मृत्यु र मरण

सद्‌गुरु: मृत्यु एकदमै मूलभूत प्रश्न हो । हामीले मृत्युको बारेमा जे–जति तथ्याङ्कहरू पढ्ने गर्छौँ, त्यसको तुलनामा मृत्यु वास्तवमै हाम्रो निकट छ । हाम्रो शरीरका अङ्ग र कोशिकाहरूको स्तरमा हरेक क्षण मृत्यु घटिरहेको छ । यसैको आधारमा तपाईंको भित्री अवयवलाई हेर्ने बित्तिकै डाक्टरले तपाईं कति बर्षको हुनुभयो भनेर थाहा पाउँछन् । वास्तविकता के हो भने, हाम्रो जन्म हुनु अघि नै हामीमा मृत्युको शुरुवात भइसकेको छ । यदि तपाईं अज्ञानी र अनजान हुनुहुन्छ भनेमात्र, तपाईंलाई आफूमा पछि कुनै दिन मृत्यु घटित हुन्छ भन्ने लाग्दछ । यदि तपाईं सचेतन हुनुहुन्छ भने, तपाईंले देख्नुहुनेछ कि हरेक पल जीवन र मृत्यु दुवै सँगसँगै भइरहेका हुन्छन् । यदि तपाईंले अलिकति सचेत भएर श्वास फेर्नुभयो भने, तपाईंलाई यो अनुभूति हुनेछ कि हरेक पटक श्वास लिँदा त्यहाँ जीवन हुन्छ, हरेक पटक श्वास छोड्दा त्यहाँ मृत्यु हुन्छ ।  

जीवन र मृत्यु जतिबेला पनि भइरहेका हुन्छन् । ती सँगै हुन्छन्, एउटै श्वासमा, र यिनलाई अलग्याउन सकिँदैन ।

तपाईंको जन्म हुँदा तपाईंले सबैभन्दा पहिला श्वास लिनुभएको थियो । अनि, आफ्नो जीवनमा सबैभन्दा अन्तिम क्षणमा तपाईंले श्वास छोड्नुहुनेछ । मानौँ, तपाईं अहिले श्वास छोडिरहनु भएको छ अनि यदि तपाईंले अर्को श्वास लिनुभएन भने, तपाईं मर्नुहुनेछ । यदि तपाईंले यो बुझ्नुभएन भने, श्वास छोड्नुहोस्, आफ्नो नाक बन्द गर्नहोस् अनि अर्को श्वास नलिनुहोस् । केही क्षणमै तपाईंको शरीरका हरेक कोशिकामा जीवनको निम्ति चित्कार हुनेछ । जीवन र मृत्यु जतिबेला पनि भइरहेका हुन्छन् । ती सँगै हुन्छन्, एउटै श्वासमा, र यिनलाई अलग्याउन सकिँदैन । श्वास भन्दा पर पनि यो सम्बन्ध रहेको हुन्छ । श्वास केवल सहायक कलाकार जस्तै हो । यसको वास्तविक प्रक्रिया मूल जीवन ऊर्जा वा प्राणको स्तरमा हुन्छ, जसले तपाईंको भौतिक अस्तित्वलाई सञ्चालन गर्दछ । यदि तपाईंले प्राणलाई आफ्नो हातमा लिनुभयो वा प्राणमाथि निपुण बन्नुभयो भने, तपाईं पर्याप्त समयको लागि श्वासबाट पर रहेर जीवित रहिरहन सक्नुहुनछ । श्वास अत्यन्तै जरूरी हुन्छ, यद्यपि यसको आवश्यकता भोजन र पानीको जस्तै हो ।

मृत्यु असाध्यै मूलभूत पक्ष हो, किनकि यदि एउटा सानो कुरा भइदियो भने, भोलि बिहान तपाईं यहाँ नरहन सक्नुहुन्छ । किन भोलि बिहान ? यतिखेर एउटा सानो कुरा भइदियो भने, अर्को क्षणमै तपाईं मर्न सक्नुहुन्छ । यदि तपाईं अरू प्राणी हुनुभएको भए, सायद तपाईं यी सबैथोकको बारेमा सोच्न सक्नुहुने थिएन । तर, मनुष्यको रूपमा तपाईंमा जुन स्तरको बुद्धिमत्ता छ, तपाईं आफ्नो जीवनको यति महत्त्वपूर्ण पक्षलाई कसरी बेवास्ता गर्न सक्नुहुन्छ ? तपाईं कसरी त्यसबाट पर भाग्न सक्नुहुन्छ ? तपाईं कसरी यहाँ सदाको लागि रहने जसरी बाँच्न सक्नुहुन्छ ? यहाँ लाखौँ बर्षदेखि रहेर पनि मनुष्यलाई मृत्युको बारेमा अलिकति पनि थाहा नहुनु कस्तो कुरा हो ? वास्तवमा भन्नुपर्दा, मानिसहरूलाई जीवनको बारेमा समेत केही थाहा छैन । तपाईंलाई जीवनका सबै फन्दा र पासोहरूको बारेमा थाहा छ, तर तपाईंलाई मूल जीवनको बारेमा के नै थाहा छ र ?

मूलत: यस्तो परिस्थिति सृजना हुनुको कारण के हो भने, यस ब्रह्माण्डमा तपाईं को हो भन्ने परिप्रेक्ष्यलाई तपाईंले पूर्णतया बिर्सिनुभएको छ । हामी जुन सौर्यमण्डलमा छौँ, यदि यो भोलि बिहान बिलायो भने पूरै ब्रह्माण्डमा कसैलाई पनि पत्तो हुँदैन । यो यति सानो छ, केवल एक कण बराबर । कण बराबरको यस सौर्यमण्डलमा, पृथ्वी सूक्ष्म कण हो । त्यस सूक्ष्म कणमा, तपाईं बस्ने शहर अति सूक्ष्म कण हो । अनि त्यसमा तपाईं चाहिँ ठूलो मान्छे हुनुहुन्छ । यही गम्भीर समस्या हो । जब तपाईंले आफू को हुँ भन्ने परिप्रेक्ष्यलाई पूर्णत: गुमाउनुभएको छ, तपाईंले जीवन वा मृत्युको प्रकृतिको बारेमा केही बुझ्नुहुनेछ भनेर कसरी सोच्न सक्नुहुन्छ ?

प्रश्न: तर सद्‌गुरु, जो कसैको मृत्युले मलाई अत्यन्तै दु:खी बनाउँछ, चाहे मेरो कौसीको परेवा होस् वा बाटोको कुकुर । म किन यस्तो महसुस गर्छु ?

सद्‌गुरु: नश्वरता (मरणशील प्रकृति) सम्पूर्ण डरको जड हो । यदि तपाईं नाशवान नहुनुभएको भए, तपाईंमा कुनै डर हुने थिएन, किनकि यदि तपाईंलाई टुक्रा-टुक्रा पारिदिने हो भनेपनि, तपाईं मर्नुहुने थिएन । तर, डराउनु पर्ने त्यस्तो के छ ? मृत्यु अद्‌भुत कुरा हो । यसले थुप्रै कुराहरू अन्त्य गर्दछ । यतिखेर, तपाईं जस्तो हुनुहुन्छ, सायद तपाईं यसलाई भयानक कुरा ठान्नुहुन्छ । तर, यदि तपाईं हजार वर्ष बाँच्नु परेको भए, तपाईंको निम्ति मृत्यु राहत हुनेथियो । यदि तपाईं यहाँ धेरै लामो समयसम्म रहनुभयो भने, अरू मानिसहरू तपाईं कहिले जाने होला भनेर अचम्मित हुनेछन् ! मृत्यु साँच्चिकै ठूलो राहत हो । कुरा यत्ति हो कि यो अकालमा हुनुहुँदैन । हामी केही सृजना गर्न, योगदान गर्न अनि विभिन्न कुराहरू साकार पार्न सक्षम भएको बेलामा मर्न चाहँदैनौँ ।

 

sadhguru-wisdom-article-sadhguru-quotes-on-death-9

मृत्यु अवश्यमभावी छ

हुन सक्छ कि तपाईं आफ्नो जन्म, जीवन र मृत्युलाई अति महत्त्व दिनुहुन्छ, तर मातृभूमिको सन्दर्भमा हेर्ने हो भने, त्यो पटक–पटक दोहोरिने काम मात्र हो ।

यदि तपाईं उपयुक्त समयमा मर्न चाहनुहुन्छ भने, तपाईंले साधना गर्नुपर्छ जसकारण तपाईं आफू कहिले मर्ने भनेर निर्धारण गर्न सक्नुहुन्छ । अन्यथा, तपाईंले मरेको परेवा देख्नुभयो भनेपनि, त्यसले तपाईंलाई तपाईंको मरणशील प्रकृति स्मरण गराउँछ । जे हिजोसम्म उडिरहेको थियो, त्यो आज मरेर कक्रक्क परेको छ । एकदिन आफू पनि त्यस्तै हुनेछु भनेर कल्पना गर्नु तपाईंको लागि त्रासदी हुन सक्छ, किनकि आफूले जम्मा गरेका चीजहरूसँगको तपाईंको पहिचान अति बाध्यात्मक भएको छ । तपाईंले जम्मा गर्नुभएका कुराहरूसँग आफ्नो पहिचान जोड्नुभएको छ भन्नुको अर्थ यो हो कि तपाईंको यो शरीर यही धरतीको अंश मात्र हो । यही धरतीको अंश जम्मा गरेर तपाईंले बनाउनुभएको यो शरीर अनि तपाईंका पहिचानहरू यति शक्तिशाली भएका छन् कि यसलाई गुमाउनु निकै खतरनाक जस्तो लाग्दछ ।

मानौँ, तपाईं अत्यधिक तौलको हुनुहुन्छ र हामीले तपाईंलाई १० किलो कम गर्न मद्दत गऱ्यौँ भने, के तपाईं दु:खी महसुस गरेर रुनुहुन्छ ? पक्कै रुनुहुन्न । बरु, अधिकांश मानिसहरू दश किलो कम भएकोमा असाध्यै खुसी हुनेछन् । अब, यदि तपाईंले यो पूरै ५०–६० किलोको भारी त्याग्नुभयो भने, के नै ठूलो कुरा हो र ? यदि तपाईंले जीवनलाई यसको मूल रूपमा जान्नुभयो, अनि तपाईं आफूले जम्मा गरेको थुप्रोमा हराउनुभएन भने, शरीर छोड्नु कुनै ठूलो कुरा होइन ।

चरा, कीरा, कुकुर र मानिसको मृत शरीर केवल माटो हो, जुन माटोमै मिसिनेछ । यो कुनै भव्य नाटक होइन, यो प्राकृतिक प्रक्रिया हो । तपाईंले जे लिनुभएको छ, त्यसलाई फिर्ता गर्नुपर्नेछ । हुन सक्छ कि तपाईं आफ्नो जन्म, जीवन र मृत्युलाई अति महत्त्व दिनुहुन्छ, तर मातृभूमिको सन्दर्भमा हेर्ने हो भने, त्यो पटक–पटक दोहोरिने काम मात्र हो । यसले तपाईंलाई फुत्त बाहिर फ्याँक्छ अनि फेरि आफूभित्र तान्दछ । सायद तपाईं आफ्नो बारेमा अनेक कुराहरू ठान्नुहुन्छ होला, तर तपाईंले जे–जति जम्मा गर्नुभएको छ, एकदिन ती फिर्ता गर्नुपर्नेछ । यो राम्रो बानी हो । तपाईंले अरूबाट जे लिनुभएको छ, कुनै न कुनै समयमा त्यसलाई फर्काउनुपर्ने हुन्छ । मेरो विश्वास गर्नुहोस्, मृत्यु राम्रो बानी हो !

प्रश्न: मृत्युको बारेमा केही जानेर त्यसले कसरी राम्रोसँग जीवन बाँच्नमा सहायता गर्दछ ?

सद्‌गुरु: मृत्यु जीवनको मूल आधार हो । यदि तपाईंले मृत्युलाई बुझ्नुभएन भने, तपाईंले कहिल्यै पनि जीवनलाई जान्नुहुने छैन, साथै तपाईं जीवनलाई सम्हाल्न पनि सक्नुहुन्न— किनकि जीवन र मृत्यु भनेको श्वास लिनु र श्वास छोड्नु जस्तै हो । ती सँगसँगै रहन्छन्, कहिल्यै छुट्याउन नसकिने रूपमा । आध्यात्मिक प्रक्रिया तबमात्र शुरु हुन्छ, जब मृत्युसँग तपाईंको साक्षात्कार हुन्छ— कि त आफ्नो वा आफ्नो प्रिय व्यक्तिको, जो बिना तपाईंलाई आफू बाँच्न नसक्ने लागेको थियो । जब मृत्यु नजिक हुन्छ वा जब त्यो प्रक्रिया शुरु हुन्छ, त्यसैबेला अधिकांश मानिसहरूको दिमागमा यो प्रश्न उब्जिन्छ, "आखिर यो के हो ? यसभन्दा पर के हुन्छ ?” जबसम्म जीवनका अनुभवहरू एकदमै वास्तविक लाग्छन्, यो सबै यत्तिकै समाप्त हुनेछ भनेर तपाईं विश्वास गर्नै सक्नुहुन्न । तर, जब मृत्यु नजिकिन्छ, मनले यो दर्शाउन थाल्छ कि पक्कै पनि अरू केही हुनुपर्छ । तर, मनले जेसुकै भनेपनि यसलाई वास्तवमा केही थाहा हुँदैन, किनकि मनले पहिल्यै जम्मा गरिएका जानकारीहरूको आधारमा मात्र काम गर्दछ । मृत्युसँग मनको कुनै सरोकार हुँदैन, किनकि मनसँग आधिकारिक जानकारी हुँदैन— फाल्तु गफहरू मात्र हुन्छन् ।

यदि तपाईंले मृत्युलाई बुझ्नुभएन भने, तपाईंले कहिल्यै पनि जीवनलाई जान्नुहुने छैन, साथै तपाईं जीवनलाई सम्हाल्न पनि सक्नुहुन्न— किनकि जीवन र मृत्यु भनेको श्वास लिनु र श्वास छोड्नु जस्तै हो ।

आफ्नो मृत्युपछि तपाईं भगवानको काखमा पुग्नुहुनेछ भन्ने गफ त पक्कै सुन्नुभएको होला । यदि त्यसो हो भने, तपाईं आजै जानुपर्छ । यदि तपाईंलाई त्यस्तो सौभाग्य प्रदान गरिँदैछ भने, तपाईं त्यसलाई किन टाढा धकेल्न चाहनुहुन्छ भन्ने कुरा म बुझ्न सकिरहेको छैन । तपाईंले स्वर्ग र नर्कको बारेमा अनेक कुराहरू सुन्नुभएको छ; तपाईंले अप्सरा र परीहरू अनि अरू थुप्रैको बारेमा विभिन्न कुराहरू सुन्नुभएको छ, तर तपाईंसँग पुष्टि गरिएको जानकारी छैन । अत: मृत्युपछि के हुन्छ होला भन्नेबारे सोच्ने कोशिसमा आफ्नो समय खेर नफाल्नुहोस्, किनकि त्यो तपाईंको मनको दायरामा पर्दैन ।

सचेतन भएर मर्नु

जान्ने एकमात्र तरिका छ, प्रज्ञा मार्फत । यदि तपाईं सचेत हुनुहुन्छ भने, तपाईं नसोचिकन वा जानकारी नबटुलिकनै विभिन्न कुराहरू जान्न सक्नुहुन्छ । यदि तपाईंले आफू वरपरको जीवनलाई नजिकबाट नियाल्नुभयो भने, यो थाहा पाउनुहुनेछ कि यस्ता थुप्रै कुराहरू छन्, जुन हरेक प्राणीले सोचविचार बिनै जानेका हुन्छन् । वास्तवमा भन्ने हो भने, यदि तपाईंले हरेक कुरा सोच्नु परेको भए, तपाईंलाई कसरी श्वास फेर्ने भन्ने समेत थाहा हुने थिएन । यो आफैँ भइरहन्छ । यो तपाईंको बुद्धिमत्ताले भएको होइन— यो सृष्टिकर्ताको बुद्धिमत्ताले भएको हो । यदि तपाईंको शरीर जस्तो जटिल यन्त्रको व्यवस्थापन तपाईंको हातमा दिइएको भए, यो भयानक हुनेथियो ।

प्रज्ञा त्यो हो, जुन सृष्टिको मूल स्रोत हो । यदि तपाईं त्यहाँसम्म पुग्न सक्नुभयो भने, हामी जसलाई जीवन र मृत्युको सीमा ठान्दछौँ, तपाईं त्यसलाई पार गर्न सक्नुहुनेछ ।

तपाईंको सहयोग, बुझाइ वा सोचविचार बिनै थुप्रै कुराहरू भइरहेका हुन्छन् । प्रज्ञा विचारभन्दा पर हुन्छ । प्रज्ञा त्यो हो, जुन सृष्टिको मूल स्रोत हो । यदि तपाईं त्यहाँसम्म पुग्न सक्नुभयो भने, हामी जसलाई जीवन र मृत्युको सीमा ठान्दछौँ, तपाईं त्यसलाई पार गर्न सक्नुहुनेछ । वास्तवमा, त्यहाँ कुनै सीमा नै छैन— तपाईं यतिखेरै बाँचिरहनु भएको छ साथै मरिरहनु भएको छ । सामाजिक स्तरमा, मानिसहरूको सीमित अनुभव र सीमित बोधको आधारमा, कोही आज यहाँ हुन्छन् अनि भोलि हुँदैनन् । तर, जीवनको सन्दर्भमा, अस्तित्वगत प्रक्रियाको सन्दर्भमा हेर्ने हो भने, बाँच्ने र मर्ने भन्ने त्यस्तो केही हुँदैन । यो सबै लीला हो ।

दिव्य लीला

जब हामी सबैथोक दिव्य लीला हो भन्दछौँ, यसको अर्थ भगवानले तपाईंको जीवनसँग खेलबाड गरेर आनन्द लिइरहेका छन् भन्न खोजिएको होइन । हामी यसलाई लीला भन्छौँ, किनकि सबैथोक एकअर्कामा मिसिएका छन् । अस्तित्वको स्तरमा हेर्ने हो भने, तपाईं आफ्नो बाल्यावस्था, युवावस्था, अधबैँसे अवस्था र वृद्धावस्थालाई अलग–अलग गर्न सक्नुहुन्न— यी सबै जेलिएका छन् । तपाईं जसलाई व्यक्ति भन्नुहुन्छ अनि जसलाई सर्वव्यापी (सबैतिर फैलिएको) भन्नुहुन्छ, यी दुवैलाई अलग्याउन सकिँदैन । तपाईं जसलाई परमाणु भन्नुहुन्छ अनि जसलाई ब्रह्माण्ड भन्नुहुन्छ, तिनलाई समेत अलग–अलग गर्न सकिँदैन । त्यस अर्थमा यो लीला वा खेल हो ।

तर, जब तपाईं एउटा र अर्को चीजको बीचमा सीमा कोर्नुहुन्छ, तब त्यहाँ लीला हुँदैन, खेल हुँदैन । तपाईं यहाँ बसिरहँदा, तपाईं र रूखबिच श्वास खेलिरहेको छ, वा भनौँ श्वास आदानप्रदान भइरहेको छ । तपाईं यसलाई अलग्याउन सक्नुहुन्न, अर्थात् "म मेरो श्वास लिन्छु - उसले आफ्नो श्वास लिओस्" भन्न सकिँदैन । थुप्रै घरहरूमा यस्तै भइरहेको हुन्छ, "म मेरो काम गर्छु - तिमी आफ्नो काम गर ।" जुन क्षण तपाईं खेललाई सीमित गर्न वा रोक्न खोज्नुहुन्छ, तपाईंको हातबाट जीवन फुत्किनेछ ।

मृत्यु अनि त्यसभन्दा पर जे छ, त्यो कतै स्वर्ग वा नर्कमा लुकेको रहस्य होइन— यो यहीँ र यतिखेरै भइरहेको छ ।

जीवन र मृत्युको प्रकृति जान्ने चाहनामा अनेक थरीका चीजहरू गरिएका छन् । तर, तपाईं कुनै प्रयोग गरेर वा सोचविचार गरेर त्यसलाई जान्न सक्नुहुन्न । तपाईं यसलाई केवल अनुभवले मात्र जान्न सक्नुहुन्छ । जबजब मानिसहरू मलाई मृत्यु र मृत्यु पछि के हुन्छ भन्नेबारे प्रश्न गर्छन्, म उनीहरूलाई यही स्मरण गराउँछु कि यसलाई अनुभव गरेर जान्नु उत्तम हुनेछ ! मैले उनीहरूलाई मर्नुपर्छ भन्ने सुझाव दिएको होइन । मेरो आशय के हो भने, तपाईंले जीव वा तपाईं भित्रको जीवनलाई अनुभव गर्नुपर्छ । यदि तपाईंले शरीरलाई मात्र अनुभव गर्नुभयो भने, मैले जेसुकै भनेपनि, तपाईंले गलत निष्कर्ष निकाल्नु हुनेछ । यदि तपाईंको जीवनको अनुभव मानसिक र शारीरिक ढाँचाहरूमा मात्र सीमित रह्यो भने, तपाईं यो आयामसम्म पुग्न सक्नुहुन्न । मृत्यु अनि त्यसभन्दा पर जे छ, त्यो कतै स्वर्ग वा नर्कमा लुकेको रहस्य होइन— यो यहीँ र यतिखेरै भइरहेको छ । कुरा यत्ति हो कि अधिकांश मानिसहरूले पर्याप्त ध्यान दिएका छैनन्, किनकि उनीहरू अन्य चीजहरूमा अत्यन्तै व्यस्त छन् ।

मानिसहरूको निम्ति आफ्नो जीवनभन्दा क्यारियर अति बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा प्रेम-सम्बन्ध निकै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा झिनो समस्या एकदमै बढी महत्त्वपूर्ण छ; आफ्नो जीवनभन्दा कस्तो लुगा लगाउने भन्ने कुरा अत्यन्तै बढी महत्त्वपूर्छ छ ! यी त केही उदाहरणहरू मात्र हुन् । तपाईंमा जीवनबारे गलत धारणाहरू भएकै कारण जीवन पन्छिएको जस्तो देखिएको छ । तर वास्तवमा भन्ने हो भने, जीवन पन्छिएको होइन— तपाईं स्वयं जीवनबाट पर भाग्दै हुनुहुन्छ । जीवनले तपाईंलाई बेवास्ता गर्ने कोशिस गरिरहेको होइन— बरु, अनेक तरिकाहरूले तपाईं स्वयं जीवनलाई उपेक्षा गर्ने प्रयास गरिरहनु भएको छ ।

तपाईंमा जे-जति तिक्त (नरमाइलो) एवं पीडादायी अनुभवहरू छन्, ती कहिल्यै जीवनले सृजना गरेको होइन । तपाईंले आफ्नै मन र शरीरलाई व्यवस्थापन गर्न नसक्नु भएकोले ती अनुभवहरू उत्पन्न भएका हुन् । जीवनले कहिल्यै तपाईंलाई पीडा वा कष्ट दिएको छैन । यी केवल शरीर र दिमागको उपज हो । तपाईंलाई आफ्नो मानसिक संरचना र शारीरिक संरचनालाई कसरी ठीक अवस्थामा राख्ने भनेर थाहा छैन । तपाईंलाई शरीर र मन जस्ता दुई अद्‌भुत उपकरणहरू दिइएको थियो, तर तपाईं यिनलाई जथाभावी प्रयोग गरिरहनु भएको छ । सम्पूर्ण दु:ख र कष्टहरू स्वयं तपाईंद्वारा उत्पन्न भएका हुन्, जीवनद्वारा होइन ।

जीवन र मृत्यु भन्ने त्यस्तो केही हुँदैन ! न त जीवन हुन्छ, न त मृत्यु— यो फगत लीला हो, खेल हो ।

प्रज्ञा भनेको बोधको त्यस्तो आयाम हो, जसले तपाईंलाई जीवन, जीवनको प्रकृति र जीवनको स्रोतसम्म पुऱ्याउँछ । यी फरक चीजहरू होइनन्— यी त हामीले जीवनलाई दिएका विभिन्न नामहरू मात्र हुन् । न त कुनै स्रोत हुन्छ, न त कुनै अभिव्यक्ति— सबैथोक एउटै हो । वास्तवमा, जीवन र मृत्यु भन्ने त्यस्तो केही हुँदैन ! न त जीवन हुन्छ, न त मृत्यु— यो फगत लीला हो, खेल हो । तपाईं यसमा खेल खेल्न सक्नुहुन्छ र एकदिन त्यो खेल रोक्न सक्नुहुन्छ । जिन्दगी शुरु हुन्छ र रोकिन्छ, शुरु हुन्छ र रोकिन्छ, तर मूल जीवन कुनै निश्चित क्रियाकलाप होइन, कुनै निश्चित घटना होइन । यो यस्तो अद्‌भुत कुरा हो, जुन यहीँ रहेको हुन्छ । यो सृष्टिको पृष्ठभूमि हो । यो सृष्टिको मूल स्रोत हो ।

प्रश्न:जब म कारको ठक्करले मारिनबाट केही सेकेन्डले बचेको थिएँ, त्यसबेला मैले मृत्युलाई निकै नजिकबाट देखेको थिएँ । ती केही सेकेन्डमा, मैले सबैथोक एकदमै ढिलो गतिमा र असाधारण रूपमा विस्तारमा अनुभव गरेको थिएँ । त्यो केही सेकेन्डको मेरो अनुभव किन त्यस्तो भएको थियो अनि के म जीवनलाई सचेतन भएर त्यस हदसम्मको विस्तृत रूपमा अनुभव गर्न सक्छु ?

सद्‌गुरु: एकचोटि यस्तो भयो— दुई जना बुढाहरू सानो शहरको लोकल भट्टीमा भेटे । दुवैजना फरक–फरक टेबुलमा बसी ठुस्स परेर रक्सी पिउँदै थिए । त्यसपछि एउटाले अर्कोलाई हेऱ्यो अनि त्यस व्यक्तिको कन्चटमा निशान देख्यो । तब उसले भन्यो, "अरे, तपाईं जोशुवा हो ?"

"हो, तपाईं को हो नि ?"

“तपाईंलाई थाहा छैन ? म मार्क हुँ । हामी युद्धमा सँगै थियौँ ।"

"ओहो !" दुवैजना प्रसन्न भए ।

“दोस्रो विश्व युद्धमा हामी सँगै थियौँ । ५० वर्ष बितिसके छ ।"

त्यसपछि, दुवैजना एउटै टेबुलमा बसे अनि कुरा गर्दै पिउन र खान थाले । उनीहरूले युरोपमा दोस्रो विश्व युद्धको समयमा ४० मिनेटको भिडन्त सँगै देखेका थिए । त्यो ४० मिनेटमा भयानक बमबारी भएको थियो । उनीहरूले यो ४० मिनेटको घटनाबारे दुई घण्टासम्म पूरै विस्तारमा कुराकानी गरे । कुराकानी सकिएपछि, एकले अर्कोलाई सोध्यो, " त्यस बेलादेखि तपाईं के गर्दै हुनुहुन्छ ?" उसले भन्यो, "खासै केही छैन, जाबो विक्रेताको रूपमा काम गरिरहेको छु ।" ४० मिनेटको युद्धको बारेमा उनीहरू दुई घण्टासम्म पूरै उत्साहमा बोलिरहेका थिए । अनि, ४० वर्षको जीवन एउटा वाक्यमा टुङ्गियो— " जाबो विक्रेताको रूपमा काम गरिरहेको छु ।" उसको जीवनको ४० वर्षमा त्यति मात्र भएको थियो ।

चितामा पुग्ने तयारी

मानिसहरू सधैँभरि यहीँ रहने ठान्दछन्, त्यसैले उनीहरू जीवित छँदै मृत्यु अभ्यास गरिरहेका छन् ।

दुर्भाग्यवश, अधिकांश मानिसहरूलाई मृत्युले भयभीत गरिदिने हो भनेमात्र, उनीहरू जीवित बन्दछन्— चाहे त्यो युद्ध होस् वा कार दुर्घटना । जब आफू मर्ने सम्भावना निकै प्रबल बन्दछ, तबमात्र तपाईं पूर्ण रूपमा जीवन्त बन्नुहुन्छ— कति दुर्भाग्यपूर्ण ! जब तपाईंमा सही अर्थमा वास्तवमै आफू नाशवान भएको कुरा बोध हुन्छ, तपाईं यो बुझ्नुहुन्छ कि तपाईं जीवित हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

sadhguru-wisdom-article-sadhguru-quotes-on-death-07

जब म मानिसहरूलाई हेर्छु, यस्तो लाग्छ कि उनीहरू सबैजना चितामा पुग्ने तयारी गरिरहेका छन्— चितामा पुग्दाखेरी जस्तो अवस्था हुन्छ, अनुहारको भाव जस्तो हुन्छ, त्यसलाई अहिल्यै अभ्यास गरिरहेका छन् । उनीहरू यो बुझ्दैनन् कि उनीहरू नश्वर (नाशवान) छन् । मानिसहरू सधैँभरि यहीँ रहने ठान्दछन्, त्यसैले उनीहरू जीवित छँदै मृत्यु अभ्यास गरिरहेका छन् । तर, जब तपाईं उनीहरूलाई मृत्युको डर देखाउनुहुन्छ, उनीहरू जीवन्त बन्छन् । तपाईंलाई के लाग्छ, कृष्णले किन युद्धको मैदानमा आफ्नो उपदेश दिए होलान् ? न शान्त आश्रममा, न सुन्दर जङ्गलमा होइन, न हिमालयको गुफामा, बरु भयानक युद्धभूमिमा— किनकि, आफू मर्ने खतरा नदेखिकन अधिकांश मानिसहरूमा आफ्नो जीवनलाई हेर्ने बुद्धि हुँदैन ।

मलाई लाग्छ कि जब कुनै ड्राइभर बिनै आफैँ चल्ने कारहरू आउने छन्, थुप्रै मानिसहरूले बुद्धत्त्व पाउने छन् ! केही समयपछि, सायद तपाईंले त्यसमा सुतेरै यात्रा गर्न सिक्नुहुनेछ, यो फरक हो । तर, शुरुमा तपाईंलाई त्यो कार रोकिन्छ कि रोकिँदैन भन्ने समेत थाहा हुँदैन । त्यो ठीक समयमा रोकिन्छ वा कतै गएर ठोकिन्छ भन्ने कुरा पनि पत्तो हुँदैन । मेरो विचारमा यी स्वचालित कारहरूको प्रयोग हुन थालेपछि, केही महिनामै यस धरतीमा केही मानिसहरूले बुद्धत्व पाउने छन् ! तसर्थ, हामी केही प्रबुद्धहरूको लागि तयार रहनुपर्छ ।

जीवनको लागि जीवन्त हुनु

मानिसहरू सधैँभरि यहीँ रहने ठान्दछन्, त्यसैले उनीहरू जीवित छँदै मृत्यु अभ्यास गरिरहेका छन् ।

कुनै कार दुर्घटनाको प्रतीक्षा नगर्नुहोस् । तपाईंले यो बुझ्नुपर्छ कि तपाईं यतिखेरै ढलेर मर्न सक्नुहुन्छ । म तपाईंको लागि यो चाहदिनँ, अनि म तपाईंलाई लामो जीवनको लागि आशीर्वाद पनि दिन्छु । तर, यो सम्भव छ । हरेक दिन थुप्रै मानिसहरू यत्तिकै मरिरहेका हुन्छन् । बसिरहँदा, उभिरहँदा, पल्टिरहँदा— अनेक अवस्थाहरूमा ।

जब तपाईंलाई आफू पनि मर्न सक्छु भन्ने कुरा महसुस हुन्छ, अचानक तपाईं जीवनलाई महत्त्व दिनुहुन्छ— तपाईं जीवनप्रति जीवन्त बन्नुहुन्छ । म मानिसहरूलाई यो स्मरण गराइरहन्छु कि जीवनमा तपाईं असफल हुन वा रोकिन सक्नुहुन्न, सबैजना पार हुने छन् । तपाईंले यस्तो कोही देख्नभएको छैन, जसलाई सही तरिकाले जीवन नबाँचेकोले बन्दी बनाइएको होओस् । सबैजना पार हुन्छन् । तर, अधिकांश मानिसहरू के पार गरियो भन्ने नजानिकनै यहाँबाट पार हुन्छन् ।

come-alive-illustrative-image

जब तपाईंको दुर्घटना हुनै लागेको थियो, केही क्षणको लागि तपाईंले के बाट पार हुँदैछु भन्ने जान्नुभएको थियो । अरू समयमा, तपाईंलाई केही थाहा हुँदैन । यतिखेर, तपाईंको दिमागमा चलिरहेको नाटकले सबैकुरा छोपिदिएको छ । यसको अर्थ तपाईंको फाल्तु सृजना, हामी बाँचिरहेको यस भव्य सृजनामाथि हावी भइरहेको छ । जब तपाईंको फाल्तु सृजना भङ्ग भयो, जब एकदमै खतरनाक परिस्थितिको कारण तपाईंले सोच्न सक्नुभएन वा भावनामा बहकिन सक्नुभएन, तब अचानक तपाईंलाई यस्तो महसुस गर्नुभयो कि तपाईं वास्तवमै जीवित हुनुहुन्छ ।

हामीले तपाईंलाई जुन योग सिकाइरहेका छौँ, हामीले तपाईंलाई जुन क्रियाहरूमा दीक्षित गरिरहेका छौँ, ती सबै तपाईंको आफ्नो नाटकबाट तपाईंलाई अलग्याउनको निम्ति हो, ताकि ब्रह्माण्डको यो खेल वा लीला तपाईंमा बोध हुन सकोस्— किनकि, यो नहुने हो भने, जीवनको खासै केही अर्थ छैन ।

 

Death-Book-Banner