जीवित छँदै 'मृत्यु' लाई बाँच्नुहोस् !

यस नवीनतम लेखमा नयाँ वर्षको स्वागत गर्दै, सद्‌गुरु, हामीलाई जीवनको एकमात्र निश्चित पक्ष अर्थात् मृत्युसँग बढी निकट सम्बन्ध राख्नको लागि पुनः स्मरण गराउँदै हुनुहुन्छ । भलै, हामीले मृत्युलाई एकदमै भयानक रूपमा बुझ्दै आएका भएपनि, सद्‌गुरुले यो सम्झाउँदै हुनुहुन्छ कि श्वास लिने र श्वास छोड्ने जसरी हामीले जीवन र मृत्यु दुवैलाई स्वीकार गर्नुपर्छ । कसरी सही विकल्प रोज्ने र आफ्नो अस्तित्वमा कसरी चम्किने भनेर उहाँ मार्गदर्शन गर्दै हुनुहुन्छ । जीवित छँदै मृत्युलाई बाँच्नुभयो भने, यस धरतीमा कसरी समय बिताउने भन्ने सन्दर्भमा तपाईं एउटा फरक सम्भावना रचना गर्नुहुन्छ ।
 
Sadhguru Wisdom Sadhguru-Spot | Living Death
 
 
 

सद्‌गुरु: मेरो शुभकामना यही छ कि यो नयाँ वर्ष तपाईंको निम्ति अद्‌भुत बनोस् ।

समय भन्नेबित्तिकै थुप्रै मानिसहरूका निम्ति विभिन्न कुराहरू हुन सक्छन् । केही मानिसहरू समयलाई एउटा भारीको रूपमा बोकिरहेका हुन्छन् । बच्चा र वयस्कबिच रहेको भिन्नता भनेको मूलतः समयको बोझ नै हो । बच्चा उल्लासमय जीवनले भरिपूर्ण हुन्छ, जबकि वयस्क उदासिन जीवनले पिल्सिएको हुन्छ । समय बोझ बन्नुको कारण के हो भने, तपाईंलाई आफ्नै स्मृति वा यादहरूलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा थाहा छैन । एउटा अर्को वर्ष बितेको छ, २०७६ साल सकिएको छ— केही मानिसहरूले यसलाई आफ्नो पिठ्युँमा बोक्नुपर्ने अर्को एउटा भारी भनेर बुझेका हुन्छन् । तर, वास्तवमा वर्ष भनेको समयको मापन न हो, अनि यथार्थ के हो भने वर्षहरू बितिरहेका हुन्छन्, हामीबाट छुट्टिरहेका हुन्छन् । एउटा अर्को वर्ष बित्यो भन्नुको अर्थ के हो भने, अब एक वर्ष कम बोक्नु पर्नेछ ! के यसले तपाईंलाई अझ हलुका बनाउनु पर्दैन र ? तपाईं कि त आउँदो वर्षको उत्सव मनाउन सक्नुहुन्छ, अथवा तपाईं अर्को एउटा वर्ष बित्यो भनेर उत्सव मनाउन सक्नुहुन्छ, किनकि अब आफ्नो जीवनमा एक वर्ष कम सम्हाल्नु पर्नेछ !

मृत्युकै कारणले जीवन सम्भव भइरहेको हुन्छ । यदि तपाईंले यसलाई सही सन्दर्भमा बुझ्नुभयो भने, तपाईं जीवन र मृत्यु दुवैलाई अङ्गाल्न सक्नुहुन्छ ।

म चाहन्छु कि तपाईं आफू कति संलग्न र सहभागी छु भन्ने सन्दर्भमा आफ्नो जीवनको हिसाब राख्नुहोस् । के तपाईं २०७६ मा यो जीवनसँग बढी संलग्न हुनुहुन्थ्यो ? वा, यो अझ गहिरो बन्धन, जटिलता, झन्झटहरूमा अल्झिने प्रक्रिया बनेको थियो ? तपाईंले यही कुराको हिसाब राख्नुपर्छ । किनकि तपाईं मूलतः जीवन र मृत्युको बारेमा नै बढी चासो राख्नुहुन्छ । बाँकी सबैथोक झिना कुराहरू हुन् ।

'मृत्यु' शब्द एकदमै नकारात्मक बनेको छ । मानिसहरू यसलाई एकदमै भयानक कुरा ठान्छन् । तपाईं जुन कुरालाई भयानक ठान्नुहुन्छ, त्यसलाई कहिल्यै अङ्गाल्न सक्नुहुन्न, हैन र ? तपाईंले आफ्नो मनबाट त्यो बुझाइलाई हटाउनै पर्छ । मृत्यु भनेको के हो भनेर तपाईंले यसलाई सही सन्दर्भमा बुझ्नैपर्छ । यो जीवन-विरोधी होइन । बरु, मृत्युकै कारणले जीवन सम्भव भइरहेको हुन्छ । यदि तपाईंले यसलाई सही सन्दर्भमा बुझ्नुभयो भने, तपाईं जीवन र मृत्यु दुवैलाई अङ्गाल्न सक्नुहुन्छ ।

यहाँ यसरी रहनुहोस् कि तपाई हरेक क्षण जीवन र मृत्यु दुवैलाई अनुभव गरिरहनु भएको हुन्छ । मृत्युलाई बाँच्ने तरिका यही हो ।

यस धरती वा सृष्टिको इतिहासमा तपाईं क्षणिक समयको लागि मात्रै बाँचिरहनु भएको हुन्छ । बाँकी समय तपाईं मर्नुभएको हुन्छ । त्यसैले, तपाईं यहाँ जीवित रहनुपर्ने अवधि लामो छैन । तपाईं जति समयसम्म मृत रहनुहुन्छ, त्यसको तुलनामा यहाँ जीवित रहने समय अति नै क्षणिक हुन्छ । तपाईं लामो समयसम्म मृत रहनुभएको कारण नै यतिखेर तपाईं यसरी चम्किरहनु भएको छ । र, यो चमक यसकारण सम्भव भएको हो, किनकि तपाईं पुनः एकपटक लामो समयसम्म मृत रहनुहुनेछ । "म अनि बाँकी अरू" भन्नु एकदमै मूर्खतापूर्ण सोच हो । मूलतः जीवनका सबै तहहरूमा एउटाबिना अर्कोको अस्तित्व नै रहँदैन । पौरुष र स्त्रैण, जीवन र मृत्यु, अन्धकार र प्रकाश, ध्वनि र निःशब्दता— एक-अर्काबिना यिनको अस्तित्व सम्भव हुन सक्दैन । यी एक-अर्काका पूरक वा सहायक हुन्, विरोधी होइनन् ।

तपाईं यतिखेर एकदमै थोरै समयको लागि यहाँ जीवित हुनुहुन्छ, अनि तपाईं यही क्षणिक समयलाई मात्र अङ्गाल्न चाहनुहुन्छ, बाँकीलाई होइन— जीवनले त्यसरी काम गर्दैन, किनकि यो सबै एक हो । मृत्युलाई बाँच्नु भनेकै यही हो । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यहाँ यसरी रहनुहोस् कि तपाई हरेक क्षण जीवन र मृत्यु दुवैलाई अनुभव गरिरहनु भएको हुन्छ । मृत्युलाई बाँच्ने तरिका यही हो । तपाईंको जीवन यसकारण मूल्यवान् छ, किनकि तपाईं कुनैदिन मर्नुहुनेछ । यदि तपाईं कहिल्यै नमर्ने हुनुभएको भए, के तपाईंले जीवनलाई अलिकति पनि ध्यान दिनुहुन्थ्यो र ? केवल उनीहरू बाँच्नेछन्, जो मर्नु पर्नेछ !

यदि मौका मिल्यो भने, मलामी जानुहोस् अनि मृत्युको अन्तिम संस्कारमा सहाभागी हुनुहोस् । परम्परादेखि नै यहाँ यही संस्कृति रहिआएको छ कि यदि तपाईंले शवलाई अन्तिम संस्कारको लागि लैजाँदै गरेको देख्नुभयो भने, तपाईं कम्ती पनि तीन पाइला सँगै जानुपर्ने हुन्छ— यसले प्रतीकात्मक रूपमा यो दर्शाउँछ कि "म पनि तपाईंसँगै छु ।" यो मृत व्यक्तिप्रतिको सम्मान हो, साथै दिवङ्गत भएका व्यक्तिको आफन्तजनको निम्ति सहानुभूति र समवेदना हो ।

योगमा, प्रत्येक श्वासलाई यसरी नै हेरिन्छ— श्वास लिनु भनेको जीवन हो, श्वास छोड्नु भनेको मरण हो ।

मृत्यु, हाम्रो रोजाइ होइन— यो अवश्यम्भावी कुरा हो, जुन निश्चय नै हुनेछ । यो सृष्टिको इच्छाले हुन्छ । जीवन, हाम्रो रोजाइ हो । यदि तपाईं यो रोजाइलाई राम्रोसँग अनुभव गर्न चाहनुहुन्छ भने, तपाईंले जीवनका सम्पूर्ण आयामहरूलाई एउटै रूपमा अङ्गाल्नु अत्यन्तै आवश्यक छ । जुन कुराले तपाईंलाई सृजना गरेको हो, जुन कुरा तपाईंको आधार वा मूल हो, त्यसलाई उपेक्षा गरेर तपाईंले यो अंश (जीवन) लाई मात्रै स्वीकार गर्नुभयो भने, तपाईंसँग रोज्नको लागि कुनै विकल्पहरू बाँकी रहँदैनन्; तपाईं बाध्यात्मक चक्रहरूमा फस्नुहुन्छ । त्यसबेला, तपाईंले जीवनलाई पनि मृत्युलाई जसरी बाँच्नुहुनेछ— होशपूर्वक अनि आफ्नो रोजाइले नभई अवश्यम्भावी हुने घटनाको रूपमा । छनौट गर्न सक्ने क्षमतालाई राम्रोसँग उपयोग गर्नको लागि तपाईं पूर्ण रूपमा समावेशी हुनुपर्छ— अर्थात्, तपाईंले जुन रूपमा जीवनलाई अङ्गालो हाल्नुहुन्छ, त्यसैगरी मृत्युलाई पनि अङ्गालो हाल्नुपर्ने हुन्छ । तपाईंले सबैथोकलाई यसरी नै स्वीकार गर्नुपर्ने हुन्छ । योगमा, प्रत्येक श्वासलाई यसरी नै हेरिन्छ— श्वास लिनु भनेको जीवन हो, श्वास छोड्नु भनेको मरण हो । योगको उद्देश्य भनेकै हरक्षण एउटै श्वासमा जीवन र मृत्युलाई घटित हुन दिनु हो । योगको अर्थ मिलन वा एक हुनु हो— अर्थात्, तपाईंभित्र जीवन र मृत्यु एक भएका हुन्छन् । त्यसउपरान्त, यी भिन्न-भिन्न कुराहरू रहँदैनन्, तपाईं मृत्युलाई नै बाँचिरहनु भएको हुन्छ । जब तपाईं मृत्युलाई बाँच्नुहुन्छ, फलस्वरूप, यो जीवन एकदमै अद्‌भुत र भव्य बन्नेछ । किनकि, यदि तपाईंले माटोलाई उपेक्षा गर्नुभयो भने, के वृक्ष हुर्किन सक्ला ?

यदि तपाईं वास्तवमै जीवित हुन चाहनुहुन्छ भने, अर्थात् यसअनुरूप जीवित हुने, जहाँ तपाईं स्वयं आफ्नो अस्तित्वको मूल प्रकृति निर्धाण गर्न सक्नुहोस्, यदि त्यसो हो भने यो अत्यन्तै महत्त्वपूर्ण छ कि तपाईंले मृत्युलाई बाँच्नुपर्छ— तपाईंले सम्पूर्ण जीवनलाई पूर्ण रूपमा स्वीकार गरेको हुनुपर्छ । यदि तपाईंले तिनलाई छुट्टाछुट्टै राख्नुभयो भने, तपाईंसँग विकल्प रोज्ने शक्ति नै हुँदैन, किनकि तपाईंसँग उभिनको लागि कुनै आधार बाँकी रहँदैन । शाश्वत मृत्युको धरातल नभएको भए, तपाईं अहिले यहाँ जीवनको रूपमा जसरी चम्किनुभएको छ, त्यो सम्भव नै हुने थिएन ।

यदि तपाईंले सचेतनपूर्वक जीवन र मृत्यु दुवैलाई अङ्गाल्नु भयो भनेमात्र, तपाईं यसरी जीवित रहनुहुनेछ, जुन अतुल्य र अविश्वसनीय लाग्नेछ, जसले तपाईंको जीवनलाई भव्य अस्तित्व बनाउनेछ । तपाईंले यो संसारमा गर्ने कामहरूले जीवन भव्य बन्ने होइन, तपाईं जुन रूपमा यहाँ रहनुहुन्छ, त्यसले नै यसलाई भव्य र अतुल्य बनाउँछ । तपाईं आफूभित्र निकै भव्य रूपमा बाँच्न सक्नुहुन्छ ।

मेरो शुभकामना यही छ कि यो नयाँ वर्ष २०७७ तपाईंहरू सबैका निम्ति एउटा भव्य अनुभव बनोस् !

प्रेम एवं कृपा