डिप्रेशन किन हुन्छ ? डिप्रेशनबाट कसरी मुक्त हुने ?

डिप्रेशन वा उदासीपन किन हुन्छ, तपाईं डिप्रेशनमा हुँदा तपाईंलाई के भएको हुन्छ साथै डिप्रेशनलाई समेत आफ्नो विकासमा कसरी सदुपयोग गर्ने अनि कसरी डिप्रेशनबाट मुक्त हुने भन्ने विषयहरूमा सद्‌गुरू चर्चा गर्दै हुनुहुन्छ ।
Sadhguru Wisdom Article | Depression: Causes and How to Overcome It
 

तपाईं उदास हुनुको कारण

सद्‌गुरु: हामीले यो बुझ्न जरूरी छ कि आखिर डिप्रेशन (उदासीपन) के हो ? तपाईं उदास रहनुभयो भने, तपाईंभित्र के भइरहेको हुन्छ ? यसलाई मुलभूत रूपमा हेरौँ: तपाईंले केही भइदियोस् भन्ने अपेक्षा राख्नुभएको थियो, तर त्यसो भइदिएन । तपाईंले कोही व्यक्ति वा कुनै चिज तपाईंले चाहेअनुसार भइदियोस् भन्ने आशा गर्नुभयो अथवा भनौँ यो संसार वा नियति तपाईंले चाहेअनुसार भइदियोस् भन्ने अपेक्षा राख्नुभयो, तर त्यो त्यसो भइदिएन । अर्को शब्दमा भन्नुपर्दा, जे भइरहेको छ तपाईं त्यसको विरुद्धमा हुनुहुन्छ, यत्ति नै हो । सायद तपाईं कोही व्यक्ति वा परिस्थितिको विरुद्धमा हुनुहुन्छ होला अथवा तपाईं स्वयं जीवनको विरुद्धमा हुनुहुन्छ होला । त्यसैअनुरूप, डिप्रेशन वा उदासी पनि झन् भन्दा झन् बढी गहिरिँदै जान्छ ।

कि त तपाईंलाई सृष्टिकर्ताप्रति भरोसा छैन वा तपाईंमा स्वीकार्य भाव छैन वा तपाईंमा यी दुवै छैनन् अनि तपाईंको अहंकार अति संवेदनशील छ । यही कारणले गर्दा तपाईं उदास हुनुहुन्छ ।

तपाईं किन कुनै कुराको विरुद्धमा हुनुहुन्छ ? केवल यसकारण किनकि ती कुराहरू तपाईंले चाहेजस्तो भइदिएनन् । यो पूरै विश्व तपाईंको चाहेअनुसार किन चल्नुपऱ्यो ? कृपया यो बुझ्नुहोस्, यो संसार तपाईंले चाहेअनुसार चल्दैन । यथार्थ के हो भने, कि त तपाईंलाई सृष्टिकर्ताप्रति भरोसा छैन वा तपाईंमा स्वीकार्य भाव छैन वा तपाईंमा यी दुवै छैनन् अनि तपाईंको अहंकार अति संवेदनशील छ । यही कारणले गर्दा तपाईं उदास हुनुहुन्छ ।

तपाईं डिप्रेशनमा हुँदा के हुन्छ ?

तपाईंभित्र त्यस्तो के छ, जो दु:खी बन्दछ ? मन र भित्री प्रकृतिमा पीडा हुन सक्दैन । तपाईंको अहम् मात्र दु:खी बन्दछ ।

डिप्रेशनले तपाईंलाई असाध्यै निराश बनाउँछ अनि यो विशेषगरी आत्मघाती हुन्छ । उदास मानिसहरूले आफैँलाई बढी क्षति पुऱ्याउँछन् । क्षति भन्नाले भौतिक रूपमा नै हानि पुऱ्याउँछ भन्ने होइन । जो व्यक्ति तरबार लिएर अरूलाई मार्न जान्छ, उसको अहम् खासै संवेदनशील हुँदैन— यो त्यस रूपमा रहँदैन, जति उदास व्यक्तिले त्यसलाई आफूभित्र हुर्काउँदै गएको हुन्छ ।

हिंस्रक व्यक्तिलाई सजिलै शान्त पार्न सकिन्छ । के तपाईंले बाटोतिर यस्तो देख्नुभएको छ ? जब मानिसहरू झगडा गर्छन्, यदि त्यहाँ एकजना मात्रै पनि समझदार व्यक्ति छ अनि उसले दुवै पक्षलाई शान्त पार्न सक्छ भने, एक क्षण अघिसम्म एकअर्कालाई मार्न तम्सिएका मानिसहरू अर्को क्षणमै झगडा बन्द गरेर साथी बनी आफ्नो बाटो लाग्छन् । तर, डिप्रेशनमा भएको व्यक्तिको सन्दर्भमा त्यस्तो हुँदैन— उसले एउटै कुरालाई जीवनभरी बोकिरहन्छ । चाहे उनीहरूले सचेतन रूपमा गरून् वा अनजानमा, उदास व्यक्तिहरू आफ्नो छुरीलाई अझ धारिलो बनाइरहन्छन् अनि आफ्नै मुटु छियाछिया पारिरहेका हुन्छन् । किन कसैले आफैँलाई क्षति पुऱ्याउला र ? सामान्यतया, ती मानिसहरू सहानुभूति पाउन त्यसो गर्छन् । अत्यन्तै उदास व्यक्तिलाई सामान्य सहानुभूतिले काम गर्दैन; अर्को व्यक्ति उसको पीडामा डुबिदिनु पर्ने हुन्छ ।

तपाईंभित्र त्यस्तो के छ जो दु:खी बन्छ ? यदि मैले लट्ठीले तपाईंको शरीरमा हिर्काएँ भने, तपाईंको शरीरमा दुखाइ हुन्छ, त्यो फरक कुरा हो । अन्यथा, तपाईंभित्र त्यस्तो के छ, जो दु:खी बन्दछ ? मन र भित्री प्रकृतिमा पीडा हुन सक्दैन । तपाईंको अहम् मात्र दु:खी बन्दछ । जब तपाईं "म माथि उठ्न चाहन्छु" भन्नुहुन्छ, यसको अर्थ तपाईं आफ्नो अहम् लाई कुल्चिएर त्यसबाट अगाडि बढ्न चाहनुहुन्छ ।

डिप्रेशनलाई समेत सदुपयोग गर्न सकिन्छ !

योगमा, डिप्रेशनलाई शरीर, मन र ऊर्जाको स्तरमा सम्हालिन्छ । यदि अन्नमय कोष (भोजनले बनेको शरीर), मनोमय कोष (मानिसक शरीर) अनि ऊर्जामय कोष (ऊर्जा शरीर) लाई सन्तुलित र उल्लासमय अवस्थामा राखियो भने, आनन्दित रहनु निकै स्वाभाविक हो ।

मानिसले जस्तोसुकै भावनालाई पनि आफ्नो जीवनको सृजनात्मक शक्तिमा बदल्न सक्छ । यदि तपाईंको उदासीले तपाईंलाई आफू अपूर्ण छु भन्ने सम्झना गराउँछ भने, यो राम्रो कुरा हो । आफ्नो उदासीपनलाई आफ्नो विकासमा सदुपयोग गर्नुहोस् । तपाईं यो उदासीलाई आक्रोशमा बदल्न चाहनुहुन्छ वा प्रेम र करूणामा ? जब तपाईं उदास रहनुहुन्छ, त्यसबेला करूणामयी बन्न एकदमै सजिलो हुन्छ । यो विलिन गर्ने खालको ऊर्जा हो; तपाईं यसको उपयोग गरेर अझै विलिन हुन दिन सक्नुहुन्छ, जसले तपाईंलाई तपाईंको परम खुसियालीतर्फ लैजान्छ । तर, तपाईं उदास हुँदा चिढिएर अझ बढी रिसाउनुहुन्छ अनि पूरै संसार गलत छ भनेर सोच्नुहुन्छ भने, तपाईं पटमूर्ख हो ।

दुर्भाग्यवश, मानिसहरूको सन्दर्भमा वास्तविकता के हो भने, मनुष्यलाई जीवनले चुटेपछि मात्रै उनीहरूको मानवताले काम गर्न थाल्दछ । अधिकांश मानिसहरू उदासी र पीडा नभोगी परिपक्व बन्न सक्दैनन् । त्यसो नहुने हो भने, उनीहरू आफूभित्र के भइरहेको छ अनि आफ्नो सेरोफेरोका अरूहरूप्रति के भइरहेको छ भन्ने कुरालाई कहिल्यै बुझ्न नै सक्दैनन् ।

योगमा, डिप्रेशनलाई शरीर, मन र ऊर्जाको स्तरमा सम्हालिन्छ । यदि अन्नमय कोष (भोजनले बनेको शरीर), मनोमय कोष (मानिसक शरीर) अनि ऊर्जामय कोष (ऊर्जा शरीर) लाई सन्तुलित र उल्लासमय अवस्थामा राखियो भने, आनन्दित रहनु निकै स्वाभाविक हो । आनन्दित मानिसमा कहिल्यै डिप्रेशन वा उदासी हुन सक्दैन ।


प्रश्नःसद्‌गुरु, तपाईं यो भन्नुहुन्छ कि आनन्दित हुनु स्वाभाविक हो । तर, के डिप्रेशन वा उदासी पनि मानिसभित्र हुने स्वाभाविक भावना होइन र ?

सद्‌गुरु: जब तपाईं डिप्रेशनलाई स्वाभाविक प्रक्रिया भनेर उद्‌घोष गर्नुहुन्छ, अब त्यसबाट बाहिर निस्किने कुनै तरिका रहँदैन । जब तपाईं बच्चा हुनुहुन्थ्यो, तपाईंको निम्ति प्रफुल्लित र आनन्दित रहनु स्वाभाविक थियो— उदास बन्नु होइन । डिप्रेशन स्वाभाविक हो भनेर घोषणा नगर्नुहोस् । डिप्रेशन मतलब तपाईं आफूभित्र जीवनको उल्लासलाई कायम राख्न सकिरहनु भएको छैन । यो तपाईंको शरीरमा समेत देखिन्छ । यदि तपाईं उदास हुनुभयो भने, तपाईंको शरीर नै अस्तव्यस्त बन्दछ । तपाईंभित्रको जीवन उल्लासमय छैन— यो खस्किएको छ अनि यसले आफ्नो उल्लास गुमाएको छ, किनकि तपाईं जीवनसँग सही कार्यहरू गरिरहनु भएको छैन । तपाईं यसमा अत्यधिक मात्रामा बाहिरी बकवास थोपर्दै हुनुहुन्छ । तपाईंले आफ्ना जीवन ऊर्जाहरूलाई जीवन्त र उच्चतम अवस्थामा राख्न केही पनि गर्नुभएको छैन ।

डिप्रेशन किन हुन्छ ?

सम्पन्न समाजहरूमा, बाहिरी आवश्यकताहरू सुनिश्चित गरिएका छन्, तर भित्री स्थितिमा केही गरिएको छैन । त्यसैले त्यहाँ निराशा र उदासी छ ।

डिप्रेशन एक किसिमको यातना हो । यदि तपाईं परम–आनन्दमा हुनुको सट्टा यातनामा डुब्नुभएको छ भने, यसको कारण यो हो कि तपाईंको ऊर्जाको ठूलो हिस्सा बाध्यात्मक वा विवश रूपमा भइरहेको छ, न कि सचेतनपूर्वक । यो बाहिरी परिस्थितिहरूप्रति प्रतिक्रिया गर्ने शैलीमा भइरहेको छ । जब तपाईं बाध्यात्मक वा प्रतिक्रियात्मक रूपमा सञ्चालित रहनुहुन्छ, डिप्रेशन हुनु निकै सामान्य कुरा बन्दछ— किनभने बाहिरी परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको नियन्त्रणमा हुँदैनन् । संसारमा कयौँ कुराहरू घटिरहेका हुन्छन् । यदि तपाईं बाध्यात्मक रूपमा प्रतिक्रया जनाउनुहुन्छ भने, त्यसमै फस्नु अनि निराश बन्नु स्वाभाविक हो । यस्तो अवस्थामा जीवनका विभिन्न पक्षहरूसँग तपाईं जति बढी सामना गर्नुहुन्छ, तपाईं त्यति नै बढी दुःखी बन्नुहुनेछ ।

मानिसहरू विभिन्न तरिकाहरूले उदास मनस्थिति (depressed mood) मा रहने गर्छन् । उनीहरू जुन कुरालाई अमूल्य ठान्छन्, त्यसलाई तपाईंले खोसिदिनु भयो भने, उनीहरू उदास बन्छन् । थुप्रै मानिसहरूको सन्दर्भमा, विशेषगरी सम्पन्न समाजहरूमा, सबैभन्दा दु:खद कुरा के हो भने उनीहरूसँग सबैथोक छ, यद्यपि उनीहरूसँग केही पनि छैन । डिप्रेशन अर्थात् कहीँकतै तपाईंभित्र निराशा भरिएको छ । तपाईं कुनै विकट र गरीब गाउँहरूमा गएर हेर्नुहोस्: उनीहरू वास्तवमै विपन्न र दरिद्र अवस्थामा हुन्छन् । तैपनि, तपाईंले त्यहाँ प्रसन्न अनुहारहरू देख्न सक्नुहुन्छ, किनभने उनीहरूमा यो आशा छ कि भोलिको दिन अझ राम्रो हुनेछ । सम्पन्न समाजहरूमा भने त्यो आशा हराइसकेको छ । डिप्रेशन बढ्दै गएको छ, किनभने बाहिरी रूपमा जे–जति गर्न सकिन्थ्यो, सबैथोक भइसकेको छ ।

जब हामी आध्यात्मिक प्रक्रिया भन्छौँ, त्यसको अर्थ यही हो: जीवनमा वस्तुपरक वा भौतिक पक्षहरू मात्रै सुनिश्चित गर्ने नभई, तपाईं जो हो, त्यसको मूल रूपमा वा आत्मपरक पक्षलाई समेत सही अवस्थामा राख्ने ।

एउटा गरीब व्यक्तिले सोच्न सक्ला, "भोलि, यदि मैले एक जोर नयाँ जुत्ता पाएँ भने, सबैथोक ठीक हुनेछ ।" यदि उसले एक जोर नयाँ जुत्ता पायो भने, ऊ राजाझैँ प्रफुल्ल मुहार लिएर हिँड्नेछ । किनभने उसमा आशा छ, उसको निम्ति बाहिरी आवश्यकताहरू अझै सुनिश्चित भइसकेका छैनन् । सम्पन्न समाजहरूमा, बाहिरी आवश्यकताहरू सुनिश्चित गरिएका छन्, तर भित्री स्थितिमा केही गरिएको छैन । त्यसैले त्यहाँ निराशा र उदासी छ । त्यहाँ खाना छ, त्यहाँ घर छ, त्यहाँ लगाउन लुगा छ— त्यहाँ सबैथोक छ, तैपनि त्यहाँ केही न केही समस्या छ । उनीहरूले त्यो समस्या के हो भनेर पहिचान गरेका छैनन् ।

जसैजसै हामी बाहिरी आवश्यकतामाथि काम गर्दै जान्छौँ, हामीले आफ्नो भित्री स्थितिलाई पनि सही अवस्थामा राख्नुपर्छ । त्यसबेला, संसार सुन्दर बन्नेछ । जब हामी आध्यात्मिक प्रक्रिया भन्छौँ, त्यसको अर्थ यही हो: जीवनमा वस्तुपरक वा भौतिक पक्षहरू मात्रै सुनिश्चित गर्ने नभई, तपाईं जो हो, त्यसको मूल रूपमा वा आत्मपरक पक्षलाई समेत सही अवस्थामा राख्ने ।

उदासीपन— अरूबाट सहानुभूति र ध्यान खिच्न !

यदि तपाईंमा कुनै चिजप्रति निकै सशक्त र प्रबल भावनाहरू वा विचारहरू छैनन् भने, तपाईं उदास बन्न सक्नुहुन्न । कुरा यत्ति हो कि तपाईं यस्ता विचार र भावनाहरू उत्पन्न गरिरहनु भएको छ, जसले तपाईंकै विरूद्धमा काम गर्छन्, न कि तपाईंको लागि । तसर्थ, तपाईं आफूलाई डिप्रेशनमा लैजान वा उदासी बनाउन एकदमै सक्षम हुनुहुन्छ । यो कुरा मैले अरू व्यक्तिको रोगप्रति कुनै सरोकार नराखिकन वा अरूप्रति ममा करूणा नभएकोले भनेको होइन । म यो यसकारण भनिरहेको छु, किनभने मानिसमा डिप्रशन यसरी नै हुने गर्दछ ।

लगभग सबैजसोले आफूलाई पागलपनको अवस्थामा पुऱ्याउन सक्छन्, किनकि सद्देपन र पागलपन बिचको रेखा एकदमै मसिनो हुन्छ । मानिसहरू आफूलाई त्यसतर्फ धकेलिरहन्छन् ।

अधिकांश डिप्रेशन व्यक्ति आफैँले निर्माण गर्छन् । केही मानिसहरूको शारीरिक प्रणाली रोगग्रस्त भएकोले त्यो अवस्थामा पुग्न सक्छन् । तर, लगभग सबैजसोले आफूलाई पागलपनको अवस्थामा पुऱ्याउन सक्छन्, किनकि सद्देपन र पागलपन बिचको रेखा एकदमै मसिनो हुन्छ । मानिसहरू आफूलाई त्यसतर्फ धकेलिरहन्छन् । जब तपाई रिसाउनुहुन्छ, तपाईं त्यो रेखा धकेल्दै हुनुहुन्छ । तपाईं सद्देपनको रेखालाई धकेलेर केही समयको लागि पागलपनको अवस्थामा जानुहुन्छ अनि फर्किनुहुन्छ ।

तपाईंले आफ्नो जीवनमा बिरामी हुनको लागि थुप्रै प्रोत्साहन पाउनुभएको छ । तपाईं बच्चा हुँदा, तपाईं बिरामी भएको बेला मात्रै सबैजनाको ध्यान पाउनुहुन्थ्यो । तपाईं खुसी हुँदा ठूलाबडाले तपाईंलाई हकार्थे । जब तपाईं हर्षित भएर चिच्याउनु हुन्थ्यो, उनीहरूले उल्टै तपाईंलाई झपार्थे । तपाईं शिथिल भएको बेला, उनीहरू "हह बाबु हह" भन्दै फकाउँथे । जब तपाईं बच्चा हुनुहुन्थ्यो, शारीरिक रूपमा बिरामी हुनु राम्रो थियो, किनकि तपाईंले आमा, बुबा अनि वरपरका सबैजनाबाट राम्रो हेरचाह र ध्यान पाउनुहुन्थ्यो । त्यसदिन तपाईं विद्यालय जानु पर्दैनथ्यो । तसर्थ, तपाईंले शारीरिक रूपमा बिरामी हुने कला सिक्नुभयो । तर, जब तपाईंले विवाह गर्नुभयो, तपाईंले मानसिक रूपमा बिरामी हुने कला सिक्नुभयो ! तपाईं कसैको ध्यान आकर्षित गर्न चाहनुहुन्छ भने, एउटा कुनामा गएर उदास भएको नाटक गरेर बस्न सक्नुहुन्छ । मानिसहरूले तपाईंलाई ध्यान दिनेछन् । अत: यदि तपाईंले यो खेल खेलिरहनुभयो भने, एकदिन तपाईंले नाघ्नुभएको रेखाबाट फर्किन सक्नुहुन्न । त्यसदिन, तपाईंलाई मेडिकल रूपमा पुष्टि गरिनेछ ।

डिप्रेशनबाट कसरी मुक्त हुने ?

शारीरिक प्रणालीमा हुने रसायनहरूलाई सन्तुलनमा राख्नको लागि शारीरिक क्रियाकलापहरू निकै महत्वपूर्ण हुन्छन् । अघिल्ला केही पिँढीहरूबाट यहाँसम्म आइपुग्दा हाम्रा शारीरिक क्रियाकलापहरू अत्यधिक घटेका छन् । त्यसैले, हाम्रो प्रणालीमा रसायनहरूलाई सन्तुलित राख्न कठिन हुन्छ । यो असन्तुलनको एउटा रूप डिप्रेशन हो । केही निराश भएर कोठाको कुनै कुनामा बस्छन् । जो मानसिक रूपमा सन्की छन्, उनीहरू हिंस्रक बन्न सक्छन् । यस्तो स्थितिलाई शान्त पार्न सामान्य रूपमा केमिकल दिइन्छ, औषधी वा सुई प्रयोग गरिन्छ । तर, यसले मनुष्यमा भएको सम्भावना र सामर्थ्यलाई नष्ट गर्दछ ।

चाहिनेभन्दा अति बढी खानु, पर्याप्त मात्रामा शारीरिक क्रियाकलाप नहुनु, प्रकृतिसँग नजोडिनु, पञ्चतत्वको सम्पर्कमा नरहनु, भावनात्मक रूपमा असुरक्षित महसुस गर्नु— यिनै मुख्य कारणहरूले गर्दा, आज विश्वमा डिप्रेशन वा उदासीपन व्यापक रूपमा फैलिएको छ ।

आफूमा सन्तुलन ल्याउने सबैभन्दा सरल र उत्तम तरिका भनेको प्राकृतिक वातावरणमा धेरै भन्दा धेरै शारीरिक क्रियाकलाप गर्नु— यो सानै उमेरबाट शुरु गर्नु उचित हुन्छ । अर्को पक्ष भनेको पाँच तत्वहरू वा पञ्चतत्व (धरती, जल, वायु, अग्नि वा सूर्यको प्रकाश र आकाश) को सम्पर्कमा रहनु हो । तपाईंले जस्तो प्रकारको खाना खानुहुन्छ, त्यो पनि कारक हो, त्यसैले अत्यधिक प्रशोधित खानेकुराहरू खानुहुँदैन । त्यसैगरी, भावनाको स्तरमा असुरक्षित महसुस गर्नु पनि अर्को कारक हो, जुन आधुनिक पिँढीले भोगिरहेको छ । अहिले मानिसहरू भावानात्मक रूपमा कसैसँग पनि खासै जोडिन सक्दैनन्, किनकि कोही पनि लामो समयसम्म साथमा हुँदैनन् ।

सारमा भन्नुपर्दा, डिप्रेशन यसरी बढ्दै जानुको मुख्य कारण भनेको बदलिँदो जीवनशैली हो । चाहिनेभन्दा अति बढी खानु, पर्याप्त मात्रामा शारीरिक क्रियाकलाप नहुनु, प्रकृतिसँग नजोडिनु, पञ्चतत्वको सम्पर्कमा नरहनु, भावनात्मक रूपमा असुरक्षित महसुस गर्नु— यिनै मुख्य कारणहरूले गर्दा, आज विश्वमा डिप्रेशन वा उदासीपन व्यापक रूपमा फैलिएको छ । यदि हामीले यी कुराहरूमा ध्यान दिने हो भने, डिप्रेशन लगायत अन्य मानसिक समस्याहरू जुन रूपमा फैलिएको छ, त्यसलाई उल्लेखनीय रूपमा कम गर्न सक्छौँ ।

Editor's Note: Depressed? It’s time for Yoga! Inner Engineering Online is offered at 50% off for all (free for COVID Warriors) as a support during these challenging times.