सद्‌गुरुः प्रत्येक व्यक्ति कुनै न कुनै रङ्गमा रङ्गिएको हुन्छ, कुनै न कुनै रागमा मस्त हुन्छ । विश्वको रङ्गमञ्चमा विभिन्न भूमिकाहरू निभाइरहेका मानिसहरू भिन्न–भिन्न रङ्गहरूको सहारा लिन्छन् । मानिसको चेतनामा विकास गर्न वा कुनै पनि आध्यात्मिक प्रक्रियाको निम्ति रङ्गको भूमिका किन महत्त्वपूर्ण हुन्छ ? किनकि निश्चित रङ्गले तपाईंको आभामा केही चीज थप्दछ । सामान्यतया, तपस्वीहरू केही लगाउन चाहँदैनन्, किनकि उनीहरू आफूमा केही पनि नयाँ चीज थप्न चाहँदैनन् । उनीहरू आफूसँग जे छ, त्यसैमाथि काम गर्न चाहन्छन् । उनीहरू केही पनि बढी जोड्न चाहँदैनन् । तपाईं अहिले जो हुनुहुन्छ, त्यही निकै बढी छ । त्यसमा अझ अरू थप्नाले चीजहरू जटिल बन्न पुग्छन् । त्यसैले, उनीहरू निर्वस्त्र हिँड्छन् । यदि समाजमा नाङ्गै हिँड्न अपठ्यारो हुने हो भने, लङ्गोटी मात्र लगाउँछन् । यसको पछाडिको सोच यो हो कि उनीहरू आफू जो हुन्, त्यसबाहेक अरू केही पनि थप्न चाहँदैनन् । उनीहरूले यो जानेका हुन्छन् कि उनीहरू जे हुन्, त्यो नै बढी छ । यसका अरू पक्षहरू पनि छन्, तर यो रङ्गको सन्दर्भमा हो ।

रङ्गको अर्थ

यस धरतीमा कुनै पनि चीजमा रङ्ग हुँदैन । पानी, हावा, अन्तरिक्ष अनि पूरै जगत् रङ्गहीन छ । यहाँसम्म कि तपाईं जे–जति चीजहरू देख्नुहुन्छ, ती समेत रङ्गहीन हुन्छ । रङ्ग प्रकाशमा मात्रै हुन्छ ।

कुनै पनि वस्तुको रङ्ग त्यो होइन जे देखिन्छ, बरु त्यो हो जे त्यसले परावर्तित गर्दछ, जे त्याग्दछ, जे फर्काउँछ । मानौँ कि कुनै चीज रातो देखिन्छ । त्यो रातो भएकोले होइन, बरु त्यसले अरू सबै रङ्गलाई आफूमा राखेर रातो रङ्ग बाहिर छोड्ने भएकोले रातो देखिने हो । त्यसैले रातो भन्नुको अर्थ त्यो रातो छ भन्ने होइन । रातो छ भन्नुको अर्थ हो, त्यो रातो होइन । तपाईं आफूसँग जे राख्नुहुन्छ, त्यो तपाईंको रङ्ग हुँदैन । तपाईं जुन रङ्ग बाहिर फर्काउनु हुन्छ, त्यही तपाईंको रङ्ग बन्दछ । त्यसैगरी, तपाईं जीवनमा जे–जति बाहिर दिनुहुन्छ, त्यही तपाईंको गुण बन्दछ । यदि तपाईंले बाहिर आनन्द छर्नुभयो भने, मानिसहरू तपाईंलाई आनन्दित व्यक्ति भन्छन् !

रातो रङ्ग

रातो रङ्ग सबैभन्दा जीवन्त रङ्ग हो । यदि तपाईं जङ्गलमा हिँड्नुभयो भने, सबैथोक हरियो हुन्छ तर त्यहाँ एउटा रातो बिन्दु देखिन्छ— कतै एउटा रातो फूल फुलेको हुन्छ— जसले तपाईंको ध्यान आकर्षित गर्दछ, किनकि तपाईंको दृष्टिमा अरू रङ्गहरूमध्ये रातो रङ्ग सबैभन्दा जीवन्त रङ्ग हो । अरू रङ्गहरू सुन्दर लाग्न सक्छन्, तर रातो रङ्ग बढी चम्किलो हुन्छ, जीवन्त हुन्छ ।

तपाईंको निम्ति महत्त्वपूर्ण रहेका थुप्रै चीजहरू रातो रङ्गका छन् । जस्तै कि रगतको रङ्ग रातो हुन्छ । मानव चेतनाको सन्दर्भमा, रातो रङ्गले सबैभन्दा बढी कम्पन सृजना गर्दछ । जोस र उल्लासको रङ्ग पनि रातो हुन्छ । तपाईं जस्तोसुकै व्यक्ति हुनुभए पनि, यदि तपाईंले रातो कपडा लगाउनुभयो भने, मानिसहरूलाई यस्तो लाग्छ कि तपाईं जोसले भरिपूर्ण हुनुहुन्छ ।

linga bhairavi

देवी वा अस्तित्वको स्त्रैण रूप उल्लासको प्रतीक हुन् । देवीको ऊर्जा कम्पन र उल्लासले भरिपूर्ण हुन्छ । देवीसँग सम्बन्धित साधना गर्नको लागि रातो रङ्ग आवश्यक हुन्छ । लिङ्ग भैरवीको रङ्ग पनि रातो छ, किनकि उनले त्यही फर्काउँछिन् । यही कारणले गर्दा, देवीलाई रातो देखाइन्छ— उनी रातो भएकोले होइन, बरु यसकारण किनकि उनको रङ्ग रातो होइन !

निलो रङ्ग

निलो रङ्गले सर्व–समावेशीपन दर्शाउँछ अर्थात् सबैलाई समावेश गर्ने रूपमा जनाउँछ । तपाईंले यो देख्न सक्नुहुन्छ कि अस्तित्वमा जे विशाल छ र जे तपाईंको बोधभन्दा पर छ, तिनको रङ्ग निलो हुने गर्दछ, चाहे समुद्र होस् वा आकाश । जे तपाईंको बुझाइभन्दा माथि हुन्छ, त्यो निलो हुन्छ किनकि निलो रङ्ग सबैलाई समावेश गर्ने आधार हो । यसैको आधारमा यहाँका विभिन्न देवताहरूलाई निलो वर्णको देखाइने गरिएको हो । शिव (नीलकण्ठ) लाई निलो वर्णको देखाइन्छ, कृष्णलाई निलो वर्णको देखाइन्छ, रामलाई निलो वर्णको देखाइन्छ । यसको अर्थ उनीहरूको छालाको रङ्ग निलो थियो भन्ने पक्कै होइन । हुन सक्छ उनीहरू श्याम (हल्का कालो) वर्णका थिए, तर जो चेतनशील थिए, तिनले उनीहरूको ऊर्जाको निलोपन देखे अनि उनीहरूको व्याख्या गर्ने क्रममा निलो वर्ण भएको भनिदिए ।

निलकण्ठ

यसको अर्को पक्ष पनि छ । व्यक्तिको विकासको प्रक्रियामा उसको आभा अनेक वर्ण वा रङ्गहरूमा बदलिन सक्छ । जब कोही आफ्नो सर्वोच्च प्रकृतिसम्म पुग्न चाहन्छन् अनि तबपनि संसारमा सक्रिय रहन चाहन्छन्, उनीहरूको आभा सधैँ गाढा निलो हुने गर्दछ । यो यस्तो आभा हो, जसले तपाईंलाई संसारमा यस रूपमा क्रियाशील रहने सामर्थ्य प्रदान गर्दछ, जसलाई अरू मानिसहरू महामानव वा सुपर ह्युमन ठान्दछन् ।

गेरु रङ्ग

आध्यात्मिक मार्गमा हिँड्ने व्यक्तिहरू प्रायः गेरु रङ्ग (सुन्तला वा पहेँलो रङ्ग) को वस्त्र लगाउँछन्, किनकि यसले थुप्रै कुराहरू दर्शाउँछ । जब सूर्य उदाउँछ, तब यसको रङ्ग सुनौलो हुन्छ, जुन गेरु रङ्ग जस्तै हुन्छ । तपाईं यो रङ्गको कपडा यसकारण लगाउनुहुन्छ, किनकि यसले तपाईंको जीवनमा नयाँ प्रकाश आएको सङ्केत गर्दछ— तपाईंभित्र केही उदय भइरहेको दर्शाउँछ । अर्को पक्ष के हो भने, जब फल पाक्दछ तब त्यो पनि पहेँलो वा सुन्तला रङ्गको हुन्छ । सुन्तला रङ्ग परिपक्व हुनुको प्रतीक हो । जब व्यक्ति आफूभित्र एक निश्चित स्तरसम्म परिपक्व भएको हुन्छ वा पूर्ण रूपले विकसित भएको हुन्छ, उसले यो रङ्गको प्रयोग गर्दछ ।

साधारणतया, जो व्यक्तिले गेरु रङ्ग धारण गर्दछ, उसले आफ्ना सबै पूराना चीजहरू त्याग्दछ, जस्तै कि उसको नाम, उसको पहिचान, उसको परिवार, उसको पहिरन, उसका सबै पूराना चीजहरू । अनि, ऊ फरक जीवनतर्फ अघि बढ्दछ । यसको अर्थ यो हो कि उसले नयाँ शुरुवात गरिरहेको छ, ऊभित्र नयाँ सूर्योदय भएको छ । उसमा केही कुराको बोध भएको हुन्छ, जसकारण ऊ सबैथोक त्यागेर जीवनको अर्को आयाम वा अर्को सम्भावनातर्फ अघि बढ्न इच्छुक हुन्छ । यो रङ्ग ज्ञान र दृष्टिको पनि प्रतीक हो । यदि कोही आफ्नो अन्तर्दृष्टिलाई माथि उठाउन चाहन्छ वा त्यसमा काम गरिसकेको छ भने, त्यस व्यक्तिले गेरु रङ्ग लगाउनु राम्रो हुन्छ ।

अर्को कुरा के हो भने, प्रत्येक चक्रको आफ्नै रङ्ग हुन्छ । हाम्रो शरीरमा रहेका सातवटा मूल चक्रहरूको भिन्दाभिन्दै रङ्ग हुन्छन् । अस्तित्वमा जे भौतिक हुन्छ, त्यसले प्रकाश परावर्तित गर्दछ । जब यसले प्रकाश परावर्तित गर्दछ, तपाईंले त्यसमा रङ्ग देख्नुहुन्छ । जब मानिसहरू बुद्धत्वको मार्गमा हुन्छन्, वा बोधको अर्को आयाम अर्थात् तेस्रो नेत्र खोल्ने प्रक्रियामा हुन्छन्, उनीहरू सधैँ गेरु रङ्गको कपडा लगाउँछन्— किनकि उनीहरू त्यही रङ्ग छर्न चाहन्छन् ।

कालो रङ्ग

कुनै पनि चीज कालो देखिन्छ, किनकि यसले केही पनि परावर्तित गर्दैन, यसले सबैथोक सोस्दछ । यदि तपाईं शक्तिशाली रूपमा ऊर्जावान् स्थानमा हुनुहुन्छ र तपाईं त्यसलाई ग्रहण गर्न चाहनुहुन्छ भने, कालो रङ्ग उत्तम हुन्छ । किनकि, यसले केही पनि बाहिर फर्काउँदैन, यसले सबैथोक आफूमा राख्दछ ।

sg

यदि तपाईंले कालो रङ्गको कपडा लगाएर कुनै जीवन्त ऊर्जा भएको स्थानमा जानुभयो भने, तपाईंले त्यो ग्रहण गर्नुहुनेछ । साधरणतया, श्मशान घाटतिर जाँदा कालो लगाएर जानु उचित होइन । त्यसैले, सबैजनाले कालो लुगा लगाउनु उपयुक्त हुँदैन । यदि तपाईंले जतिबेला पनि कालो कपडा लगाउनुभयो , अनि अनेक थरीका स्थितिहरूमा जानुभयो भने, तपाईंले यो चाल पाउनुहुनेछ कि तपाईंका ऊर्जाहरूमा अस्तव्यस्त हुन थाल्छन्, साथै यसले तपाईंबाट सबै भावनाहरू सोस्दछ अनि तपाईं मानसिक रूपमा अस्थिर र असन्तुलित अवस्थामा पुग्नुहुन्छ । तपाईं यसबाट यति पीडित बन्नुहुन्छ कि तपाईं आफ्नो पीडालाई अभिव्यक्त गर्न समेत सक्नुहुन्न ।

तर, यदि कुनै स्थानको ऊर्जा राम्रो छ, जीवन्त छ भने, कालो लगाउँदा तपाईंले विशाल मात्रामा त्यो ऊर्जा ग्रहण गर्नुहुन्छ जुन तपाईंको लागि राम्रो हुन्छ । तपाईंलाई त्यस स्थानको गुणको बारेमा राम्रो ज्ञान भएको खण्डमा मात्रै कालो तबमात्र लगाइनुपर्छ ।

सेतो रङ्ग

सेतो रङ्गलाई श्वेत पनि भनिन्छ । यस्तो भन्न सकिन्छ कि श्वेत कुनै रङ्ग होइन । सेतो वास्तवमा कुनै रङ्ग होइन । जब त्यहाँ रङ्ग हुँदैन, तब त्यो सेतो हुन्छ । रङ्गहरूको अनुपस्थितिले नै कुनै पनि चीजलाई सेतो बनाउँछ । साथै, सेतो रङ्गले सबैलाई समावेश गर्दछ । सेतो रङ्गमा सप्तरङ्ग अर्थात् सातवटा रङ्गहरू हुन्छन् । तपाईं यी रङ्गहरूलाई परावर्तित गरेर अलग्याउन सक्नुहुन्छ ।

white

तपाईंमा सेतो रङ्गको राम्रो प्रभाव हुन्छ । जो मानिसहरू आध्यात्मिक मार्गमा हुन्छन् र जीवनको अनेकौँ अरू पक्षहरूमा संलग्न हुन्छन्, तर आफ्नो सेरोफेरोबाट केही पनि जम्मा गर्न चाहँदैनन्, उनीहरू सेतो रङ्गको कपडा लगाउँछन् । यदि तपाईं यो संसारबाट निर्लिप्त भएर जान चाहनुहुन्छ भने, यसतर्फ सेतो रङ्गले सहायता गर्दछ, किनकि सेतो रङ्गले सबैथोक बाहिर परावर्तित गर्दछ, केही पनि आफूमा राख्दैन । यसैकारण, जब तपाईं आध्यात्मिक मार्गमा अघि बढ्नुहुन्छ अनि केही निश्चित जीवनको सम्पर्कमा आउनुहुन्छ, तब सेतो वस्त्र लगाउनु सबैभन्दा उत्तम हुन्छ । यदि तपाईं आध्यात्मिक मार्गमा हुनुहुन्छ अनि जीवनका विविध पक्षहरूमा संलग्न र सहभागी हुनुहुन्छ, तर केही पनि लिन चाहनुहुन्न भने, सेतो रङ्ग उत्तम हुनेछ ।

वैराग— रङ्गहरूबाट पर

सम्भवतः तपाईंले "वैराग्य" शब्द सुन्नुभएको होला । "राग" को अर्थ रङ्ग हो । "वै" अर्थात् जे पर छ । "वैराग" अर्थात् रङ्गहरूबाट पर । जे रङ्गहरूभन्दा पर हुन्छ, त्यो रङ्गहीन हुँदैन, त्यो पारदर्शी हुन्छ । वैराग्य अर्थात् तपाईं न त केही राख्नुहुन्छ, न केही परावर्तित गर्नुहुन्छ—  तपाईं पारदर्शी हुनुभएको छ । यदि तपाईं पारदर्शी हुनुभयो भने, तपाईंको पछाडि कुनै चीज रातो भएमा, तपाईं पनि रातो बन्नुहुन्छ । यदि तपाईंको पछाडिको चीज निलो छ भने, तपाईं पनि निलो बन्नुहुन्छ । यदि तपाईंको पछाडि गेरु रङ्ग छ भने, तपाईं पनि गेरु रङ्गको बन्नुहुन्छ । तपाईंमा कुनै पूर्वाग्रह हुँदैन; तपाईं निष्पक्ष बन्नुहुन्छ । तपाईं जहाँसुकै हुनु भएपनि, तपाईं त्यसको अंश बन्नुहुन्छ, तर तपाईंमा केही पनि चप्किँदैन । यदि तपाईं यस्तो हुनुभयो भनेमात्र, यदि तपाईं वैरागको स्थितिमा हुनुभयो भनेमात्र, तपाईं यहाँ जीवित छँदै जीवनका सबै आयामहरूलाई गहिराइमा खोज गर्न चाहनुहुनेछ ।

विश्वको रङ्गमञ्चमा सानदार अभिनय गर्नको लागि मानिसले आफूलाई उच्चतर आयामहरूमा विकसित गर्नुपर्ने हुन्छ । हामी जीवनको सम्पूर्णतालाई, जीवनको वास्तविक आनन्दलाई तबसम्म अनुभव गर्न सक्दैनौँ, जबसम्म हामी त्यो आयामसम्म पुग्दैनौँ, जुन राग वा रङ्गहरूभन्दा पर हुन्छ ।

Editor’s Note: होलीको शुभकामना