्रै होइन, बरु यो ऊर्जाको स्तरमा समेत सत्य हुन्छ । मनुष्यको रूपमा, हामी यस धरतीबाटै आउँछौँ अनि सक्रिय रहन्छौँ । केही समयपछि, हामी फेरि जडताको स्थितिमा फर्किन्छौँ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा मात्रै नभई आकाशगङ्गा र सम्पूर्ण ब्रह्माण्डमा समेत लागू हुन्छ । ब्रह्माण्ड, जड अवस्थाबाट उत्पत्ति हुन्छ, क्रियाशील रहन्छ अनि एकपटक पुनः जडताको स्थितिमै फर्किन्छ ।

जीवन आफैँमा एउटा रहस्य हो, अनि यो सदैव रहस्य रहनेछ । नवरात्रिको पर्व यही मूलभूत अन्तर्दृष्टिमा आधारित रहेको छ ।

यद्यपि, हामीमा त्यो चक्रलाई तोड्ने सामर्थ्य हुन्छ । मानिसको जीविका र कल्याणको निम्ति देवीको पहिलो दुईवटा आयामहरू आवश्यक हुन्छन् । जबकि, तेस्रो आयाम मुक्तिको चाहना हो, भौतिकबाट पर जाने अभिलाषा हो । यदि तपाईं सरस्वतीको आयामलाई आफूभित्र उजागर गर्न चाहनुहुन्छ भने, तपाईंले अथक प्रयास गर्नुपर्छ । अन्यथा, तपाईं उनीसम्म पुग्न सक्नुहुन्न ।

नवरात्रि मनाउने सबैभन्दा राम्रो तरिका

नवरात्री मनाउने उत्तम तरिका के हो ? यसलाई उत्सवको रूपमा मनाउनुहोस् । यही कुरा सदैव जीवनको रहस्य बनेको छ— गम्भीर नहुने, तर पूर्णतया संलग्न रहने । जुन संस्कृतिहरूमा परम्परादेखि नै देवीको पूजा गरिन्थ्यो, त्यहाँ मानसिहरूले यो राम्रोसँग जानेका थिए कि अस्तित्वमा यस्ता थुप्रै कुराहरू छन्, जसलाई कहिल्यै बुझ्न सकिँदैन । तपाईं त्यसमा रमाउन सक्नुहुन्छ, त्यसको सुन्दरतालाई उत्सवको रूपमा मनाउन सक्नुहुन्छ, तर त्यसलाई कहिल्यै बुझ्न सक्नुहुन्न । जीवन आफैँमा एउटा रहस्य हो, अनि यो सदैव रहस्य रहनेछ । नवरात्रिको पर्व यही मूलभूत अन्तर्दृष्टिमा आधारित रहेको छ ।

साउन्ड्स अफ ईशाको प्रस्तुति

Editor's Note: Linga Bhairavi Facebook  YouTube