लिङ्ग निर्माणको विज्ञान अनि यसको इतिहास

ध्यानलिङ्ग निर्माण गर्नु पछाडिको विज्ञान के हो ? विश्वमा भएका अरू लिङ्गहरूको तुलनामा ध्यानलिङ्ग कसरी पृथक छ ? सद्‌गुरु लिङ्ग निर्माणको विज्ञान, अनि यसको इतिहासको बारेमा चर्चा गर्दै हुनुहुन्छ ।
The Science and History of Creating Lingas
 

प्रश्नः सद्‌गुरु, यस संस्कृतिमा जहीँतहीँ लिङ्गहरू निर्माण गरिएको देख्न सकिन्छ । अन्य लिङ्गहरूभन्दा ध्यानलिङ्ग कुन रूपमा पृथक छ ? के विश्वका अरू भागहरूमा समेत लिङ्गहरू निर्माण भएका छन् वा यो विज्ञान यही संस्कृतिमा मात्रै सीमित छ ? तपाईं यो पनि भन्नुहुन्छ कि लिङ्ग कुनै धार्मिक प्रतीक होइन । कसरी ? ध्यानलिङ्ग निर्माण गर्नु पछाडिको विज्ञान के हो ?


सद्‌गुरुः लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको विज्ञान हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ । तर, पछिल्लो ८/९ सय वर्षमा, विशेषगरी जब यहाँ भक्ति-आन्दोलनको लहर फैलियो, मन्दिर निर्माणको विज्ञान पखालियो । एक भक्तको लागि आफ्ना भावनाहरूबाहेक अरू केही पनि महत्त्वपूर्ण हुँदैन । उसको निम्ति भावना नै मार्ग हो । ऊ आफ्ना भावनाहरूको शक्तिले सबैथोक गर्न सक्दछ । त्यसैले, उनीहरूले विज्ञानलाई पाखा लगाए अनि जसरी मन लाग्यो त्यसरी मन्दिरहरू निर्माण गर्न थाले । यो एक प्रकारले प्रेम प्रसङ्ग जस्तै हो । एक भक्तले आफूलाई जे ठीक लाग्यो त्यही गर्दछ । उसको लागि सबै उचित हुन्छ, किनकि ऊसँग एउटा मात्र चीज हुन्छ— आफ्ना भावनाहरूको शक्ति । फलस्वरूप, लिङ्ग निर्माणको विज्ञान धमिलिँदै गयो । यो निकै गहन विज्ञानको रूपमा रहेको थियो । यो एक आत्मपरक (भित्री) विज्ञान हो, र यसलाई कहिल्यै लेखिएन । किनकि, यदि तपाईंले यसलाई लेख्नुभयो भने, यसलाई पूर्णतः गलत रूपमा बुझिइनेछ । लिङ्ग निर्माणको विज्ञानको कुनै ज्ञानबिनै, थुप्रै लिङ्गहरू यसैगरी बनाइएका छन् ।

लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको विज्ञान हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ ।

भक्तलाई भावना मात्रै थाहा हुन्छ

भक्तहरूद्वारा बनाइएको मन्दिर यस्तो स्थान हो, जहाँ मानिसहरूमा भाव उत्पन्न हुन्छ । केही मानिसहरू मात्र साँचो भक्त हुन्छन् । अधिकांश मानिसहरू भक्तिलाई मुद्राको रूपमा प्रयोग गर्दछन्, ताकि आफूले चाहेको कुरा पाउन सकून् । संसारैभरि भइरहेका प्रार्थनाहरूमा, लगभग ९८% जति प्रार्थनाहरू 'यो दिनुस्, त्यो दिनुस्, मेरो रक्षा गर्नुस्' भन्नेबाहेक अरू केही हुँदैन— यो जीवन निर्वाह गर्ने चाल मात्र हो, यसमा कुनै भक्ति भाव हुँदैन । यसमा प्रार्थनाको कुनै भाव हुँदैन । यो केवल जीविको-पार्जनको सहारा हो; तपाईंले जीविकाको लागि अर्को तरिका अपनाउनु भएको मात्र हो ।

सामान्यतया, विज्ञानमा आधारित लिङ्गहरू तिनै हुन्, जसलाई सिद्धहरू र योगीहरूले वैज्ञानिक प्रकियाले निर्माण गरेका थिए, अनि यसको एउटै अभिप्राय थियो— मुक्ति । ती लिङ्गहरूको स्पन्दन अनन्त-कालसम्म रहिरहन्छ । ती लिङ्गहरू विशेष प्रयोजन र निश्चित गुणहरूको लागि प्रायः मन्त्र-जपद्वारा प्राण-प्रतिष्ठा गरिएको हुन्थ्यो। सम्भवतः तपाईंलाई यो थाहा नहुन सक्छ कि दक्षिण भारतमा पञ्च-तत्त्वहरूको लागि पाँचवटा लिङ्गहरू निर्माण गरिएका छन् । यी पाँचवटै लिङ्गहरू साधनाको निम्ति निर्माण गरिएका हुन्, कुनै पूजाआजाको लागि होइन ।

भूतशुद्धि— पञ्च-तत्त्वहरूको शुद्धिकरण

योग पद्धतिमा भएको सबैभन्दा मूलभूत साधना भनको भूतशुद्धि हो । पञ्चभूत भनेको प्रकृतिमा हुने पाँच तत्त्वहरू हुन्, जसबाट तपाईंको शरीर बनेको हुन्छ । यी हुन्—जल, धर्ती, अग्नि, वायु र आकाश । यी तत्त्वहरू एक निश्चित तरिकाले एकसाथ आएर भौतिक शरीरको रूपमा प्रकट हुन्छन् । आध्यात्मिक साधनाको लक्ष्य भनेकै भौतिक प्रकृतिभन्दा पर जानु हो, यी पञ्च-तत्त्वहरूभन्दा पर जानु हो । तपाईं जे-जति अनुभव गर्नुहुन्छ, ती सबैमा यी तत्त्वहरूको गहिरो प्रभाव रहेको हुन्छ । यी प्रभावहरूबाट पर जानको निम्ति योगमा एउटा मूलभूत अभ्यास रहेको छ, जसलाई भूतशुद्धि भनिन्छ । हरेक तत्त्वको लागि एउटा विशेष साधना हुन्छ, जसको अभ्यासमार्फत तपाईं त्यसबाट मुक्त हुन सक्नुहुन्छ ।

भूतशुद्धि अभ्यास गर्नको लागि पाँचवटा फरक-फरक लिङ्गहरू निर्माण गरिएका थिए । धर्ती, जल, अग्नि, वायु र आकाश तत्त्वको लागि छुट्टाछुट्टै लिङ्गहरू बनाइएका छन् । ती लिङ्गहरूको लागि भव्य र विशाल मन्दिरहरू निर्माण गरिएका छन्, जहाँ तपाईं आफ्नो साधना गर्न सक्नुहुन्छ । यदि तपाईं जल तत्त्वको लागि साधना गर्न चाहनुहुन्छ भने, तपाईं थिरुवनाइकवल जानुपर्नेछ, आकाश तत्त्वको साधनाको लागि चिदम्बरम जानुपर्नेछ । भिन्न-भिन्न साधनाहरूका लागि फरक प्रकारका मन्दिरहरू निर्माण गरिएका थिए । वास्तवमा, मन्दिर यस्तै हुनुपर्ने हो, जहाँ निश्चित उद्देश्यको साधनाको लागि विशेष रूपले उर्जा निर्माण गरिएको हुन्छ । यी मन्दिरहरू साधनाको निम्ति बनाइएका हुन्, कुनै पूजाआजाको लागि होइन । खासमा भन्नुपर्दा, यस संस्कृतिमा मन्दिरहरू कहिल्यै प्रार्थनाको लागि बनाइएका थिएनन्, त्यहाँ कुनै पूजा हुँदैनथ्यो । अचेल मात्रै मानिसहरूले यस्तो गर्न थालेका हुन्— उनीहरू पाँच रूपियाँ भेटी चढाउँछन्, अनि भगवान्‌लाई 'यो गर्दिनुस्, त्यो गर्दिनुस्' भनेर अनुनय-विनय गर्छन् । परम्परागत रूपमा, तपाईंलाई यो भनिन्थ्यो कि यदि तपाईं मन्दिर जानुहुन्छ भने, त्यस स्थानमा केही समय बस्नैपर्छ, किनकि मन्दिर उर्जाको केन्द्र हो । यो एक किसिमले सार्वजनिक स्थानमा राखिएको चार्जिङ्ग प्वाइन्ट जस्तै हो । हरेक बिहान आफ्नो सांसारिक कामहरू सुरु गर्नुअघि, तपाईं नुहाउनु हुन्छ, मन्दिरमा गई केही समय बस्नुहुन्छ, त्यहाँको उर्जा ग्रहण गर्नुहुन्छ अनि आफूलाई उर्जाशील बनाउनुहुन्छ । त्यसपछि मात्र, तपाईं राम्रो तरङ्ग बोकेर संसारमा पाइला चाल्नुहुन्छ । यहाँ, यही परम्परा रहेको थियो ।

संसारका विभिन्न स्थानमा रहेका लिङ्गहरू

अविश्वसनीय कुरा के छ भने, ससारैभरि विभिन्न स्थानहरूमा लिङ्गहरू निर्माण भएका छन् । अफ्रिकामा टेराकोट्टा लिङ्गहरू छन्, जसलाई तन्त्र साधनाको लागि प्रयोग गरिन्छ । ग्रिसमा लिङ्गसहित एउटा मन्दिर छ, जसलाई 'धर्तीको नाभि' भनिन्छ । यो पूर्ण रूपमा मणिपूरक हो । यसलाई पक्कै पनि भारतीय योगीहरूले बनाएको हुनुपर्छ । कसैले त्यहाँ मणिपूरक लिङ्गको प्रतिष्ठा गरे, किनकि सायद त्यहाँका राजाले विजय, समृद्धि र कल्याण चाहेका हुनुपर्छ । त्यसैले, उनीहरूले सोही उद्देश्यको लागि एउटा साधन तयार गरे । अधिकांश मन्दिरहरूको निर्माणको खर्च राजाबाट प्राप्त हुने भएकाले, अधिकांश लिङ्गहरू मणिपूरक प्रकृतिका छन् । तर, केही राजाहरू यस्ता पनि थिए, जो यी कुराहरूभन्दा पर केही पाउन चाहन्थे । तसर्थ, अनाहत लिङ्गहरू निर्माण गरिए, यिनलाई आत्म-लिङ्ग पनि भनिन्छ । यी आत्म-लिङ्गहरू प्रेम र भक्तिको लागि, अनि पूर्ण रूपमा विलिन हुनको निम्ति बनाइएका हुन् । सामान्यतया, अनाहत लिङ्ग सबै किसिमका मानिसहरूको पहुँचमा हुन्छ । केही तान्त्रिक लिङ्गहरू पनि छन्, जस्तै कि मूलाधार लिङ्ग । यी निकै आधारभूत र बलवान् हुन्छन् अनि यिनलाई तन्त्र विद्याहरूका लागि प्रयोग गरिन्छ । भारतको असाम र कर्नाटकका केही भागहरूमा यस्ता लिङ्गहरू देख्न सकिन्छ । केही गुप्त मन्दिरहरू समेत छन्, जुन साना छन्, तर तान्त्रिक प्रक्रियाको दृष्टिले गहिरो क्षमता राख्दछन् । समग्रमा हेर्ने हो भने, अधिकांश लिङ्गहरू मणिपूरक प्रकृतिका छन् ।

ध्यानलिङ्ग

अहिले, भारतमा अधिकांश लिङ्गहरू एक वा दुईवटा चक्रका छन् । प्रायः एउटा चक्रको मात्रै छन्, किनकि निश्चित उद्देश्यको लागि एउटा चक्रको प्रयोग गरी शक्तिशाली लिङ्ग निर्माण गरिएको हुन्छ । यिनलाई मन्त्रहरूद्वारा प्राण-प्रतिष्ठा गरिएको हुन्छ ।

ध्यानलिङ्ग, यस्तो लिङ्ग हो, जसमा सातवटै चक्रहरू पूर्ण रूपमा स्थापित छन् । अनि, यसको प्राण-प्रतिष्ठा गरिएको हो, अर्थात् जीवन-उर्जाको माध्यमले प्राण-प्रतिष्ठा गरिएको हो । सातवटै चक्रहरूलाई एकसाथ ल्याउनु आफैँमा विशाल चुनौती थियो । यदि मैले सातवटा चक्रहरूका निम्ति सातवटा छुट्टाछुट्टै लिङ्गहरू बनाउन चाहेको भए, यो काम निकै सहज हुने थियो । तर, त्यस किसिमको प्रभाव हुने थिएन । ध्यानलिङ्ग, सबैभन्दा अधिक विकसित जीवको उर्जा शरीर हो, अथवा तपाईं यो भन्न सक्नुहुन्छ— ध्यानलिङ्ग सबैभन्दा महान् देव, शिवको उर्जा शरीर हो ।

ध्यानलिङ्गमा सातवटै चक्रहरू पूर्ण रूपमा विकसित छन् अनि जीवन-उर्जाको माध्मले यसको प्राण-प्रतिष्ठा गरिएको छ ।

अर्को कुरा के हो भने, सम्भवतः संसारमै पहिलो पटक लिङ्गको रेखदेखमा स्त्री र पुरुष संलग्न छन् । यसअघि, कसैले पनि स्त्रीहरूलाई यस्तो काम गर्ने अनुमति दिएका थिएनन् । तर, आज महिनामा चौध दिन— पूरै शुक्ल पक्ष अर्थात् पूर्णिमासम्म— महिलाहरूले ध्यानलिङ्गको हेरचाह गर्छन् । अर्को चौध दिन— पूरै कृष्ण पक्ष अर्थात् औँशीसम्म— पुरुषहरूले ध्यानलिङ्गको हेरचाह गर्छन् । मेरो विचारमा यो समाजको लागि विशाल उपहार हो, ताकि हामी रूढी परम्पराहरूबाट माथि उठ्न सकौँ ।

यदि कोही आध्यात्मिक साधना गर्न चाहन्छन् भने, उनलाई एक जीवित गुरुको सान्निध्य मिल्न सक्दछ । यही अभिप्रायले ध्यानलिङ्ग निर्माण गरिएको हो । मानिसहरू आउँछन्, केही क्षण बस्छन् अनि जान्छन्... ठीकै छ । तर, जो साधना गर्न चाहन्छन्, उनीहरू त्यस उर्जासित यस्तो आत्मियता पाउन सक्छन्, जुन सामान्यतया मानिसहरूको पहुँचमा हुँदैन । मानिसहरूका निम्ति त्यस्तो अवसर उपलब्ध हुनु भनेको एकदमै दुर्लभ कुरा हो ।

 

Editor’s Note: “Mystic’s Musings” includes more of Sadhguru’s insights on Dhyanalinga and the science of linga-making. Read the free sample [pdf] or purchase the ebook.