पारिवारिक कलहः 'दुर्गन्ध'लाई 'सुगन्ध'मा बदलौँ

आमाबुबा, छोराछोरी र भाइबहिनीहरूबिच हुने पारिवारिक मनुमुटाव, विवाद र झैझगडाको परिस्थितिलाई कसरी सम्हाल्न सकिन्छ भन्ने प्रश्नको जवाफ दिँदै, सद्‌गुरु हामीलाई यो बताउँदै हुनुहुन्छ कि यो ′रणभूमि′ समेत रूपान्तरणको लागि सम्भावना बन्न सक्दछ ।
family-problems-conflict-turning-filth-into-fragrance
 

प्रश्नः जब परिवारमा झैझगडा र मनमुटाव हुन्छ, जस्तै किःआमाबुबा वा भाइबहिनीबिच,चाहे त्यो जुनसुकै कारणले भएको किन नहोस्, त्यस्तो अवस्थामा सम्बन्धलाई कसरी सुमधुर कायम राख्न सकिन्छ ?

सद्‌गुरुः तपाईंको प्रश्न आमाबुबा वा भाइबहिनीको बारेमा भएकोले तपाईंसँग एउटा बहाना छ—तपाईंले उनीहरूलाई रोज्नुभएको होइन । यदि यो विषय श्रीमान्–‌‌‌‌श्रीमतीको बारेमा भएको भए, कुनै छुटकारा हुँदैनथ्यो— किनकि, तपाईं अरू कसैलाई आरोप लगाउन सक्नुहुन्थेन !

परिवार उचित प्रशिक्षण स्थल हो, जहाँ तपाईं आफ्ना सीमा र कमजोरीहरू थाहा पाउन सक्नुहुन्छ । परिवारमा तपाईं विभिन्न सदस्यहरूमाझ रहनुहुन्छ, जसको अर्थ यो हो कि हरेक दिन तपाईं जे–जति गर्नुहुन्छ, त्यसको प्रत्यक्ष असर अर्को व्यक्तिमा पर्दछ । अरू सदस्यहरूले केही यस्तो गर्छन्, जुन तपाईं घृणा गर्नुहुन्छ, तैपनि तपाईं उनीहरूसँगै रहनुपर्ने हुन्छ । यो तपाईंको फेसबुकको परिवार जस्तो होइन, जहाँ तपाईं १०,००० जनासँग जोडिन सक्नुहुन्छ— अनि, यदि तपाईंलाई कोही मन परेन भने, एउटा क्लिकको भरमै तपाईं उसलाई हटाउन सक्नुहुन्छ !

परिवार उचित प्रशिक्षण स्थल हो, जहाँ तपाईं आफ्ना सीमा र कमजोरीहरू थाहा पाउन सक्नुहुन्छ ।

परिवार एउटा सुन्दर स्थान हो, जहाँ तपाईं आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्न सक्नुहुन्छ । तपाईंका रुचि र अरुचिहरू नै तपाईंभित्र रहेका बाध्यात्मक प्रवृत्तिहरूका आधार हुन् । जब तपाईं आफ्ना रुचि र अरुचिहरूमै अड्किनु हुन्छ, तब चेतनशील हुने प्रश्न नै उठ्दैन । तपाईं जुन क्षण कुनै चीजलाई मन पराउनुहुन्छ वा मन पराउनुहुन्न, स्वाभाविक रुपमा तपाईंको व्यवहार बाध्यात्मक बन्दछ— आफूले मन पराउनु भएको चीजप्रति प्रशंसा मात्रै गर्नुहुन्छ अनि आफूले मन नपराउनु भएको चीजप्रति आलोचना मात्रै गर्नुहुन्छ ।

चेतनशील बन्नुहोस्

परिवार एउटा सुरक्षा कवच जस्तै हो, चाहे तपाईंलाई मन परोस् वा मन नपरोस्, तपाईं निश्चित अवधिको लागि उनीहरूसँग रहनुपर्ने हुन्छ । तसर्थ, कि त तपाईं यसलाई तितो अनुभव बनाइरहनु होस् अथवा आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्न सिक्नुहोस् । मानिलिनु होस् कि तपाईंको लोग्नेका केही यस्ता पक्षहरू छन्, जसलाई तपाईं घृणा गर्नुहुन्छ । केही समयपछि यदि तपाईं यो भन्नुहुन्छ, “उहाँ त्यस्तै हुनुहुन्छ, ठिकै छ″, तब लोग्नेमा परिवर्तन नआएको भए तापनि, आफ्नो लोग्नेको जुन व्यवहार वा अरू चीजले तपाईंलाई सताइरहेको थियो, त्यसप्रतिको घृणाबाट माथि उठ्नुभएको हुन्छ । यदि तपाईं त्यस विषयमा कठोर बन्नुहुन्छ वा “अरू कुनै उपाय छैन— मैले यसैपनि सहनै पर्छ” भन्ने भावमा हार मान्नुहुन्छ भने, तब परिवारका अरू सदस्यहरूसँग रहनुको सबै कष्ट र संघर्षहरू व्यर्थ हुनेछन् । तर, यदि तपाईं यो सोच्नुहुन्छ कि “ठिक छ, उनीहरू त्यस्तै छन्, तर त्यसले मलाई केही फरक पार्दैन । म यी व्यक्तिहरूसँग आनन्दपूर्वक रहनेछु”, यस स्थितिमा तपाईं चेतन भई आफ्ना अरुचिहरूबाट माथि उठ्नुहुन्छ ।

तर, यदि तपाईंले यो सोच्नुहुन्छ कि “ठिक छ, उनीहरू त्यस्तै छन्, तर त्यसले मलाई केही फरक पार्दैन । म यी व्यक्तिहरूसँग आनन्दपूर्वक रहनेछु”, यस स्थितिमा तपाईं चेतन भई आफ्ना अरुचिहरूबाट माथि उठ्नुहुन्छ ।

जब तपाईं आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्नुहुन्छ, अनजानमै तपाईं चेतन बन्नुहुन्छ । अनजानमै तपाईं आध्यात्मिक बन्नुहुन्छ, अनि आध्यात्मिक हुने सबैभन्दा उत्तम तरिका यही हो । “म आध्यात्मिक बाटोमा लाग्दैछु” भनेर घोषणा गरेर होइन । बरु, एक जीवनको रूपमा पर्याप्त रूपमा चेतनशील भएर, जहाँ तपाईं आफ्ना सीमितताहरू, आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्नुहुन्छ अनि ′आध्यात्मिक′ शब्दको प्रयोग बिनै तपाईं आध्यात्मिक बन्नुहुन्छ । आध्यात्मिक हुने सबैभन्दा उत्तम तरिका यही होः चेतनशील भएर आफूलाई यस हदसम्म माथि उठाउनु, जहाँ तपाईं बाध्यात्मक प्रतिक्रिया गर्नुहुन्न । आफूलाई त्यसको लागि तयारी गर्नको निम्ति परिवार राम्रो स्थान हो । तपाईं यसमा सधैँको लागि बाँधिनुभएको हुँदैन । तपाईं चाहे जस्तोसुकै किसिमको परिवारमा हुनुभए तापनि, त्यो केही निश्चित अवधिको लागि मात्र हो । तपाईंले यो समयलाई आफ्ना रुचि र अरुचिहरूबाट माथि उठ्नको लागि सदुपयोग गर्नुपर्छ ।

यदि तपाईंको सेरोफेरोका मानिसहरू तपाईंसँग सहमत हुँदैनन् भने, तपाईं एकदमै राम्रो स्थानमा हुनुहुन्छ । म आश्रममा मानिसहरूलाई सधैँ यो भन्ने गर्छु, “यस्तो व्यक्ति रोज्नुहोस्, जसलाई तपाईं सहनै सक्नुहुन्न, अनि ऊसँग खुसीखुसी काम गर्न सिक्नुहोस् । यसबाट तपाईंको जीवन अद्‌भुत बन्नेछ ।″ यदि तपाईं आफूलाई मन परेको व्यक्तिसँग मात्रै बस्न रुचाउनुहुन्छ भने, यो तपाईंको लागि बन्धन बन्दछ— किनकि, तपाईं त्यस्ता व्यक्तिहरूसँग मात्र रहन मन पराउनुहुन्छ । वास्तवमा, परिवार समस्या होइन । आफूलाई जो मनपर्छ, उसैसँग मात्र रहन चाहनु नै मूल समस्या हो । आफूलाई जे मन पर्छ, त्यो नरोज्नुहोस् । बरु, यो हेर्नुहोस् कि आफ्नो अगाडि जे छ, त्यसलाई कसरी अद्‌भुत बनाउने । तपाईं कुन चीजको सामना गर्नुहुन्छ भन्ने कुरा तपाईंको हातमा हुँदैन । तर, तपाईं त्यसलाई कसरी उपयोग गर्नुहुन्छ भन्ने कुरा तपाईंकै हातमा हुन्छ ।

यदि तपाईंको सेरोफेरोका मानिसहरू तपाईंसँग सहमत हुँदैनन् भने, तपाईं एकदमै राम्रो स्थानमा हुनुहुन्छ ।

मानिसहरू मौसमलाई हेरेर प्रायः यस्तो भनिरहेका हुन्छन्, “आहा ! अति राम्रो दिन” वा “छि ! कस्तो खराब दिन″ । आकाशमा बादलहरू हुँदैमा, दिन खराब हुँदैन । मौसमको अवस्थालाई प्रकृतिको हातमा छोडिदिनुहोस् । एकदिन घाम, अर्को दिन बादल; एकदिन झरी, अर्को दिन हिमपात— सबै ठिक छ । यदि घाम चर्केको छ भने, पातला लुगा लगाउनुहोस्; यदि पानी परिरहेको छ भने, छाता वा रेनकोट लिएर हिँड्नुहोस्; यदि हिउँ परिरहेको छ भने, स्नोबोर्ड लिएर जानुहोस् । चाहे जेसुकै होस्, पूरै दिनलाई राम्रो कसरी बनाउने भन्ने कुरा स्वयं तपाईंमै निर्भर गर्दछ ।

त्यसैगरी, यतिखेर आफ्नो वरिपरि भएका मानिसहरूलाई लिएर चिन्तित नबन्नुहोस् । त्यस व्यक्तिसँग रहँदाको क्षणलाई एउटा सुन्दर प्रक्रिया बनाउनुहोस् । यसको आशय यो होइन कि तपाईं सधैँको लागि उनीहरूसँगै रहनुपर्छ । जो-कोही आउँछन् र जान्छन् । कि त उनीहरू आउँछन् र जान्छन् अथवा तपाईं आउनुहुन्छ अनि जानुहुन्छ । यहाँ जोजो छन्, यहाँ जेजे छ— अहिलेको लागि त्यसबाट सबैभन्दा उत्तम चीज बनाउनुहोस् । यदि तपाईंसँग अन्य विकल्पहरू छन् भने, तपाईं परिवर्तन गर्न सक्नुहुन्छ, तर यो महत्त्वपूर्ण छ कि तपाईं हाँसी-खुसी बदल्नुहोस् । यो एउटा सचेतन रोजाइ हुनुपर्छ, विवश भएर गरिएको छनौट होइन । यस्तो हुनु हुँदैन कि तपाईं यहाँ रहन नसक्नु भएकोले कतै अन्त भाग्न बाध्य हुनुहुन्छ । यदि तपाईं त्यस्तो अवस्थामा अन्यत्र जानुभयो भने, तपाईं चाहे जहाँसुकै गए पनि सँधै उस्तै रहनुहुनेछ । यदि तपाईं आफ्नो हालको परिस्थितिलाई राम्रो बनाउन जान्नुहुन्न भने, तपाईं अन्य परिस्थितिलाई समेत सम्हाल्न सक्नुहुन्न ।

नतिजा मापन

अनि, यो पूरै आध्यात्मिक प्रक्रियाले काम गरिरहेको छ कि छैन भनेर तपाईंलाई कसरी थाहा हुन्छ ? केवल नतिजाहरूमार्फत । यदि तिनै मानिसहरूसँग रहँदा पनि, तपाईं अलिकति बढी खुसी हुन सक्नुहुन्छ, तपाईं अलिकति बढी सहज महसुस गर्नुहुन्छ, उनीहरूको व्यवहारले तपाईंलाई पहिलेको जस्तो त्यति चिढ्याउँदैन भने— यसको अर्थ हो, तपाईं अघि बढ्दै हुनुहुन्छ । जहीँतहीँ, नतिजाद्वारा नै प्रगति नापिन्छ— यहाँ समेत त्यही लागू हुन्छ ।

एकपटक यस्तो भयो— स्वर्गको ढोकामा लामो लाइन लागेको थियो । पिटरले प्रत्येकको खाता जाँच गरेपछि मात्र भित्र प्रवेश गर्न दिइरहेको थियो । चम्किलो सर्ट, आँखामा स्टाइलिस चस्मा अनि हातमा चुरोट लिएर इटालीको एकजना ट्याक्सी चालक त्यहीँ उभिएको थियो । उसको ठिक पछाडि पादरी थियो । पादरीले उसलाई घृणाको दृष्टिले हेऱ्यो अनि सोच्यो— “होइन, यो कसरी स्वर्ग जाने लाइनमा आइपुग्यो ?” तर, तपाईंलाई थाहै छ, भगवान्‌का तरिकाहरू विचित्र हुन्छन् । जब ट्याक्सी चालकको पालो आयो, उसले सहर्ष स्वीकार्दै भन्यो— “ठिक छ, तपाईंले मलाई जहाँसुकै पठाए पनि हुन्छ, मलाई कुनै समस्या छैन ।” ट्याक्सी चालक भएकोले ऊ त्यसमा अभ्यस्त थियो— यात्रुहरू जहाँ जान चाहन्छन्, ऊ त्यहीँ जान्छ, उसले कहिल्यै आफ्नो गन्तव्य रोज्दैन । उसका सबै खाताहरू जाँचियो । पिटरले ठूलो मुस्कानसहित उसलाई स्वागत गऱ्यो अनि उसलाई रेसमको राम्रो गाउन दियो । त्यसपछि, दुईजना सुन्दर परीहरू आए अनि उसलाई स्वर्गमा लिएर गए ।

यदि तिनै मानिसहरूसँग रहँदा पनि, तपाईं अलिकति बढी खुसी हुन सक्नुहुन्छ, तपाईं अलिकति बढी सहज महसुस गर्नुहुन्छ, उनीहरूको व्यवहारले तपाईंलाई पहिलेको जस्तो त्यति चिढ्याउँदैन भने— यसको मतलब तपाईं अघि बढ्दै हुनुहुन्छ ।

पादरी आश्चर्यचकित हुँदै यी सबै हेरिरहेको थियो । जब उसको पालो आयो, पिटरले उसका सबै खाताहरू हेऱ्यो, उसलाई स्वागत गऱ्यो अनि मजदुरको पोशाक र सर-सफाईको लागि झाडु दिएर भन्यो— “गएर १२७ नम्बरको गल्ली सफा गर्नू ।″ पादरी विक्षिप्त भयो, “के हो यस्तो ? त्यो ट्याक्सी चालक यस्तो पतित (अपवित्र) शहरबाट आएको छ, जसको म नामसमेत उच्चारण गर्न चाहँदिन । थाहा छैन त्यसले कस्ता-कस्ता मानिसहरूलाई आफ्नो ट्याक्सीमा चढाएर कस्ता ठाउँहरूमा लगेको होला । तर, तपाईंले उसलाई रेसमको गाउन र परीहरू दिनुभयो, अनि ऊ स्वर्ग गयो । म पादरी हुँ— म भगवान्‌को सेवामा लागिरहेको छु । अनि, मलाई चाहिँ कामदारको लुगा, झाडु-पोछा अनि १२७ नम्बरको गल्ली सफा गर्ने काम— त्यो गल्ली कति लामो छ भन्ने कुरा म रामोसँग जान्दछु । आखिर यस्तो किन ?” पिटरले ऊतर्फ हेऱ्यो अनि भन्यो, “अरे सुन । यो कुनै चर्च होइन, यो स्वर्ग हो । हामी यहाँ नतिजा अनुसार निर्णय गर्छौं । जब तिमीले उपदेशहरू दिन्थ्यौ, मानिसहरू प्रायः निदाउँथे । तर, जब उसले ट्याक्सी चलाउँथ्यो, सबैले भन्थे— ‘हे भगवान् ! हे भगवान् ! हे भगवान् !”

तपाईंले पनि नतिजा अनुसार नै कुनै चीजको आँकलन गर्नुपर्छ । तपाईंको आध्यात्मिक प्रक्रियाले काम गरिरहेको छ वा छैन भनेर जान्नको लागि यत्ति हेर्नुहोस्— बाहिरको परिस्थिति जस्तोसुकै भए तापनि, तपाईंभित्र संघर्ष चलिरहेको छ वा छैन ? यदि तपाईंभित्र संघर्ष चलिरहेको छ भने, तपाईंले त्यसमा काम गर्न आवश्यक छ । पक्कै पनि तपाईंलाई शारीरिक यातना त दिइएको छैन । उनीहरूले गर्ने भनेको केही कुरा सुनाउने मात्र हो । उनीहरू जे जान्दछन्, त्यही गर्छन् । तपाईंले त्यही गर्नुपर्छ, जे तपाईं राम्रोसँग जान्नुहुन्छ । यदि तपाईंलाई सबभन्दा राम्रो के हो भन्ने थाहा छ भने, तपाईंले आफूभित्र राम्रो स्थिति बनाउनुहुनेछ । यदि तपाईंले आफूलाई राम्रो अवस्थामा राख्नुभयो भने, सम्भवतः तपाईंले उनीहरूलाई समेत रूपान्तरण गर्न सक्नुहुन्छ, तर अहिलेको लागि म त्यति परसम्म जाँदिन । यसले केही फरक पार्दैन कि कसैले तपाईंलाई चिच्याइरहेको छ वा तपाईंलाई गाली-गलौज गरिरहेको छ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं आफ्नो लागि नयाँ शब्दकोश लेख्न सक्नुहुन्छ । तपाईं ती सबै अपशब्द र गालीहरूलाई सुन्दर र मिठो अर्थ दिन सक्नुहुन्छ । जेसुकै भए पनि, तपाईंले यो बुझ्नुपर्छ कि उनीहरू आफ्नोतर्फबाट सबैभन्दा उत्तम गरिरहेका छन् । दुर्भाग्यवश, उनीहरूको लागि जे उत्तम हो, त्यो रद्दी पनि हुन सक्छ— के गर्नु ! त्यस्ता मानिसहरूका लागि तपाईं सहानुभूति राख्न मात्र सक्नुहुन्छ ।

'दुर्गन्ध' बाटै 'सुगन्ध'

यतिखेर तपाईं त्यहीँ हुनुपर्छ । कैयौँ पटक, तपाईंमात्र नभई हामीमध्ये हरेक कोही यस्ता मानिसहरू र परिस्थितिहरूका फन्दामा पर्छाैँ, जहाँ हामी निश्चय नै रहन चाहदैनौँ । हामी जहाँ छौँ, त्यो कहिल्यै पूर्णतया हाम्रो हातमा हुँदैन । तर, हामी त्यसलाई कस्तो बनाउँछौँ भन्ने कुरा नितान्त हाम्रो हातमा हुन्छ । यसको अभ्यास गर्नुहोस् । यदि तपाईंले यसको अभ्यास गर्नुभयो भने, बाहिरी परिस्थितिहरू पनि बिस्तारै-बिस्तारै हाम्रा हातमा हुनेछन् । समयको अन्तरालमा, तपाईंले यो देख्नुहुनेछ कि बाहिरी परिस्थितिहरूसमेत तपाईंको निम्ति निकै सुन्दर तरिकाले प्रस्तुत हुनेछन् ।

सर्वप्रथम, तपाईं आफूलाई यस किसिमले संगठित गर्नुहोस् कि तपाईं एक सुन्दर मनुष्य हुनुहुन्छ । अरूले यसलाई कसरी हेर्छन् भन्ने कुरा उनीहरूको सरोकारको विषय हो ।

यो संसारप्रतिको मेरो अनुभव निकै सुन्दर र अद्‌भुत रहेको छ । चाहे म जहाँसुकै जाऊँ, मानिसहरू प्रेम र हर्षको आँसु बगाउँछन् । मलाई योभन्दा बढी के चाहियो ? मलाई थाहा छ कि पूरै विश्वको सन्दर्भमा त्यो यथार्थ होइन, तर मेरो वरिपरि यो विश्व त्यही रूपमा प्रस्तुत हुन्छ । यो यसकारण हो, किनकि मैले समय लगाएर आफूलाई यस तरिकाले व्यवस्थित गरेको छु कि म जहाँसुकै भए तापनि म यस्तै मात्र हुन सक्छु । बिस्तारै-बिस्तारै संसारले पनि आफूलाई म जस्तै बनाइरहेको छ । तपाईं पनि यो गर्नुहोस् । यो चिन्ता नगर्नुस् कि यो विश्व निश्चित तरिकाले प्रस्तुत हुन्छ वा हुँदैन— केही समयपछि यो अवश्य त्यस्तो हुनेछ । सर्वप्रथम, तपाईं आफूलाई यसरी संगठित गर्नुहोस् कि तपाईं एक सुन्दर मनुष्य हुनुहुन्छ । अरूले यसलाई कसरी हेर्छन् भन्ने कुरा उनीहरूको सरोकारको विषय हो ।

अहिले, उनीहरू नालीमा हिँड्न चाहन्छन्— जबसम्म उनीहरू थाक्दैनन्, केही समयको लागि हिँड्न दिनुहोस् । तपाईं आफ्नो जीवन यसरी बाँच्नुहोस् कि जब उनीहरू तपाईंलाई हेर्छन्, नालीमा हिँडिरहेका मानिसहरूले पनि केही समयपछि यो बुझ्नेछन् कि तपाईंले जसरी जीवन बाँच्नुमा नै जीवनको अर्थ छ । उनीहरूले यसलाई बेवास्ता गर्न सक्दैनन् । उनीहरू कठोर छन्, किनकि उनीहरूको जीवनको अनुभव टर्रो र अतृप्त रहेको छ, अनि यही तिक्तता कलहको रूपमा बाहिर प्रकट हुन्छ । उनीहरूको लागि एउटा उदाहरण बन्नुहोस्, कि जीवनलाई फरक तरिकाले पनि बाँच्न सकिन्छ ।

योग पद्धतिमा प्रयोग भइरहने प्रतीक हो— कमलको फूल । किनकि, कमलको फूल त्यहीँ राम्रोसँग हुर्कन्छ, जहाँ दलदले हिलो हुन्छ । जहाँ सबैभन्दा बढी हिलो हुन्छ, कमल त्यहीँ सबैभन्दा राम्रोसँग फुल्दछ । दुर्गन्धसमेत सुन्दरता र सुगन्धमा रूपान्तरित हुन्छ । वास्तवमा, यही आध्यात्मिक प्रक्रिया हो । दुर्गन्धलाई घृणा गर्नु आध्यात्मिक प्रक्रिया होइन । साथै, दुर्गन्धको हिस्सा बन्नु पनि आध्यात्मिक प्रक्रिया होइन । दुर्गन्धलाई सुगन्धमा रूपान्तरण गर्नु नै आध्यात्मिक प्रक्रिया हो ।

 

Editor's Note: This article is based on an excerpt from the September 2014 issue of Forest Flower. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.