श्री राम नवमी— रामको जीवनबाट केके प्रेरणा लिन सकिन्छ ?
आज श्री राम नवमी हो । हामी किन श्री रामको पूजा गर्छौँ, साथै उनको जीवनबाट केके प्रेरणा लिन सकिन्छ भन्ने बारेमा सद्गुरु बताउँदै हुनुहुन्छ ।
![Sri Rama Navami: Conducting Yourself Gracefully](https://static.sadhguru.org/d/46272/1633199243-1633199242675.jpg)
सद्गुरुः यदि तपाईंले श्री रामको जीवनका परिस्थितिहरू नियाल्नु भयो भने, जुन रूपमा उनको जीवन घटित भयो, त्यसलाई ध्यान दिनुभयो भने, तपाईंले पाउनुहुनेछ कि उनको जीवन समस्याहरूको अन्तहीन शृङ्खला थियो । सर्वप्रथम, उनले आफ्नो राजपाट गुमाए, जसमाथि त्यसबेलाको परम्पारअनुसार उनको एकाधिकार थियो । त्यसपछि, १४ वर्षको वनवास झेल्नु पऱ्यो । जङ्गलमा उनकी श्रीमतीको अपहरण गरियो । उनलाई छुटाउनको लागि आफ्नो इच्छा विपरित एउटा भयानक युद्धमा लड्नु पऱ्यो । त्यसपछि, जब सीतालाई लिएर आफ्नो राज्यमा फर्किँदै थिए, चारैतिरबाट उनले आपत्तिजनक आलोचनाहरू सुन्नु पऱ्यो । जसकारण, उनले आफ्नी श्रीमतीलाई जङ्गलमा लिएर जानु पऱ्यो, जो अत्यन्तै प्रिय थिइन्, साथै जुम्ल्याहा बच्चाहरूको आमा बन्न गइरहेकी थिइन् । त्यसपछि, अनजानमा आफ्नै बच्चाहरूसँग युद्ध लड्नु पऱ्यो । अनि, अन्त्यमा सीतालाई गुमाउनु पऱ्यो ।
रामको महत्त्व
रामको पूरै जीवन त्रासदीपूर्ण रह्यो । यति हुँदाहुँदै पनि हामी रामको पूजा गर्छौँ । किन ? अनेक समस्याहरूबाट गुज्रिनु परेकाले रामको महत्त्व भएको होइन । उनी यसकारण महत्त्पूर्ण छन्, किनकि उनले सम्पूर्ण जटिल परिस्थितिहरूमा अविचलित रही तिनलाई सहजतापूर्वक सम्हाले । सबैभन्दा कठिन परिस्थितिहरूमा हुँदा समेत उनले आफूलाई शालीन राखे । ती परिस्थितिहरूमा उनी एकपटक पनि क्रोधित भएनन्, आत्तिएनन्, उत्तेजित भएनन्, कसैलाई चोट पुऱ्याएनन् । उनले हरेक स्थितिलाई एकदमै मर्यादित तरिकाले सम्हाले ।
उनको जीवन भयानक परिस्थितिहरूको शृङखला भएपनि, उनी आफ्नो सत्यतामा कहिल्यै डगमगाएनन्, आफ्नो निम्ति स्वयं निर्धारण गरेका जीवनका मूलभूत कुराहरूबाट कहिल्यै विचलित भएनन् ।यसैकारण, जो मानिसहरू सौम्य जीवनसहित मुक्तिको खोजमा थिए, उनीहरूले सदैव रामलाई पछ्याए । किनकि, उनीहरूले यो कुरा बुझेका थिए वा भनौँ उनीहरूमा यो देख्न सक्ने समझदारी थियो कि हामीले जतिसुकै प्रबन्धहरू गरेपनि बाहिरी परिस्थितिहरू जुनसुकै बेला खराब बन्न सक्छन् । तपाईंले सबैथोकको बन्दोवस्त गर्नुभएको हुन सक्छ, तर यदि भुइँचालो गयो भने, यसले सबैथोक लैजान सक्दछ । यस्ता चीजहरू हाम्रो वरिपरि भइरहेका हुन्छन् । भलै, यी चीजहरू हामीमाथि नघटेको भए तापनि, हाम्रो सेरोफेरोमा हजारौँ मानिसहरूमाथि त्यस्तो घटिरहेको हुन्छ । "ए ! ममाथि त्यस्तो हुँदैन" भनेर सोच्नु मूर्खता हो । "यदि ममाथि त्यस्तो आइपऱ्यो भनेपनि, म त्यसबाट सहज र सौम्य रूपमा गुज्रिनेछु"— यो नै जीवन बाँच्ने विवेकपूर्ण तरिका हो ।
मानिसहरूले रामलाई यसकारण रुचाए, किनकि उनीहरूले रामको आचरणमा निहीत समझदारीलाई बुझ्न सके । भलै, उनको जीवन भयानक परिस्थितिहरूको शृङखला भएपनि, उनी आफ्नो सत्यतामा कहिल्यै डगमगाएनन्, आफ्नो निम्ति स्वयं निर्धारण गरेका जीवनका मूलभूत कुराहरूबाट कहिल्यै विचलित भएनन् । जे-जति गर्न जरूरी थियो, त्यसमै आफूलाई केन्द्रित राखिरहे अनि अत्यन्तै सन्तुलित ढङ्गले आफ्नो जीवन व्यतीत गरे ।
विपत्तिहरूको प्रतीक्षा गर्ने संस्कृति !
वास्तवमा भन्नुपर्दा, आध्यात्मिक मार्गमा हिँड्ने मानिसहरूमा प्रायः जीवनमा विपत्तिहरूको कामना गर्ने चलन रहेको हुन्छ । थुप्रै आध्यात्मिक साधकहरू आफ्नो जीवनमा कुनै दुर्घटना घटोस् वा विपत्तिको सामना गर्नु परोस् भनेर कामना गर्छन्, किनकि मृत्युको सामना गर्नुअघि उनीहरू आफूलाई हरेक किसिमबाट जाँच्न चाहन्छन् । उनीहरू आफ्नो क्षमता जाँच्न चाहन्छन् । चाहे जस्तोसुकै परिस्थतिहरूको सामना गर्नु परे तापनि, उनीहरू त्यसलाई शालीनतापूर्वक पार गर्नेछन् । किनकि, जब शरीर त्याग्नुपर्ने क्षण आउँछ, त्यसबेला नै तपाईंले आफ्नो सन्तुलन गुमाउनु हुन्छ । जीवनमा यतिखेर सबैथोक ठिकठाक चलिरहेको छ, तर जब तपाईं त्यस्तो क्षणको सामना गर्नुहुन्छ, जहाँ वास्तविक ठानिएका सबैथोक आफ्नो हातबाट चिप्लिन थाल्छन्, त्यसैबेला तपाईंले स्वयंमाथि आफ्नो नियन्त्रण गुमाउनु हुन्छ । यसैकारण, मानिसहरूले त्रासदीपूर्ण परिस्थितिहरूको कामना गरेका हुन् ।
उदाहरणको लागि, अक्का महादेवीले बाल्यकालदेखि नै आफूलाई पूर्ण रूपमा शिवमा समर्पित गरेकी थिइन् । भलै, एकजना राजासँग विवाहित भए तापनि, उनी सधैँ भन्ने गर्थिन्, " हे शिव ! मलाई भोको बनाइ दिनुहोस्, तर यो सुनिश्चित गर्नुहोस् कि मैले कुनै खानेकुरा पाउने छैन । र, यदि केही गरेर पाइहालेँ भनेपनि, त्यसलाई आफ्नो मुखभित्र हाल्नु अगावै, त्यो मेरो हातबाट झरोस् । मैले त्यसलाई भुईंबाट उठाउनु अगाडि नै कुकुर आएर त्यो खाइदियोस् । ममाथि सबैथरीका परिस्थितिहरू निम्तिऊन्, ताकि बाहिरको परिस्थिति जस्तोसुकै भए तापनि मैले आफूलाई सहज र शान्त रूपमा सम्हाल्न सिक्न सकूँ ।" यो भक्तिको अतिशय रूप हो । तपाईं आफूलाई तयार गर्न चाहनुहुन्छ; जब यहाँबाट जाने अन्तिम क्षण आउँछ, त्यसबेला तपाईं अलिकति पनि हिचकिचाउन चाहनुहुन्न, किनकि त्यही क्षणलाई तपाईंले सहज एवं शालीनतापूर्वक सम्हाल्नुपर्ने हुन्छ । यसको लागि साधना आवश्यक हुन्छ । यदि यो अकस्मात् भइदियो भने, तपाईंमा त्यसलाई सहने र सम्हाल्ने सामर्थ्य हुँदैन । यसैकारण, साधकहरू आफ्नो जीवनमा होसपूर्वक अनेक चुनौती र कठिनाइहरू खोजिरहेका हुन्छन् ।
संसारभरि नै यो परम्परा रहिआएको छ कि यदि कोही आध्यात्मिक मार्गमा हिँड्छन् भने, सबैभन्दा पहिलो काम सचेतनपूर्वक गरिबी रोज्नु हो । गरिबीमा समेत शालीन र सौम्य रहेर जीवन बाँच्नु कुनै सानोतिनो कुरा होइन— यसले हरेक तरिकाले तपाईंको परिक्षण गर्दछ । जब तपाईं भोकाउनु हुन्छ, मानव हुनुको सम्पूर्ण भाव हराउँछ र तपाईं पशु जस्तै बन्नुहुन्छ । एकदमै भोकाएको अवस्थामा समेत शान्त र गरिमापूर्ण रहनु कुनै सामान्य कुरा होइन । यदि तपाईंले योगीहरूलाई हेर्नुभयो भने, उनीहरू कहिल्यै केही माग्दैनन्, उनीहरू यत्तिकै जीविका चलाउँछन् । तपाईं यो देख्न सक्नुहुन्छ कि उनीहरू भोकाएका हुन्छन्, कहिलेकाहीँ कैयौँ दिनसम्म केही खाएका हुँदैनन्, यद्यपि उनीहरूले आफूलाई एकदमै शालीन र शिष्ट राख्छन् । यदि तपाईंले उनीहरूलाई अहिलेको छाक दिनुभयो भने, उनीहरू खान्छन् । तर, यदि तपाईंले उनीहरूलाई अर्को छाकको लागि पैसा दिनुभयो भने, उनीहरू लिँदैनन्, किनकि उनीहरू आफ्नो जीवनमा जतिबेला पनि त्यो चुनौती लिएर बाँच्न चाहन्छन् । यस्तो किन हो भने, यदि तपाईंले आज दुई छाकको लागि पैसा लिनुभयो भने, भोलि तपाईंले दश दिनको लागि पैसा लिनु उचित हो भन्ने कुरामा आफूलाई तार्किक रूपमा विश्वस्त गराउनु हुनेछ । जब तपाईं एउटा थप्नुहुन्छ, तब तार्किक रूपमा अर्को एउटा स्वीकार्य बन्न पुग्छ । त्यसपछि, बिस्तारै तपाईंले आफ्नो पूरै जीवनको लागि प्रबन्ध वा बन्दोवस्त गर्न थाल्नुहुन्छ, अनि त्यो बढ्दै जानेछ । यसो हेर्नुस् त, हामीले आफ्नो जीविकाको प्रक्रियालाई कुन हदसम्म पुऱ्याएका छौँ । हामीले आफ्नो जीविकाको प्रक्रियालाई माथि आकाशमा पुऱ्याएका छौँ, तैपनि त्यो पर्याप्त भएको छैन । त्यसैकारण, यदि तपाईंले अहिलेको छाक दिनुभयो भने, यी योगीहरूले त्यो ग्रहण गर्नेछन् । तर, यदि तपाईंले अर्को छाकको लागि पैसा दिनुभयो भने, उनीहरूले लिँदैनन्, किनकि उनीहरू आफ्नो जीवनमा निरन्तर परीक्षा चाहिरहेका हुन्छन् ।
राम— शालीन एवं सौम्य
रामको जीवनको सफलताको कारण हामीले उनलाई पूजा गरिरहेका होइनौँ । हामी रामलाई यसकारण पुज्दछौँ, ताकि जुन रूपमा उनले आफ्नो जीवनका कठिन परिस्थितिहरूलाई समेत एकदमै धैर्य र शिष्टतापूर्वक सम्हाले, त्यसबाट हामीले केही प्रेरणा लिन सकौँ । त्यसैलाई महत्त्व दिइएको हो; व्यक्तिको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो । तपाईंसँग के-कति छ, के-कति थियो, तपाईंको जीवनमा केके भयो, केके भएन भन्ने कुराहरूले कुनै अर्थ राख्दैनन् । चाहे जेसुकै भएको किन नहोस्, त्यसबेला तपाईंले आफूलाई कुन रूपमा सञ्चालित गर्नुभयो ? यही कुराले वास्तवमा तपाईं को हो भनेर निर्धारण गर्दछ ।
मानौँ, बजारले गति लिइरहेको हुनाले तपाईंले अर्बौँ-खर्बौँ कमाउन सक्नुहोला । तर, त्यसले कुनै अर्थ राख्दैन । त्यसले सामाजिक स्तरमा मात्रै केही महत्त्व राख्न सक्दछ । तपाईंको समाजमा तपाईं करोडपति हुन सक्नुहोला, तर यदि तपाईं अर्को समाजमा जानुभयो भने तपाईं पूरै असफल जस्तो देखिन सक्नुहुन्छ । यसको कुनै महत्त्व हुँदैन । ठिकै छ, त्योसँगै आउने सुख-सुबिधाको आनन्द लिनुहोस्, तर मानिस हुनुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जस्तोसुकै परिस्थितिहरू सामना गर्नुपरे तापनि, तपाईं त्यसलाई कति सहज र शान्तिपूर्वक सम्हाल्न सक्नुहुन्छ ? अधिकांश मानिसहरूको सन्दर्भमा तपाईंले यो देख्न सक्नुहुन्छः यतिखेर उनीहरू पूरै सामान्य देखिएका हुन्छन् । तर, जब उनीहरूले आफ्नो जीवनमा एउटा ठुलो चुनौती सामना गर्नुपर्ने हुन्छ, त्यसबेला उनीहरू वास्तवमा को हुन् भनेर देख्नुहुनेछ । जब केही कुराहरू उनीहरूले सोचे अनुरूप भइदिँदैनन्, उनीहरू यत्रतत्र छिरलिन्छन् ।
मानिसहरू सधैँ आफूले केही चीज पाए भने, धन्यवाद भनिरहेका हुन्छन् । तपाईंले पाउनु भएका सामग्रीहरूले तपाईंको जीवनमा केही थप्दैनन् । एउटा झुपडी नजिकै विशाल घर हुन सक्दछ । तर, तपाईंले यो देख्न सक्नुहुन्छ कि त्यो सानो झुपडीमा बसिरहेको व्यक्तिले पनि आफूलाई तपाईं जत्तिकै स्वाभिमानी ठान्दछ । यो निकै महत्त्पूर्ण छ कि अर्को व्यक्ति चाहे जस्तोसुकै भएपनि, हामीले घमण्डबाट नभई शिष्टता एवं सौहार्दताको भावले आफ्नो जीवन सञ्चालित गर्नुपर्छ । यहाँ सम्म कि यदि तपाईंलाई झुण्ड्याइँदैछ भने, त्यसबेला पनि तपाईं शालीन र सौम्य भावले अघि बढ्नुहोस् । मनुष्य हुनुको गुण नै यही हो । बाँकी सबैथोक परिस्थितिहरूको गुण मात्र हुन् ।
त्यसोभए, के यसको अर्थ हामीले आफ्नो जीवनलाई व्यवस्थित गर्नुहुँदैन भन्ने हो त ? अवश्य होइन । हामी आफ्नो वरिपरिका चीजहरूलाई समेत व्यवस्थापन गर्नुपर्छ, किनकि यो सबैका लागि राम्रो हो । यदि परिस्थितिहरूलाई सही ढङ्गले व्यवस्थापन गरिएको छ भनेपनि, त्यसले मलाई अत्यन्तै प्रिय महसुस गराउन जरूरी छैन । म तबमात्र अद्भुत महसुस गर्छु, जब म हरेक परिस्थितिमा आफूलाई अविचलित भइ सम्हाल्न सक्दछु । तर, हामी परिस्थितिहरू व्यवस्थापन गर्छौँ, किनकि हामी सबैको खुसियालीप्रति सरोकार राख्दछौँ ।
श्री रामले पनि आफ्नो जीवनमा अनेक परिस्थितिहरू व्यस्थापन गर्न खोजे, तर उनले सदैव त्यसो गर्न सकेनन् । उनले एकदमै कठिन परिस्थितिहरूमा जीवन बिताए, साथै थुप्रै कुराहरू नियन्त्रण बाहिर गयो । तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, उनले आफूलाई निकै शान्त र शालीन तरिकाले सञ्चालित गरे । आध्यात्मिक हुनुको मूल सार नै यही हो । यदि तपाईं सही किसिमको परिवेश चाहनुहुन्छ, ताकि आफूभित्रको जीवनलाई एउटा सुन्दर एवं सुगन्धित फूलमा प्रस्फुरित हुन दिन सकियोस्— तपाईंले निरन्तर सौहार्द एवं शान्त परिवेश सृजना गर्नुपर्दछ ।
सद्गुरुद्वारा भजन
Editors Note: श्री राम नवमीको शुभकामना