विषयसूची
१. दीपावली भनेको के हो ?
२. दीपावली किन मनाइन्छ ?
३. दीपावलीको महत्व
४. जीवनलाई उत्सवमय बनाउनुहोस् !
५. गम्भीर नबन्ने, तर पूर्णतया संलग्न रहने

दीपावली भनेको के हो ?

सद्‌गुरु: तिहार वा दीपावलीलाई "दीप वा प्रकाशको पर्व" भनिन्छ । मानव जीवनमा प्रकाशको निकै महत्व हुनुको कारण भनेको हाम्रा आँखाको बनावट हो । अरू प्राणीहरूको लागि सामान्यता प्रकाशको अर्थ जीविका चलाउने माध्यम हो । तर मानव जीवनको लागि प्रकाश भनेको देख्न सक्ने वा नसक्ने भन्नेसँग सम्बन्धित हुँदैन । हाम्रो जीवनमा प्रकाशको उदय हुनु नयाँ शुरुवातको सङ्केत हो, अझ महत्त्वपूर्ण पक्ष स्पष्टता हो । 

दीपावली महत्त्वपूर्ण छ किनकि यो स्पष्टताको लागि समर्पित पर्व हो, जुन तपाईंभित्रको अन्धकारलाई कम गर्नमा केन्द्रित छ ।

धेरैजसो प्राणीहरू आफ्नो मूलभूत प्रकृति वा स्वभावअनुसार बाँच्दछन्, त्यसैले उनीहरूमा के गर्ने वा के नगर्ने भन्नेबारे कुनै दुबिधा हुँदैन । बाघको बाच्चाले कहिल्यै पनि "के म राम्रो बाघ बन्छु, वा घर पालुवा बिरालोमै सीमित रहन्छु ?" भनेर सोच्दैन । यदि उसले राम्ररी खान सिक्यो भने ऊ राम्रो बाघ बन्दछ । भलै तपाईं मानिसको रूपमा जन्मिनुभए पनि, राम्रो मानिस बन्नको लागि तपाईंले थुप्रै कुराहरू गर्नुपर्ने हुन्छ । अनि तबपनि तपाईंलाई आफू कहाँ छु भन्ने नै थाहा हुँदैन । अरूसँग तुलना गर्दा तपाईंले आफूलाई राम्रो सोच्न सक्नुहुन्छ । तर आफूलाई मात्र हेर्दा तपाईंले आफू कहाँ छु भनेर थाहा पाउनुहुन्न । मानव बुद्धि यस्तो छ कि यदि तपाईंले यसलाई सही ढङ्गले सङ्गठित गर्नुभएन भने, यसले तपाईंमा अझ बढी दुबिधा र दुःख-कष्ट निम्त्याउँछ, जबकि तपाईंको दिमागको तुलनामा लाखमा एक भाग बराबर दिमाग भएका प्राणीहरूले त्यो कहिल्यै भोग्दैनन्; उनीहरू बढी स्पष्ट भएको आभास हुन्छ । गँड्यौला वा कीरालाई के गर्ने र के नगर्ने भनेर यतिकै थाहा हुन्छ, जबकि मानिसलाई चाहिँ हुँदैन । दुबिधामा पर्नको लागि निश्चित स्तरको बुद्धि चाहिन्छ । मानिसहरूले सङ्घर्ष गर्नुको कारण हाम्रो मस्तिष्कको क्षमताले गर्दा भएको हो ।      

विशाल सम्भावना हुनुको सट्टा यही बुद्धि अधिकांश मानिसहरूको लागि ठूलो समस्या बनेको छ । उनीहरू आफ्नो पीडालाई विभिन्न नामहरू दिन सक्छन् तनाव, चिन्ता, दुःख, पागलपन वा डिप्रेशन । तर मूलत: यसको अर्थ यो हो कि उनीहरूको बुद्धि नै उनीहरू विरुद्ध काम गरिरहेको छ । यदि कसैले पनि तपाईंलाई हमला नगरिकनै तपाईं आफैँमा दु:खी रहनुहुन्छ भने, यसको अर्थ तपाईंको बुद्धिले तपाईंको विरुद्धमा काम गरिरहेको छ । मानव अस्तित्वको प्रकृति यस्तो भएको हुनाले स्पष्टता सर्वाधिक महत्त्वपूर्ण छ । त्यसैले प्रकाश महत्त्वपूर्ण छ । किनकि प्रकाश भनेको स्पष्टता हो । दीपावली महत्त्वपूर्ण छ किनकि यो स्पष्टताको लागि समर्पित पर्व हो, जुन तपाईंभित्रको अन्धकारलाई कम गर्नमा केन्द्रित छ ।

दीपावली किन मनाइन्छ ?  

         

ऐतिहासिक रूपमा आजको दिनमा कृष्णले नरकासुरको वध गरेका थिए भनिन्छ । नरकासुर उसको वास्तविक नाम थिएन, तर उसले सबैजनाको जीवन नर्क जस्तो बनाएको थियो, त्यसैले सबैले उसलाई नरकासुर नाम दिए । नरकासुर अर्थात् जसले सबैको जीवन नर्क (नरक) बनाएको छ । जब कृष्णले उसको कर्तुतको अन्त्य गरे मानिसहरूले घर-घरमा दीप प्रज्वलन गरेर उत्सव मनाए । नरकासुरसँगको त्यो घटना सम्भवत: धेरै पछाडि भएको थियो, तर यस समयमा दीप बाल्ने संस्कृति र परम्परा १२ देखि १५ हजार वर्ष पहिलादेखि गरिँदै आएको थियो । मानिसहरूले यो महसुस गरे कि वर्षको यस समयमा जीवन निष्क्रियताको चरम बिन्दुमा हुन्छ । पटाका पड्काउनु पछाडिको कारण के हो भने यदि तपाईं आफैँमा बिस्फोटक (पूर्ण रूपमा जीवित र सक्रिय) जीवन बाँचिरहनु भएको छैन भने कम्तीमा सेरोफेरोमा पटाका पड्काउनाले तपाईंलाई थोरै भएपनि जगाउन सकियोस् । त्यसैले नरक चतुर्दशीको दिन बिहानी ४ बजेदेखि पटाका पड्काइन्छ, ताकि सबैजना उठून र जीवित बनून् ।       

यदि तपाईं आफैँमा बिस्फोटक (पूर्ण रूपमा जीवित र सक्रिय) जीवन बाँचिरहनु भएको छैन भने कम्तीमा सेरोफेरोमा पटाका पड्काउनाले तपाईंलाई थोरै भएपनि जगाउन सकियोस् ।

यो पक्ष पर्वको प्रकृतीसँग सम्बन्धित छ, तर महत्त्वपूर्ण पक्ष भनेको निष्क्रियतालाई पराजित गर्नु हो । जीवन भनेको समय र ऊर्जाको खेल हो । तपाईंसँग निश्चित मात्राको समय छ र निश्चित मात्राको ऊर्जा छ । चाहे तपाईं व्यस्त हुनुहोस् वा अल्छी, तपाईं स्वस्थ हुनुहोस् वा बिरामी, समय बितिरहन्छ । हामी सबैको लागि समय एकै गतिमा बितिरहेको छ । न कसैले यसलाई रोक्न सक्छ, न कसैले तीव्र गतिमा चलाउन सक्छ । तर समयको अनुभव, तपाईं आनन्दित हुनुहुन्छ वा दु:खी हुनुहुन्छ भन्ने आधारमा फरक-फरक हुन्छ । कुनैदिन तपाईं आन्दित हुनुहुन्छ भने २४ घण्टा एक क्षणमा बितेको जस्तो लाग्छ । यदि तपाईं उदास हुनुहुन्छ भने, २४ घण्टा तपाईंको अनुभवमा निकै लामो समय जस्तो लाग्छ ।   

तपाईं आनन्दित हुनुहुन्छ भने यो जीवन निकै छोटो छ । मानिसमा जुन सामर्थ्य र सम्भावनाहरू छन्, त्यसलाई हेर्दा तपाईं १०० वर्ष बाँचे पनि त्यो समय निकै छिटो बितिहाल्छ । तर यदि तपाईंमा जडता छ र तपाईं दु:खित हुनुहुन्छ भने, समय बितेकै छैन जस्तो लाग्छ । जब मानिसहरू दु:खी हुन्छन्, मनोरञ्जनको आवश्यकता अत्यधिक बढ्छ । जब मानिसहरू आनन्दित हुन्छन्, उनीहरूसँग मनोरञ्जनको लागि समय नै हुँदैन । आनन्दले तपाईंको सबै समय लिनेछ । तपाईं बिहान उठ्नुहुन्छ, अनि तपाईंले थाहा पाउनु अगावै रात परिहाल्छ । जब तपाईं आनन्दित हुनुहुन्छ, तपाईंले आफूले सकेको सबैथोक गर्नुहुन्छ । जब तपाईं दु:खी रहनुहुन्छ, तपाईं सबैकुराबाट कसरी पन्छिने भनेर सोच्नुहुन्छ । 

दीपावली निष्क्रियतालाई अन्त्य गर्ने प्रतीक हो, किनकि निष्क्रियता नै नर्कको स्रोत हो । जब जीवनमा निष्क्रियता आउँछ, तपाईं नर्क जानुहुन्न— तपाईं स्वयं नर्क बन्नुहुन्छ ।

“Thank God it’s Friday” (धन्य प्रभु आज शुक्रबार हो !) भन्ने संस्कृति सर्वत्र माैलाउँदै गएको छ । त्यसको अर्थ ५ दु:खी भएर बित्छ अनि बाँकी २ दिन पनि आनन्दमा भन्दा सामान्यतया नशामा बित्ने गर्छ । मानिसहरूलाई हाँस्ने, गाउने, नाच्ने वा केही आनन्दायक कार्य गर्ने बनाउनको लागि तपाईंले उनीहरूलाई नशा दिनुपर्ने हुन्छ, वा कम्तीमा एक गिलास वाइन दिनुपर्ने हुन्छ अन्यथा त्यो सम्भव हुँदैन ।     

दीपावली निष्क्रियतालाई अन्त्य गर्ने प्रतीक हो, किनकि निष्क्रियता नै नर्कको स्रोत हो । जब जीवनमा निष्क्रियता आउँछ, तपाईं नर्क जानुहुन्न— तपाईं स्वयं नर्क बन्नुहुन्छ । क्रोध, ईर्ष्या, घृणा र भयको भावनाले तपाईं आफूभित्र नरक सृजना गर्नुहुन्छ र स्वयं नरकासुर बन्नुहुन्छ । यदि यी कुराहरू हटाइयो भने, त्यहाँ नयाँ प्रकाश प्रदीप्त हुन्छ ।

दीपावलीको महत्व

तपाईंले देख्नुहुने छ कि दीपावलीमा हरेक शहर, गाउँमा जताततै हजारौँ सङ्ख्यामा दियो बालिन्छ । तर यो उत्सव बाहिर दियो बाल्नको लागि मात्रै होइन— तपाईंभित्र पनि दियोको प्रकाश प्रज्ज्वलित हुनुपर्छ । प्रकाश भनेको स्पष्टता हो । यदि स्पष्टता भएन भने, तपाईंमा रहेका सबै गुणहरू वरदान बन्नुको सट्टा अभिशाप बन्दछन् । किनकि स्पष्टताबिनाको आत्मविश्वास दुर्दशा हो । अहिले संसारमा स्पष्टताबिना थुप्रै कामहरू भएको छ ।

आवश्यक स्पष्टताबिना तपाईं चाहे जेसुकै गर्ने प्रयास गर्नुहोस्, त्यो दुर्दशा नै हुनेछ । प्रकाशले तपाईंको दृष्टिमा स्पष्टता ल्याउँदछ— शारीरिक पक्षमा मात्रै होइन । तपाईं जीवनलाई कति स्पष्ट रूपमा देख्नुहुन्छ अनि वरपरको कुरालाई कति स्पष्ट रूपमा बोध गर्नुहुन्छ भन्ने कुराले तपाईं आफ्नो जीवनलाई कति समझदारीपूर्वक अघि बढाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ । दीपावली त्यो दिन हो, जब अन्धकारमय शक्तिहरूलाई नष्ट गरिएपछि प्रकाशको उदय भएको थियो । मानिसले अन्त कतैबाट उज्यालो ल्याउनु पर्दैन । यदि उसले आफूभित्र जम्मा हुन दिएको काला बादलहरू हटाउने हो भने, स्वत: उज्यालो हुनेछ । प्रकाशको पर्वले त्यही कुरा स्मरण गराउँछ ।

तपाईं जीवनलाई कति स्पष्ट रूपमा देख्नुहुन्छ अनि वरपरको कुरालाई कति स्पष्ट रूपमा बोध गर्नुहुन्छ भन्ने कुराले तपाईं आफ्नो जीवनलाई कति समझदारीपूर्वक अघि बढाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ ।

जीवनलाई उत्सवमय बनाउनुहोस् ! 

यस संस्कृतिमा पहिला यस्तो समय थियो, जहाँ वर्षभरिमा ३६५ वटा चाडपर्वहरू हुने गर्दथे— हरेक दिन एउटा पर्व हुन्थ्यो । यसको पछाडिको उदेश्य हाम्रो सम्पूर्ण जीवनलाई उत्सवमा परिवर्तन गर्नु थियो । आज सायद केवल ३०-४० वटा चाडपर्वहरू रहेका छन् । बाँकी रहेका पर्वहरू पनि हामीले सही तरिकाले मनाउन सकेका छैनौँ, किनकि हामीलाई अफिस जानुपर्छ वा दैनिक अरू केही कुरा गर्नुपर्छ । तसर्थ मानिसहरूले सामान्यतया वर्षमा ८-१० चाडहरू मात्र मनाउँछन् । यदि यस्तै रहन दिने हो भने, आगामी पिँढीसामु कुनै पर्व रहनेछैन । उनीहरूलाई पर्व भनेको के हो भन्ने समेत थाहा हुनेछैन । कमाउने र खाने, कमाउने र खाने— उनीहरू यतिमात्र गरिरहने छन् । धेरै मानिसहरूको सम्बन्धमा यस्तो भइसकेको छ ।

मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि र दीपावली ।

अहिले चाडपर्व आउँदा तपाईंले कामबाट छुट्टि पाउनुहुन्छ, अनि तपाईं १२ बजे मात्रै उठ्नुहुन्छ । त्यसपछि तपाईं टन्न खानुहुन्छ अनि कतै फिल्म हेर्न जानुहुन्छ वा घरमै बसेर टि.भी. हेर्नुहुन्छ । यदि बाहिरबाट केही थप्नुभयो भनेमात्र अलिकति नाच्नुहुन्छ । अन्यथा त्यहाँ नाचगान पनि हुँदैन । पहिला यस्तो थिएन ।

चाडपर्वको अर्थ पूरै शहर एक ठाउँमा जम्मा हुने र ठूलो उत्सव गर्ने हुन्थ्यो । चाडपर्वको अर्थ सबैजना बिहानै ४ बजे उठेर, धेरै सक्रिय रूपमा घरभरि थुप्रै कार्यहरू गर्ने गरिन्थ्यो । मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि र दीपावली ।

गम्भीर नबन्ने, तर पूर्णतया संलग्न रहने

यदि तपाईंले हरेक कुरालाई उत्सवको रूपमा लिनुभयो भने, तपाईं जीवनमा गम्भीर नभइकन पूर्ण रूपमा संलग्न रहन सिक्नुहुन्छ । यतिखेर मानिसहरूको समस्या के हो भने उनीहरूलाई कुनै काम महत्त्वपूर्ण लाग्यो भने, उनीहरू एकदमै गम्भीर बन्दछन् । यदि उनीहरूलाई कुनै काम खासै महत्त्वपूर्ण लागेन भने उनीहरूमा कुनै जाँगर नभएर शिथिल बन्छन्— उनीहरू त्यसमा संलग्न रहन सक्दैनन् । जब कोही भन्छन्, "ऊ असाध्यै गम्भीर छ", तपाईंले बुझ्न सक्नुहुन्छ कि ऊ अब कता पुग्दैछ ! थुप्रै मानिसहरू यस्तै गम्भीर अवस्थामा रहने गरेका छन् । 

जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने ।

मानिसहरूको निम्ति जुन कुराले महत्त्व राख्दैन, उनीहरू त्यसमा संलग्न रहन र आफूलाई समर्पित गर्नै सक्दैनन् । यही मुख्य समस्या हो । तर, जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने । खेल जसरी । यही कारणले गर्दा जीवनको निकै गहन पक्षहरूलाई उल्लासमय रूपमा लिने गरिन्छ, ताकि तपाईं त्यसको मूल कुराबाट नचुक्नुहोस् ।

दीपावली पर्व, तपाईंको जीवनमा उत्सव र उल्लासको पक्ष भित्र्याउनको लागि हो ।