सद्‌गुरुः खुसी हुने वा दुःखी हुने भन्ने कुरा वास्तवमा तपाईंको रोजाइ हो । मानिसहरूले दुःखी हुन रोज्नुको कारण के हो भने, उनीहरू दुःखी भएमा केही पाइन्छ भन्ने सोचिरहेका हुन्छन् । यस्तो सिकाइएको छ कि यति तपाईंले पीडा भोग्नुभयो भने, तपाईं स्वर्गमा जानुहुनेछ । यति तपाईं पीडामा डुबिरहने मानिस हो भने, यसैपनि तपाईं स्वर्गमा गएर के पो गर्नुहुन्छ र ? तपाईंको लागि त नर्क चाहिँ बढी प्यारो आश्रय हुनेछ । जब तपाईं दुःखी बन्नुहुन्छ, तपाईंले जे–जति प्राप्त गर्नुभए पनि त्यसले के नै अर्थ राख्छ र ? यो कुनै दर्शन होइन, यो तपाईंको वास्तविक प्रकृति हो । स्वाभावतः तपाईं खुसी हुन चाहनुहुन्छ । म तपाईंलाई "खुसी रहनुहोस्, खुसी रहनुहोस्" भनेर कुनै शिक्षा दिने प्रयास गरिरहेको छैन । प्रत्येक जीव खुसी रहन चाहन्छ । तपाईं जे–जति गरिरहनु भएको छ, तपाईंले गरिरहनु भएको प्रत्येक काम कुनै न कुनै रूपमा खुसीको खोजमा नै गरिरहनु भएको हुन्छ । 

यस धर्तीमा व्यक्तिले जे–जति गरिरहेको हुन्छ, चाहे जेसुकै गरिरहेको भए तापनि, यहाँ सम्म कि अर्को व्यक्तिको लागि आफ्नो जीवन त्यागिरहेको भए तापनि, त्यो उसले यसकारण गरिरहेको हुन्छ, किनकि त्यसले उसलाई खुसी दिन्छ ।

उदाहरणको लागि, तपाईं किन मानिसहरूको सेवा गर्न चाहनुहुन्छ ? मानिसहरूको सेवा गर्नाले तपाईंलाई खुसी प्राप्त हुन्छ, त्यसैले तपाईं त्यो गर्नुहुन्छ । कोही राम्रा लुगाहरू लगाउन चाहन्छन्, कोही एकदमै धेरै पैसा कमाउन चाहन्छन् किनकि त्यसले उनीहरूलाई खुसी प्रदान गर्दछ । यस धर्तीमा व्यक्तिले जे–जति गरिरहेको हुन्छ, चाहे जेसुकै गरिरहेको भए तापनि, यहाँ सम्म कि अर्को व्यक्तिको लागि आफ्नो जीवन नै त्यागिरहेको भए तापनि, त्यो उसले यसकारण गरिरहेको हुन्छ, किनकि त्यसले उसलाई खुसी दिन्छ । खुसी नै जीवनको मूल लक्ष्य हो । तपाईं किन स्वर्ग जान चाहनुहुन्छ ? केवल यसकारण, किनकि कसैले तपाईंलाई यो भनिदिएका छन् कि यदि तपाईं स्वर्ग जानुभयो भने, खुसी रहनुहुनेछ ।

दुःखको स्रोत

तपाईं जे–जति गरिरहनु भएको छ, त्यति गरिसक्दा पनि यदि खुसी प्राप्त भइरहेको छैन भने, यसको अर्थ के हो भने, कहीँकतै जीवनका मूलभूत कुराहरू बिर्सिइएको छ । जब तपाईं बच्चा हुनुहुन्थ्यो, तपाईं कुनै कारणबिनै खुसी रहनुहुन्थ्यो । त्यसपछि, जीवनमा कहीँकतै तपाईंले यसलाई हराउनु भयो । तपाईंले यसलाई किन हराउनु भयो ? तपाईंले आफ्ना सेरोफेरोका चीजहरू, आफ्नै शरीर, आफ्नै मनसँग गहिरो स्तरमा पहिचान स्थापित गर्नुभएको छ । तपाईं जसलाई आफ्नो मन भन्नुहुन्छ, त्यो तपाईंले आफ्नो वरपरको सामाजिक परिस्थितिहरूबाट थुपार्नु भएको मात्र हो । तपाईं जस्तो किसिमको समाजमा हुर्किनु भएको छ, तपाईंले त्यस्तै किसिमको मन निर्माण गर्नुभएको छ ।

सम्पूर्ण दुःख–कष्टहरूको आधार के हो भने, तपाईंले आफूलाई असत्यमा स्थापित गर्नुभएको छ । तपाईं जे होइन, त्योसँग तपाईंले निकै गहिरो पहिचान स्थापित गर्नुभएको छ ।

तपाईंको मनमा यतिखेर जे–जति छ, ती सबै तपाईंले बाहिरबाट सङ्ग्रह गर्नु हो । यी सबै रद्दीहरू तपाईंसँगै आएका होइनन्; तपाईंले बाहिरबाट टिप्नुभयो अनि तीसँग पहिचान गाँस्नुभयो । तपाईंले यस हदसम्म पहिचान गाँस्नुभएको छ कि अहिले त्यसले नै तपाईंलाई दुःखी बनाइरहेको छ । तपाईं जस्तोसुकै रद्दी उठाउन सक्नुहुन्छ, ठिकै छ । जबसम्म तपाईं त्योसँग पहिचान गाँस्नुहुन्न, कुनै समस्या हुँदैन । यो शरीर तपाईंको होइन; तपाईंले यसलाई यो धर्तीमार्फत सङ्ग्रहित गर्नुभएको हो । तपाईं एकदमै सानो शरीर लिएर जन्मिनु भएको थियो, जुन तपाईंका आमाबुबाले दिनुभएको थियो । त्यसपछि, तपाईंले वनस्पति र प्राणीहरू उपभोग गर्न थाल्नुभयो अनि हुर्किँदै जानुभयो । तपाईंले यसलाई यही धर्तीबाट सापटी लिनुभएको हो; यो शरीर तपाईंको होइन । तपाईंले यसलाई केही समयसम्म प्रयोग गर्नुपर्ने हुन्छ, त्यसैले ठिक छ यसको आनन्द लिनुहोस् अनि जानुहोस् । तर, तपाईंले आफ्नो शरीरसँग यति गहिरो स्तरमा पहिचान स्थापित गर्नुभएको छ कि तपाईं आफूलाई शरीर ठान्नुहुन्छ । यस्तो अवस्थामा, तपाईं पीडित बन्नु कुनै आश्चर्यको विषय नै होइन । यी सबै दुःख–कष्टहरूको आधार के हो भने, तपाईंले आफैँलाई असत्यमा उभ्याउनु भएको छ, स्थापित गर्नुभएको छ । तपाईं जे होइन, त्योसँग तपाईंले निकै गहिरो पहिचान स्थापित गर्नुभएको छ ।

तपाईं जे होइन, त्यसलाई कटौती गर्नुहोस्

आध्यात्मिकताको सम्पूर्ण प्रक्रिया भनेकै तपाईं जे होइन, त्योसँगको पहिचानलाई अलग्याउँदै जानु हो । जब तपाईं आफू वास्तवमा के हो भनेर नै जान्नुहुन्न, के तपाईं त्यसको खोज गर्न सक्नुहुन्छ ? यदि तपाईंले खोज गर्नुभयो भने, तपाईं कल्पनाहरूका उडानमा मात्रै जानुहुनेछ । यदि तपाईंले "म को हुँ ?" भनेर सोच्न थाल्नुभयो भने, कसैले तपाईंलाई यो भनिदिनेछ कि तपाईं भगवानको सन्तान हो । अरू कसैले तपाईंलाई यो भनिदिनेछ कि तपाईं राक्षसको सन्तान हो । अरू कसैले केही अरू नै भनिदिन सक्छ । यी कहिल्यै अन्त्य नहुने विश्वासहरू र कल्पनाहरू मात्र हुन् । तपाईंले गर्न सक्ने एकमात्र काम के हो भने, तपाईं जे होइन, त्यसलाई कटौती गर्न थाल्नुहोस् । जब सबैथोक कटौती गरिँदै गइन्छ, त्यहाँ केही यस्तो बाँकी रहन्छ जसलाई कटौती गर्न सकिँदैन, जसलाई पन्छाउन सकिँदैन । जब तपाईं त्यहाँ आइपुग्नु हुन्छ, तपाईंले यो महसुस गर्नुहुनेछ कि वास्तवमा दुःखी हुनुपर्ने कुनै कारण नै छैन ।

Editor’s Note: Engineer your life the way you want it with the New York Times Bestseller - Inner Engineering - A Yogi’s Guide to Joy.