कालो जादु के हो ?

सद्‌गुरु: तपाईंले यो बुझ्नुपर्छ कि ऊर्जा केवल ऊर्जा हो; यो न पवित्र हुन्छ न अपवित्र । तपाईं यसबाट ईश्वर वा दानव जेसुकै बनाउन सक्नुहुन्छ । यो विद्युत जस्तै हो । विद्युत ईश्वरीय हुन्छ कि दानवीय ? जब यसले तपाईंको घर उज्यालो पार्छ, यो ईश्वरीय हुन्छ । यदि यो विद्युतीय झट्का बन्यो भने त्यो दानवीय बन्छ । यो, त्यस क्षणमा कसले यसलाई सञ्चालन गरिरहेको छ भन्नेमा भर पर्छ ।

५००० वर्षअघि अर्जुनले कृष्णलाई त्यही प्रश्न सोधेका थिए, “तपाईं यो भनिरहनु भएको छ कि सबैथोक एउटै ऊर्जा हो र सबैथोक दिव्य हो । यदि दुर्योधनमा पनि त्यही दिव्यता छ भने उसले किन यस्ता कामहरू गरिरहेको छ ? कृष्ण मुस्कुराए, किनकि सम्पूर्ण शिक्षा दिएपछि पनि अर्जुन अझै उही सरल, आधारभूत, बालसुलभ प्रश्नमा फर्किरहेका थिए । कृष्णले उत्तर दिए, ”ईश्वर निर्गुण छन्, चैतन्य निर्गुण छन् । उनको आफ्नो कुनै गुण हुँदैन ।” अर्थात् त्यो विशुद्ध ऊर्जा मात्र हो । तपाईंले त्यसलाई जुनसुकै रूपमा उपयोग गर्न सक्नुहुन्छ । त्यो बाघ जसले तपाईंलाई खान आउँछ र ती ईश्वर जसले तपाईंलाई सायद बचाउनेछन्, दुवैमा त्यही ऊर्जा हुन्छ । उनीहरू भिन्न-भिन्न तरिकामा काम गरिरहेका मात्र हुन् । तपाईं गाडी चलाउनुहुन्छ भने त्यो राम्रो हो वा नराम्रो ? त्यसले तपाईंको जीवन बनाउन सक्छ वा कुनैपनि क्षण तपाईंको जीवन बर्बाद गर्न सक्छ, हैन त ?

के मानिसहरूले कालो जादु गर्न सक्छन् ? अवश्य, उनीहरूले गर्न सक्छन् । यदि यसको सकारात्मक उपयोग छ भने निश्चय नै नकारात्मक उपयोग पनि छ । वेदहरूमध्ये अथर्ववेद ऊर्जालाई कसरी सकारात्मक र नकारात्मक पक्षको लागि प्रयोग गर्ने भन्नेबारे केन्द्रित छ ।

तर मैले देखेअनुसार, प्राय: जसो यस्ता कुराहरू केवल मनोवैज्ञानिक हुन्छन् । थोरै पक्ष हुन सक्छ, तर बाँकी तपाईंको मनले अनेकथरी कल्पना गरेर पागल बनिरहेको मात्र हो । यदि मैले तपाईंलाई पागल बनाउनु छ भने मैले कुनै कालो जादु गर्नैपर्दैन । मानौं, भोलि बिहान तपाईं आफ्नो घरबाट बाहिर निस्किँदा त्यहाँ तपाईंले एउटा खोपडी र रगत लतपत भएको देख्नुभयो; त्यो देख्नेबित्तिकै काम पुग्यो ! अब तपाईं बिरामी पर्नुहुन्छ, तपाईंको व्यापार चाैपट हुन थाल्छ, सबै नकारात्मक कुराहरू हुन थाल्छन्, किनकि डरले तपाईंलाई फन्दामा पार्छ ।

कुनै कालो जादु गरिएको छैन । कालो जादुको सङ्केत भनेर चिनिएका केही प्रतीकहरू राखिदिने हो भनेपनि त्यसले तपाईंको मनलाई विचलित बनाउँछ । धेरैजसो समय त्यो केवल मनोवैज्ञानिक हुन्छ । कालो जादु नै गरिएको छ भनेपनि, १० प्रतिशत मात्र वास्तविक हुन सक्छ । बाँकी पक्ष तपाईं स्वयंले आफूलाई बर्बाद गरिरहनु भएको हो । त्यसैले यसमा प्रतीकको प्रयोग गरिन्छ । किनकि उनीहरूले तपाईंको मनले तपाईंमाथि कुन हदसम्म प्रभाव पार्छ भनेर बुझेका छन् । जब त्यो प्रतीक सृजना गरिन्छ, तपाईं आफैँलाई बर्बाद गर्नुहुन्छ ।

कालो जादुबाट कसरी छुट्कारा पाउने ?

तर, यो साँचो हो कि यस्तो विज्ञान छ जहाँ आफ्नो ऊर्जालाई नकारात्मक रूपमा प्रयोग गरी अरूलाई हानि पुऱ्याउन सकिन्छ । यसबाट कसरी सुरक्षित रहने ? एउटा पक्ष के हो भने, यदि तपाईं कुनै आध्यात्मिक साधनामा हुनुहुन्छ भने तपाईंले यस्ता कुराहरूबारे चिन्ता लिनुपर्दैन । तपाईंले ती कुराहरूको बारेमा सोच्नसमेत पर्दैन । अर्को तरिका भनेको तपाईंले केही सुरक्षा कवच लगाउन सक्नुहुन्छ, जस्तै कि रुद्राक्ष लगाउनाले कुनै प्रकारको नकारात्मक पक्ष विरुद्ध सुरक्षा दिन्छ । तपाईंले यस्ता कुराहरूप्रति चिन्ता लिन जरूरी छैन । जीवनमा आफ्नो ध्यान अटल राख्नुहोस् र अघि बढ्नुहोस् । यदि तपाईं कुनै साधनामा हुनुहुन्छ भने तपाईंले चिन्ता लिनैपर्दैन; त्यसलाई सम्हालिनेछ ।

ध्यानलिङ्ग

यदि तपाईं त्यस्ता शक्तिहरूको प्रभावमा पर्नुभएको छ भने तपाईं ध्यानलिङ्गको परिसरमा बस्न सक्नुहुन्छ, किनकि ध्यानलिङ्गमा केही यस्ता आयामहरू छन् जसले ती सबैलाई निस्क्रिय पार्नेछ । यदि कसैले तपाईंलाई त्यस्तो केही गरेको छ भन्ने डर छ भने ईशा योग केन्द्रमा आउनुहोस् र ध्यानलिङ्गमा एकदिन बसेर जानुहोस् । त्यो स्वत: ठीक हुनेछ । तर यही राम्रो हुनेछ कि तपाईं त्यस्ता कुराहरूमा ध्यान नदिनुहोस्, किनकि अर्को व्यक्तिले भन्दा तपाईंको आफ्नै मनले तपाईंमाथि बढी "कालो जादु" गर्दछ ।

ध्यानलिङ्गको प्रवेश द्वारमा वनश्री र पतञ्जलीका प्रतीमाहरू छन् । दुवै ध्यानलिङ्गबाट १५ डिग्री कोणमा अवस्थित छन् । यही प्रयोजनको लागि दुवैलाई त्यस स्थानमा राखिएको हो । अन्यथा, वास्तुकलाको दृष्टिले म दुवैलाई धेरै नजिक स्थापित गर्न रुचाउने थिएँ । सामान्यतया, जो भूत-प्रेतबाट ग्रस्त छन् वा गुप्त-विद्याबाट प्रभावित भएका छन्, उनीहरूमा जुन समस्या छ त्यसको आधारमा अगाडिको १५ डिग्री कोण वा पछाडिको १५ डिग्री कोणको स्थानमा बस्न भनिन्छ ।

त्यो स्थानलाई विशेषगरी त्यस प्रकारले सृजना गरिएको छ ताकि मानिसहरूले त्यसको उपयोग गर्न सकून् । तपाईं त्यसप्रति सचेत भएपनि वा नभएपनि, ऊर्जालाई नकारात्मक रूपमा प्रयोग गर्ने गरिन्छ, जस्तै कि कालो जादु र यस्तै अन्य । १५ डिग्री कोण, यसबाट मुक्ति पाउने द्वार हो । तपाईलाई थाहा भएपनि वा नभएपनि, यहाँबाट प्रवेश गर्ने सबैले आफूले बोकेका नकारात्मक प्रभावहरू त्यहीँ छोड्छन् । यस्ता हजाराैँ छन् जसले त्यस्ता प्रभावहरूबाट मुक्ति पाएका छन् । त्यसैकारण ध्यानलिङ्गमा बसेर गएका मानिसहरूले अचानक जीवन परिवर्तन भएको महसुस गर्छन् । यस्तो किन भने, उनीहरूको जीवनमा रहेका नकारात्मक असरहरू त्यागिएको हुन्छ ।

जब हामी “नकारात्मक प्रभावहरू” भन्छौँ, यो जरूरी छैन कि कसैले तपाईंलाई केही नकारात्मक गरिरहेका छन् । थुप्रै रूपहरूमा तपाईंले आफूमा केही नकारात्मकता लिनुभएको हुन सक्छ । अरू कसैले तपाईंलाई फलमा विष हालेर दिनैपर्दैन । फलमा केही प्राकृतिक विष हुन सक्छ जुन खाँदा हाम्रो शरीरमा प्रवेश गर्न सक्छ ।

त्यसैगरी, जीवनका नकारात्मक पक्षहरू तपाईंमा थुप्रै तरिकाहरूले प्रवेश गर्न सक्छन् । कसैले यहाँ बसेर तपाईं विरुद्ध षड्यन्त्र रचिरहेको छ भन्ने सन्दर्भमा मात्रै होइन । त्यसैले ध्यानलिङ्गको प्रवेश-द्वार, पहिलो १५ डिग्री कोण, यही प्रयोजनको लागि बनाइएको हो । मानिसहरूले अरू कुनै कुराको कामना गर्नुअघि उनीहरू ती प्रभावहरूबाट स्वत: मुक्त हुन्छन् । उनीहरूले त्यो स्थानमा हिँडे मात्रै पुग्छ जुन लगभग ६०-७० फिट जति छ, अनि यस्ता नकारात्मक प्रभावहरू आफैँ निष्प्रभावित हुन्छन् ।