प्रश्न: बाहिर शान्ति बढ्दै जाँदा आफूभित्रका हल्लाहरू भने अझ चर्किँदै गएका छन् । यो भित्री तरङ्ग र भित्री आवाजहरूको विषयमा कृपया प्रकाश पार्नुहुन्छ कि ?


सद्‌गुरु: तपाईंको भित्री आयाम कोलाहलपूर्ण भएको होइन । त्यो कहिल्यै अशान्त भएको छैन । त्यस क्षेत्रमा कोलाहल हुने प्रश्न नै उठ्दैन । कुरा के हो भने, अहिले तपाईं व्यस्त हुनुहुन्न, त्यसैले तपाईंमा छटपटी मच्चिएको छ । प्रायः मानिसहरू सामान्यतया आफू व्यस्त छु भन्ने ठान्छन्, तर यदि तपाईंले उनीहरूको जीवनलाई हेर्नुभयो भने, ६० प्रतिशत समय उनीहरू आफूलाई केही न केहीमा अल्झाइ राखेका हुन्छन् । यो पागुर चपाए जस्तै हो, अर्थात् पहिल्यै निलेको कुरा पुनः ओकलेर चपाए जस्तै हो । तपाईं विगतका कुरा ओकलेर चपाइरहनु भएको छ । गाई, बाख्रा र भेडाहरूलाई यो सुविधा दिइएको छ; उनीहरू आफूले खाइसकेको कुरा केही घण्टापछि पुनः ओकलेर चपाइरहन्छन् । तर, तपाईंको शरीरमा यो सुविधा दिइएको थिएन, त्यसैले तपाईं त्यही काम आफ्नो दिमागमा गरिरहनु भएको छ ! यो क्रमिक-विकास सम्बन्धी समस्या हो ।

तपाईंको अन्तस्करणमा कुनै हल्ला, कम्पन वा ध्वनि हुँदैन । यी सबै तपाईंको दिमागमा मात्र भइरहेको हुन्छ, किनकि तपाईं त्यही बासी कुरा ओकलेर चपाउँदै हुनुहुन्छ ।

पुराना कुराहरू ओकलेर चपाउने काम बन्द गर्नुहोस्

कोही व्यक्तिले अहिले एकदमै फरक किसिमको काम गरिरहेको भए तापनि, विगतको कर्मले गर्दा अहिले त्यसको आनन्द भोगिरहेको हुन सक्छ । जब मानिसले अहिले आफूले पाइरहेको आनन्द विगतको कर्मको फल हो, अनि यो जुनसुकै समय समाप्त हुन सक्छ भन्ने कुरा बुझ्दैन, त्यस्तो व्यक्तिलाई देख्दा दक्षिण भारतीय अध्यात्म र योगमा "अय्यो, पझाया साधम" भन्ने चलन छ । पझाया साधम भनेको "पुरानो चामल" हो । ऊर्जा र शक्तिको सन्दर्भमा हेर्ने हो भने, हामीले हिजो खाएका कुराले अझै हाम्रो शरीरमा काम गरिरहेको हुन्छ । त्यसैगरी, हामीले हिजो, १० बर्षअघि वा अघिल्लो जन्ममा गरेका कामबाट अहिले लाभ लिइरहेका हुन सक्छौँ । तर, यदि तपाईंले अहिले यसलाई माथि उकास्न केही गरिरहनु भएको छैन भने, यो समाप्त हुनेछ । बासी खाना केही समयपछि कुहिनेछ । हिजो जे अद्‌भुत थियो, त्यो एकदमै खराब बन्नेछ ।

विश्वका थुप्रै तथाकथित सफल व्यक्तिहरू आफ्नो जीवनका विभिन्न चरणहरूमा यो अवस्थाबाट गुज्रिन्छन् । उनीहरू विगतका कर्महरूका परिणामको आनन्द लिन्छन्, सबैथोक गज्जबको छ भन्ने सोचेर जथाभाबी जीवन बाँच्छन् । अनि, एकदिन अचानक यसले उनीहरूलाई प्रहार गर्छ— यो बाहिरबाटै हुनुपर्छ भन्ने छैन, अधिकांश समय भित्रबाटै हुने गर्दछ । उनीहरूको आफ्नै मानसिक र शारीरिक संरचना यति अस्तव्यस्त हुन्छ कि उनीहरू आफ्नो त्यस अवस्थालाई स्वीकार गर्नै सक्दैनन् । यो त्यही बासी खानाको परिणाम हो, त्यसैले यो अत्यन्तै महत्त्वपूर्ण छ कि तपाईं हरेक दिन ताजा खाना पकाउनुहोस् । यसैकारण, वर्तमानको कर्म एकदमै महत्त्वपूर्ण हुन्छ ।

यो विशाल अस्तित्वमा सौर्यमण्डल भनेको सानो कण हो । त्यो सानो कणमा, पृथ्वी अति-सूक्ष्म कण हो । र, यो अति-सूक्ष्म कणमा तपाईं अति झिनो जीव हो ।

तपाईंको अन्तस्करणमा कुनै हल्ला, कम्पन वा ध्वनि हुँदैन । यी सबै तपाईंको दिमागमा मात्र भइरहेको हुन्छ, किनकि तपाईं त्यही बासी कुरा ओकलेर चपाउँदै हुनुहुन्छ । यदि तपाईं कुनै गतिविधिमा व्यस्त हुनुभएको भए, तपाईं आफ्नो दिमागमा चलिरहेका केही कुराहरू बिर्सिनु हुनेथियो । तर, जब तपाईंका हातहरू खाली हुन्छन्, तपाईंले यो प्रष्ट देख्न सक्नुहुन्छ कि तपाईंको दिमागमा केही न केही निरन्तर चलिरहको हुन्छ । यसलाई रोक्ने कोसिस नगर्नुहोस्, किनकि तपाईं यसलाई रोक्न सक्नुहुन्न । यसको एकमात्र उपाय भनेको आफूलाई यसबाट टाढा राख्नु हो ।

आफूलाई आफ्नो मनबाट टाढा राख्नुहोस्

आफूलाई आफ्नो मनबाट टाढा राख्नको लागि थुप्रै विधि एवं तरिकाहरू छन् । यदि तपाईं शाम्भवी वा शून्यको अभ्यास सिक्नुभएको छ भने, त्यसको निम्ति यी शक्तिशाली प्रक्रियाहरू हुन् । अथवा, तपाईं ईशा क्रिया गर्न सक्नुहुन्छ । यदि तपाईंलाई यीमध्ये कुनै पनि अभ्यास थाहा छैन भने, यतिखेर तपाईं यो सरल कार्य गर्न सक्नुहुन्छ । यसलाई मनन गर्नुहोस् । हामीलाई यस विशाल अस्तित्वको न त शुरुवात थाहा छ, न त अन्त्य नै । यो विशाल अस्तित्वमा सौर्यमण्डल भनेको सानो कण हो । त्यो सानो कणमा, पृथ्वी अति-सूक्ष्म कण हो । र, यो अति-सूक्ष्म कणमा तपाईं अति झिनो जीव हो । तर, तपाईं पृथ्वी रूपी माटोको ढिस्कोमा उभिएर आफूलाई ब्रह्माण्डको केन्द्र ठान्नुहुन्छ ! यो मूर्ख विचार हो । यही मूर्खतापूर्ण विचारबाट, अन्य थुप्रै वाहियात् विचारहरू जन्मिएका छन्, जसलाई सामाजिक स्तरमा बुद्धिमत्ता ठानिन्छ । तर, तपाईं यो विशाल ब्रह्माण्डको सन्दर्भमा आफ्ना विचारहरूलाई हेर्नुहोस् । यतिखेर, जाबो भाइरसले नै तपाईंको जीवनलाई धम्क्याइरहेको छ । आफू नश्वर भएको यथार्थलाई स्वीकार्नु होस् अनि तपाईं जे-जति कुराहरूको बारेमा सोच्नुहुन्छ, जुन कुराहरूलाई तपाईं महत्त्वपूर्ण ठान्नुहुन्छ यी सबैकुरा मूर्खतापूर्ण हुन् भनेर मनन गर्नुहोस् ।

यदि तपाईंले आफ्ना विचार र भावनाहरू अति वाहियात् छन् भन्ने कुरा मनन गर्नुभयो भने, तपाईं स्वाभाविक रूपमा आफूलाई तीबाट टाढै राख्नुहुन्छ । समस्या के हो भने अहिले तपाईं यिनलाई स्मार्ट ठान्नुहुन्छ, तर जब यसले सताउन थाल्छ तपाईं त्यसबाट टाढा हुन चाहनुहुन्छ । यस्तो तरिकाले काम गर्दैन । तपाईं जुन कुराहरूलाई स्मार्ट ठान्नुहुन्छ, ती सबै तपाईंमा छाप जसरी टाँसिने छन् । तिनले तपाईंलाई यत्तिकै छाड्दैनन् । जुन क्षण तपाईं आफूलाई स्मार्ट ठान्नुहुन्छ, तपाईंका विचारहरूले तपाईंलाई छाड्न सक्दैनन् । यदि तपाईं खुबै स्मार्ट हुनुहुन्छ भने, तपाईं आफ्ना आँखा बन्द गरेर बस्नै सक्नुहुन्न । जब तपाइँलाई आफू पटमूर्ख हुँ भन्ने महसुस हुन्छ, तब तपाईं आफ्ना आँखा बन्द गरेर यत्तिकै बस्न सक्नुहुन्छ । बुद्धिमानी र मूर्ख व्यक्तिबिच भिन्नता के हो भने, बुद्धिमानी व्यक्तिले आफू मूर्ख हुँ भनेर जानेको हुन्छ, तर मूर्खलाई आफू मूर्ख हुँ भन्ने थाहै हुँदैन । त्यसैले, ऊ मूर्ख नै रहन्छ ।

मूर्खहरूका बिचमा मूर्खहरू नै चम्किन्छन् !

जीवनको सन्दर्भमा वा अस्तित्वको सन्दर्भमा हेर्ने हो भने, तपाईं वास्तवमै केही पनि होइन । सामाजिक स्तरमा, तपाईं केही हुन सक्नुहुन्छ । मूर्खहरूका बिचमा मूर्खहरू नै चम्किन्छन् ! त्यसले, जीवनको सन्दर्भमा अलिकति पनि महत्त्व राख्दैन । जाबो भाइरसले नै तपाईंलाई भोलि ढाल्न सक्छ । हामीसँग जतिसुकै महान् र बुद्धिमानी विचारहरू भए तापनि, त्यसले रत्तिभर महत्त्व राख्दैन । यदि तपाईंले यो बुझ्नुभयो भने, तपाईं र तपाईंका विचार प्रक्रियाहरूबिच स्वाभाविक रूपमा दूरी उत्पन्न हुन्छ । जब तपाईं र तपाईंका विचार प्रक्रियाहरूबिच दूरी हुन्छ, तपाईं के सोच्नुहुन्छ भन्ने कुराले अलिकति पनि फरक पार्दैन ।

 

Editor’s Note: Want to learn more about the mechanics of the mind? In this YouTube Video Sadhguru unravels the four fundamental parts of the mind.