विश्व एड्स दिवस: एड्स पीडितहरूलाई प्रेम र करुणा जरूरी छ

डिसेम्बर १ विश्व एड्स दिवस हो । यस अवसरमा संसारभरि मानिसहरूलाई एड्सको बारेमा चेतना फैलाइन्छ अनि यो महामारीको सामना गर्न अन्तर्राष्ट्रिय एकता प्रदर्शन गरिन्छ । सन् २००७ मा एचआईवी ⁄ एड्स सङ्क्रमण भएका व्यक्तिहरूका निम्ति आयोजित विशेष सत्सङ्गमा सद्‌गुरुले एचआईवी को समस्या, यसका चुनौतीहरू अनि सम्भव भएका समाधानहरूको बारेमा चर्चा गर्नुभएको थियो ।
 

सद्‌गुरु: आज विज्ञान र चिकित्साको क्षेत्रमा थुप्रै विकासहरू भएका छन्, रोगहरूसँग लड्नको लागि खोपहरूको विकास भइरहेको छ । तथापि, केही यस्ता रोगहरू छन्, जसको लागि हामीसँग कुनै उपचार छैन । हामीहरूले नयाँ–नयाँ औषधि र पद्धतिहरूको विकास गरिरहँदा समेत प्रकृतिले हामीसामु नयाँ चुनौतीहरू उत्पन्न गरिरहेकी हुन्छिन् । यो सदैव यस्तै हुनेछ । मानव शरीरले रोगसँग लड्ने क्षमता गुमाउन सक्दछ, तर दुर्भाग्यवश रोगहरूबाट पीडित भएका मानिसहरूप्रति समाजमा प्रतिरोध बढ्ने गर्दछ । हामीले समाजमा रहेका यस्ता प्रतिरोधहरू कम गर्नुपर्छ अनि शरीरभित्र प्रतिरोध बढाउनुपर्छ ।

हाम्रो समाजमा एचआईवी बाट सङ्क्रमित भएका व्यक्तिहरूप्रति द्वेषको भाव छ, जसको प्रमुख कारण मानिसहरूमा बुझाइको कमी हो ।

वर्तमान समयमा हाम्रो समाजमा एचआईवी बाट सङ्क्रमित भएका व्यक्तिहरूप्रति द्वेषको भाव छ, जसको प्रमुख कारण मानिसहरूमा बुझाइको कमी हो । मानिसहरूलाई एचआईवी सङ्क्रमण कसरी हुन्छ, कसरी एक–अर्कामा फैलिन्छ अनि हामी यसबाट बच्न केके गर्न सक्छौँ भन्ने विषयमा जानकारी छैन । मानिसहरूमा कतै सङ्क्रमित भइहालिन्छ कि भन्ने डर रहेको छ । केही यस्ता मानिसहरू पनि छन्, जो यो सोच्छन् कि एचआईवी पोजिटिभ भएको व्यक्तिलाई हेर्दा मात्रै पनि उनीहरू सङ्क्रमित हुन्छन् । यस्ता डरहरूबाट मुक्त हुनको लागि हामीले यसको बारेमा चेतना फैलाउन जरूरी छ । पश्चिमी देशहरूमा एचआईवी पीडितहरूप्रति कसैको मनमा द्वेष हुँदैन, किनकि त्यहाँका मानिसहरूमा यो रोगको बारेमा भरपूर जानकारी एवं समझदारी छ । यदि हामीले समाजमा मानिसहरूलाई यो रोगको बारेमा राम्रोसँग बुझायौँ भने, यो कुनै ठूलो समस्याको रूपमा रहने छैन । यस्ता थुप्रै रोगहरू छन्, जसले मानिसमा प्रभावित गर्दछ अनि त्यसबाट ऊ पीडित बन्दछ । कसैलाई एचआईवी लाग्यो भनेमात्रै ऊ पीडित बन्ने होइन ।

एचआईवी सङ्क्रमण भएको खण्डमा समेत, यदि हामीले आफ्ना जीवन ऊर्जाहरूलाई तिव्रताको अवस्थामा राख्न सक्यौँ भने, हाम्रो प्रतिरक्षा प्रणाली अनि रोगसँग लड्ने क्षमतालाई भारी मात्रामा बढाउन सकिन्छ ।

एचआईवी आफैँमा कुनै रोग होइन । यसले यस्तो स्थिति उत्पन्न गर्दछ, जहाँ शरीरको रोग–प्रतिरोधात्मक क्षमतामा भारी कमी हुन्छ, जसकारण शरीर कमजोर हुन्छ अनि रोगहरूसँग लड्ने क्षमता क्षीण बन्दै जान्छ । सबै व्यक्तिमा एउटै स्तरको प्रतिरोधात्मक क्षमता हुँदैन । केही मानिसहरू बाटोमा बेचिएको खानेकुरा खाएकै भरमा बिरामी भइहाल्छन् । जबकि, केही मानिसहरूलाई जे खाएपनि त्यसले असर पारिहाल्दैन । यो रोगसँग लड्ने क्षमताको कारण भएको हो । एचआईवी को सन्दर्भमा, व्यक्तिमा रोगसँग लड्ने क्षमता निकै कम हुन्छ, जसकारण उसमा अरू विभिन्न रोगहरू लाग्न सक्दछ ।

तर, एचआईवी सङ्क्रमण भएको खण्डमा समेत, यदि हामीले आफ्ना जीवन ऊर्जाहरूलाई तिव्रताको अवस्थामा राख्न सक्यौँ भने, हाम्रो प्रतिरक्षा प्रणाली अनि रोगसँग लड्ने क्षमतालाई भारी मात्रामा बढाउन सकिन्छ । यसलाई पूर्णतया पहिलेकै स्थितिमा फर्काउन नसकिए तापनि, हामी अवश्य नै धेरै हदसम्म त्यसलाई बढाउन सक्छौँ । हामी जसरी खान्छौँ, जसरी श्वास फेर्छौँ, जसरी व्यवहार गर्छौँ, जसरी जीवन बाँच्छौँ अनि यस्तै अरू कुराहरूमा हामीले पर्याप्त ध्यान दिने हो भने, हामी आफ्नो रोग–प्रतिरोधात्मक क्षमतालाई निश्चय पनि बढाउन सक्छौँ ।

जब कोही व्यक्ति पीडामा हुन्छ, अर्को व्यक्ति त्यो पीडाप्रति संवेदनशील हुनु स्वाभाविक हो । हरेक व्यक्तिमा यतिसम्म संवेदनशीलता र मानवता त अवश्य रहेको हुन्छ । तर दुर्भाग्यवश, हामीले आफ्नो संवेदनशीलता र मानवतालाई प्रयोगमा ल्याएका छैनौँ । यसको कारण के हो भने, जो व्यक्ति यो रोगबाट सङ्क्रमित छन्, उनीहरूका बारेमा हामीले अनेक थरीका गलत धारणाहरू बनाएका छौँ । यो एचआईवी को सन्दर्भमा मात्रै भएको छैन, बरु संसारमा अनेक कारणहरूले गर्दा विभिन्न प्रकारका भयानक कामहरू भइरहेका छन् । मानिसहरूलाई युगौँसम्म पीडा भोग्ने बनाइएको छ, किनकि यो ठानिन्छ कि कसैको जात ठीक छैन, कसैको धर्म ठीक छैन, कसैको लैङ्गिकता ठीक छैन अनि यस्तै अरू कारणहरू । त्यसैले, यो द्वेषको भावना एचआईवी प्रति मात्रै छ भनेर नसोच्नुहोस् ।

जीवनको भौतिक पक्षभन्दा माथि उठेर संस्कृतिको निर्माण भएको भए, यी कुराहरू केही हदसम्म नियन्त्रणमा रहने थिए ।

एचआईवी एड्स मेडिकल समस्या मात्रै रहेको छैन, बरु सामाजिक सङ्कट बन्दै गएको छ । आज ग्रामीण स्थानका मानिसहरू पनि यो रोगको चपेटामा परेका छन्, जसको अर्थ यो हो कि समाजका यस्ता थुप्रै पक्षहरू छन्, जसलाई हामीले राम्ररी बुझेका छैनौँ । परिवारको संरचनालाई बलियो बनाउनु महत्त्वपूर्ण भएपनि, हामी यसमा प्रष्ट हुनुपर्छ कि हामीले मानिसहरूलाई सुझाव दिँदैमा त्यो सम्भव हुने वाला छैन ।

जीवनको भौतिक पक्षभन्दा माथि उठेर संस्कृतिको निर्माण भएको भए, यी कुराहरू केही हदसम्म नियन्त्रणमा रहने थिए । जुनसुकै कारणले हामी अहिलेको अवस्थामा आएका भएपनि, यो असाध्यै जरूरी छ कि हामीले एचआईवी एड्सको समस्यालाई राष्ट्रिय स्तरमा समाधान गर्नुपर्छ अनि विभिन्न क्षेत्रका मानिसहरू यसमा सहभागी हुनुपर्छ ।

Editors Note: This article is an extract from the ebook Compassion Cannot Choose, which is a collection of interactions between Sadhguru and people living with HIV/AIDS.