सद्‌गुरु: योगमा, शिवलाई भगवान्‌को रूपमा नभई आदियोगी वा योगको जनकको रूपमा चिनिन्छ, जसले योगको सुरुवात गरेका थिए । उनले नै मानव मनमा योगको बीउ रोपेका थिए । योग-विद्याअनुसार, पन्ध्र हचार वर्षभन्दा पनि अघि, आदियोगीले पूर्ण रूपमा आत्मज्ञान प्राप्त गरे अनि हिमालयमा गएर भाव विभोर गर्ने ताण्डव नृत्य गरे । परम-आनन्दको अवस्थामा रहँदा, उनी पूरै उन्मादमा नाच्दथे । जब त्यो पराकाष्ठामा पुगेर चाल स्थिर हुन्थ्यो, उनी पूर्णतः निश्चल (स्थिर) रहन्थे ।

त्यहीँ वरिपरि झुम्मिएका मानिसहरूले यो महसुस गरे कि उनी केही यस्तो अनुभव गरिरहेका थिए, जसलाई पहिला कसैले कहिल्यै अनुभव गरेका थिएनन्, जसलाई कसैले बुझ्न सकेका थिएनन् । यो देखेर मानिसहरूमा रुचि जाग्यो, अनि यो के रहेछ भनेर जान्नको लागि उत्सुक भई उनीहरू आदियोगी समक्ष पुगे । उनीहरू आए, केहीबेर पर्खिए, अनि फर्किएर गए । यता आदियोगी भने ती मानिसहरूको उपस्थिति बारे पूरै बेखबर थिए । आफ्नो सेरोफेरोमा भइरहेका गतिविधिहरूलाई पूरै बेवास्ता गर्दै उनी कि त ताण्डव नृत्य गरिरहेका हुन्थे वा पूर्णतः स्थिर बसिरहन्थे । मानिसहरू केही समय पर्खिए अनि चाँडै दिक्क मानेर फर्किए...

केवल सातजना पर्खिरहे ।

सातजना शिष्यहरू

यी सातजना केही हठी थिए; उनीहरूले सङ्कल्प गरे— "आदियोगीले जे अनुभव गरिरहनु भएको छ, त्यसलाई हामीले जसरी पनि जान्नुपर्छ ।" तर, आदियोगीले उनीहरूलाई बेवास्ता गरिदिए । उनीहरूले अनुनय-विनय गरे, "तपाईंले जे अनुभव गरिरहनु भएको छ, त्यसलाई हामी पनि जान्न चाहन्छौँ ।" आदियोगीले उनीहरूलाई उपेक्षा गर्दै भने, "मूर्खहरू ! तिमीहरू यही स्थितिमा रहिरहने हो भने, अर्को लाखौँ वर्ष बिताए पनि यसलाई जान्न सक्दैनाैँ । यसको लागि निकै ठूलो मात्रामा तयारी आवश्यक हुन्छ । यो कुनै ख्याल-ठट्टाको विषय होइन ।"

अतः उनीहरूले तयारी सुरु गरे । दिन, हप्ता, महिना, वर्ष गर्दै समय बितिरह्यो— उनीहरूले तयारी गरिरहे । तर, आदियोगीले उनीहरूप्रति कुनै चासो राखेनन् । चौरासी वर्षको लामो साधनापश्चात, ग्रीष्म सङ्क्रान्ति सकिएर शरद सङ्क्रान्ति सुरु भएपछि अर्थात् सूर्य उत्तरायण बाट दक्षिणायन मा प्रवेश गरेपछिको पहिलो पूर्णिमाको दिन आदियोगीले यी सातैजनालाई हेरे— यी सबै साधनाले निखारिएर ज्ञान प्राप्तिको निम्ति तेजस्वी पात्र बनेका थिए । अब भने उनले आफ्ना शिष्यहरूलाई उपेक्षा गरिरहन सकेनन् । अन्ततः उनीहरूले आदियोगीको ध्यान आफूतर्फ आकर्षित गरी छाडे । 

कान्तिसरोवरमा सद्‌गुरु

'गुरु' को जन्म

आदियोगीले अर्को २८ दिनसम्म उनीहरूलाई नजिकबाट नियाले । अनि, पूर्णिमामा उनले गुरु बन्ने निर्णय गरे । यस प्रकारले आदियोगीले आफूलाई आदिगुरुमा रुपान्तरित गरे । त्यसदिन पहिलो गुरुको जन्म भयो; सोही दिनलाई हामीले गुरु पूर्णिमाको दिनको रूपमा लिन थालेका हौँ । केदारनाथबाट केही माथि रहेको कान्ति सरोवर तालको तटमा, मानव-जातिमाथि आफ्नो कृपा बर्साउनको निम्ति उनी दक्षिणतर्फ फर्किएर बसे— अनि, आदियोगीले यी सातजनालाई योगको विज्ञान सञ्चार गर्न सुरु गरे । 

योग विज्ञान, आफ्नो शरीरलाई मोड्ने वा बङ्ग्याउने अभ्यास होइन— जुन हरेक नवजात शिशुले जान्दछ । साथै, यो कसरी श्वास रोक्ने भनेर सिकाइने अभ्यास होइन— जुन जन्मिन बाँकी हरेक शिशुले जानेको हुन्छ । योग, पूरै मानव प्रणालीले कसरी काम गर्दछ भनेर जान्ने र बुझ्ने विज्ञान हो ।  

थुप्रै वर्षहरूपछि, जब योग विज्ञानको सञ्चार पूरा भयो, सातैजना पूर्ण रूपमा प्रबुद्ध भए । यी सातजना तपस्वीहरूलाई, हामीले यस संस्कृतिमा सप्तऋषि भनेर चिनेका छाैँ, साथै पुज्ने र श्रद्धा गर्ने गरेका छाैँ । आदियोगीले योगका विभिन्न आयामहरूलाई यी सातैजना माझ बाँडे, अनि अन्ततः यिनै आयामहरू योगका सातवटा मूल आयामहरू बने । आजसम्म पनि, योगमा यी सातवटा पृथक रूपहरू रहिरहेका छन् । 

सप्तऋषिहरूलाई योग विज्ञान सञ्चार गरिँदै

त्यस विज्ञानलाई अरू मानिसहरूसम्म पुऱ्याउनको लागि, आदियोगीले सप्त-ऋषिहरूलाई विश्वका सातवटा भिन्न-भिन्न भूभागहरूमा पठाए । सप्तऋषिहरू आदियोगीका अङ्ग बने, अनि आफूसँग त्यो विज्ञान र तकनिकी बोकेर गए । यस्तो विज्ञान र तकनिकी, जसबाट मनुष्य हालका आफ्ना सीमितताहरू र बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठ्न सक्दछ, जसले मनुष्यलाई यहाँ स्वयं सृष्टिकर्ता जसरी रहने सामर्थ्य प्रदान गर्दछ । समयसँगै थुप्रै चिजहरू नष्ट भएका छन् । तर, यदि ती क्षेत्रका संस्कृतिहरूलाई ध्यानपूर्वक हेर्ने हो भने, हामीले उनीहरूका योगदानलाई आजसम्म पनि जीवित देख्न सक्छाैँ । यसले विविध रूपहरू लिएको छ, यसको स्वरूपमा अनेकौँ परिवर्तनहरू भएका छन्, तैपनि ती कामहरूको प्रभाव अझैसम्म देख्न सकिन्छ ।

आदियोगीले मानवताको निम्ति यो सम्भावना प्रदान गरेका थिए कि मनुष्य प्रकृतिद्वारा निर्धारित सीमाभित्रै रहिरहन जरूरी छैन । सांसारिकतामा भइरहँदा समेत यसबाट अछुतो रहने तरिका छ । शरीरमा रहेर पनि कहिल्यै शरीर नहुने तरिका छ । आफ्नो मनलाई सम्भव भएसम्मकै सर्वोच्च रूपमा प्रयोग गर्न सकिन्छ, अनि तबपनि मनका पीडाहरूबाट अछुतो रहन सकिन्छ । यतिखेर, तपाईं अस्तित्वको जस्तोसुकै आयाममा हुनुभए तापनि, त्यसबाट माथि उठ्न सक्नुहुन्छ— अर्थात्, जीवनलाई अर्को तरिकाले बाँच्न सकिन्छ । आदियोगीले भनेका थिए, "हामीले आफूमाथि आवश्यक काम गर्ने हो भने, हामी अहिलेका सीमाहरूबाट माथि उठ्न सक्छौँ ।" आदियोगी हाम्रा निम्ति महत्त्वपूर्ण हुनुको कारण यही हो ।

 

Editor's Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw. The ebook is filled with rich graphics and pearls of wisdom from Sadhguru that reveal many virtually unknown aspects about the being we call Shiva. Encounter Shiva like never before!