परिवार हुनुको महत्त्व के हो ?

आज थुप्रैलाई परिवार भनेको आफ्नो बाटोको तगारो हो, त्यसमै फसिरहने जाल हो भन्ने लाग्दछ । के वास्तवमै परिवार कसैको जीवनमा बाधक बन्दछ ? हामी किन परिवार बनाउँछौँ अनि जब हामी परिवार बनाउनुको कारण भुल्छौँ, तब यही परिवार प्रेमको सम्बन्ध बन्नुको सट्टा कसरी बन्धन बन्दछ भन्ने विषयमा सद्‌गुरु चर्चा गर्दै हुनुहुन्छ ।
Family Matters
 

सद्‌गुरुः परिवारसँगै बसेर रातिको खाना खाइरहेको बेलामा शंकरन पिल्लाइले आफूले विवाह गर्न लागेको उद्‌घोष गरे । सबैले सोधे, “हँ ! कोसँग विवाह गर्न लागेको ?” 

शंकरन पिल्लाइले भने, “हाम्रै छिमेकी दीपासँग विवाह गर्न लागेको ।”

बाउ कड्किए, “के रे ? त्यो अनाथ दीपासँग विवाह गर्न लागिस् ? हामीलाई त्यसको कुलको बारेमा केही पनि थाहा छैन ।″

आमाले हकारिन्, “के रे ? त्यस्ती माग्ने दीपासँग विवाह गर्न लागिस् ? त्यसले दाइजो नै दिन सक्दिने ।″

काकाको स्वर चर्कियो, “के रे ? त्यस्ती थाङ्ने दीपासँग विवाह गर्न लागेको ? त्यसको कपाल हेर्दा नै झुत्रेझाम्रे देखिन्छे ।″

काकीले पनि बिचमै थपिन्, “के रे ? त्यस्ती पाखे दीपासँग विवाह गर्ने ? त्यसको मेकअप यति भद्दा हुन्छ नि !″

सानो भतिजोले पनि मौकामा प्वाक्क बोलिहाल्यो, “के रे ? तपाईंले त्यस्ती बुद्धु दीपासँग विवाह गर्न लाग्नुभएको ? उसलाई क्रिकेटको बारेमा केही पनि आउँदैन ।″

शंकरन पिल्लाइ आफ्नै विचारमा अडिग रहे अनि बोले, “हो, मैले दीपासँग विवाह गर्न लागेको, किनकि त्यसो गर्नुमा ठूलो हित छ ।″

“के छ र त्यस्तो ?” सबैले सोधे ।

“उसको कुनै परिवार छैन !″

हामी किन परिवार बनाउँछौँ ?

जब मानिसको बच्चा जन्मिन्छ, ऊ अरू प्राणीको बच्चा जस्तो पूर्ण रूपमा तयार भएको हुँदैन । उसलाई उचित भरण-पोषण अनि तालिम जरूरी हुन्छ । यसैकारण परिवार आवश्यक बनेको हो । मनुष्यलाई हुर्किनको लागि परिवार निकै सहायक आधार हो । तर, थुप्रै मानिसहरूका निम्ति परिवार सहारा बनेको हुँदैन; यो बाधा-अड्चन बनेको हुन्छ । यो माथि उठाउने प्रक्रिया बन्दैन, बरु झन् उल्झन बन्दछ । परिवार आफैँमा समस्या भएकोले त्यसो हुने होइन; तपाईं परिवारलाई जुन रूपमा लिनुहुन्छ, त्यसले गर्दा नै यस्तो हुने हो ।

व्यक्तिको सहारा अनि विकासको माध्यम बन्नुपर्ने यही परिवार अधिकांशका निम्ति उल्झनको प्रक्रिया र बोझ बनेको छ ।

आफ्नै हितको लागि निर्माण गरिएको चीजलाई कसरी आफ्नै अहित गर्ने बनाउन सकिन्छ भन्ने कुरालाई दर्शाउनको निम्ति परिवार राम्रो उदाहरण हो । तपाईं यसलाई ‍विभिन्न रूपहरूमा भइरहेको देख्न सक्नुहुन्छ । उदाहरणको लागि सम्पन्नताले खुसियाली ल्याउनुपर्ने हो, तर अधिकांश मानिसहरू यसलाई विषको रूपमा प्रयोग गर्छन् । शिक्षाले सबैको कल्याण गर्नुपर्ने हो, तर यतिखेर यिनै शिक्षित भनाउँदाहरू नै पृथ्वीलाई विनाश गर्नमा लागिपरेका छन् । हामीलाई आफ्नो खुसियालीको निम्ति दिइएका कुराहरू सबैभन्दा ठूलो आशीर्वाद बन्न सक्थे । तर, त्यसो हुनुको सट्टा तिनैले मानवजातिको अस्तित्वलाई नै खतरामा पुऱ्याइरहेका छन् ।

त्यसैगरी, व्यक्तिको सहारा अनि विकासको माध्यम बन्नुपर्ने यही परिवार अधिकांशका निम्ति उल्झनको प्रक्रिया र बोझ बनेको छ । परिवार तबमात्र सुन्दर हुन्छ, जब यो एक निश्चित तरिकाले काम गर्छ, अन्यथा यो सबैभन्दा भयानक कुरा बन्न सक्दछ ।

कर्तव्यको आधारमा परिवार टिक्दैन

तपाईं कुनै कर्तव्य-बोधको कारण परिवारमा बस्ने होइन । तपाईंले बनाउनुभएको सम्बन्धमा प्रेम भाव भएकोले नै तपाईं परिवारमा बस्नुहुन्छ ।

परिवारको अर्थ कसैमाथि निर्भर हुनु भन्ने होइन; यो एक प्रकारको साझेदारी (पार्टनरशिप) हो, जुन तपाईं स्वयंले बनाउनुभएको हो । दुवै पक्ष इच्छुक हुँदा अनि उनीहरू निश्चित दिशामा सँगसँगै अगाडि बढिरहँदा मात्रै साझेदारी उपयुक्त हुन्छ । यदि दुवै पक्षले एक-अर्काको खुसियालीप्रति निरन्तर सरोकार राख्ने हो भनेमात्र, साझेदारी अर्थपूर्ण हुन्छ । चाहे त्यो परिवार होस् वा कुनै पेशा वा आध्यात्मिकता वा चाहे अरू जुनसुकै रूपमा किन नहोस्, यदि तपाईंले आफ्नो बारेमा मात्र चासो राख्नुभयो भने, त्यस्तो व्यक्तिको निम्ति साझेदारीको कुनै औचित्य रहँदैन । यदि त्यस्तो अवस्थामा तपाईं अरूसँगै रहनुभयो भने, तपाईंले दुवै जनाको लागि ठूलो झमेला निम्त्याउनु हुनेछ ।

तपाईं कुनै कर्तव्य-बोधको कारण परिवारमा बस्ने होइन । तपाईंले बनाउनुभएको सम्बन्धमा प्रेम भाव भएकोले नै तपाईं परिवारमा बस्नुहुन्छ । यदि प्रेमको सम्बन्ध हुने हो भने, तपाईंलाई कसैले पनि के गर्नुपर्छ वा के गर्नुहुँदैन भनेर भन्नुपर्दैन । जे अपरिहार्य छ, तपाईंले त्यही गर्नुहुनेछ ।

केही बढीको आकाङ्क्षा

तर, तपाईंले एकजनासँग वा थुप्रै व्यक्तिहरूसँग प्रेमको सम्बन्ध बनाउनुभयो भन्दैमा, तपाईंले आफ्नो जीवनमा अन्य कुराहरूको आकाङ्क्षा राख्नुहुँदैन भन्ने पक्कै होइन । आफ्नो सेरोफेरोमा रहेका मानिसहरूका निम्ति तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम के हो भने, एक मनुष्यको रूपमा तपाईं आफूलाई सम्भव भएसम्मकै सबैभन्दा उच्च रूपमा प्रस्तुत गर्नुहोस् । तपाईंले त्यसको लागि प्रयास गर्नैपर्छ । तपाईं आफूलाई जति बढी माथि उठाउनुहुन्छ, तपाईं वरपरका मानिसहरूका निम्ति त्यति नै बढी योगदान गर्नुहुन्छ । यदि मानिसहरूले यो कुरा बुझ्दैनन्, यदि उनीहरू तपाईं पनि तिनै सीमाहरू र समस्याहरूसित उनीहरूकै स्तरमा अड्किनुपर्छ अनि तपाईंले त्यसबाट माथि उठी स्वतन्त्र हुने इच्छा गर्नुहुँदैन भन्ने सोच्छन् भने, त्यो कुनै पनि रूपमा परिवार होइन, बरु त्यो एउटा गिरोह हो । यदि तपाईंले एकअर्काबाट कसरी बढी धुत्न सकिन्छ भन्नेबारे मात्र चासो राख्ने गिरोह चलाइरहनु भएको छ भने, त्यसलाई परिवार भनिँदैन । आफूमा भएको सबैभन्दा राम्रो कुरा एकअर्कालाई कसरी दिन सकिन्छ भनेर हेर्नुभयो भनेमात्र, त्यो सही अर्थमा परिवार हो ।

Editor's Note: Sadhguru shares the keys to forming lasting and joyful relationships, whether they are with husband or wife, family and friends, with colleagues at work or with the very existence itself in this ebook, "Compulsiveness to Consciousness."