कोरोना भाइरस जस्तो अदृश्य शत्रुको सामना कसरी गर्ने ?

सद्‌गुरुः केही समयहरू यस्ता हुन्छन्, जहाँ सक्रियताभन्दा निष्क्रिय रहनु बढी महत्त्वपूर्ण हुन्छ । यो पनि त्यस्तै समय हो । आफ्नो काम र विशेषगरी यात्राको सन्दर्भमा, तपाईंको सक्रियता जति कम हुन्छ, त्यति नै राम्रो । किनकि, हामीले अनेक प्रकारका संक्रामक रोगहरू देखेका छौँ— मलेरिया, डेँगु र चिकुनगुनिया । यी सबै संक्रामक (सरुवा) रोगहरूको कारक लामखुट्टे थियो । त्यसैले, हामीले लामखुट्टेहरूलाई नष्ट गर्न केही विधिहरू अपनायौँ । तर, हालको अवस्थामा हामी नै कारक हौँ । र, हामीले आफैँलाई नष्ट गर्न सक्दैनौँ, त्यसैले हामीले सतर्कता अपनाएर एकदमै कम सक्रिय हुनु निकै अपरिहार्य छ । शान्त बसेर आफ्नो जीवनलाई नियाल्ने, चिन्तन–मनन गर्ने, हामी आफ्नो जीवनमा जे बन्न चाहन्छौँ, त्यो पथलाई पहिल्याउन विभिन्न योजनाहरू बुन्ने, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो अस्तित्व कति नाजुक छ भन्ने कुराको महसुस गर्ने उपयुक्त समय हो । अधिकांश मानिसहरू आफ्नो दैनिक जीवनमा यो कुरा बुझ्दैनन् । हाम्रो जीवन एकदमै क्षणभङ्गुर छ— जाबो भाइरसले समेत हामीलाई मार्न सक्दछ ! 

शान्त बसेर आफ्नो जीवनलाई नियाल्ने, चिन्तन–मनन गर्ने, हामी आफ्नो जीवनमा जे बन्न चाहन्छौँ, त्यो पथलाई पहिल्याउन विभिन्न योजनाहरू बुन्ने, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो अस्तित्व कति नाजुक छ भन्ने कुराको महसुस गर्ने उपयुक्त समय हो ।

हामीले सामना गरिरहेका शत्रुहरू अदृश्य छन्, जसले गर्दा ती यति भयानक भएका हुन् । यो रोग हामीबाटै सरिरहेको छ— यदि यो एउटा व्यक्तिबाट अर्कोमा सरिरहेको छ भने, हामीले यो बुझ्नुपर्छ कि यदि बीचमा एउटा व्यक्ति त्यहाँ नहुने हो भने, यो अर्को व्यक्तिसम्म जान सक्दैन । त्यसकारण, कार्यक्रमहरूको सिलसिलामा हामीमध्ये जो अत्यन्तै धेरै यात्रा गरिरहेका हुन्थ्यौँ, हाम्रा सबै इनर इन्जिनियरिङ्ग ईशाङ्ग (शिक्षकहरू) लाई फिर्ता बोलाइएको छ— म स्वयं पनि ! थुप्रैले यात्राको विषयलाई लिएर गुनासो गरिरहेका हुन्थे— अब उनीहरूले यहाँ रहनुको आनन्द लिनुपर्छ । अब तपाईंले पनि धेरै सक्रिय नभइकन कसरी रहने भनेर सिक्न जरूरी छ । अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, जो–जसलाई योग गर्ने फुर्सद थिएन, अब तपाईंसँग पर्याप्त समय छ । यदि व्यस्त हुनुभएकोले तपाईंले आँखा बन्द गर्न र ध्यान गर्न सक्नुभएको थिएन भने, यो तपाईंको लागि उपयुक्त समय हो— आफ्ना आँखा बन्द गरेर यत्तिकै बस्नको लागि !

कोरोना भाइरस लक–डाउन— वास्तविकता जाँच गर्ने समय

यतिबेला, हामी सबैका लागि आफ्नो वास्तविकता जाँच्ने उचित समय हो । के हामीले आफ्नो जीवनको क्षीण प्रकृतिलाई आत्मसात् गरेर बाँच्नको लागि आफूलाई सङ्गठित गरेका छौँ ? हाम्रो जीवन कति नाजुक र क्षणभङ्गुरको छ भन्ने कुरालाई मनन गरेर हामीले त्यस्तो जीवनको लागि तयारी गरेका छौँ ? वा, तपाईं आफ्नै कल्पनाको संसारमा सधैँका लागि यहीँ भइन्छ भन्ने सोचेर बाँचिरहनु भएको छ ? हामी वास्तवमा को हौँ भनेर जाँच्ने सही समय हो ।

आउनुहोस्, हामी सबैले यसको सदुपयोग गरौँ । यदि तपाईं स्वयंले आफूलाई प्रबुद्ध बनाउन सक्नुभएको छैन भने, कम्तीमा भाइरसको सहायता लिनुहोस् ! यसले तपाईंलाई यो बुझाइरहेको छ— कसैले हाँछ्युँ गरिदिएको भरमै तपाईं मर्न सक्नुहुनेछ ! यो एउटा राम्रो शिक्षा हो, अनि राम्रो स्मरण पनि हो । यो आतङ्कित हुने वा आत्तिने समय होइन, तर हामी सावधान हुन अत्यन्तै आवश्यक छ । हामीले आश्रममा सम्भव भएसस्म सबै व्यवहारिक तरिकाहरू अपनाएका छौँ । तपाईंहरू सबैले आफ्नो क्षेत्रमा भइरहेको काममा  सहायता गर्नुपर्छ साथै यसको हिस्सा बन्नुपर्छ । यदि तपाईंले कसैलाई अलिकति पनि बिरामी जस्तो देख्नुभयो भने, यो पक्का गर्नुहोस् कि उनीहरू तुरुन्तै जचाउँन गइरहेका छन् ।

कोरोना–भाइरस— सावधानी र सतर्कताहरू

हामी यो परिस्थितिबाट सफलतापूर्वक र सहजतापृर्वक गुज्रिन चाहन्छौँ । तपाईंहरू नि ? यतिखेर भारतमा जे–जति भइरहेको छ— यो राष्ट्रको जनसङ्ख्यालाई मध्यनजर गर्ने हो भने— निकै अविश्वनसनीय र स्वागत–योग्य प्रयासहरू भइरहेका छन् । भारतको लागि मात्र नभई सिमाना नजिक रहेका छिमेकी राष्ट्रहरूको लागि समेत विभिन्न स्तरमा तयारी र रोकथामका योजनाहरू बनाइँदै छन् । हामी सबैले यसको ठुलो मूल्य चुकाउन गइरहेका छौँ । मानिसहरू र व्यापार–व्यवसायहरूको सन्दर्भमा, पूरै विश्वको आर्थिक पक्ष सङ्कटग्रस्त बन्न गइरहेका छन् । यसको लागि हामीले ठुलो क्षति व्यहोर्नु पर्नेछ, तर जीवनको क्षति हुनु (मर्नु) भन्दा अरू क्षति हुनु ठिक हो । यतिखेर, टड्कारो आवश्यकता भनेको जीवित रहनु हो ।

जो समझदार र विवेकी छन्, उनीहरू यो परिस्थितिलाई जीवितै पार गर्नेछन् । जो विवेकहीन र मूर्ख छन्, उनीहरू बहादुर बन्ने छन् अनि मर्ने छन् ।

जीवित रहनको लागि, तपाईंले आफ्नो सक्रियतालाई कम गर्नुपर्नेछ अनि घुमफिरलाई समेत केही समयको लागि बन्द गर्नुपर्नेछ । आफ्ना साथी–भाइहरूसँगको भेटघाट र जमघटहरू पनि केही समयको लागि छुटाउनु पर्नेछ । बरु, तपाईं आफ्नो हृदयमा प्रेम हुर्काउनु होस्; केही समयको लागि यसलाई प्रत्यक्ष अभिव्यक्त गरिरहन आवश्यक छैन । यो सुनिश्चित गर्नुहोस् कि तपाईं अनि तपाईंको छेउछाउका कोही पनि यो भाइरसको सिकार हुनुहुँदैन । आफैँलाई र अरूलाई जोखिममा नपार्नको लागि निकै हेरविचार गर्नुहोस् । यो परिस्थिति समाप्त नहुनजेलसम्म तपाईंले यो प्रतिबद्धता लिएर बाँच्न जरूरी छ । यदि तपाईं खोक्दै हुनुहुन्छ वा यस्तै लक्षण छन् भने, अरूबाट दुरी बनाएर बस्नुहोस् । यो कुनै भेदभाव होइन । यो केवल समझदारीपूर्ण काम हो । जो समझदार र विवेकी छन्, उनीहरू यो परिस्थितिलाई जीवितै पार गर्नेछन् । जो विवेकहीन र मूर्ख छन्, उनीहरू बहादुर बन्ने छन् अनि मर्ने छन् ।

जिम्मेवारी लिनुहोस्— आफ्नो लागि र अरूका निम्ति समेत

अहिलेको परिस्थितिप्रति आत्तिनुपर्ने कुनै आवश्यकता छैन । सावधान हुनु र आतङ्कित हुनुमा फरक छ— आतङ्कित हुँदा तपाईं सबै गलत कामहरू गर्नुहुन्छ; सावधान हुँदा तपाईं सही कामहरू गर्नुहुन्छ । तपाईंले गर्न सक्ने सबैभन्दा सरल कार्य के हो भने, अरूबाट टाढा रहनुहोस् । आफ्ना बाहिरी गतिविधिहरू न्यून गर्नुहोस् । यो विश्व घुम्ने समय होइन ।

तपाईंहरूमध्ये थुप्रै एकदमै व्यस्त हुनु भएकोले ध्यान गर्ने वा शाम्भवी महामुद्रा क्रिया गर्ने समय पाउनु भएको थिएन भने, यो उत्तम समय हो ! आफूलाई अभ्यासमा स्थापित गर्नको लागि यो समयको सदुपयोग गर्नुहोस् । जीवनले हामीमाथि के–कस्ता परिस्थितिहरू निम्त्याउँछ भन्ने कुरा हामीले निर्धारण गर्न सक्दैनौँ, तर हामीले त्यसबाट के निर्माण गर्छाैँ भन्ने कुरा शत–प्रतिशत हाम्रै हातमा हुन्छ ।

जीवनले हामीमाथि के–कस्ता परिस्थितिहरू निम्त्याउँछ भन्ने कुरा हामीले निर्धारण गर्न सक्दैनौँ, तर हामीले त्यसबाट के निर्माण गर्छाैँ भन्ने कुरा शत–प्रतिशत हाम्रै हातमा हुन्छ ।

यतिखेर, केही कारणवश, प्रकृतिले हामीसामु भयानक भाइरस ल्याएकी छिन् । आउनुहोस्, यो परिस्थितिलाई समेत राम्रोसँग सदुपयोग गरौँ । यो जानेछ । कि त गर्मीले मार्नेछ, वा आफैँ मर्नेछ, वा कुनै न कुनै कारणले जानेछ, हामीलाई अहिले थाहा छैन । तर, यो सधैँभरिका लागि रहने छैन । अहिलेको समयमा, यो एउटा अदृश्य शत्रु भएकोले हामी केही समयको लागि आफ्नो टाउको निहुऱ्याएर कतै बस्नेछौँ । यसलाई जान दिनुहोस् । यदि यो विशाल जन्तु भएको भए, सायद हामीले लड्ने थियौँ । यो भाइरसलाई एक ठाउँबाट अर्कोमा जानको लागि हामी चाहिन्छ, त्यसैले यतिखेर हामीले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम के हो भने, त्यो भाइरसलाई यात्रा गर्ने मौका नदिऔँ । तपाईंले यो प्रतिज्ञा गर्नैपर्छ । तपाईंले यो सुनिश्चित गर्नुपर्नेछ कि तपाईं वाहक (बोकेर पुऱ्याउने) बन्नुहुने छैन, जसले अर्को मानिसमा यो भाइरस सार्नेछ । यदि तपाईंलाई भाइरस लाग्यो भने, त्यो तपाईंमै रोकिनुपर्छ । तपाईंले त्यसको लागि आवश्यक हेरचाह गर्नुपर्नेछ ।

सन्तुलन र बुद्धि अत्यावश्यक

वैज्ञानिक अनुमानहरूले यो भाइरसको जीवन–चक्र अनि अरू चीजको बारेमा कुरा गरिरहेका छन् । यो अवस्था अप्रिल १५ सम्ममा साम्य हुन्छ वा हुँदैन भन्ने कुरा हामी निर्देशनअनुसार जान्छौँ वा भाइरसको सावधानीबाट दिक्क भएर पुनः आफ्नो काम, व्यापार सुरु गर्छाैँ भन्नेमा निर्भर गर्दछ— यदि यस्तो भयो भने, निकै ठुलो मूल्य चुकाउनु पर्नेछ । जब तपाईंको जीवन–परिस्थितिहरू सङ्कटपूर्ण बन्दछन्, त्यसबेला तपाईंको बुद्धि, तपाईंको शारीरिक स्वास्थ्य, तपाईंको सन्तुलन, तपाईंको विवेक, तपाईंको समझदारी, सबैथोक अत्यन्तै महत्त्वपूर्ण हुन्छन् । जब हामी यस्तो संघर्ष र कष्टको सामना गर्छाैँ, तब यो आफूभित्र फर्किने समय हो ।

ईशा क्रिया ध्यान (हिन्दी अनुवाद)

Editor's Note: As humanity faces unprecedented challenges, Sadhguru will go live at Sadhguru AppYouTube, FaceBook, Instagram, from 22 March onward, between 6:00 p.m. and 6:40 p.m. Post your questions to Sadhguru in the comments, in written or video format, using #BeatTheVirus. Make the best of this rare opportunity to get your question answered by Sadhguru!