सद्‌गुरुः यदि तपाईंले श्री रामको जीवनका परिस्थितिहरू नियाल्नु भयो भने, जुन रूपमा उनको जीवन घटित भयो, त्यसलाई ध्यान दिनुभयो भने, तपाईंले पाउनुहुनेछ कि उनको जीवन समस्याहरूको अन्तहीन शृङ्खला थियो । सर्वप्रथम, उनले आफ्नो राजपाट गुमाए, जसमाथि त्यसबेलाको परम्पारअनुसार उनको एकाधिकार थियो । त्यसपछि, १४ वर्षको वनवास झेल्नु पऱ्यो । जङ्गलमा उनकी श्रीमतीको अपहरण गरियो । उनलाई छुटाउनको लागि आफ्नो इच्छा विपरित एउटा भयानक युद्धमा लड्नु पऱ्यो । त्यसपछि, जब सीतालाई लिएर आफ्नो राज्यमा फर्किँदै थिए, चारैतिरबाट उनले आपत्तिजनक आलोचनाहरू सुन्नु पऱ्यो । जसकारण, उनले आफ्नी श्रीमतीलाई जङ्गलमा लिएर जानु पऱ्यो, जो अत्यन्तै प्रिय थिइन्, साथै जुम्ल्याहा बच्चाहरूको आमा बन्न गइरहेकी थिइन् । त्यसपछि, अनजानमा आफ्नै बच्चाहरूसँग युद्ध लड्नु पऱ्यो । अनि, अन्त्यमा सीतालाई गुमाउनु पऱ्यो ।

रामको महत्त्व

रामको पूरै जीवन त्रासदीपूर्ण रह्यो । यति हुँदाहुँदै पनि हामी रामको पूजा गर्छौँ । किन ? अनेक समस्याहरूबाट गुज्रिनु परेकाले रामको महत्त्व भएको होइन । उनी यसकारण महत्त्पूर्ण छन्, किनकि उनले सम्पूर्ण जटिल परिस्थितिहरूमा अविचलित रही तिनलाई सहजतापूर्वक सम्हाले । सबैभन्दा कठिन परिस्थितिहरूमा हुँदा समेत उनले आफूलाई शालीन राखे । ती परिस्थितिहरूमा उनी एकपटक पनि क्रोधित भएनन्, आत्तिएनन्, उत्तेजित भएनन्, कसैलाई चोट पुऱ्याएनन् । उनले हरेक स्थितिलाई एकदमै मर्यादित तरिकाले सम्हाले ।

उनको जीवन भयानक परिस्थितिहरूको शृङखला भएपनि, उनी आफ्नो सत्यतामा कहिल्यै डगमगाएनन्, आफ्नो निम्ति स्वयं निर्धारण गरेका जीवनका मूलभूत कुराहरूबाट कहिल्यै विचलित भएनन् ।

यसैकारण, जो मानिसहरू सौम्य जीवनसहित मुक्तिको खोजमा थिए, उनीहरूले सदैव रामलाई पछ्याए । किनकि, उनीहरूले यो कुरा बुझेका थिए वा भनौँ उनीहरूमा यो देख्न सक्ने समझदारी थियो कि हामीले जतिसुकै प्रबन्धहरू गरेपनि बाहिरी परिस्थितिहरू जुनसुकै बेला खराब बन्न सक्छन् । तपाईंले सबैथोकको बन्दोवस्त गर्नुभएको हुन सक्छ, तर यदि भुइँचालो गयो भने, यसले सबैथोक लैजान सक्दछ । यस्ता चीजहरू हाम्रो वरिपरि भइरहेका हुन्छन् । भलै, यी चीजहरू हामीमाथि नघटेको भए तापनि, हाम्रो सेरोफेरोमा हजारौँ मानिसहरूमाथि त्यस्तो घटिरहेको हुन्छ । "ए ! ममाथि त्यस्तो हुँदैन" भनेर सोच्नु मूर्खता हो । "यदि ममाथि त्यस्तो आइपऱ्यो भनेपनि, म त्यसबाट सहज र सौम्य रूपमा गुज्रिनेछु"— यो नै जीवन बाँच्ने विवेकपूर्ण तरिका हो ।

मानिसहरूले रामलाई यसकारण रुचाए, किनकि उनीहरूले रामको आचरणमा निहीत समझदारीलाई बुझ्न सके । भलै, उनको जीवन भयानक परिस्थितिहरूको शृङखला भएपनि, उनी आफ्नो सत्यतामा कहिल्यै डगमगाएनन्, आफ्नो निम्ति स्वयं निर्धारण गरेका जीवनका मूलभूत कुराहरूबाट कहिल्यै विचलित भएनन् । जे-जति गर्न जरूरी थियो, त्यसमै आफूलाई केन्द्रित राखिरहे अनि अत्यन्तै सन्तुलित ढङ्गले आफ्नो जीवन व्यतीत गरे ।

विपत्तिहरूको प्रतीक्षा गर्ने संस्कृति !

वास्तवमा भन्नुपर्दा, आध्यात्मिक मार्गमा हिँड्ने मानिसहरूमा प्रायः जीवनमा विपत्तिहरूको कामना गर्ने चलन रहेको हुन्छ । थुप्रै आध्यात्मिक साधकहरू आफ्नो जीवनमा कुनै दुर्घटना घटोस् वा विपत्तिको सामना गर्नु परोस् भनेर कामना गर्छन्, किनकि मृत्युको सामना गर्नुअघि उनीहरू आफूलाई हरेक किसिमबाट जाँच्न चाहन्छन् । उनीहरू आफ्नो क्षमता जाँच्न चाहन्छन् । चाहे जस्तोसुकै परिस्थतिहरूको सामना गर्नु परे तापनि, उनीहरू त्यसलाई शालीनतापूर्वक पार गर्नेछन् । किनकि, जब शरीर त्याग्नुपर्ने क्षण आउँछ, त्यसबेला नै तपाईंले आफ्नो सन्तुलन गुमाउनु हुन्छ । जीवनमा यतिखेर सबैथोक ठिकठाक चलिरहेको छ, तर जब तपाईं त्यस्तो क्षणको सामना गर्नुहुन्छ, जहाँ वास्तविक ठानिएका सबैथोक आफ्नो हातबाट चिप्लिन थाल्छन्, त्यसैबेला तपाईंले स्वयंमाथि आफ्नो नियन्त्रण गुमाउनु हुन्छ । यसैकारण, मानिसहरूले त्रासदीपूर्ण परिस्थितिहरूको कामना गरेका हुन् ।

उदाहरणको लागि, अक्का महादेवीले बाल्यकालदेखि नै आफूलाई पूर्ण रूपमा शिवमा समर्पित गरेकी थिइन् । भलै, एकजना राजासँग विवाहित भए तापनि, उनी सधैँ भन्ने गर्थिन्, " हे शिव ! मलाई भोको बनाइ दिनुहोस्, तर यो सुनिश्चित गर्नुहोस् कि मैले कुनै खानेकुरा पाउने छैन । र, यदि केही गरेर पाइहालेँ भनेपनि, त्यसलाई आफ्नो मुखभित्र हाल्नु अगावै, त्यो मेरो हातबाट झरोस् । मैले त्यसलाई भुईंबाट उठाउनु अगाडि नै कुकुर आएर त्यो खाइदियोस् । ममाथि सबैथरीका परिस्थितिहरू निम्तिऊन्, ताकि बाहिरको परिस्थिति जस्तोसुकै भए तापनि मैले आफूलाई सहज र शान्त रूपमा सम्हाल्न सिक्न सकूँ ।" यो भक्तिको अतिशय रूप हो । तपाईं आफूलाई तयार गर्न चाहनुहुन्छ; जब यहाँबाट जाने अन्तिम क्षण आउँछ, त्यसबेला तपाईं अलिकति पनि हिचकिचाउन चाहनुहुन्न, किनकि त्यही क्षणलाई तपाईंले सहज एवं शालीनतापूर्वक सम्हाल्नुपर्ने हुन्छ । यसको लागि साधना आवश्यक हुन्छ । यदि यो अकस्मात् भइदियो भने, तपाईंमा त्यसलाई सहने र सम्हाल्ने सामर्थ्य हुँदैन । यसैकारण, साधकहरू आफ्नो जीवनमा होसपूर्वक अनेक चुनौती र कठिनाइहरू खोजिरहेका हुन्छन् ।

जीवनमा यतिखेर सबैथोक ठिकठाक चलिरहेको छ, तर जब तपाईं त्यस्तो क्षणको सामना गर्नुहुन्छ, जहाँ वास्तविक ठानिएका सबैथोक आफ्नो हातबाट चिप्लिन थाल्छन्, त्यसैबेला तपाईंले स्वयंमाथि आफ्नो नियन्त्रण गुमाउनु हुन्छ ।

संसारभरि नै यो परम्परा रहिआएको छ कि यदि कोही आध्यात्मिक मार्गमा हिँड्छन् भने, सबैभन्दा पहिलो काम सचेतनपूर्वक गरिबी रोज्नु हो । गरिबीमा समेत शालीन र सौम्य रहेर जीवन बाँच्नु कुनै सानोतिनो कुरा होइन— यसले हरेक तरिकाले तपाईंको परिक्षण गर्दछ । जब तपाईं भोकाउनु हुन्छ, मानव हुनुको सम्पूर्ण भाव हराउँछ र तपाईं पशु जस्तै बन्नुहुन्छ । एकदमै भोकाएको अवस्थामा समेत शान्त र गरिमापूर्ण रहनु कुनै सामान्य कुरा होइन । यदि तपाईंले योगीहरूलाई हेर्नुभयो भने, उनीहरू कहिल्यै केही माग्दैनन्, उनीहरू यत्तिकै जीविका चलाउँछन् । तपाईं यो देख्न सक्नुहुन्छ कि उनीहरू भोकाएका हुन्छन्, कहिलेकाहीँ कैयौँ दिनसम्म केही खाएका हुँदैनन्, यद्यपि उनीहरूले आफूलाई एकदमै शालीन र शिष्ट राख्छन् । यदि तपाईंले उनीहरूलाई अहिलेको छाक दिनुभयो भने, उनीहरू खान्छन् । तर, यदि तपाईंले उनीहरूलाई अर्को छाकको लागि पैसा दिनुभयो भने, उनीहरू लिँदैनन्, किनकि उनीहरू आफ्नो जीवनमा जतिबेला पनि त्यो चुनौती लिएर बाँच्न चाहन्छन् । यस्तो किन हो भने, यदि तपाईंले आज दुई छाकको लागि पैसा लिनुभयो भने, भोलि तपाईंले दश दिनको लागि पैसा लिनु उचित हो भन्ने कुरामा आफूलाई तार्किक रूपमा विश्वस्त गराउनु हुनेछ । जब तपाईं एउटा थप्नुहुन्छ, तब तार्किक रूपमा अर्को एउटा स्वीकार्य बन्न पुग्छ । त्यसपछि, बिस्तारै तपाईंले आफ्नो पूरै जीवनको लागि प्रबन्ध वा बन्दोवस्त गर्न थाल्नुहुन्छ, अनि त्यो बढ्दै जानेछ । यसो हेर्नुस् त, हामीले आफ्नो जीविकाको प्रक्रियालाई कुन हदसम्म पुऱ्याएका छौँ । हामीले आफ्नो जीविकाको प्रक्रियालाई माथि आकाशमा पुऱ्याएका छौँ, तैपनि त्यो पर्याप्त भएको छैन । त्यसैकारण, यदि तपाईंले अहिलेको छाक दिनुभयो भने, यी योगीहरूले त्यो ग्रहण गर्नेछन् । तर, यदि तपाईंले अर्को छाकको लागि पैसा दिनुभयो भने, उनीहरूले लिँदैनन्, किनकि उनीहरू आफ्नो जीवनमा निरन्तर परीक्षा चाहिरहेका हुन्छन् ।

राम— शालीन एवं सौम्य

रामको जीवनको सफलताको कारण हामीले उनलाई पूजा गरिरहेका होइनौँ । हामी रामलाई यसकारण पुज्दछौँ, ताकि जुन रूपमा उनले आफ्नो जीवनका कठिन परिस्थितिहरूलाई समेत एकदमै धैर्य र शिष्टतापूर्वक सम्हाले, त्यसबाट हामीले केही प्रेरणा लिन सकौँ । त्यसैलाई महत्त्व दिइएको हो; व्यक्तिको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो । तपाईंसँग के-कति छ, के-कति थियो, तपाईंको जीवनमा केके भयो, केके भएन भन्ने कुराहरूले कुनै अर्थ राख्दैनन् । चाहे जेसुकै भएको किन नहोस्, त्यसबेला तपाईंले आफूलाई कुन रूपमा सञ्चालित गर्नुभयो ? यही कुराले वास्तवमा तपाईं को हो भनेर निर्धारण गर्दछ ।

मानौँ, बजारले गति लिइरहेको हुनाले तपाईंले अर्बौँ-खर्बौँ कमाउन सक्नुहोला । तर, त्यसले कुनै अर्थ राख्दैन । त्यसले सामाजिक स्तरमा मात्रै केही महत्त्व राख्न सक्दछ । तपाईंको समाजमा तपाईं करोडपति हुन सक्नुहोला, तर यदि तपाईं अर्को समाजमा जानुभयो भने तपाईं पूरै असफल जस्तो देखिन सक्नुहुन्छ । यसको कुनै महत्त्व हुँदैन । ठिकै छ, त्योसँगै आउने सुख-सुबिधाको आनन्द लिनुहोस्, तर मानिस हुनुको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, जस्तोसुकै परिस्थितिहरू सामना गर्नुपरे तापनि, तपाईं त्यसलाई कति सहज र शान्तिपूर्वक सम्हाल्न सक्नुहुन्छ ? अधिकांश मानिसहरूको सन्दर्भमा तपाईंले यो देख्न सक्नुहुन्छः यतिखेर उनीहरू पूरै सामान्य देखिएका हुन्छन् । तर, जब उनीहरूले आफ्नो जीवनमा एउटा ठुलो चुनौती सामना गर्नुपर्ने हुन्छ, त्यसबेला उनीहरू वास्तवमा को हुन् भनेर देख्नुहुनेछ । जब केही कुराहरू उनीहरूले सोचे अनुरूप भइदिँदैनन्, उनीहरू यत्रतत्र छिरलिन्छन् ।

हामी रामलाई यसकारण पुज्दछौँ, ताकि जुन रूपमा उनले आफ्नो जीवनका कठिन परिस्थितिहरूलाई समेत एकदमै धैर्य र शिष्टतापूर्वक सम्हाले, त्यसबाट हामीले केही प्रेरणा लिन सकौँ ।

मानिसहरू सधैँ आफूले केही चीज पाए भने, धन्यवाद भनिरहेका हुन्छन् । तपाईंले पाउनु भएका सामग्रीहरूले तपाईंको जीवनमा केही थप्दैनन् । एउटा झुपडी नजिकै विशाल घर हुन सक्दछ । तर, तपाईंले यो देख्न सक्नुहुन्छ कि त्यो सानो झुपडीमा बसिरहेको व्यक्तिले पनि आफूलाई तपाईं जत्तिकै स्वाभिमानी ठान्दछ । यो निकै महत्त्पूर्ण छ कि अर्को व्यक्ति चाहे जस्तोसुकै भएपनि, हामीले घमण्डबाट नभई शिष्टता एवं सौहार्दताको भावले आफ्नो जीवन सञ्चालित गर्नुपर्छ । यहाँ सम्म कि यदि तपाईंलाई झुण्ड्याइँदैछ भने, त्यसबेला पनि तपाईं शालीन र सौम्य भावले अघि बढ्नुहोस् । मनुष्य हुनुको गुण नै यही हो । बाँकी सबैथोक परिस्थितिहरूको गुण मात्र हुन् ।

त्यसोभए, के यसको अर्थ हामीले आफ्नो जीवनलाई व्यवस्थित गर्नुहुँदैन भन्ने हो त ? अवश्य होइन । हामी आफ्नो वरिपरिका चीजहरूलाई समेत व्यवस्थापन गर्नुपर्छ, किनकि यो सबैका लागि राम्रो हो । यदि परिस्थितिहरूलाई सही ढङ्गले व्यवस्थापन गरिएको छ भनेपनि, त्यसले मलाई अत्यन्तै प्रिय महसुस गराउन जरूरी छैन । म तबमात्र अद्भुत महसुस गर्छु, जब म हरेक परिस्थितिमा आफूलाई अविचलित भइ सम्हाल्न सक्दछु । तर, हामी परिस्थितिहरू व्यवस्थापन गर्छौँ, किनकि हामी सबैको खुसियालीप्रति सरोकार राख्दछौँ ।

श्री रामले पनि आफ्नो जीवनमा अनेक परिस्थितिहरू व्यस्थापन गर्न खोजे, तर उनले सदैव त्यसो गर्न सकेनन् । उनले एकदमै कठिन परिस्थितिहरूमा जीवन बिताए, साथै थुप्रै कुराहरू नियन्त्रण बाहिर गयो । तथापि, सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, उनले आफूलाई निकै शान्त र शालीन तरिकाले सञ्चालित गरे । आध्यात्मिक हुनुको मूल सार नै यही हो । यदि तपाईं सही किसिमको परिवेश चाहनुहुन्छ, ताकि आफूभित्रको जीवनलाई एउटा सुन्दर एवं सुगन्धित फूलमा प्रस्फुरित हुन दिन सकियोस्— तपाईंले निरन्तर सौहार्द एवं शान्त परिवेश सृजना गर्नुपर्दछ ।

सद्‌गुरुद्वारा भजन

https://www.youtube.com/watch?v=RIxcBRZNJsI

Editors Note: श्री राम नवमीको शुभकामना