योगको बारेमा रहेका ७ मिथ्याहरू

आज संसारभरि, योगको नाममा थुप्रै चीजहरू भइरहेका छन् । तर, योग वास्तवमा जे हो, त्यसको सम्बन्धमा यी सबै चीजहरू एउटा झिनो पक्ष मात्र हुन् । लामो समयदेखि, यस प्राचीन विज्ञानसित अनेकौँ मिथ्या वा भ्रमहरू जोडिएका छन् । यसबाट रहस्यको पर्दा उठाउने समय भएको छ । आउनुहोस्, सद्‌गुरु मार्फत योगको बारेमा जानौँ...
योगको बारेमा रहेका ७ मिथ्याहरू
 

मिथ्या १: योग, हिन्दूत्वको उपज हो

सद्‌गुरुः योग त्यति नै हिन्दू हो, जति गुरुत्वाकर्षणको सिद्धान्त इसाई ! गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्ने आइजक न्यूटन इसाई संस्कृतिमा हुर्किँदैमा गुरुत्वाकर्षण इसाई बन्छ र ? वास्तवमा, योग एउटा तकनिकी वा प्रविधि हो । यदि तपाईं यो विज्ञानको उपयोग गर्न इच्छुक हुनुहुन्छ भने, तपाईं यसको अभ्यास गर्न सक्नुहुन्छ ।

केही अज्ञानी मानिसहरू सम्पूर्ण योग‐विज्ञानलाई हिन्दूत्वको उपज ठान्दछन् । यस्तो यसकारण भएको हो, किनकि यो विज्ञान र तकनिकी यसै संस्कृतिमा हुर्किएको अनि फैलिएको हो । जसकारण, यसलाई स्वतः हिन्दू जीवनशैलीसँग जोडेर हेरिएको हो । ′हिन्दू′ शब्द ′सिन्धू′ बाट उत्पन्न भएको हो; सिन्धु एक नदीको नाम हो । सिन्धु वा इन्दस नदीको तटबाट यो संस्कृति विकसित भएकोले यस संस्कृतिलाई हिन्दू नाम दिइएको हो । हिन्दू, न त कुनै ′वाद′ हो, न त कुनै धर्म । यो भौगोलिक र सांस्कृतिक पहिचान हो ।

मिथ्या २: योग, शरीरलाई बङ्ग्याएर कठिन आसनमा बस्ने अभ्यास हो

सद्‌गुरुः जब हामी योग भन्छौँ, तब अधिकांश मानिसहरू आसनहरूको बारेमा मात्रै सोच्दछन् । योग विज्ञानले जीवनसँग सम्बन्धित लगभग हरेक पक्षको बारेमा सबै प्रकारका कुराहरू उजागर गरेको छ, तर आजको विश्वले योगलाई शारीरिक पक्षसित मात्र जोडेर प्रस्तुत गरिरहेको छ । योग पद्धतिमा आसनहरूलाई एकदमै कम महत्त्व दिइएको छ । दुई सयभन्दा बढी योग सुत्रहरूमध्ये केवल एउटा सुत्र आसनको बारेमा रहेको छ । तर, अहिलेको समयमा यही एउटा सुत्रले अत्यधिक महत्त्व पाइरहेको छ ।

अर्को रूपमा हेर्ने हो भने, यसले यो कुरालाई सङ्केत गर्दछ कि आजको विश्व कुन बाटोमा गइरहेको छ । आधुनिक संसारको जीवनको दिशा गहन आयामहरू (आत्मा) बाट शरीरतर्फ गइरहेको छ । हामी यसैलाई उल्ट्याउन चाहन्छौँ । हामी चाहन्छौँ कि मानिसहरूले शरीरबाट आफ्नो यात्रा सुरु गरी आफ्नो भित्री आयाम (अन्तस्करण) तर्फ अघि बढून् ।

मलाई दुःखी वा उदास हुन आउँदैन, नत्र संसारैभरि हठ-योगलाई जुन किसिमले अभ्यास गरिँदै छ, अनि मानिसहरू योग भनेको त्यही हो भनेर सोचिरहेका छन्, त्यसलाई देख्दा म निराश हुने थिएँ । सतहमा हेर्दा यस्तो लाग्दछ कि योगका अभ्यासहरू शरीरसँग मात्र जोडिएका हुन्छन् । तर, सत्य के हो भने, जबसम्म तपाईं यसमा प्राण भर्नुहुन्न, यो जीवन्त प्रक्रिया बन्न सक्दैन । यसैकारण, परम्परादेखि नै जीवित गुरुप्रति यति धेरै जोड दिइएको हो, ताकि यो प्रक्रिया जीवन्त बन्न सकोस् । योग पद्धतिमा तपाईंको प्रणालीलाई सूक्ष्म तरकाले परिचालन गरिन्छ, जसले यसलाई फरक धरातलमा लैजान्छ । योग त्यो हो, जसले तपाईंलाई आफ्नो परम प्रकृतिसम्म पुग्न सक्षम बनाउँछ । योगमा सबैथोक— हरेक आसन, हरेक मुद्रा र श्वास फेर्ने हरेक विधि— सोही उद्देश्यमाथि केन्द्रित हुन्छन् ।

मिथ्या ३: योग, शारीरिक व्यायामको लागि उत्तम अभ्यास हो

सद्‌गुरुः यदि तपाईं शारीरिक तन्दुरुस्ती वा ′सिक्स प्याक एव′ खोजिरहनु भएको छ भने, तपाईं टेनिस खेल्नुहोस् वा पहाडहरू चढ्नुहोस् । योग कुनै व्यायाम वा कसरत होइन, यसमा अरू थुप्रै पक्षहरू जोडिएका हुन्छन् । तपाईं अवश्य स्वस्थ बन्नुहुन्छ, एक प्रकारले तन्दुरुस्ती आउँछ, तर सिक्स प्याक एव होइन । यदि तपाईं बोसो पगाल्न वा मांसपेशीलाई कडा बनाउन योग गरिरहनु भएको छ भने, निश्चय नै तपाईं गलत किसिमको योग गरिरहनु भएको छ, यसमा कुनै शंका नै छैन । ′सिक्स प्याक एव′ को लागि तपाईं जिम जान सक्नुहुन्छ । योगाभ्यास एकदमै आरामपूर्वक, शान्तिपूर्वक गरिने सूक्ष्म प्रक्रिया हो । यो मांसपेशी बढाउनको लागि बलपूर्वक गरिने अभ्यास होइन, किनकि योग कुनै व्यायाम होइन ।

हाम्रो शरीरमा स्मृतिको सम्पूर्ण संरचना हुन्छ । यदि तपाईं आफ्नो शरीरको बारेमा सबैथोक जान्न इच्छुक हुनुहुन्छ भने, सबैथोक यो शरीरमा लेखिएको हुन्छ— यहाँ सम्म कि यो ब्रह्माण्ड शून्यताबाट अहिलेको अवस्थासम्म कसरी आइपुग्यो भन्ने कुरा समेत यही शरीरमा लेखिएको हुन्छ । जब तपाईं आसन गर्नुहुन्छ, तपाईं त्यो स्मृतिलाई खोलिरहनु भएको हुन्छ अनि यो जीवनलाई परम सम्भावनातर्फ लैजानको लागि पुनर्गठन गर्ने कोसिस गरिरहनु भएको हुन्छ । यदि हठ‐योगलाई सही परिवेशमा सिकाइने हो भने, यसले तपाईंको पूरै प्रणालीलाई एउटा अद्‌भुत पात्र (भाँडो) वा साधन बनाउँदछ ताकि दिव्यतालाई ग्रहण गर्न सकियोस् ।

मिथ्या ४: योग, विश्वस्तरमा अघिल्लो शताब्दीदेखि मात्रै फैलिएको हो

सद्‌गुरुः भलै, अहिलेको समयमा योगलाई तोडमोड गरी विकृत रूपहरूमा अभ्यास गरिएको भए तापनि, कम्तीमा पनि ′योग′ शब्द अहिले संसारैभरि गुञ्जिरहेको छ । यसको प्रचार-प्रसारको लागि एउटा संगठित संरचना कहिल्यै नभए तापनि, यो अहिलेसम्म पनि टिकिरहेको छ, अझैपनि जीवित नै छ । किनकि, लामो कालखण्डसम्म मनुष्यको भलाइमा योगले जति योगदान पुऱ्याएको छ, त्यति अरू कुनै चीजबाट भएको छैन ।

आज, लाखौँ-करोडौँ मानिसहरू योगको अभ्यास गरिरहेका छन्, तर यसको उत्पत्ति कसरी भयो ? योगको जनक वा सुरुवातकर्ता को हुन् ? यसको कथा निकै लामो र निकै पुरानो छः यो कति प्राचीन छ भन्ने कुरा समयको गर्भमा लुकेको छ । योग-संस्कृतिमा शिवलाई भगवान्‌को रूपमा हेरिँदैन, बरु आदियोगी अर्थात् प्रथम योगीको रूपमा हेरिन्छ, जसले योगको सुरुवात गर्नुभयो । आदियोगीले नै मनुष्यको दिमागमा योगको बीउ रोप्नुभएको थियो ।

शिवले आफ्नो पहिलो शिक्षा आफ्नी पत्नी पार्वतीलाई दिनुभएको थियो । त्यसपछि, केदारनाथको कान्ति सरोवरको तटमा आफ्ना सातजना शिष्यहरूलाई योगको विज्ञान सञ्चार गर्नुभएको थियो । यही स्थानमा विश्वको पहिलो योग-कार्यक्रम सञ्चालित गरिएको थियो ।

जब थुप्रै वर्षहरूपछि योग विज्ञानको प्रसारको काम पूरा भयो, तब सातैजना प्रबुद्ध भए । यी सातजना तपस्वीहरूलाई हामी यस संस्कृतिमा सप्तऋषि भनेर चिन्दछौँ, पुज्दछौँ र श्रद्धा गर्दछौँ । आदियोगीले योगका विभिन्न आयामहरूलाई यी सातैजनामाझ बाँड्नुभयो, अनि अन्ततः यिनै आयामहरू योगका सातवटा मूल आयामहरू बने । आजसम्म पनि, योगमा यी सातवटा पृथक रूपहरू छन् ।

त्यस विज्ञानलाई अरू मानिसहरूसम्म पुऱ्याउनको लागि, आदियोगीले सप्त-ऋषिहरूलाई विश्वका सातवटा भिन्न-भिन्न भूभागहरूमा पठाउनुभयो । सप्तऋषिहरू आदियोगीका अङ्ग बने, अनि आफूसँग त्यो विज्ञान र तकनिकी बोकेर गए । यस्तो विज्ञान र तकनिकी, जसबाट मनुष्य आफ्ना सीमितताहरू र बाध्यात्मक प्रवृत्तिहरूबाट माथि उठ्न सक्दछ, जसले मनुष्यलाई यहाँ स्वयं सृष्टिकर्ता जसरी रहने सामर्थ्य प्रदान गर्दछ ।

आदियोगीले एउटा शिष्यलाई मध्य एसिया पठाउनुभयो, अर्कोलाई मध्य पूर्व र उत्तरी अफ्रिका, अर्कोलाई दक्षिण अमेरिका, अर्कालाई हिमालयको तल्लो भागमा, अर्का शिष्यलाई पूर्वी एसिया, अर्कालाई भारतीय उपमहाद्वीपको दक्षिणतर्फ पठाउनुभयो। अनि, एकजना त्यहीँ आदियोगीसँग बसे । समयसँगै थुप्रै चीजहरू नष्ट भएका छन् । तथापि, यदि ती क्षेत्रका संस्कृतिहरूलाई नियालेर हेरिने हो भने, आज पनि यी ऋषिहरूको योगदानको चिन्ह त्यहाँ देख्न सकिन्छ, जुन अझै जीवन्त छ । यसले विविध रूपहरू लिएको छ, यसको स्वरूपमा अनेकौँ परिवर्तनहरू भएका छन्, तैपनि ती कामहरूको प्रभाव अझैसम्म देख्न सकिन्छ ।

मिथ्या ५: योग, कुनै धुन वा सङ्गीतको साथमा गर्न सकिन्छ

सद्‌गुरुः जब तपाईं आसनहरू अभ्यास गर्नुहुन्छ, तब कहिल्यै पनि वरिपरि कुनै ऐना वा कुनै किसिमको सङ्गीत हुनुहुँदैन । हठ-योग गरिरहेको समयमा, सबैथोक— शरीर, मन, उर्जा र अन्तस्करण— त्यसमा पूर्णतः संलग्न हुनुपर्छ । त्यो जुन सृष्टिको स्रोत हो अनि जुन तपाईंभित्रै छ, उसको संलग्नता वा सहभागिता चाहनुहुन्छ भने, तपाईंको शरीर, मन र उर्जा पूर्ण रूपमा यस प्रकियामा संलग्न हुन जरूरी छ । तपाईंले यसलाई विशेष श्रद्धा र एकाग्रताले गर्नुपर्छ । गयो, कुनै धुन बजायो अनि केही गरे जस्तो गऱ्यो— यसरी होइन । प्रायः जसो योग स्टुडियो (योग सिकाउने थलो) हरूमा सबैभन्दा ठूलो त्रुटि भइरहेको हुन्छः योग‐प्रशिक्षक आसन गर्दै कुराकानी गरिरहेका हुन्छन् । यसो गर्नाले तपाईंलाई हानी हुने निश्चित छ ।

आसन गरिरहेको बेला नबोल्नु कुनै मापदण्ड होइन, यो नियम हो । कुनै आसनमा रहँदा तपाईं कहिल्यै बोल्नुहुँदैन । जब तपाईं योगासनको अभ्यास गर्नुहुन्छ, त्यसबेला श्वास, मानसिक एकाग्रता र उर्जाको स्थिरता जस्ता सबै चीजहरूको निकै महत्त्व हुन्छ । यदि तपाईं बोल्नुभयो भने, ती सबै नष्ट हुन्छन् । कम्तीमा पनि आठ‐दशजना मानिसहरू गम्भीर रूपमा असन्तुलित भई हाम्रो केन्द्रमा आएका थिए, जसलाई हामीले त्यस अवस्थाबाट बाहिर निस्किनको लागि सहायता गरेका थियौँ । मलाई याद भएसम्म, ती मध्ये चारजनाले योग सिकाउनै छोडिदिए । किनकि, उनीहरूले महसुस गरे कि उनीहरू अहिलेसम्म त्यसलाई जथाभावी गरिरहेका थिए ।

केही वर्ष अगाडि जब म अमेरिकामा थिएँ, तब मलाई एउटा योग‐स्टुडियोमा बोल्नको लागि आमन्त्रण गरिएको थियो । जब म योग स्टुडियो पुगेँ, मैले देखेँ कि मानिसहरूलाई उत्साहित गर्नको लागि त्यहाँ सङ्गीत घन्किरहेको थियो । योग सिकाउने महिला अर्धमत्स्येन्द्रासन को मुद्रामा थिइन् अनि मानिसहरूसँग कुराकानी समेत गर्दै थिइन् । मलाई देख्ने बित्तिकै, उफ्रिएर सिधा भइन् अनि मतिर आएर मलाई अङ्गालो हालिन् ।

मैले उनलाई छेउतिर लगेँ अनि भनेँ, ″हेर्नुस्, यस्तो तरिकाले सिकाउँदा तपाईंको प्रणाली गम्भीर रूपमा असन्तुलित हुन्छ । तपाईं कति वर्षदेखि यस्तो गरिरहनु भएको छ ?″ उनले लगभग १५-१६ वर्ष भएको बताइन् । मैले भनेँ, ″यदि तपाईं विगत १६ वर्षदेखि यस्तो गरिरहनु भएको छ भने, अवश्य पनि तपाईंमा थुप्रै समस्याहरू भएको हुनुपर्छ ।″ यति सुन्ने बित्तिकै उनी डराउँदै मलाई हेर्न थालिन् । भोलिपल्ट उनी मेरोमा आइन् अनि भनिन्, ″सद्‌गुरु, हिजो तपाईंले जे-जति भन्नुभएको थियो, वास्तवमा म त्यसबाट गुज्रिरहेकी छु । म विभिन्न डाक्टरहरूबाट अनेक किसिमका उपचारहरू गराइरहेकी छु ।″ मैले भनेँ, ″तपाईंलाई डाक्टरको आवश्यकता छैन, तपाईं स्वयं आफूलाई रोगी बनाइरहनु भएको छ । यी सबै छोड्नुहोस्, सबै रोगहरू आफैँ जानेछन् ।″ करिब डेढ वर्षपछि उनले योग सिकाउन छोडिन् ।

यस्ता थुप्रै मानिसहरू छन्, जसले गलत तरिकाले योगको अभ्यास गरेका हुनाले आफ्नो मानसिक सन्तुलन गुमाएका छन् । यो यसकारण होइन, किनकि योग गर्नु खतरनाक हो— यो संसारमा मूर्खता सदैव खतरनाक प्रमाणित भएको छ । यदि तपाईंले कुनै मूर्खतापूर्ण काम गर्नुभयो भने, यसले तपाईंलाई नै नोक्सान पुऱ्याउनेछ । प्राचीन समयदेखि, यस धर्तीमा मूर्खता सबैभन्दा खतरनाक चीज रहिआएको छ ।

मिथ्या ६: योग, किताबको सहायताले सिक्न सकिन्छ

सद्‌गुरुः आज, तपाईं कुनै ठूलो पुस्तक पसलमा जानुभयो भने, त्यहाँ तपाईंले योगमाथि लेखिएका कम्तीमा पनि १५-२० वटा किताबहरू पाउनुहुनेछ । 'सात दिनमा योग सिक्नुहोस्', '२१ दिनमा योगी बन्नुहोस्'... यस्तै-यस्तै । यस्ता थुप्रै मानिसहरू छन्, जसले किताबहरूको सहायताले योग सिक्ने प्रयासमा आफूलाई निकै क्षति पुऱ्याएका छन् । भलै, सतहमा हेर्दा यस्तो लाग्दछ कि योग सिक्न एकदमै सजिलो छ, तर जब तपाईं अभ्यास गर्नुहुन्छ, तब यो पाउनुहुनेछ कि यसमा एकदमै सूक्ष्म र जटिल पक्षहरू छन् । यसलाई राम्रोसँग बुझेर अनि उचित निर्देशन र निगरानीमा मात्रै गरिनुपर्छ, अन्यथा ठूलै समस्या निम्तिन सक्दछ । किताबले तपाईंलाई योग सिक्नको लागि प्रेरित गर्न सक्दछ, तर कुनै पनि किताबले तपाईंलाई योग सिकाउन सक्दैन ।

मिथ्या ७: योग, बिहान-बेलुका गरिने चीज हो

सद्‌गुरुः योग बिहान-बेलुका मात्रै गरिने अभ्यास होइन । यो जीवन जिउने एक विशेष तरिका हो । तपाईं स्वयं योग बन्नुपर्छ । बिहान-बेलुका योग अनि अरू बेला उल्झनमा फसिरहनु— यो योग होइन, यो त अभ्यास मात्र हो ।

योग प्रक्रियामा, जीवनको कुनै पनि पक्षलाई बर्जित वा बहिष्कार गरिएको छैन । यदि तपाईंको जीवन नै योग बन्यो भने, तपाईं सबैथोक गर्न सक्नुहुन्छ । यदि तपाईं योगमा हुनुभयो भने, कुनै बाधा बिनै तपाईं आफूले चाहेको जुनसुकै काम गर्न सक्नुहुन्छ— तपाईं आफ्नो परिवार चलाउन सक्नुहुन्छ, कार्यालय जान सक्नुहुन्छ, आफ्नो कारोबार चलाउन सक्नुहुन्छ । जीवनको हरेक पक्षलाई तपाईं दुई तरिकाले प्रयोग गर्न सक्नुहुन्छ— कि त आफूलाई त्यसमै अल्झ्याउनको लागि वा त्यसबाट मुक्त हुनको लागि । यदि तपाईं संसारको बन्धनमा अल्झिनको लागि यसको प्रयोग गर्नुहुन्छ भने, हामी यसलाई कर्म भन्दछौँ । अनि, यदि तपाईं सांसारिकताबाट मुक्त हुनको लागि यसको प्रयोग गर्नुहुन्छ भने, तब हामी यसलाई योग भन्दछौँ ।

 

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com