शिवका आभूषणहरू केको प्रतीक ?

यस परम्परामा शिवलाई थुप्रै वस्तुहरूले सुशोभित भएको देखाइन्छ । उनको शिरमा चन्द्रमा, निधारमा तेस्रो नेत्र, घाँटीमा सर्प, हातमा त्रिशुल अनि उनको वाहन नन्दी ! शिवको शिरमा किन चन्द्रमा ? घाँटीमा किन सर्प ? के शिवको निधारमा साँच्चिकै तेस्रो आँखा छ ? के उनी सदैव त्रिशुल र नन्दीलाई आफूसँगै राख्छन् ? वा, यी आभूषणहरूले केही गहिरो अर्थतर्फ सङ्केत गरिरहेका छन् ? आउनुहोस् जानौँ....
शिवका आभूषणहरू
 

 

 

 

चन्द्रमा

सद्‌गुरु: शिवका अनेक नामहरू छन् । सोमसुन्दर, तीमध्ये निकै प्रचलित नाम हो । सोम शब्दको अर्थ चन्द्रमा हुन सक्दछ, तर मूलतः सोम भनेको मादकता वा नशा हो । शिवको शिरमा चन्द्रमा सुशोभित हुनुको अर्थ के हो भने, उनी एक महान् योगी हुन् जो जतिबेला पनि नशामा उन्मत्त रहन्छन्, तर साथसाथै उनी निकै सर्तक र सचेतन रहन्छन् । नशाको आनन्द लिनको लागि तपाईं सतर्क र सजग रहनुपर्छ । यहाँ सम्म कि जब तपाईं पिउनुहुन्छ, तपाईं जागा रहन चाहनुहुन्छ र नशाको आनन्द लिन चाहनुहुन्छ । र, योगीहरू वास्तवमा यस्तै हुन्छन्— पूर्णतया नशामा, तर पूर्ण रूपमा सजग ।

यदि तपाईं जीवनको नशामा डुब्नुभएको छैन भने, बिहान उठ्ने – शरीरका आवश्यकताहरू पूरा गर्ने – खानेपिउने – जीविका चलाउने – सुत्ने जस्ता दैनिक क्रियाहरूले तपाईंको जीवनलाई कष्टपूर्ण बनाउन सक्छन् । अहिले अधिकांश मानिसहरूको सन्दर्भमा यही भइरहेको छ । जीवनको सरल प्रक्रिया पनि उनीहरूको निम्ति नर्क बन्न पुगेको छ ! यो किन हो भने, उनीहरू जीवनको नशा अनुभव नगरिकनै जसोतसो बाँच्ने प्रयत्न गरिरहेका छन् ।

योगको विज्ञानले तपाईंलाई भित्री रूपमा जतिबेला पनि नशामा रहन, तर शत–प्रतिशत स्थिर र सचेतन हुने सुख प्रदान गर्दछ । विगत दुई दशकहरूमा यसतर्फ थुप्रै खोज–अनुसन्धानहरू भएका छन्, अनि एकजना विशेष वैज्ञानिकले यो पत्ता लगाए कि मानव मस्तिष्कमा लाखौँ केन्द्रहरू हुन्छन्, जसले नशाप्रति प्रतिक्रिया जनाउँछन् । यदि तपाईंले आफ्नो शरीरलाई निश्चित तरिकाले राख्नुभयो भने, शरीरले आफ्नो लागि नशा उत्पन्न गर्नेछ, जुन मस्तिष्कले ग्रहण गर्नको लागि पर्खिएर बसेको हुन्छ । मानव शरीरले आफ्नै नशा उत्पन्न गर्ने भएकोले, कुनै पनि बाहिरी उद्दिपक वा प्रेरकबिनै तपाईंभित्र शान्ति, सुख र हर्षको भाव उत्पन्न हुन सक्दछ ।

तेस्रो नेत्र

शिवलाई सदैव त्रयम्बक भन्ने गरिएको छ, किनकि उनीसँग तेस्रो नेत्र छ । तेस्रो नेत्र हुनु भनेको निधारको बिचमा चिरा परेको भन्ने होइन । यसको अर्थ यत्ति हो कि उनको बोध वा अनुभवको अर्को आयाम खुलेको छ । यदि तपाईंको बोध–क्षमतालाई माथि उठाउनु छ भने, सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाईंका ऊर्जाहरू स्वयं माथि उठ्नु पर्दछ । योगको समग्र प्रक्रिया भनेकै आफ्ना ऊर्जाहरूलाई विकसित र परिष्कृत गर्नु हो; यस स्तरसम्म शुद्ध र परिष्कार गर्ने जसले गर्दा तपाईंको बोध क्षमता बढ्दछ अनि तेस्रो नेत्र (आँखा) खुल्दछ ।

तेस्रो आँखा अन्तर्दृष्टिको आँखा हो । दुवै आँखाहरू तपाईंका इन्द्रियहरू मात्र हुन् । तिनले तपाईंको दिमागमा सबैथरिका वाहियात चीजहरू भर्छन्, किनकि तपाईं जे देख्नुहुन्छ, त्यो सत्य होइन । तपाईं यो व्यक्ति वा अर्को व्यक्तिलाई हेर्नुहुन्छ अनि उसको बारेमा केही धारणा बनाउनुहुन्छ, तर तपाईं ऊभित्रको शिवलाई देख्न सकिरहनु भएको हुँदैन । तपाईं चीजहरूलाई आफ्नो जीविकाको लागि आवश्यक भएको रूपमा मात्रै देख्नुहुन्छ । अर्को प्राणीले आफ्नो जीविकाको लागि आवश्यक भएको तरिकाले देख्दछ । यसैकारण, हामी यो भन्छौँ कि यो संसार माया हो । माया अर्थात् भ्रम । हामीले अस्तित्व भ्रम हो भनेका होइनाैँ । हामी यतिमात्र भनिरहेका छौँ कि तपाईं जुन रूपमा देखिरहनु भएको छ वा बुझिरहनु भएको छ, त्यो भ्रम हो । अतः तेस्रो नेत्र खोल्न जरूरी छ, जसले अझ गहिराइमा र स्पष्ट रूपमा देख्न सक्दछ । तेस्रो नेत्र अर्थात् तपाईंको बोध–क्षमता जीवनको द्वैत प्रकृतिभन्दा पर गएको छ । तपाईं जीवनलाई त्यही रूपमा देख्न सक्नुहुन्छ, जस्तो यो वास्तवमा छ— आफ्नो जीविकाको लागि आवश्यक भएअनुसार होइन ।

सर्प

सद्‌गुरु: सर्प केही निश्चित ऊर्जाहरूप्रति निकै संवेदनशील हुन्छ । शिवको घाँटीमा सर्प बेरिएको हुन्छ । यो प्रतीक मात्रै होइन । यसको पछाडि समग्र विज्ञान छ । ऊर्जा–शरीरमा ११४ वटा चक्रहरू हुन्छन् । यी ११४ मध्ये, मानिसहरू सामान्यतया सात मूलभूत चक्रहरूको बारेमा कुरा गरिरहेका हुन्छन् । यी सात मूल चक्रहरूमध्ये, विशुद्धि चक्र घाँटीको खोपिल्डोमा अवस्थित हुन्छ । यो विशेष चक्र र सर्पबिच निकै गहिरो सम्बन्ध हुन्छ । विशुद्धि विषलाई रोक्ने बारेमा हो, र सर्पमा विष हुन्छ । यी सबै कुराहरू एक–अर्कासँग जोडिएका छन् ।

"विशुद्धि" को शाब्दिक अर्थ शुद्ध गर्नु वा छान्नु हो । यदि तपाईंको विशुद्धि शक्तिशाली भयो भने, तपाईंमा आफूभित्र छिर्ने सबैथोकलाई छान्ने सामर्थ्य हुन्छ । विशुद्धिलाई शिवको केन्द्र मानिन्छ, शिवलाई विषकण्ठ वा नीलकण्ठ पनि भनिन्छ, किनकि उनले सबै विषलाई छान्दछन् । उनी त्यसलाई आफूभित्र छिर्न दिँदैनन् । तपाईंभित्र खानाद्वारा मात्रै विषहरू छिर्दैनन् । विष, तपाईंभित्र अनेकौँ तरिकाले प्रवेश गर्न सक्दछः गलत विचार, गलत भावना, गलत सोच, गलत ऊर्जा वा गलत संवेगले तपाईंको जीवनलाई नै विषाक्त बनाउन सक्छन् । यदि तपाईंको विशुद्धि सक्रिय छ भने, यसले सबैथोक छान्दछ । यसले तपाईंलाई सबै किसिमका प्रभावहरूबाट जोगाउँछ । अर्को शब्दमा भन्नुपर्दा, एकपटक जब कसैको विशुद्धि सक्रिय हुन्छ, त्यो व्यक्ति आफूभित्र यति शक्तिशाली हुन्छ कि उसको सेरोफेरोको कुनै पनि चीजले उसलाई प्रभावित वा असर गर्दैन । ऊ आफैँभित्र स्थापित भएको हुन्छ । उसमा निकै शक्तिशाली अस्तित्व बन्ने सामर्थ्य हुन्छ ।

योग संस्कृतिमा सर्प कुण्डलिनीको प्रतीक हो । यो तपाईंभित्रको त्यो ऊर्जा हो, जुन यतिखेर प्रयोगमा छैन । कुण्डलिनीको स्वाभाव यस्तो हुन्छ कि जब त्यो स्थिर हुन्छ, तब तपाईंलाई त्यसको अस्तित्व छ वा छैन भनेर थाहै हुँदैन । त्यसमा हलचल भएको बेलामात्र, तपाईंलाई आफूभित्र रहेको अथाह शक्ति महसुस हुन्छ ।

यसैकारण सर्पलाई कुण्डलिनीको प्रतीकको रूपमा देखाइन्छ, किनकि बेरिएर रहेको सर्पलाई हलचल नगर्दासम्म देख्न एकदमै कठिन हुन्छ । यसै प्रकारले तपाईं कुण्डलिनीमा कैद भएको यो ऊर्जालाई तबमात्र देख्न सक्नुहुन्छ, जब त्यो हलचल गर्दछ । शिवसँग  सर्पलाई देखाइनुको आशय यही हो । यसले यो दर्शाउँछ कि उनको ऊर्जा शिखरसम्म पुगेको छ । आध्यात्मिकता वा रहस्यविद्यालाई सर्पहरूबाट अलग्गै राख्न सकिँदैन, किनकि यो प्राणीमा बोधको एउटा निश्चित आयाम विकसित भएको हुन्छ । यो जमिनमा घिस्रिने प्राणी हो, तर शिवले यसलाई शिरको हाराहारीमा धारण गरेका छन् । यसबाट यो थाहा हुन्छ कि सर्प शिवभन्दा पनि माथि छ । यसले यो दर्शाउँछ कि केही रूपहरूमा सर्प शिवभन्दा पनि उत्तम छ ।

त्रिशुल

सद्‌गुरु: शिवको त्रिशुलले जीवनका तीन पक्षहरूलाई जनाउँछ । यी जीवनका तीन मूल आयामहरू हुन्, जसलाई विभिन्न रूपहरूमा दर्शाइएको छ । यिनलाई ईडा, पिँगला र सुषुम्ना पनि भन्न सकिन्छ । यी प्राणमयकोष वा मानव प्रणालीको ऊर्जा शरीरमा हुने तीन मूल नाडीहरू हुन्— दायाँ, बायाँ र मध्य नाडी । नाडीहरू मानव प्रणालीमा हुने पथ वा मार्ग हुन्, जसमार्फत प्राण ऊर्जाको सञ्चार हुन्छ । तीन मूल नाडीहरूबाट ७२,००० नाडीहरू निस्किन्छन् । यी नाडीहरूको कुनै भौतिक रूप हुँदैन । अर्थात्, यदि तपाईंले शरीरलाई काटेर हेर्ने कोशिस गर्नुभयो भनेपनि, तपाईंले फेला पार्न सक्नुहुन्न । तर, जसैजसै तपाईं अझ बढी सजग र चेतन हुँदै जानुहुन्छ, तपाईंले यो महसुस गर्न सक्नुहुन्छ कि ऊर्जाको गति अनियमित हुँदैन, त्यो एउटा निश्चित पथ वा मार्गबाट प्रवाहित भइरहेको हुन्छ । प्राण वा ऊर्जा ७२,००० वटा विभिन्न मार्गहरू हुँदै जान्छन् ।

पिँगला र ईडा, अस्तित्वको मूलभूत द्वैत प्रकृतिको प्रतीक हुन् । यही द्वैत प्रकृतिलाई परम्परादेखि शिव र शक्तिको रूपमा प्रस्तुत गरिएको हो । तपाईं यसलाई पौरुष र स्त्रैण भन्न सक्नुहुन्छ । पौरुष र स्त्रैण भन्दाखेरी, म लैङ्गिकताको सन्दर्भमा— पुरुष र स्त्री हुने बारेमा— कुरा गरिरहेको छैन, बरु प्रकृतिमा हुने निश्चित गुणको आधारमा कुरा गरिरहेको छु । यसलाई तपाईं आफूमा हुने दुईवटा पक्षहरू— तार्किक र अन्तर्ज्ञान— पनि भन्न सक्नुहुन्छ ।

यदि तपाईंले ईडा र पिँगला बिच सन्तुलन ल्याउनु भयो भने, तपाईं विश्वमा प्रभावशाली बन्न सक्नुहुन्छ । यसले तपाईंलाई आफ्नो जीवनका विभिन्न पक्षहरू सहजै सम्हाल्न सक्षम बनाउँछ । अधिकांश मानिसहरू ईडा र पिँगलामै रहेर बाँच्छन् र मर्छन् । मध्य नाडी अर्थात् सुषुम्ना निष्क्रिय रहेको हुन्छ । तर, सुषुम्ना मानव प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । जीवन तबमात्रै साँच्चिकै सुरु हुन्छ, जब ऊर्जाहरू सुषुम्नामा प्रवेश गर्छन् । त्यसबेला, तपाईंमा एउटा छुट्टै सन्तुलन हुन्छ— भित्री सन्तुलन— जसले गर्दा बाहिर जेसुकै भइरहे तापनि तपाईंभित्र यस्तो स्थान वा दुरी हुन्छ कि त्यसलाई विचलित गराउन सकिँदैन अनि बाहिरी परिस्थितिहरूले त्यसलाई छुन सक्दैनन् ।

नन्दी

सद्‌गुरु: नन्दी अनन्त प्रतीक्षाको प्रतीक हो, किनकि यस संस्कृतिमा पर्खाइलाई सबैभन्दा उत्तम गुण मानिएको छ । जो यत्तिकै बसेर पर्खिन जान्दछ, ऊ स्वतः ध्यानमग्न हुन सक्छ । नन्दी, शिव भोलि आउलान् भन्ने आशामा पर्खिरहेको हुँदैन । उसले कुनै पनि चीजको अनुमान गरिरहेको हुँदैन वा अपेक्षा गरिरहेको हुँदैन । ऊ केवल पर्खिरहेको छ । ऊ अनन्तकालसम्म पर्खिनेछ । यो गुण ग्रहणशील बन्नको लगि मूल तत्त्व हो । कुनै मन्दिरमा जानुअघि, तपाईंमा नन्दीको गुण हुनुपर्छ— यत्तिकै बसिरहने । जब तपाईंभित्र नन्दीको गुण हुन्छ, तपाईं स्वर्ग जाने प्रयत्न गरिरहनु भएको हुँदैन, तपाईं यो वा त्यो पाउने कोशिस गरिरहनु भएको हुदैन— तपाईं यत्तिकै बस्नुहुन्छ ।

मानिसहरूले सदैव ध्यानलाई कुनै किसिमको कार्य भनेर गलत रूपमा बुझेका छन् । ध्यान कुनै कार्य होइन— यो एउटा गुण हो । त्यही मूलभूत भिन्नता हो । प्रार्थनाको अर्थ यो हो कि तपाईं भगवान‌सँग कुरा गर्ने प्रयास गरिरहनु भएको हुन्छ । ध्यानको अर्थ अब तपाईं भगवानलाई सुन्न इच्छुक हुनुहुन्छ । तपाईं केवल सुन्न इच्छुक बन्नुहुन्छ— यो अस्तित्वलाई, सृष्टिको परम–प्रकृतिलाई केवल सुन्न इच्छुक बन्नुहुन्छ । तपाईंसँग भन्नको लागि केही पनि बाँकी रहेको हुँदैन, तपाईं केवल सुन्नुहुन्छ । यही नन्दीको गुण हो— ऊ सतर्क र सजग भएर यत्तिकै बसिरहेको छ । यो निकै महत्त्वपूर्ण कुरा हो— ऊ सजग छ, सुस्त होइन । ऊ अल्छी मानेर झोक्राएर बसिरहेको होइन । ऊ पूर्ण रूपमा सक्रिय भएर, पूरै सतर्क र सजग भएर, जीवनले भरिपूर्ण भएर यत्तिकै बसिरहेको छ— यही ध्यान हो ।

Editor's Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw, along with Vairagya, an album of sacred chants (also available as an Android App). They're free!

Download Now