सद्‌गुरु: म यस्ता थुप्रै सम्मेलनहरूमा गएको छु, जहाँ मानिसहरू हामीले सामना गरिरहेका अनेक खतराहरूको बारेमा कुरा गर्छन्, जस्तै कि पर्यावरणको संरक्षण । तर, मलाई यो कुराले दु:खी बनाउँछ कि कुनै पनि राष्ट्रको सरकारले सबैभन्दा मूलभूत समस्यालाई सम्बोधन गर्न चाहँदैनन्— त्यो हो द्रुत गतिमा बढिरहेको जनसङ्ख्या ! २०औँ शताब्दीको शुरुवातमा विश्वको जनसङ्ख्या एक अर्ब साठी करोड थियो । आज एक शताब्दीमै हाम्रो सङ्ख्या बढेर सात अर्ब बीस करोड भएको छ । साथै, सन् २०५० सम्ममा हाम्रो सङ्ख्या बढेर नौ अर्ब साठी करोड हुने अनुमान गरिएको छ । मेरो विचारमा यो मानवजातिको गैर–जिम्मेवार प्रजनन (बच्चा जन्माउने प्रक्रिया) हो ।

चाहे तपाईं जतिसुकै रूखहरू रोप्नुहोस्, जस्तोसुकै नीति–नियम लागू गर्नुहोस्, जस्तोसुकै प्रविधिहरू विकास गर्नुहोस्, हामीले मानव जनसङ्ख्यालाई रोक्नुबाहेक अरू कुनै समाधान छैनन् । कि त हामी सचेतनपूर्वक हाम्रो सङ्ख्या नियन्त्रण गरौँ, वा प्रकृतिले त्यही काम अत्यन्तै क्रुर ढङ्गले गर्नेछिन् । हामीसँग यही विकल्प रहेको छ ।

पृथ्वी मनुष्यहरूको निम्ति मात्रै होइन !

अर्को जीव तपाईंको तुलनामा झिनो देखिँदैमा, उसलाई यहाँ बाँच्ने कुनै अधिकार छैन, तर हामीलाई मात्रै यहाँ बाँच्ने अधिकार छ भनेर सोच्नु यस धरतीमा मानवजाति रहने सबैभन्दा घृणित र उद्दण्ड तरिका हो ।

यो पृथ्वी मानिसहरूका निम्ति मात्रै बनेको हो भन्ने सोच एकदमै अविवेकी र भद्दा सोच हो । "भगवानको स्वरूपमा तिम्रो रचना गरिएको हो" भन्ने वाहियात् विचार मानिसहरूको दिमागमा थोपरिएको छ । म यसमा विश्वस्त छु कि एउटा कीराले पनि भगवान भनेको विशाल कीरा हो भन्ने सोचिरहेको हुनुपर्छ ! केवल पर्यावरणको दृष्टिले मात्रै नभई आफ्नो मानवताको दृष्टिले पनि हामीले यो कुरा बुझ्नु अपरिहार्य छ कि यस धरतीमा प्रत्येक जीवको आफ्नो पूरा जीवन चक्र रहेको हुन्छ । एउटा कीराको पूरै जीवनमा अनेक कुराहरू भइरहेका हुन्छन् । अर्को जीव तपाईंको तुलनामा झिनो देखिँदैमा, उसलाई यहाँ बाँच्ने कुनै अधिकार छैन, तर हामीलाई मात्रै यहाँ बाँच्ने अधिकार छ भनेर सोच्नु यस धरतीमा मानवजाति रहने सबैभन्दा घृणित र उद्दण्ड तरिका हो ।

कसरी जनसङ्ख्या नियन्त्रण गर्ने ?

मानवताबिहीन मानवजाति नै हाम्रो छवि बनेको छ । जबसम्म मनुष्य हुनु भनेको के हो भन्ने कुरालाई मनन गरिँदैन मेरो विचारमा सचेतनपूर्वक जनसङ्ख्या नियन्त्रण गर्न सकिँदैन । निश्चय पनि सरकारले नीति–नियमहरू बनाउनुपर्छ, तर लोकतन्त्र भएको अवस्थामा कैयौँ कुराहरू लागू गर्न सकिँदैन । मानिसहरूलाई यसप्रति जागरूक बनाउनको निम्ति अभियानहरू सञ्चालन गरिनु अपरिहार्य छ । त्यसैगरी, सरकारी मातहतबाट केही ठोस कदम चालिनु आवश्यक छ ।

मानव जनसङ्ख्यालाई नियन्त्रण नगरिकन पर्यावरणको संरक्षणको बारेमा कुरा गर्नाले कुनै नतिजा दिन सक्दैन, किनकि विज्ञान र प्रविधिको उत्प्रेरणाले मानिसहरू बढी सक्रिय भएका छन् । हामी मानिसहरूका क्रियाकलापलाई नियन्त्रण गर्न सक्दैनौँ, किनकि त्यसले मानव आकाङ्क्षाहरूमाथि अङ्कुश लाग्नेछ । मानव जनसङ्ख्या नियन्त्रण गर्नु नै एकमात्र उपाय हो ।

अपर्याप्त स्रोत–साधन र संरचनाहरू

यति विशाल जनसङ्ख्याको लागि हामीसँग पर्याप्त स्रोत–साधन र संरचनाहरू नै छैनन् । हामीसँग न त पर्याप्त सवारीहरू छन्, न जमिन छ, न शौचालयहरू छन्, न त आश्रय स्थलहरू नै छन् । सन् २०५० सम्ममा पृथ्वीमा मानिसहरूको जनसङ्ख्या लगभग नौ अर्ब साठी करोड हुने अनुमान गरिएको छ । त्यसो हुने हो भने, प्रत्येक व्यक्तिले अहिले उपभोग गरिरहेको तुलनामा ४० प्रतिशत कम स्रोत–साधन प्रयोग गर्न पाउनेछन् । स्रोत–साधन भन्नाले म खाना, पानी, हावाको कुरा गरिरहेको छु— यी सबै ४० प्रतिशत कम हुनेछन् ! तपाईंका नाति–नातिनीहरूको दुर्दशा के हुने हो, तपाईं कल्पना गर्न सक्नुहुन्छ । हामीसँग जतिसुकै सम्पत्ति भए तापनि, त्यसबाट समृद्धि हुँदैन, खुसियाली हुँदैन ।

पृथ्वी खतरामा होइन— मावन जीवन खतरामा छ !

हामीले सम्बोधन गर्नुपर्ने सबैभन्दा मूलभूत कुरा यो हो कि एक शताब्दीमै हाम्रो सङ्ख्या सात गुणाले बढेको छ, अनि अझैपनि हामीले कुनै ठोस कदम नचालि जनसङ्ख्या वृद्धिलाई सहायता गरिरहेका छौँ ।

अचेल मानिसहरू पर्यावरण सम्बन्धी समस्याहरूको बारेमा चर्चा गर्दै पृथ्वीलाई बचाउने कुरा गरिरहेका छन् । पृथ्वीलाई बचाउनको निम्ति तपाईंले केही गरिरहनु पर्दैन । महत्त्वपूर्ण कुरा के हो भने, प्रत्येक सरकार, प्रत्येक संस्था अनि नेतृत्व तहमा रहेका सबैजना एकजुट भएर अबको ५०–६० वर्षमा मानिसहरूको जनसङ्ख्या ३०–४० प्रतिशतले कम गर्नेतर्फ काम गर्नुपर्छ । यो सहजै गर्न सकिन्छ । तबमात्र हामी यहाँ राम्रोसँग बाँच्न सक्छौँ । कम्तीमा पनि अर्को पुस्ता यहाँ सही तरिकाले बाँच्न सक्दछ ।

पर्यावरणको संरक्षण, हरित गृह प्रविधि (Green House technologies) जस्ता कुराहरू निश्चय पनि आवश्यक छन् । तर, हामीले सम्बोधन गर्नुपर्ने सबैभन्दा मूलभूत कुरा यो हो कि एक शताब्दीमै हाम्रो सङ्ख्या सात गुणाले बढेको छ, अनि अझैपनि हामीले कुनै ठोस कदम नचालि जनसङ्ख्या वृद्धिलाई सहायता गरिरहेका छौँ । यो सबैभन्दा भयानक समस्या हो ।

लगभग ७० वर्षअघि हाम्रो अनुमानित जीवन आयु २८ वर्ष मात्रै थियो । अहिले यो बढेर ७० वर्ष भएको छ, जुन अद्‌भुत कुरा हो । हामीले आफ्नो मृत्युलाई पछाडि धकेलेका छौँ । के हामीले सोहीअनुसार जन्मलाई पनि पछाडि धकेल्नु पर्दैन ? यदि हामीले मृत्युलाई हाम्रो हातमा लिएका छौँ भने, के हामीले जन्मलाई पनि आफ्नो हातमा लिनुपर्दैन र ?

वास्तवमा भन्नुपर्दा, यो धरती खतरामा छैन, बरु मानव जीवन नै खतरामा छ ! मानिसहरूले यो कुरा बुझ्न आवश्यक छ ।

हामीले मनन गर्नुपर्ने प्रश्न यो हो कि के हामीले यहाँ उपलब्ध सीमित स्रोत–साधनहरू अनुरूप हाम्रो आवादी संयोजित गर्न सक्छौँ ? यदि मानिसहरूलाई यसप्रति शिक्षित र सचेत गरिने हो भने, यो गर्न सकिन्छ । यदि यसले काम गऱ्यो भने, हामीले रूख रोपिरहनु पर्दैन । वास्तवमा भन्नुपर्दा, यो धरती खतरामा छैन, बरु मानव जीवन नै खतरामा छ ! मानिसहरूले यो कुरा बुझ्न आवश्यक छ । म आशा गर्छु कि हामीहरू यो वास्तविकताप्रति ब्युँझेर आवश्यक कार्यहरू गर्नेछौँ ।

Editor’s Note: To read more about the state of the environment and what we can do about it, download the ebook, A Tree Can Save The World.