प्रश्नः सद्गुरु, जबजब म नयाँ मानिहरूको साथमा नयाँ ठाउँमा जान्छु, मलाई उनीहरुसँग घुलमिल हुन गाह्रो हुन्छ । म सधैँजसो विगतको बारेमा सोचिरहन्छु, ती मानिसहरूको बारेमा सोचिरहेको हुन्छु, जोसँग केही पल बिताएको थिएँ । यस्तो स्थितिमा म के गरूँ ?


सद्गुरु: कोही भविष्यको बारेमा सोचिरहेका छन्, कोही विगतको बारेमा सोचिरहेका छन्, कोही पनि यहाँ छन् जस्तो लाग्दैन ! तपाईंले अग्रजहरूसँग कुरा गर्नुपर्छ । उनीहरू भन्ने गर्छन्, ″ओहो ! म स्कुलमा हुँदा...कलेजमा हुँदा... ।″ के तपाईंले यी गफहरू सुन्नुभएको छ ? उनीहरू जब स्कुल-कलेजमा थिए, तपाईं जस्तै भुतभुताइ रहन्थे । तर, अहिले जब उनीहरू आफ्नो विगतलाई हेर्छन्, आफ्नो जीवनलाई एकदमै निरस बनाएको महसुस गर्छन्, तब अचानक स्कुलको जिन्दगी गज्जबको लाग्दछ ।

ती मानिसहरू र यी मानिसहरूको बारेमा चिन्ता नगर्नुहोस् । आजको दिनलाई तपाईंको जीवनको सबैभन्दा उत्तम दिन बनाउनुहोस् ।

यदि तपाईं सधैँ विगत राम्रो थियो भनेर सोचिरहनु हुन्छ भने, यसको अर्थ हो तपाईं अहिले राम्रो गरिरहनु भएको छैन । हिजोको दिन, सबैभन्दा राम्रो दिन हुनुहुँदैन । आजको दिन, तपाईंको जीवनको सबैभन्दा उत्तम दिन हुनुपर्छ, किनकि तपाईंसँग अर्को एउटा दिनको अनुभव रहेको हुन्छ । त्यसैले के तपाईंले यसलाई सबैभन्दा उत्तम दिन बनाउनु पर्दैन ? आफ्नो जीवनलाई यस्तो बनाउनुहोस् कि तपाईंको जीवनको सबैभन्दा राम्रो दिन ′आज′ हो ।

यदि आजभन्दा हिजो राम्रो थियो भने, यसको अर्थ हो कि हामीले जीवन बाँचिरहेका छैनौँ, हामीले मृत्युसँग सम्बन्ध गाँसिरहेका छौँ । जे अहिले जीवित छ, त्यसको दाँजोमा मरिसकेको चीज उत्तम हुनु भनेको राम्रो कुरा होइन । हिजो मरिसक्यो । यदि जीवित चीजहरूभन्दा मृत चीजहरू राम्रा छन् भने, यसको अर्थ यो हो कि हामीले आफ्नो जीवनमा खासै केही गरिरहेका छैनौँ ।

ती मानिसहरू र यी मानिसहरूको बारेमा चिन्ता नगर्नुहोस् । आजको दिनलाई तपाईंको जीवनको सबैभन्दा उत्तम दिन बनाउनुहोस् । यदि तपाईं दिनको अन्त्यमा मर्नुभयो भने के गर्नुहुन्छ ? ″हैन, हैन सद्‌गुरु म आज मर्दिनँ ।″ त्यस्तो कुनै ग्यारेन्टी हुँदैन । तपाईं र म भोलि यहाँ हुनेछौँ भन्ने कुराको कुनै ग्यारेन्टी छ र? हामी रहन चाहन्छौँ, तर यसको कुनै ग्यारेन्टी हुँदैन ।

अतः के यो अत्यन्तै महत्त्वपूर्ण छैन कि तपाईं आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा राम्रो दिन बनाउनुहोस् ? यदि तपाईंले यसो गर्दै जानुभयो भने, तपाईंले देख्नुहुनेछ कि अर्को पच्चिस वर्षमा मानिसहरूले तपाईंलाई एक महान् व्यक्तिको रूपमा लिनेछन् । हरेक कोही तपाईंको छेउछाउमा रहन चाहनेछन् । पच्चिस वर्षको अनुभवले तपाईंको उत्तम दिन यति विशाल र विराट् हुनेछ कि हरके कसैले त्यसको एउटा अंश पाउन चाहनेछन् । वास्तवमा, यही हुनुपर्ने हो ।

Editor’s Note: The “Power to Create” meditations for Peace, Love, Health, and Success (also known as “Chit Shakti”) enable each one of us to become our own alchemist, by empowering us to transform long cherished desires into reality. Try them out!