सद्‌गुरुः शरीर मूलतः पञ्च-तत्त्वहरू— जल, पृथ्वी, वायु, अग्नि र आकाश— को खेल हो । यस संस्कृतिमा सामान्यतया शरीरलाई पञ्च-तत्त्वहरूको कठपुतली (गुडिया) भनिएको छ । शरीरको बनावटमा ७२% जल, १२% पृथ्वी, ६% वायु, ४% अग्नि र बाँकी  आकाश हुन्छ ।

यी पञ्च-तत्त्वहरूले तपाईंभित्र कस्तो व्यवहार गर्छन् भन्ने कुराले तपाईंको बारेमा लगभग सबैथोक निर्धारण गर्दछ । 'भूत' अर्थात् तत्त्व; 'भूत-शुद्धि' अर्थात् तत्त्वहरूको दूषणबाट मुक्त हुनु वा तत्त्वहरूलाई शुद्ध गर्नु । यसको अर्थ भौतिकताबाट मुक्त हुनु हो । योग पद्धतिमा भूत शुद्धि एउटा मूलभूत साधना हो, जसको अभ्यासले हामीलाई त्यस आयामको लागि तयार गर्दछ, जुन भौतिक वा शरीरका सीमाहरूभन्दा पर छ ।

तपाईं केही सरल चीजहरू गर्न सक्नुहुन्छ, जसद्वारा भूत शुद्धि स्वतः हुनेछ । यो सरल अभ्यास हो, जसमार्फत तपाईं पञ्च-तत्त्वहरूलाई केही हदसम्म शुद्ध गर्न सक्नुहुन्छ ।

जल

पञ्च-तत्त्वहरूमध्ये जल सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो । तपाईंले जल वा पानीलाई एकदमै बढी ध्यान दिनुपर्छ, किनकि शरीरमा जलको ७२% हिस्सा हुन्छ । साथै, पानीमा अथाह स्मृति हुन्छ, अर्थात् यो जे-जति चीजको सम्पर्कमा आउँछ, त्यसको गुणहरू आफूभित्र याद राख्छ ।

  • पानीलाई शुद्ध गर्नको लागि तपाईंले त्यसमा नीम र तुलसीका केही पातहरू हाल्न सक्नुहुन्छ । यसले रासायनिक अशुद्धिहरू त हटाउँदैन, तर यो प्रक्रियाले पानी एकदमै जीवन्त र उर्जावान् हून्छ ।
  • तपाईंले पानीलाई तामाको भाँडामा राख्न सक्नुहुन्छ । यदि तपाईंले पानीलाई तामाको भाँडामा १० देखि १२ घण्टासम्म राख्नुभयो भने, पानीले तामाको गुण ग्रहण गर्छ जुन निकै लाभदायी हुन्छ ।

पृथ्वी

हाम्रो शरीरमा पृथ्वी तत्त्वको १२% हिस्सा हुन्छ । त्यसैले, धरतीसँग सम्पर्कमा रहनु एकदमै महत्त्वपूर्ण छ । यदि तपाईंका हात-खुट्टाहरू— विशेषगरी हत्केला र पैताला— सिधै धरतीको सम्पर्कमा रहने हो भने, यसले तपाईंको शारीरिक प्रक्रियालाई तालमेलमा ल्याउँछ ।

  • खाली खुट्टा आफ्नो बगैँचामा दैनिक केही समय बिताउनुहोस्, रूख-बिरुवालाई स्पर्श गर्नुहोस् । यही धरती जीवनको आधार हो । हामी अनि बाँकी सबै जीवहरू यही धरतीबाट आएका हौँ । यसको सम्पर्कमा रहनुहोस्, यसले तपाईंमा सन्तुलन ल्याउँछ ।

साथै, भोजन तपाईंको शरीरमा कसरी जान्छ, को-कसका हातहरूबाट तपाईंसामु आउँछ, तपाईं त्यसलाई कसरी खानुहुन्छ, त्यसप्रति तपाईंको व्यवहार कस्तो छ जस्ता सबै चीजहरू महत्त्वपूर्ण हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यो भोजन वास्तवमा जीवनको अंश हो । हाम्रो भरण-पोषण गर्नको लागि अर्को जीवनले आफैँलाई समाप्त गरिरहेको हुन्छ ।

  • जीवनका ती सबै अंशहरू जसले हामीलाई जीवित राख्नको लागि आफ्नो जीवन त्यागेका छन्, यदि तीप्रति आभारी हुँदै भोजन गऱ्यौँ भने, तब त्यो भोजनले हामीभित्र एकदमै फरक किसिमले काम गर्नेछ ।

वायु

शरीरमा वायु तत्त्वको ६% हिस्सा हुन्छ । त्यसमा १% भन्दा कम मात्र तपाईंको श्वास हो । बाँकी, तपाईंभित्र अनेकौँ रूपहरूमा घटिरहेको हुन्छ । तपाईं जुन हावामा श्वास फेर्नुहुन्छ, त्यसले मात्रै असर गर्दैन; तपाईं त्यसलाई आफूभित्र कसरी राख्नुहुन्छ, त्यसले समेत प्रभाव पार्दछ । तपाईं कसरी श्वास फेर्नुहुन्छ अनि कति होसपूर्वक श्वास फेर्नुहुन्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। त्यसैले, तपाईंले त्यो १% लाई पनि निकै ध्यान दिनुपर्छ । तर, यदि तपाईं कुनै शहरमा हुनुहुन्छ भने, तपाईं कस्तो हावामा श्वास फेर्नुहुन्छ भन्ने कुरा तपाईंको हातमा नहुन सक्छ ।

  • कुनै पार्क वा तालको किनारातिर हिँड्न जानुहोस् । विशेषगरी, यदि तपाईंका बच्चाहरू छन् भने, यो एकदमै जरूरी छ कि महिनामा कम्तीमा पनि एक पटक तपाईं उनीहरूलाई शहरबाट कतै टाढा घुमाउन लैजानुहोस्, जहाँ वातावरण स्वच्छ छ ।
  • बच्चाहरूलाई सिनेमा हल वा कुनै त्यस्तै ठाउँमा लैजानु उचित होइन, किनकि त्यस हलमा भएको सीमित हावालाई विभिन्न ध्वनिहरू, साथै पर्दामा र मानिसहरूको दिमागमा चलिरहेका भावनाहरूले असर गर्दछ । उनीहरूलाई फिल्म देखाउन लैजानुको सट्टा, नदीतिर लैजानुहोस्, पौडिन सिकानुहोस् वा पहाड चढ्न सिकाउनुहोस् । यसको लागि तपाईं हिमालयमा जानै पर्दैन । एउटा सानो पहाड पनि बच्चाको लागि पर्वत समान हुन्छ । बच्चाहरूलाई यसमा निकै आनन्द आउँछ अनि उनीहरू स्वस्थ रहन्छन् । तपाईं पनि स्वस्थ रहनुहुन्छ, अनि तपाईंको शरीर र मनले फरक तरिकाले काम गर्नेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईं सृष्टिकर्ताको सृष्टिसँग सम्पर्कमा रहनुहुन्छ ।

अग्नि

शरीरमा अग्नि तत्त्वको ४% हिस्सा हुन्छ । तपाईंले यो कुराको ख्याल राख्नुपर्छ कि तपाईंभित्र केको आगो बलिरहेको छ— लोभ, घृणा, क्रोध, कामवासना, प्रेम वा करणाको ? यदि तपाईंले अग्नि तत्त्वलाई शुद्ध गर्नुभयो भने, तपाईंले आफ्नो शारीरिक र मानसिक खुसियालीको बारेमा चिन्ता गर्नुपर्दैन । यो स्वतः हुनेछ ।

  • हरेक दिन आफ्नो शरीरमा थोरै घाम पर्न दिनुहोस्, किनकि घाम अझै पनि शुद्ध छ । भलै, हामीले अरू सबैथोक दुषित गरे तापनि, सौभाग्यवश, सूर्यलाई दूषित गर्न सकिँदैन ! यसको उपयोग गर्नुहोस् ।

आकाश

आकाश, सृष्टि र सृष्टिको स्रोत बीचको मध्यस्थ स्थिति हो । आकाशमा विशेष बुद्धिमता वा प्रज्ञा रहेको हुन्छ । जल, वायु, पृथ्वी र अग्नि सीमित छन्, तर आकाश अनन्त छ । यदि हामीले बाँकी चारवटा तत्त्वहरूलाई सही ढङ्गले राख्यौँ भने, आकाश तत्त्वले आफ्नो ख्याल आफैँ राख्नेछ । यदि तपाईंले आफ्नो जीवनमा आकाशको सहयोग पाउनुभयो भने, तपाईंको जीवन धन्य हुनेछ ।

  • सूर्योदयपछि, सूर्य ३०॰ कोणभन्दा माथि जानु पहिले, आकाशमा हेर्नुहोस् अनि झुकेर नमस्कार गर्नुहोस् किनकि आकाशले नै तपाईंलाई र यो पृथ्वीलाई थामेर राखेको हुन्छ । सूर्यले ३०॰ कोण नाघेपछि, दिनभरिमा जुनसुकै समयमा, माथि हेर्नुहोस् अनि फेरि झुकेर नमन गर्नुहोस् । सूर्यास्त भएपछि ४० मिनेटभित्र, माथि आकाशमा हेर्नुहोस् अनि एकपटक पुनः आकाशलाई हेरेर झुक्नुहोस् । किनकि, आकाशले सबैथोकलाई थामेर राखेको हुन्छ ।

 

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. The next 21-week session begins on July 04 to Nov 29, 2020. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com