प्रश्नः नमस्कार सद्‌गुरु । यो थाहा पाउँदा निकै रोचक लाग्यो कि तपाईं खेलकुदको माध्यमले ग्रामीण क्षेत्रका समुदायहरूसम्म पुगिरहनु भएको छ । कृपया हामीलाई यो बताउनुहोस् कि ईशा फाउण्डेशनले सामुदायिक विकास कार्यक्रममा खेलकुदलाई कुन रूपमा समावेश गरेको छ ?

सद्‌गुरुः यो त्यसबेलाको कुरा हो, जब हामीले पहिलो ‘ग्रामीण पुनरूत्थान अभियान’ कार्यक्रम सुरु गरेका थियौँ । हामी ग्रामीण समाजका मानिसहरुमाझ ध्यान-प्रक्रिया पुऱ्याउन चाहन्थ्यौँ । जब हामीले पहिलो कार्यक्रम सञ्चालन गऱ्यौँ, सयजनाभन्दा बढी मानिसहरू सहभागी थिए ।

तेस्रो दिन, हामीले सबैलाई खाना खुवायौँ । तर, चौथो दिन आधा सङ्ख्या कार्यक्रममा आएनन् । मैले जान्न चाहेँ कि किन यस्तो भयो । मलाई यो बताइयो कि उनीहरूलाई अर्को जातको व्यक्तिसँगै बसेर खाना खानु उचित लागेन । यदि त्यो कारण हो भने, म कार्यक्रमलाई अघि बढाउँदिन भनेर निधो गरेँ । त्यसैले, मैले कार्यक्रमलाई बीचमै रोकेँ ।

हामी जहाँजहाँ ध्यानको कुनै कार्यक्रम सञ्चालन गर्छौँ, मानिसहरूलाई ध्यानको प्रक्रियामा लैजानु पहिले उनीहरूलाई एक घण्टासम्म कुनै सरल खेलहरू खेलाइन्छ, जहाँ उनीहरू बच्चा जस्तै बन्छन् ।

तर पछि, जब मैले यसको बारेमा सोचेँ, मैले बुझेँ कि यो त हजारौँ वर्षदेखि रहिआएको समस्या हो । अनि, यो एक रातमै सुल्झिने छैन । समस्या के थियो भने, उनीहरूलाई सँगै बसेर खाना खान भनिएको थियो, जुन विवादपूर्ण विषय बन्न पुगेको थियो । अतः मैले सोचेँ कि यदि उनीहरूलाई सँगै बसेर खानमा समस्या छ भने, कार्यक्रमको ढाँचा यस्तो बनाऔँ जहाँ उनीहरू सँगै खेल्ने छन् ।

उनीहरूलाई सँगै खेल्नमा कुनै आपत्ति थिएन, अनि यही कुराले ‘ग्रामीण पुनरुत्थान कार्यक्रम’को समग्र स्वरूपलाई परिवर्तन गरिदियो । सँगै खेल्दाखेरी उनीहरूले आफू को हुँ भन्ने कुरा नै बिर्सिए । खेलको सुन्दरता भनेकै त्यही हो— जसै तपाईं खेलको मैदानमा प्रवेश गर्नुहुन्छ, तपाईंमा सङ्कोचको भाव रहँदैन, जसकारण तपाईंको पहिचान भङ्ग हुन्छ ।

विश्वभरी सञ्चालन भइरहेका कार्यक्रमहरूमा हामी हरेक पटक खेलको प्रयोग गरिरहेका हुन्छौँ । हामी जहाँजहाँ ध्यानको कुनै कार्यक्रम सञ्चालन गर्छौँ, मानिसहरूलाई ध्यानको प्रक्रियामा लैजानु पहिले उनीहरूलाई एक घण्टासम्म कुनै सरल खेलहरू खेलाइन्छ, जहाँ उनीहरू बच्चा जस्तै बन्छन् । उनीहरू जोडले कराउँछन, दगुर्छन्, भाग्छन् अनि खुलेर खेल्छन् । यदि मानिसहरूमा यस किसिमको निःसङ्कोच भाव नहुने हो— यदि उनीहरू चिच्याउन, हाँस्न र उफ्रिन नसक्ने हो भने, उनीहरू निश्चय नै ध्यान गर्न सक्दैनन् ।

खेलले विभेद मेटाउँछ

जातमा रहेको विभेद र अन्य प्रकारका दुराग्रह एक पिँढीदेखि अर्को पिँढी गर्दै चलिआएका छन् । तर, हामीले के चाल पायौँ भने, जब गाउँमा खेल समुहहरू बने अनि तामिलनाडुमा ′लिग टुर्नामेन्ट′ सुरु भयो, जो राम्रो खेल्दथ्यो, ऊ सबैको प्रिय बन्थ्यो । तब, कसैले पनि उसलाई जातको आधारमा हेर्थेनन्— ऊ उनीहरूको गाउँको विजेता हो भन्ने कुराले मात्र महत्त्व राख्दथ्यो । खेलकुदले जातिबीच रहेको अन्तरलाई पूर्ण रूपमा नभए तापनि केहि हदसम्म साम्य पारिदियो । यसले भिन्न-भिन्न समुदायहरूको बीचमा सामिप्यता बढायो ।

आज पनि जब कुनै प्रतियोगिता भइरहेको हुन्छ, तपाईंले सबै समुदायहरूलाई एकैठाउँमा जम्मा भएको देख्नुहुनेछ । उनीहरूले आफू को हूँ भन्ने कुरा बिर्सिएका हुन्छन् । सुरुमा मैदानमा उभिँदा सायद उनीहरू आफ्नै समुदायका मानिसहरूमाझ उभिन्छन् । तर, जसैजसै खेलले आफ्नो गति लिन्छ, दर्शकहरूमा एक किसिमको उछाल हुन्छ; एकआपसमा घुलमिल हुन थाल्छन् । उनीहरू एकअर्कालाई धाप मारिरहेका हुन्छन्— उनीहरूले को व्यक्ति को हो भन्ने कुरा बिर्सिएका हुन्छन् ।

खेलको सुन्दर पक्ष भनेकै यही हो । तपाईं पूर्ण रुपमा सहभागी र संलग्न नभइकन खेल खेल्नै सक्नुहुन्न । हरेक खेलको मूल तत्त्व भनेको संलग्नता हो । यदि संलग्नता छैन भने, त्यहाँ खेल हुँदैन । खेलकुदले मानिसहरूलाई यस किसिमले तल्लीन बनाउँछ कि मानिसहरू उच्चतम सम्भावनाको लागि तयार हुन्छन् । हामी गाउँहरूमा खेललाई एकदमै प्रभावशाली ढंगले प्रयोग गरिरहेका छौँ ताकि मानिसहरू अचल वा स्थिर बस्न सकून र ध्यान गर्न सकून, जुन उनीहरूले आफ्नो जीवनमा सम्भव होला भनेर कहिल्यै सोचेकै थिएनन् । विवेकानन्दले त यतिसम्म भन्नुभएको थियो, “प्रार्थनाको बेलामाभन्दा बल खेलिरहेको बेलामा तपाईं भगवान्‌को नजिक रहनुहुन्छ।”

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#NationalSportsDay #KheloIndia #Sadhguru #Sports

A post shared by Sadhguru (@sadhguru) on

 

खेलकुद र राष्ट्रको भविष्य

हामीले खेललाई कहिल्यै आफ्नो जीवनको महत्त्वपूर्ण पाटोको रूपमा लिएका छैनौँ । यसकारण हामीले आफ्नो उत्साह र उमङ्गको भावलाई गुमाउँदै गएका छौँ, जसको लागि ठूलो मूल्य चुकाइरहेका छौँ । सबै स्तरहरूमा खेलकुदलाई पुनर्स्थापना गर्ने समय भएको छ ।

यो एकदमै महत्त्वपूर्ण छ कि विद्यालयहरूमा कम्तीमा पनि १५ देखि २० प्रतिशत समय खेलकुदमा समर्पित हुनुपर्छ, ताकि बच्चाहरूमा चञ्चलता र खेलको भावना बनिरहोस् । कक्षाकोठाको एउटा कुनामा बसाएर केही सिकाउने प्रयत्न गर्नुभन्दा उनीहरूलाई कुनै खेल खेलाएर अरु थुप्रै कुराहरू सिकाउन सकिन्छ । बच्चाहरूको शरीर र दिमाग विकसित हुनुपर्छ अनि फूर्तिलो र चनाखो हुनुपर्छ । यदि तपाईंकै शरीर र दिमाग फूर्तिलो र चनाखो छैन भने, तपाईं बच्चालाई के नै सिकाउनु हुन्छ र ?

यो एकदमै महत्वपुर्ण छ कि विद्यालयहरूमा कम्तीमा पनि १५ देखि २० प्रतिशत समय खेलकुदमा समर्पित हुनुपर्छ ।

खेल जहिल्यै प्रतिस्पर्धात्मक हुन जरुरी छैन । मनोरञ्जनात्मक खेलहरू खल्न सकिन्छ; महत्त्वपूर्ण कुरा यो हो कि मानिसहरूले खेल्नुपर्छ । हाम्रो शरीर र दिमागको विकासको लागि यो अत्यन्तै आवश्यक छ । तबमात्र हामी यस्ता मानिसहरू तयार गर्न सक्छौँ, जो सक्षम र सामर्थ्यवान् छन् । यदि कलिलो उमेरमै त्यो सक्षमता निर्माण नगरिने हो भने, पछि थुप्रै मानिसहरू स्वस्थ र तन्दुरुस्त हुने छैनन् ।

जीवनको लागि योग्य

केही समयअघि, म केही व्यवसायी र उनीहरूको परिवारजनसँग कुराकानी गरिरहेको थिएँ । मैले भनेँ, “तपाईंहरू कोही पनि जीवनको लागि योग्य हुनुहुन्न ।” उनीहरूले भने, “तपाईंको मतलब के हो ? हामी सबै ठीकै छौँ, साथै आफ्नो क्षेत्रमा सफल पनि छौँ ।” मैले भनेँ, “ मानिलिनुहोस् कि भोलि बिहान, तपाईंहरू सबैजना सडकमा हिँडिरहेको बेला एउटा बाघ आयो भने, तपाईंहरूमध्ये कतिजना रूखमा चढेर आफ्नो ज्यान जोगाउन सक्नुहुन्छ ? एकजनाले पनि सक्नुहुन्न । बरु, सडकमा झाडु लगाइरहेको मान्छेले रूख चढेर आफूलाई बचाउन सक्ला । तपाईंहरू सबैजना— जो आफूलाई सफल ठान्नुहुन्छ— बाघको निम्ति राम्नो नास्ता बन्नुहुनेछ ।”

वास्तवमा, राष्ट्र केवल सोच हो— यहाँ मानिसहरू मात्रै हुन्छन्, अनि यसैकारण खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।

यदि हामी महान् राष्ट्र निर्माण गर्न चाहन्छौँ भने, सर्वप्रथम हामीले स्वस्थ र सबल मानिसहरू निर्माण गर्नुपर्छ । यसो गर्नको लागि खेलले महत्त्वपूर्ण भूमिका निभाउन सक्दछ । हरेक व्यक्तिलाई उचित तरिकाले निर्माण नगरिकन, हामी महान् राष्ट्र निर्माण गर्न सक्दैनौँ । मानिसहरूमा सही पोषण र स्वास्थ्य नहुने हो भने, राष्ट्र निर्माण गर्न सकिँदैन । वास्तवमा, राष्ट्र केवल सोच हो— यहाँ मानिसहरू मात्रै हुन्छन्, अनि यसैकारण खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ ।