सद्‌गुरु: तपाईंसँग अहिले जुन शरीर छ, यो त्यो शरीर होइन जुन आमाको गर्भबाट बाहिर आएको थियो— त्यो पूरै हराइसकेको छ । आज तपाईंले शरीरमा जति किलोग्राम थप्नुभएको छ, ती सबै यही धरती आमाबाट प्राप्त भएको हो । म जन्म दिने आमालाई सानो देखाउने कोसिस गरिरहेको छैन । कुरा यतिमात्र हो कि यदि तपाईं आध्यात्मिक साधक हो भने, तपाईंले प्रत्येक चीजलाई सही परिप्रेक्ष्यबाट हेर्नु अपरिहार्य छ । यदि तपाईंले आफ्नो मनमा वा भावनामा कुराहरूलाई अतिरञ्जित गर्नुभयो भने, तपाईंले आफूलाई गलत दिशामा लिएर जानुहुनेछ अनि अथाह समय र जीवन बर्बाद गर्नुहुनेछ । किनकि, यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने, तपाईंले कुराहरू बढाइचढाइ गर्नुहुनेछ; यदि कसैलाई घृणा गर्नुहुन्छ भनेपनि बढाइचढाइ गर्नुहुनेछ । यदि तपाईं कसैलाई रुचाउनु हुन्छ भने, तपाईंले कुराहरू बढाइचढाइ गर्नुहुनेछ; यदि कसैलाई रुचाउनु हुन्न भनेपनि बढाइचढाइ गर्नुहुनेछ । अतिरञ्जित गर्नु वा बढाइचढाइ गर्नु भनेको आफूलाई सत्यबाट पथभ्रष्ट गर्नु हो— चाहे अचेतनपूर्वक होस् वा त्यही मनसायले । सत्यबाट पथभ्रष्ट हुनु भनेको आफ्नै विरुद्ध काम गर्नु हो । जसले आफ्नै विरुद्ध काम गर्दछ, उसलाई शत्रु नै चाहिँदैन । यसलाई आत्मनिर्भरता भनिन्छ ! जीवनको सुन्दरता नै यही हो— तपाईं पूर्णतया आफैँमा निर्भर हुनुहुन्छ ।

आफ्नो जीवनको हरेक दिन तपाईंले ती सबैथोक अनि ती सबै मानिसहरूप्रति आभार व्यक्त गर्नुपर्छ, जसको योगदानले गर्दा तपाईंको हालको जीवन सम्भव भएको छ ।

त्यसैले, हामी आफूलाई जन्म दिने आमा र धरती आमाप्रति कृतज्ञ र धन्य छौँ । आफ्नी आमा र धरती आमाका कारण हामी अहिले यहाँ छौँ । आफ्नो जीवनको हरेक दिन तपाईंले ती सबैथोक अनि ती सबै मानिसहरूप्रति आभार व्यक्त गर्नुपर्छ, जसको योगदानले गर्दा तपाईंको हालको जीवन सम्भव भएको छ । तपाईंको कल्याणको लागि आवश्यक पर्ने सबैथोकप्रति सृष्टिकर्ताले उचित ध्यान दिएका छन् । हरेक क्षण, तपाईंको हरेक पाइलामा धरतीले तपाईंलाई सहारा दिइरहेकी छिन्; कहिल्यै तपाईसँगको सम्बन्ध तोडेकी छैनन् । तपाईं यहाँ हरेक क्षण श्वास लिइरहनु भएको छ, तर हावा वातावरणबाट पर भागेको छैन; तपाईंको श्वासमा आउनबाट अस्वीकार गरिरहेको छैन । यी लाखौँ शक्तिहरूले आमाबुबा जसरी नै हरैक क्षण तपाईंको जीवनलाई सहारा दिइरहेका छन् । तपाईंले न त अनुरोध गर्नुपरेको छ, न त यी सबैको लागि कुनै शुल्क नै तिर्नुपरेको छ । सबैथोक यत्तिकै उपलब्ध गराइएको छ । तसर्थ, तपाईंको सेरोफेरोका मानिसहरू एवं प्रकृतिले उपलब्ध गराएका चीजहरूप्रति के तपाईंले आभार व्यक्त गरेर शिर निहुराउनु पर्दैन ? किनकि, यी सबै शक्तिहरूको सहकार्यबिना तपाईं आफ्नो जीवन चलाउनै सक्नुहुन्न— सर्वोपरि, कुनै अनुनय–विनय बिना नै यी सबैथोकले तपाईंको निम्ति काम गरिरहेका छन् ।

यदि तपाईं यसको महत्त्व बुझेर कदर गर्नुहुन्न, यदि तपाईं यसप्रति अलिकति पनि सचेत बन्नुहुन्न भने, त्यो यसकारण भइरहेको छ, किनकि तपाईं आफ्नो दिमागमा अन्तहीन चलिरहने फाल्तू चीजहरूमा अति मग्न हुनुहुन्छ । यही कारणले मात्र मानिसहरू यी सबैथोकलाई बेवास्ता गर्न सक्छन् । तपाईंको दिमागमा चलिरहने कुराहरू महत्त्वपूर्ण बन्नुको कारण के हो भने, तपाईं आफ्नो बारेमा एकदमै बढी सोच्नुहुन्छ ।

मातृत्वको सुन्दरता प्रजनन (बच्चा जन्माउनु) मा हुँदैन; मातृत्वको सुन्दरता अर्को जीवनलाई समावेश गर्ने भावमा निहीत हुन्छ ।

यदि तपाईंले सृष्टिलाई नजिकबाट नियाल्नुभयो भने, तपाईंले यो पाउनुहुनेछ कि सृष्टिमा एउटा पनि चीज यस्तो छैन, जुनबिना तपाईं यहाँ रहन सक्नुहुन्छ । त्यसैले, म चाहन्छु कि तपाईं हरेक चीजलाई आमाको रूपमा हेर्नुहोस् । आज वृक्ष मातृदिवस, भोलि पर्वत मातृदिवस, पर्सी जैविक मातृदिवस । यो दिन निर्धारित गरिनुको कारण के हो भने मानिसहरूले भविष्यमा यत्तिकै आफ्नी आमाको बारेमा कहिल्यै सोच्ने छैनन् । अहिले संस्कृति नै त्यस्तै भएको छ । तर, यदि तपाईं अलिकति बढी सचेत हुनुभयो भने, यदि तपाईंले हरेक चीजले आफूलाई सहारा दिइरहेको कुरा सम्झिनु भयो भने, तपाईं सबैथोकप्रति कृतज्ञ बन्नुहुनेछ । "ओहो ! यी रूखहरूले मलाई अक्सिजन दिइरहेका छन्, अनि हरेक क्षण मेरो जीवन थामिरहेका छन् ।"— तपाईं जहाँजहाँ जानुहुन्छ, तपाईं जे–जति चीजहरूको सम्पर्कमा आउनुहुन्छ, यदि यही भावले सबैकुरालाई हेर्न सक्नुभयो भने, तपाईं चैतन्य बन्नुहुनेछ ।

तपाईंका बच्चा–बच्चीहरूले तपाईंबाट सायद एउटा कोषिका मात्रै लिएका थिए । तर, तपाईंले यस धरतीबाट कति कुराहरू लिनुभएको छ ? कति कोषिकाहरू ? यो पूरै शरीरमा जे–जति छन्, ती सबै ! जसले तपाईंबाट जाबो एउटा कोषिका लिएको थियो, त्यसको तुलनामा यो धरती र यसबाट उत्पत्ति हुने अरू थुप्रै चीजहरू यथार्थमा परिवार हो । सम्भवतः आमाहरूप्रति समर्पित यस दिनमा तपाईंहरूलाई यो कुरा चित्त नबुझ्न सक्ला, तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, मातृत्वको सुन्दरता प्रजनन (बच्चा जन्माउनु) मा हुँदैन; मातृत्वको सुन्दरता अर्को जीवनलाई समावेश गर्ने भावमा निहीत हुन्छ । आमाले गर्भधारण गर्नु भएकोले अनि जन्म दिनु भएकोले उहाँ हाम्रा लागि अमूल्य हुनुभएको होइन । उहाँ यसकारण अमूल्य हुनुहुन्छ, किनकि उहाँले तपाईंलाई आफ्नै अंशको रूपमा हेर्नुभएको थियो । मातृत्वको महत्त्वपूर्ण पक्ष भनेको समावेशीपन हो, न कि जैविकी । मानिलिऔँ कि यदि तपाईंकी आमाले तपाईंलाई जन्म दिएर कहिल्यै वास्ता नगर्नुभएको भए, उहाँ सबैभन्दा खराब शत्रु बन्नुहुने थियो । तसर्थ, जैविकी प्रक्रिया महत्त्वपूर्ण होइन, बरु अर्को जीवनलाई पनि आफ्नै अंशको रूपमा स्वीकार गर्ने इच्छुकता नै सबैभन्दा बढी महत्त्वपूर्ण कुरा हो । वास्तवमा, यो दिन त्यही सुन्दरताप्रति कृतज्ञ एवं धन्य हुनको निम्ति समर्पित छ ।

Editor's Note: Download the Mystic Quotes app to receive Sadhguru's quote, every day, at a time of your choosing.