प्रश्नकर्ता:: अनादी कालदेखि नै यस परम्परामा शुभ दिनहरूमा व्रत बस्ने चलन रहिआएको छ । तर धेरैले यसलाई अवैज्ञानिक र अतार्किक ठान्छन् । हालसालै मात्र व्रत बस्दा शरीरमा हुने स्वपोषण सम्बन्धी गरिएको खोजको लागि नोबेल पुरस्कार दिइएको छ । दुई छाक भोजनबिच स्पष्ट अन्तर हुनुपर्ने बारे तपाईंको के विचार छ ?


सद्‌गुरु: म यसको बारेमा चालिस वर्षदेखि कुरा गरिरहेको छु । मैले यस्ता सयौँ–हजारौँ मानिसहरू देखेको छु, जो पहिल्यै भरिएको पेटमा केही न केही थपिरहने बानीबाट मुक्त भएको कारण अझ स्वस्थ र तन्दुरुस्त बनेका छन् । ईशा योग केन्द्रमा, सबैजना बिहानको १० बजे र बेलुकीको ७ बजे खाना खान्छन् । शारीरिक रूपमा हाम्रो जीवनशैली एकदमै सक्रिय छ । आश्रमको स्थान निकै ठूलो छ, अनि यहाँभित्र कुनै गाडीहरू छैनन्, जसकारण सबैजना कि त हिँड्छन् वा साइकल चलाउँछन् । खाना खाने ठाउँसम्म जानको लागि पनि १ कि.मी. हिड्नुपर्छ; कार्यस्थलमा पुग्नको लागि आधा देखि एक किलोमिटर हिँड्नुपर्छ । अतः मानिसहरू जतिबेला पनि शारीरिक रूपमा सक्रिय रहन्छन् । बेलुका ३:३०–४ बजेतिर सबैजना ज्यादै भोकाउँछन् । तर, हामीले भोकै बस्न सिकेका छौँ, किनकि पेट खाली हुनु राम्रो कुरा हो । 

दुई छाकबिच अन्तराल राख्नुको फाइदा

हामीले आफ्नो अनुभवबाट जानेका जे–जति कुराहरूलाई योग–विज्ञानमा समेटिएको छ, आज आधुनिक विज्ञानले पनि त्यसलाई स्वीकार गरिरहेको छ । तपाईंको पेट खाली हुँदा मात्र तपाईंको शरीर र तपाईंको दिमागले आफ्नो पूर्ण क्षमतामा काम गर्छन् । हामी यस प्रकारले खान्छौँ कि हामीले जतिसुकै खाएपनि दुई देखि साढे दुई घण्टासम्ममा हाम्रो पेट खाली हुन्छ । तपाईंको शरीरमा कुनै सुधार र शुद्धिकरण हुनुपर्ने छ भने, त्यसको लागि तपाईंको पेट खाली रहनुपर्ने हुन्छ । यो एकदमै महत्त्वपूर्ण छ । अन्यथा, कोषिकाहरूको स्तरमा शुद्धिकरण हुँदैन, जसकारण तपाईं अनेक चीजहरू थुपार्दै जानुहुनेछ अनि विभिन्न प्रकारका समस्याहरू उत्पन्न हुन थाल्छन् । पहिलो कुरा त तपाईंको शरीरमा जडता (आलस्य) बढ्दै जानेछ । जडताको स्तरहरू फरक–फरक हुन्छन्, तर तपाईंले आफ्नो निन्द्राबाट यसको प्रष्ट सङ्केत थाहा पाउन सक्नुहुन्छ । तपाईंलाई जति निन्द्रा चाहिन्छ, त्यो वास्तवमा जडता हो ।

तपाईंको पेट खाली हुँदा मात्र तपाईंको शरीर र तपाईंको दिमागले आफ्नो पूरा क्षमतामा काम गर्छन् ।

सबैजसो अमेरिकी डाक्टरहरू भन्छन् कि तपाईं कम्तीमा ७ देखि ८ घण्टा सुत्नैपर्छ । त्यसको अर्थ के हो भने, तपाईं आफ्नो जीवनको एक तिहाई भाग सुतेरै बिताउनु हुनेछ । अरू ३-४ घण्टा शौचालय, स्नान, खानपान र अन्य कुराहरूमा बित्ने गर्छ । वास्तवमा, तपाईंको जीवनको ५० प्रतिशत समय मर्मत–सम्भारमै बित्दछ । मानिलिनु होस् कि तपाईंसँग बाइक वा कार छ । यदि यसलाई महिनामा एक दिन सर्भिसिङ्गमा लैजानुहुन्छ भने, त्यसलाई राख्नु ठीकै हो । तर, यदि महिनाको पन्ध्र दिन सर्भिसिङ्गको लागि ग्यारेज लैजानुपऱ्यो भने, त्यो असाध्यै झन्झट बन्दछ, होइन र ? अधिकांश मानिसहरूले आफ्नो प्रणालीलाई बोझिलो बनाएका छन् । उनीहरूको आफ्नै शरीर जीवनमा ठूलो बाधा बनेको हुन्छ । उनीहरूको शरीरले उनीहरूलाई चाहेको कुरा गर्न दिँदैन ।

यसका थुप्रै पक्षहरू छन्, तर एउटा महत्त्वपूर्ण पक्ष के हो भने मानिसहरू चाहिनेभन्दा धेरै बढी खाइरहेका हुन्छन् । किनकि उनीहरूलाई भनिएको छ, “धेरै खानुपर्छ, नत्रभने कमजोर हुनेछौ !” अहिले सबैजना कम इन्धन खपत गर्ने कार बनाउनेतर्फ प्रयासहरू भइरहेका छन् । यसको अर्थ के हो भने, यदि मेसिनले कुनै अवरोधबिना राम्ररी काम गऱ्यो भने, त्यसले कम इन्धन खपत वा प्रयोग गर्नेछ । यदि तपाईं यहाँ एकदमै सहजतापूर्वक बस्नुभयो भने, तपाईंको प्रणालीले पनि थोरै इन्धन खपत गर्नेछ । यदि तपाईंमा सहजता छैन भने, तपाईंको शरीरले बढी इन्धन खपत गर्नेछ— अर्थात्, यसले तपाईंलाई खाइरहनको लागि उक्साउँछ अनि बिस्तारै तपाईंमा केही न केही खाइरहनु पर्ने बाध्यात्मक प्रवृत्ति विकसित हुन्छ ।

सही तरिका

यदि तपाईंको उमेर ३० वर्षभन्दा माथि छ भने, दिनको दुई छाक राम्रो भोजन गर्नु पर्याप्त हुन्छ— बिहान एक छाक र बेलुकी एक छाक । बेलुकीको खाना खाइसकेपछि ३ घण्टासम्म सुत्नुहुँदैन । यदि यो अन्तरालमा २० देखि ३० मिनेटसम्म सामान्य हिँडडुल जस्तो हलुका शारीरिक गतिविधिहरू गर्नुभयो भने, तपाईंको प्रणाली धेरै मात्रामा स्वस्थ हुन्छ ।

यदि तपाईंमा सहजता छैन भने, तपाईंको शरीरले बढी इन्धन खपत गर्नेछ— अर्थात्, यसले तपाईंलाई खाइरहनको लागि उक्साउँछ अनि बिस्तारै तपाईंमा केही न केही खाइरहनु पर्ने बाध्यात्मक प्रवृत्ति विकसित हुन्छ ।

योगमा एक छाक र अर्को छाक भोजनबिच कम्तीमा ८ घण्टाको अन्तराल राख्नुपर्ने सल्लाह दिइन्छ । यदि तपाईंले यस्तो गर्नुभयो भने, तपाईंले यो देख्नुहुनेछ कि तपाईंमा जस्तोसुकै स्वास्थ्य सम्बन्धी समस्याहरू भए तापनि पचास प्रतिशत समस्याहरू ६ हप्तामा निको हुनेछन् । यदि तपाईं कुनै योग–अभ्यासहरू गर्नुहुन्छ वा कुनै ध्यानका प्रक्रियाहरू गर्नुहुन्छ भने, ९० प्रतिशत समस्याहरू हराउनेछन् । यदि १० प्रतिशत अझै बाँकी रहे भने, हामी त्यसलाई उपाचार गर्न सक्छौँ ।

तपाईंले अमेरिकामा हुने हाम्रा कार्यक्रमहरूमा मानिसहरू कसरी आउँछन् भनेर हेर्नुपर्छ । हाम्रा कार्यक्रमहरू दश देखि बाह्र घण्टासम्म चल्छन्, त्यसैले उनीहरू बिस्कुट र अन्य केही खानेकुरा लिएर आउँछन् । उनीहरू भन्छन्, “म सुगरको बिरामी हुँ । मैले केही न केही खानैपर्छ ।” म उनीहरूलाई भन्छु, “तपाईं यहाँ यत्तिकै बस्नुहोस्, तपाईं मरिहाल्नु हुन्न ।” म त्यो सुनिश्चित गर्छु, किनकि मेरो कारण कसैको मृत्यु हुनुहुँदैन ! पहिलो दिन उनीहरू भन्छन्, “नाइँ, नाइँ, हुँदैन ! मैले खानैपर्छ ।” तेस्रो दिन सम्ममा उनीहरू सबैथोक छाड्छन् र बाह्र घण्टासम्म केही नखाइकन त्यहीँ बसिरहन्छन्, अनि तबपनि उनीहरू पूरै ठीक हुन्छन् ।

स्वास्थ्य भनेको तपाईंले बाहिरबाट गर्ने कुनै कुरा होइन । स्वास्थ्य, तपाईंले आफूभित्रैबाट ल्याउनुपर्ने हुन्छ । यदि केही खराबी भयो भने, तपाईं बाहिरबाट सहायता लिन सक्नुहुन्छ, तर यदि सधैँभरि तपाईंमा केही न केही गडबडी भइरहन्छ भने, यसको अर्थ तपाईं खराब मेसिन हो । अहिले स्वास्थ्य व्यवस्थाहरू यस्ता बनेका छन्, जहाँ मानिसहरू अनेक प्रकारका वाहियात् कुराहरू खान्छन् र पिउँछन् अनि डाक्टर समक्ष गएर भन्छन्, “मलाई निको पार्नुहोस् ।” यसले त्यस रूपमा काम गर्दैन । तपाईंको शरीरको प्रत्येक कोषिका तपाईंलाई स्वस्थ राख्नको लागि बनेका हुन्छन् । ती सबै तपाईंलाई स्वस्थ राख्नको लागि कडा मिहिनेत गरिरहेका छन्— तपाईंबाहेक !

Editor’s Note: Click here to read about the usefulness of Amla or Indian gooseberry while fasting.