प्रश्न: सद्‌गुरु, निदाएको अवस्थामा कसरी ध्यानमग्न हुन सकिन्छ ?

सद्‌गुरु: ए ! भनेपछि तपाईं ध्यानको समयमा अरू कामहरू पनि गर्न चाहनुहुन्छ । तपाईं निदाउनको लागि ध्यानको प्रयोग गर्न चाहनुहुन्छ वा ध्यान गर्नको लागि निन्द्राको प्रयोग गर्न चाहनुहुन्छ ? तपाईंको प्रश्न के हो— निदाइरहेको बेला कसरी ध्यान गर्ने वा ध्यान गरिरहेको बेला कसरी निदाउने ?

गलत प्रश्न

इब्राहिम नाम गरेका एक सुफी सन्तसँग एउटा सुन्दर घटना भएको थियो । उनले विशाल सङ्ख्यामा शिष्यहरू एकत्रित गरेका थिए, अनि एकदिन उनको आश्रममा दुईजना जवान केटाहरूको भेट भयो । सूर्यास्त हुँदै थियो, अनि पूरै दृश्य मनमोहक देखिएको थियो । तर, ती दुवैजना निराश भएर बसिरहेका थिए ।

उनीहरू आफ्नो धुम्रपान गर्ने बानीलाई लिएर संघर्ष गरिरहेका थिए । "हामीले धुम्रपान गर्न हुन्छ कि हुँदैन भनेर गुरुलाई सोधौँ न ! उहाँ हल्का सन्की हुनुहुन्छ, कतै हुन्छ पो भनिदिनु हुन्छ कि ? के थाहा हामीलाई उल्टै गाँजा पो दिनुहुन्छ कि ?"

उनीहरूले छुट्टाछुट्टै गएर सोध्ने निधो गरे । अर्को साँझ फेरि मनमोहक सूर्यास्त भयो । ती दुईमध्ये एकजना निराश भएर बसिरहेको थियो, त्यसैबेला अर्को केटा धुवाँ उडाउँदै आयो । मलिन अनुहार लिएर बसेको केटाले अर्कोलाई हेरेर सोध्यो, "अरे ! के हो, धुवाँ उडाउँदै छौ त ? तिमी गुरुको वचनलाई अपमान गरिरहेको छौ ।"

उसले भन्यो, "छैन ।"

दुःखी व्यक्तिले भन्यो, "मैले हिजो गएर गुरुलाई सोधेको थिएँ, अनि उहाँले धुम्रपान गर्न पाउँदैनौ भन्नुभएको थियो ।"

"के भनेर सोध्यौ र ?"

पहिलो व्यक्तिले भन्यो, "ध्यान गरिरहेको बेला धुम्रपान गर्न हुन्छ कि हुँदैन भनेर सोधेको थिएँ, उहाँले हुँदैन भन्नुभयो ।"

त्यसपछि, अर्को व्यक्तिले भन्यो, "तिमीले त्यहीँ गल्ती गऱ्यौ नि ! मैले त उहाँलाई धुम्रपान गरिरहेको बेला ध्यान गर्न मिल्छ कि मिल्दैन भनेर सोधेको थिएँ, उहाँले हुन्छ भन्नुभयो ।"

यत्तिकै सुत्नुहोस् !

यतिखेर, तपाईं यो सोधिरहनु भएको छ, "के म निदाएको बेलामा ध्यान गर्न सक्छु ?" थुप्रै मानिसहरूलाई जागा अवस्थामै ध्यान गर्न समस्या भइरहेको छ ! अधिकांश मानिसहरूको सन्दर्भमा हेर्ने हो भने, उनीहरूले आफूमाथि आवश्यक काम नगरुन्जेल, यदि उनीहरू एक घण्टासम्म बसे भने तीन मिनेट मात्रै ध्यानको अवस्थामा हुन्छन् । नत्रभने, घरि यहाँ, घरि त्यहाँ, घरि यहाँ, घरि त्यहाँ, एक पलको लागि ध्यानको अवस्थामा पुग्छन्, अनि अर्को पलमै अन्तै पुगिसकेका हुन्छन् ।

आफ्नो निन्द्रामा आध्यात्मिकता घुसाउने प्रयत्न नगर्नुहोस् । तपाईं मृत व्यक्ति जसरी यत्तिकै सुत्नुहोस् ।

तपाईं जुन समयमा ध्यान गर्नुहुन्छ, त्यही समयको गुणलाई सुधार्नु राम्रो हुन्छ; त्यसलाई आफ्नो निन्द्रासम्म कसरी तन्काउने भनेर नसोच्नुहोस् । कम्तीमा पनि निदाएको बेलामा आफ्ना विचारहरूबाट दूषित हुनुहुँदैन । यत्तिकै निश्चिन्त भएर सुत्नुहोस् । यस्तो भनिने गरिन्छ, "काठको मुढाझैँ सुत्नुहोस् ।" यदि मुढा जसरी सुत्न सक्नुहुन्न भने, कम्तीमा पनि बिरालो वा कुकुरझैँ सुत्नुहोस् । आफ्नो निन्द्रामा आध्यात्मिकता घुसाउने प्रयत्न नगर्नुहोस् । तपाईं मृत व्यक्ति जसरी यत्तिकै सुत्नुहोस् ।

निश्चिन्त भएर सुत्नुहोस्

मृत मानिसहरूको शरीर निष्क्रिय भएको हुन्छ, तर उनीहरू गहिरो रूपमा निश्चिन्त भावमा हुन्छन् । उनीहरूलाई आफू कस्तो देखिएको छु भन्नेप्रति कुनै चासो हुँदैन । त्यसैगरी, तपाईं पनि सुतेको बेलामा वरपर के भइरहेको छ भन्ने कुराप्रति सरोकार नराखिकनै सुत्नुहोस् । मैले अमेरिकामा यो अनुभव गरेको थिएँ: तपाईंले कसैलाई बिहान भेट्नुभयो भने, थुप्रैले सोध्ने गर्छन्, "के तपाईं राम्रोसँग निदाउनु भयो ?" मैले यो प्रश्न कहिल्यै बुझिनँ, किनकि यसमा समस्या कहाँ छ भन्ने लाग्थ्यो । तर, म अहिले यो देखिरहेको छु कि थुप्रै मानिसहरूको निम्ति यो एउटा समस्या हो । यदि तपाईंले निन्द्रामा ध्यान गर्ने कोसिस गर्नुभयो भने, पक्कै पनि समस्या हुनेछ । त्यसैले, पूरै त्यागको भावमा निदाउनुहोस् । यदि मरेको मान्छे जसरी सुत्न चाहनुहुन्न भने, कम्तीमा पनि एउटा बालक जसरी सुत्नुहोस् ।

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार जोन मेकेनले यसबारे निकै सुन्दर कुरा भनेका छन् । जब ओबामा विरुद्ध चुनाव हारे, उनलाई सोधियो, "तपाईंलाई कस्तो छ ?" उनले भने, "म एउटा बालक जसरी सुत्ने गरेको छु । म हरेक दुई घण्टामा ब्युँझन्छु, रुन्छु र फेरि सुत्छु ।" त्यो उनको सुन्दर पक्ष हो । यदि तपाईं पराजित हुँदा समेत ख्याल–ठट्टा गर्न सक्नुहुन्छ भने, त्यो तपाईंको निम्ति निकै राम्रो पक्ष हो ।

ध्यानको गुण

तपाईं कि त ध्यानमग्न बन्न सक्नुहुन्छ वा स्वयं ध्यान बन्न सक्नुहुन्छ, तर तपाईंले ध्यान गर्न सक्नुहुन्न ।

ध्यान भनेको कार्य होइन; यो त एउटा गुण हो । यो यस्तो सुगन्ध हो, जुन तपाईंले प्राप्त गर्नुहुनेछ अनि त्यो तपाईंको जीवन बाँच्ने शैलीमा झल्किनेछ । यसको लागि तपाईंले जबर्जस्ती ध्यान गर्नुपर्छ भनेको होइन— यदि तपाईंले आफ्नो शरीर, मन, ऊर्जा र भावनाहरूलाई परिपक्व बनाउँदै जैजानुभयो भने, तपाईं ध्यानमग्न बन्नुहुनेछ । तपाईं कि त ध्यानमग्न बन्न सक्नुहुन्छ वा स्वयं ध्यान बन्न सक्नुहुन्छ, तर तपाईंले ध्यान गर्न सक्नुहुन्न । यदि तपाईंले आफूभित्र ध्यानको गुण ल्याउनुभयो भने, तपाईं निदाएको अवस्थामा पनि यो गुण तपाईंसँगै रहनेछ । जब यो गुण तपाईंको निम्ति जीवन्त प्रक्रिया बन्दछ, चाहे शरीर निदाएको होस् वा जागा होस्, ध्यानको प्रक्रिया सधैँ सक्रिय भइरहन्छ । तर, यदि तपाईंले निन्द्रामा ध्यान गर्न खोज्नुभयो भने, एउटै मात्र कुरा हुनेछ— तपाईं राम्रोसँग निदाउनु सक्नुहुन्न !

 

Editor’s Note: Read more about what Sadhguru has to say about sleep.

A version of this article was originally published in Forest Flower, October 2018.