श्वास नै बन्धन, श्वास नै मुक्ति

योगमा ′श्वास′ लाई ′कुर्म नाडी′ भनिन्छ । श्वासको भूमिकाको बारेमा प्रकाश पार्दै सद्‌गुरु बताउँदै हुनुहुन्छ कि श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन; यसको निकै ठूलो महत्त्व हुन्छ ।
Breath Bond
 

सद्‌गुरुः श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा वा निराश हुँदा, तपाईंको श्वासमा सोही अनुरूप सूक्ष्म परिवर्तनहरू हुन्छन् । तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईं सोही अनुरूप सोच्नुहुन्छ । अनि, तपाईं जुन रूपमा सोच्नुहुन्छ, सोही अनुरूप श्वास फेर्नुहुन्छ ।

आफ्नो शरीर र मनमा थुप्रै कामहरू गर्नको निम्ति, श्वासलाई साधनको रूपमा प्रयोग गर्न सकिन्छ । प्राणायाम एउटा विज्ञान हो, जहाँ सचेत भई निश्चित तरिकाले श्वास फेरिन्छ । यसले हाम्रो सोच्ने र महसुस गर्ने, कुनै पनि कुरालाई बुझ्ने अनि जीवनलाई अनुभव गर्ने तरिका नै बदल्न सक्दछ ।

यदि तपाईं श्वास हुँदै आफूभित्र गहिराइसम्म, श्वासको सबैभन्दा गहिरो केन्द्रसम्म जानुभयो भने, यसले तपाईंलाई त्यस बिन्दुसम्म पुऱ्याउनेछ, जहाँ तपाईं वास्तवमा शरीरसँग बाँधिनुभएको हुन्छ ।

अहिले प्रायः मानिसहरूले आफ्नो श्वासमा ध्यान दिने अभ्यास गरिरहेको पाइन्छ । यदि मैले तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनुहोस् भनेँ भने, तपाईंलाई यस्तो लाग्छ कि तपाईं आफ्नो श्वासमा ध्यान दिइरहनु भएको छ । तर, तपाईं हावाको गतिबाट उत्पन्न हुने संवेदना मात्रै महसुस गर्न सकिरहनु भएको हुन्छ । यो के जस्तो हो भने, जब कसैले तपाईंको हात स्पर्श गर्दछ, तपाईंलाई लाग्छ कि तपाईं अर्को व्यक्तिको स्पर्शलाई जान्नुहुन्छ । तर, वास्तवमा तपाईंले आफ्नै शरीरमा उत्पन्न हुने संवेदना वा अनुभूति मात्रै जान्नुभएको हुन्छ; अर्को व्यक्तिले कस्तो महसुस गरिरहेको छ भनेर जान्नुभएको हुँदैन ।

श्वास भनेको देवत्वको हात जस्तै हो । तपाईं यसलाई महसुस गर्नुहुन्न । यो हावाबाट उत्पन्न हुने संवेदना होइन । तपाईंको अनुभवमा नभएको त्यो श्वासलाई कुर्म नाडी भनिन्छ । यो तार जस्तै हो, जसले तपाईंलाई यो शरीरसँग बाँधेको हुन्छ— एउटा सग्लो तार, जुन निरन्तर चलिरहन्छ । यदि मैले तपाईंको श्वास खोसेँ भने, तपाईं र तपाईंको शरीर अलग-अलग हुनेछन्, किनकि जीव र शरीरलाई कुर्म नाडीले बाँधेको हुन्छ । यो एउटा ठूलो छल हो । यहाँ दुईजना छन्, तर एक भएको ढोँग गरिरहेका हुन्छन् । यो विवाह जस्तै हो— त्यहाँ दुईजना हुन्छन्, तर जब उनीहरू बाहिर आउँछन्, एक भएको नाटक गर्छन् ! यहाँ पनि दुईजना छन्, शरीर र जीवन, जो एक-अर्काको पूर्णतया विपरित हुन्, तर एक भएको ढोँग गर्दछन् ।

यदि तपाईं श्वास हुँदै आफूभित्र गहिराइसम्म, श्वासको सबैभन्दा गहिरो केन्द्रसम्म जानुभयो भने, यसले तपाईंलाई त्यस बिन्दुसम्म पुऱ्याउनेछ, जहाँ तपाईं वास्तवमा शरीरसँग बाँधिनुभएको हुन्छ । एकपटक जब तपाईं यो जान्नुहुन्छ कि तपाईं कहाँ र कसरी बाँधिनुभएको छ, तपाईंमा इच्छा भएमा त्यसलाई खोल्न सक्नुहुन्छ । तपाईं जति सजिलोसँग आफ्नो कपडा फुकाल्नु हुन्छ, त्यति नै सहजताले सचेत भई आफ्नो शरीर त्याग्न सक्नुहुन्छ । जब तपाईंलाई आफ्नो कपडा कहाँ बाँधिएको छ भनेर थाहा हुन्छ, तब त्यसलाई फुकाल्न सजिलो हुन्छ । जब तपाईं यो जान्नुहुन्न कि त्यो कहाँ बाँधिएको छ, तपाईंले त्यसलाई जतासुकै ताने पनि त्यो निस्किँदैन । तब, तपाईंले त्यसलाई च्यात्नुपर्ने हुन्छ । त्यसैगरी, जब तपाईंलाई आफ्नो शरीर कुन ठाउँमा आफूसँग बाँधिएको छ भनेर थाहा हुँदैन, अनि यदि तपाईं आफ्नो शरीर त्याग्न चाहनुहुन्छ भने, तपाईंले कुनै न कुनै रूपमा त्यसलाई क्षति पुऱ्याउनु पर्ने हुन्छ । तर, यदि तपाईंले यो शरीर कहाँ बाँधिएको छ भनेर जान्नुभयो भने, तपाईंले शरीरसँग स्पष्ट दुरी बनाउन सक्नुहुन्छ । जब तपाईं शरीर त्याग्न चाहनुहुन्छ, तब पूरै चेतन भई शरीरलाई त्याग्न सक्नुहुन्छ । जीवन एकदमै भिन्न हुन्छ ।

जब कसैले आफ्नो इच्छाले पूर्ण रूपमा शरीर त्याग गर्छन्, हामी यसलाई महासमाधि भन्दछौँ । सामान्यतया, यसैलाई मुक्ति वा मोक्ष भनिएको हो । यो समभावको यस्तो अवस्था हो, जहाँ सबैथोक बराबर हुन्छन्; शरीरभित्र जे छ र शरीरबाहिर जे छ, त्यसबीच कुनै अन्तर बाँकी रहँदैन । खेल समाप्त हुन्छ ।

हरेक योगीलाई यसको तीव्र चाहना हुन्छ । चाहे होसपूर्वक होस् वा बेहोसीमा, हरेक व्यक्ति यसैको लागि प्रयास गरिरहेको हुन्छ— मानिसहरू विस्तृत हुन वा फैलिन चाहन्छन्, अनि यो नै विस्तारको चरम रूप हो । कुरा यति मात्र हो कि मानिसहरू किस्ता-किस्तामा अनन्ततर्फ गइरहेका छन्, जुन निकै लामो र असम्भव प्रक्रिया हो । यदि तपाईंले १, २, ३, ४... गर्दै गन्दै जानुभयो भने, तपाईं गनेरै बसिरहनु हुनेछ— तपाईंको गणना कहिल्यै टुङ्गिँदैन । तपाईं कहिल्यै अनन्तसम्म पुग्नुहुने छैन । जब मनुष्यले यसरी अघि बढ्नुको व्यर्थता बुझ्दछ, तब अनन्तसम्म पुग्नको लागि ऊ स्वाभाविक रूपमा आफूभित्र फर्किन्छ— जहाँ, जीवनको प्रक्रियालाई शरीरबाट अलग्याइन्छ ।

Editor’s Note: This article is based on an excerpt from the May 2014 issue of Forest Flower. Pay what you want and download. (set ‘0’ for free). Print subscriptions are also available.

 
 
 
 
  0 Comments
 
 
Login / to join the conversation1