ऊफ ! लकडाउनको दिक्दारी !! कसरी मुक्त हुने ?

लकडाउनको समयमा घरमै बन्दी हुनुभएको छ अनि टि.भीमा वा इन्टरनेटमा अनेक कुराहरू हेर्दाहेर्दा दिक्क हुनुभएको छ भने, यस्तो अवस्थामा के गर्ने ? सद्‌गुरु, यो दिक्दारीबाट मुक्त हुने तरिका बताउँदै हुनुहुन्छ ।
Sadhguru Wisdom Article | Coronavirus Lockdown – How to Deal with Boredom
 

प्रश्न: सद्‌गुरु, मैले यो सोचेको थिएँ कि नेटफ्लिक्सका कार्यक्रमहरू एकपछि अर्को गर्दै हेरिरहेर म आफ्नो सम्पूर्ण जीवन बिताउन सक्छु । तर, यो लकडाउनका दिनहरूमा म इन्टरनेटमा भएका सबैथोकबाट पूरै दिक्क भइसकेँ !

सद्‌गुरु: दिक्क हुनु मनोवैज्ञानिक कुरा हो; अस्तित्वसँग यसको कुनै सम्बन्ध हुँदैन । यदि तपाईंको दिमागमा बेकारका कुराहरू चलिरहेका छन् भने, तपाईं दिक्क मान्नुहुनेछ । यहाँ बसेर तपाईंले सुन्दर कुराहरूको बारेमा सोच्नुभयो भने, तपाईंले आफूलाई ऊर्जावान् महसुस गर्नुहुनेछ । तपाईंको दिमागमा जे चलिरहन्छ, त्यो तपाईंको नाटक हो । यदि तपाईं आफ्नै नाटकबाट दिक्क भइरहनु भएको छ भने, के तपाईं ती व्यक्तिहरूको दुर्दशा कल्पना गर्न सक्नुहुन्छ, जो यतिका हप्ताहरूसम्म तपाईंसँगै रहेका छन् ? वास्तवमा भएको के हो भने, यसअघि तपाईंलाई अलमल्याउने थुप्रै कुराहरू थिए, जसलाई हामीले काम, किनमेल वा सामाजिक उत्तरदायित्वहरू भन्ने गरेका छौँ । तर अहिले, लकडाउनको कारणले अरू मानिसहरूले तपाईंको नाटक झेल्नु परिरहेको छ ।

तपाईं पनि प्रत्येक दश मिनेटमा, दुई मिनेटको विश्राम लिनुहोस्; यसो गर्दा तपाईंले आफ्नो लागि एकदमै अद्‌भुत काम गरिरहनु भएको हुन्छ ।

सबै टि.भी. च्यानलहरूमा केही समयको अन्तरालमा केही मिनेटको व्यापारिक विश्राम लिइन्छ । तपाईं पनि प्रत्येक दश मिनेटमा, दुई मिनेटको विश्राम लिनुहोस्; यसो गर्दा तपाईंले आफ्नो लागि एकदमै अद्‌भुत काम गरिरहनु भएको हुन्छ । मलाई यो थाहा छ कि तपाईं आफ्नो नाटक बन्द गर्न सक्नुहुन्न, तर कम्तीमा पनि यति त गर्नुहोस् ।

दिक्क हुँदा के गर्ने ?

यदि मैले तपाईंलाई केही गर्नुहोस् भनेँ भने, तपाईं सोध्न सक्नुहुन्छ, "कसरी ?" तर, यदि मैले “केही नगर्नुहोस्,” भनेँ भने, तपाईं यो सोध्नुहुन्छ कि “कसरी केही पनि नगर्ने ?” अब भन्नुहोस्, हामी तपाईंसँग के गरौँ ? केही नगरिकन बस्नु कुनै कार्य होइन, त्यसैले यसलाई सिकाउन सकिँदैन । केही नगरिकन अर्थात् यत्तिकै केही नगरिकन । यो कसरी सिकाउन सकिन्छ र ? केही नगर्नु भनेको तपाईंको वरिपरि भइरहेका कुराहरूमा सहभागी वा संलग्न नहुनु भन्ने हो । अर्थात्, तपाईंको शरीर र मनको स्तरमा भइरहेका कुराहरूबाट अलग्ग रहनु, किनकि यी दुवै तपाईंले बाहिरबाट सङ्ग्रहित गर्नुभएको हो ।

यो नसोच्नुहोस् कि तपाईं जीवन वा अरू व्यक्तिहरूबाट दिक्क हुनुभएको हो— तपाईं आफूभित्रै भइरहेका कुराहरूबाट दिक्क हुनुभएको हो; तपाईं त आफू वरपर घटिरहेका कुराहरूप्रति पूरै बेखबर हुनुहुन्छ ।

तपाईंको शरीरले जे भन्छ, भन्न दिनुहोस्— तपाईं यत्तिकै बस्नुहोस् । तपाईंको मनले जेसुकै भनोस्, तपाईं त्यसमा तल्लीन नभइकन यत्तिकै बस्नुहोस् । आफूले राम्रो ठान्नुभएको विचारको पछि नभाग्नुहोस्, वा आफूले नराम्रो ठान्नुभएको विचारबाट उम्किने प्रयत्न पनि नगर्नुहोस् । साथै, यो समयको राम्रो सदुपयोग गर्छु भन्ने सोचेर आफ्नो मनलाई अनेक थरीका सोच–विचारहरूमा तल्लीन हुन नदिनुहोस् । यसैपनि, तपाईं एकदमै नयाँ सम्भावनाको बारेमा सोच्न सक्नुहुन्न; जे यहाँ पहिल्यै छ, तपाईं त्यसलाई केही सुधार गरेर सोचिरहनु भएको हुन्छ । तपाईंले खोज गरेकै भरमा जीवनका नयाँ आयामहरू देखिने होइनन्— आफूलाई थाहै नभएको कुरालाई तपाईं कसरी खोज्न सक्नुहुन्छ र ? बरु, यदि तपाईं आफ्नो वर्तमान परिस्थितिमा नफस्ने हो भने, नयाँ सम्भावनाहरू स्वतः देखिनेछन् । सम्भावनाहरू सदैव यहीँ रहेका हुन्छन्, तर तपाईंले तिनलाई देख्न नसक्नुको कारण के हो भने तपाईं आफ्नो विगत र हालका परिस्थितिहरूमा चुर्लुम्मै डुब्नुभएको छ । दश वर्षअघि घटेका कुराहरू अझै पनि तपाईंको दिमागमा सल्बलाइरहेका छन् । यदि तपाईंको जीवनको आयु दश लाख वर्ष भइदिएको भए, तपाईं यी सम्पूर्ण उरन्ठेउला कामहरू गर्न सक्नुहुने थियो । तर, तपाईंले आफ्नो जीवनको पूरै आयु बिताउनुभयो भने, त्यो तबपनि निकै छोटो जीवन हो । अनि अहिले, यदि तपाईंले आफ्नो उचित ख्याल नराख्ने हो भने, यो भाइरसले १४ दिनमै समाप्त गरिदिन्छु भनेर धम्क्याइरहेको छ !

जब दिक्क महसुस गर्नुहुन्छ, तब ध्यान केन्द्रित गर्नुहोस् !

तपाईं वरपर यो अद्‌भुत सृष्टि छ, जुन अत्यन्तै परिष्कृत एवं जटिल छ । यस्तो सृष्टिमा रहँदा पनि तपाईं दिक्क मानिरहनु भएको छ ? यो विश्वास गर्नै सकिँदैन ! यदि तपाईंले एउटा पातलाई ध्यानपूर्वक हेर्ने हो भने, तपाईं त्यसलाई हेरेरै वषौँवर्ष बिताउन सक्नुहुन्छ, किनकि त्यसमा थुप्रै कुराहरू संलग्न हुन्छन् । कमिला, कीरा–फट्याङ्ग्रा, चराचुरुङ्गी, जनावरहरू अनि यो विशाल आकाश— यी सबै जीवनका भिन्न–भिन्न रूपहरू हुन् । यदि तपाईं अस्तित्वको स्तरमा वास्तविक रहेका आयामहरूमा संलग्न रहनुभयो भने, दिक्क हुने ठाउँ नै रहँदैन किनकि यो असाध्यै अभूतपूर्व छ । तर, तपाईं आफ्नो दिमागमा चलिरहने कुराहरूमै मग्न हुनुहुन्छ, त्यसैले तपाईं दिक्क मान्नुहुन्छ । यो नसोच्नुहोस् कि तपाईं जीवन वा अरू व्यक्तिहरूबाट दिक्क हुनुभएको हो— तपाईं आफूभित्रै भइरहेका कुराहरूबाट दिक्क हुनुभएको हो; तपाईं त आफू वरपर घटिरहेका कुराहरूप्रति पूरै बेखबर हुनुहुन्छ ।

दिक्दारी र मृत्यु

दिक्क हुनु भनेको तपाईंले मृत्यु रोजिरहनु भएको छ भन्ने हो । कुनै न कुनै तरिकाले, तपाईं यो भन्दै हुनुहुन्छ कि यो जीवन बाँच्नुको औचित्य छैन । "हैन, हैन, म त दश मिनेटको लागि मात्र दिक्क भएको थिएँ ।" त्यसोभए, त्यो दश मिनेटको लागि तपाईंले मृत्यु रोज्नुभएको थियो । यो शरीर वा भनौँ यो पूरै प्रणाली यसरी रचना गरिएको छ कि तपाईं जसरी सोच्नुहुन्छ, महसुस गर्नुहुन्छ अनि जीवनलाई जुन रूपमा हेर्नुहुन्छ साथै तपाईंको चेतना भनेको वास्वतमा एउटा सन्देश हो, जुन तपाईंको पूरै प्रणालीसम्म पुगिरहेको हुन्छ । यो प्रणालीमा कस्तो प्रकारको सन्देश जान्छ भन्ने कुराले नै तपाईंको संरचना कति सङ्गठित छ, तपाईं कति हृष्टपुष्ट हुनुहुन्छ, तपाईं कति संवेदनशील हुनुहुन्छ तथा तपाईंमा के–कति सम्भावनाहरू छन् भन्ने कुरा निर्धारण गर्दछ । तपाईंको सम्पूर्ण प्रणाली एक निश्चित प्रकारको सफ्टवेयरमा चलिरहेको हुन्छ, जुन तपाईंले निर्माण गरिरहनु भएको हुन्छ । तर, तपाईं यति बेकम्मा निर्माता हुनुहुन्छ, जो दिनमा पाँच पटक दश–दश मिनेटको लागि दिक्क मान्ने गर्नुहुन्छ । तपाईं जुनजुन बेला दिक्क मान्नुहुन्छ, तपाईंले आफैँलाई "यो जीवन बाँच्नुको औचित्य छैन" भनिरहनु भएको हुन्छ, अनि यही सन्देश सम्पूर्ण प्रणालीमा पुग्दछ ।

अहिले, दिक्क हुने, नेटफ्लिक्स समय बिताउने वा भाइरोलोजीमा पी.एच.डी गर्ने समय होइन । बरु, अहिले जीवनलाई शत–प्रतिशत "स्वीकार गर्ने" समय हो, किनकि सोही तरिकाले तपाईंको निम्ति जीवनका सम्भावनाहरू खुल्नेछन् ।

जब तपाईं "म दिक्क छु" भन्नुहुन्छ, तपाईं जीवनलाई "नाईं" भनिरहनु भएको हुन्छ । जब तपाईं रिसाउनुहुन्छ, तनावमा रहनुहुन्छ वा उदास बन्नुहुन्छ, तपाईं जीवनको विपक्षमा उभिनुहुन्छ । यस्तो अवस्थामा, तपाईंको शारीरिक प्रक्रियाहरू अनि मनका फाल्तू कुराहरूले तपाईंलाई बाँकी जीवनभरि व्यस्त राख्नेछन् , किनकि अब यी दुवै समस्या बन्दछन् । मूलतः योगको समग्र प्रक्रिया नै जीवनको लागि शत–प्रतिशत "हुन्छ" बन्नको निम्ति हो । अर्थात्, यस हदसम्म जीवनको पक्षमा हुने, जहाँ तपाईं आफ्नो शरीर र मनका गतिविधिहरूबाट अछुतो रहन सक्नुहुन्छ, साथै जीवनका विशाल सम्भावनाहरूलाई हेर्नको लागि यिनलाई आधारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । त्यस दिशातर्फ यो राम्रो समय हो । अहिले, दिक्क हुने, नेटफ्लिक्स समय बिताउने वा भाइरोलोजीमा पी.एच.डी गर्ने समय होइन । बरु, अहिले जीवनलाई शत–प्रतिशत "स्वीकार गर्ने" समय हो, किनकि सोही तरिकाले तपाईंको निम्ति जीवनका सम्भावनाहरू खुल्नेछन् । अन्यथा, "हुन्छ, नाईं, हुन्छ, नाईं" भनिरहने हो भने, तपाईंले त्यो चाहनुभएको हो वा होइन भनेर जीवनलाई थाहै हुँदैन । किनकि, यसले तपाईंबाट प्रत्येक सन्देश लिइरहेको हुन्छ, अनि दिनको अन्त्यमा तपाईंले आखिर के चाहनुभएको हो भनेर यसले बुझ्नै सक्दैन । तसर्थ, यहाँ जे–जति चीजहरूले काम गरिरहेका छन्, ती सबैप्रति यो प्रष्ट पार्नुहोस् कि तपाईं जीवनको लागि शत–प्रतिशत "हुन्छ" बन्नुभएको छ, अर्थात् जीवनलाई शत–प्रतिशत स्वीकार गरिरहनु भएको छ ।

Editor’s Note: Find more of Sadhguru’s insights in the book “Of Mystics and Mistakes.” Download the preview chapter or purchase the ebook at Isha Downloads.