चिन्ताको मूल कारण

सद्‌गुरु: चाहे त्यो डर होस् वा रिस, चिन्ता, हर्ष, दु:ख अथवा परम–आनन्द नै किन नहोस्, यी सबै विभिन्न प्रकारका भावनाहरू हुन् । यदि तपाईंले डर अनुभव गर्नुभएको छ भने, तपाईंलाई यो थाहा हुनुपर्छ कि यो तपाईंलाई एकदमै कमजोर बनाउने भावना हो । यसले तपाईंलाई माथि उकास्नुको सट्टा झन् तल खस्काउँछ । मानिसहरूले आफूमा डर, रिस र चिन्ता उत्पन्न हुनु स्वाभाविक कुरा हो अनि हामीले तीसँग जुझ्नुपर्छ भनेर मानिलिएका छन् । होइन, तपाईंले आफूभित्र ती भावनाहरू उत्पन्न गरिरहनु भएको हून्छ । सम्पूर्ण मानव अनुभवहरू हामीभित्रबाट उत्पन्न हुन्छन् । बाहिरी उत्प्रेरक भए तापनि, मूलत: तपाईंले सृजना गरिरहनु भएको हुन्छ । कुनै निश्चित परिस्थितिमा एउटा व्यक्ति डरले आतङ्कित हुन सक्छ, जबकि अर्को व्यक्तिलाई त्यसले असर नपुऱ्याउन सक्छ ।

जिम्मेवार हुनु भनेको सचेत भई सम्बोधन गर्ने सामर्थ्य हो । यदि तपाईंमा सम्बोधन गर्ने सामर्थ्य रह्यो भने, तपाईंले कुनै पनि कार्य आफूले चाहेअनुसार गर्नुहुनेछ । तर, यदि तपाईंले बाध्यात्मक प्रतिक्रिया गर्नुभयो भने, बाहिरी परिस्थितिहरू तपाईंको जीवनमाथि हावी हुनेछन् ।

यसको अर्थ के हो भने परिस्थितिले तपाईंलाई भयभीत बनाइरहेको होइन; तपाईं जुन प्रकारले यो परिस्थितिप्रति प्रतिक्रिया जनाइरहनु भएको छ, त्यसले नै डर उत्पन्न गरिरहेको हो । यदि तपाईं बाध्यात्मक प्रतिक्रियाको अवस्थामा हुनुहुन्छ भने, जोसकै र जेसुकैले तपाईंको जीवन निर्धारण गर्न सक्नेछ । यसैकारण, हामी जिम्मेवार हुनेबारे कुरा गर्दछौँ । जिम्मेवारी भनेको नागरिकको उत्तरदायित्त्व होइन । मूलभूत रूपमा हेर्ने हो भने, जिम्मेवार हुनु भनेको सचेत भई सम्बोधन गर्ने सामर्थ्य हो । यदि तपाईंमा सम्बोधन गर्ने सामर्थ्य रह्यो भने, तपाईंले कुनै पनि कार्य आफूले चाहेअनुसार गर्नुहुनेछ । तर, यदि तपाईंले बाध्यात्मक प्रतिक्रिया गर्नुभयो भने, बाहिरी परिस्थितिहरू तपाईंको जीवनमाथि हावी हुनेछन् । चाहे भाइरस रहोस् वा नरहोस्, तपाईंको जीवनमा बाहिरी परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको हातमा हुँदैनन् । यही अस्तित्वको वास्वतिक प्रकृति हो ।

भाइरस आउनुअघि तपाईंको घर, कार्यालय वा सडकका परिस्थितिहरू कहिल्यै पनि शत–प्रतिशत तपाईंको हातमा थिएनन् । अहिलेको अवस्था पनि ठीक त्यस्तै हो । अहिलेको परिस्थितिको कारक भाइरस भए तापनि, यो सौभाग्यको कुरा हो कि यो हामीमार्फत फैलिरहेको छ । यसको अर्थ के हो भने, यदि हामीले सावधानी अपनाएर सचेतनपूर्वक कार्यहरू गऱ्यौँ भने, हामी यसलाई जीवितै पार गर्नेछौँ । प्राय: सबैजनाले अहिलेको परिस्थितिलाई युद्धसँग तुलना गरिरहेका छन् । कम्तीमा पनि हाम्रो घरमा बम बिस्फोट भइरहेको छैन, साथै हामीलाई बाटोमा सैनिकहरूले गोली प्रहार गरिरहेका छैनन् । यो एक प्रकारले भन्नुपर्दा, यो युद्ध जस्तै हो, तर मन्द खालको युद्ध । यदि हामीहरू जिम्मेवार भयौँ भने, हामी यसलाई रोक्न सक्छौँ । यदि हामीले गैर–जिम्मेवार व्यवहार गर्न थाल्यौँ भने, यो व्यापक रूपमा फैलिने छ ।

यदि यो भाइरस १८ देखि २४ महिनासम्म जीवित रहिरह्यो भने, यसले थुप्रै तरिकाहरूले यसले हाम्रो अस्तित्वको गतिशीलतालाई नै बदल्नेछ । यसको अर्थ मानवजाति यहाँबाट सखाप हुन्छन् भनेको होइन, तर हाम्रा क्रियाकलाप, व्यापार–व्यवसायहरू, जीवनशैली, शिक्षा–व्यवस्था अनि हामी जुन रूपमा बाँकी कुराहरू सञ्चालन गरिरहेका छौँ, ती सबैमा विशाल उथलपुथल हुन सक्छ । यही समयमा हामीले आफ्नो बुद्धिमत्ता, प्रतिभा, स्फर्ति अनि एक–अर्काप्रतिको प्रेम व्यक्त गर्नुपर्छ । हामीले आफूभित्रको सबैभन्दा उत्तम गुण अभिव्यक्त गर्नुपर्छ, किनकी यस प्रकारको परिस्थितिसँग जुझ्नको लागि तपाईं उच्चतम अवस्थामा हुनुपर्छ । यो चिन्ता, निराशा वा डरमा डुब्ने समय होइन; जब तपाईंभित्र डर र चिन्ताको भाव उत्पन्न हुन्छ, एक प्रकारले तपाईं पङ्गु वा अशक्त बन्नुहुन्छ । अहिले आफैँलाई अशक्त बनाउने समय होइन । यस्तो परिस्थितिलाई उचित ढङ्गले सामना गर्नको लागि हामीहरू आफ्नो श्रेष्ठतम अवस्थामा हुन जरूरी छ ।

जब चुनौतीहरू वास्तवमै सशक्त बन्दै जान्छन्, त्यसैबेला मनुष्यहरू अघि सर्नेछन् अनि आफ्नो सामर्थ्यले भ्याएको सबैभन्दा उत्तम कुरा गरी महान् सम्भावनाहरू निर्माण गर्नेछन् ।

अवश्य पनि, हाम्रोसामु एउटा गम्भीर चुनौती छ । तर, यस्तै चुनौतीपूर्ण परिस्थितिहरूमा नै हामी आफ्नो सर्वोत्तम क्षमतामा माथि उठ्न सकेका छौँ, किनकि मनुष्यभित्र केही यस्तो हुन्छ, जुन कुनै पनि परिस्थितिमा पछि हट्न चाहँदैन । शुरुवातमा, मानिसहरूको सुख–सुविधामा आँच आएको हुनाले डर, चिन्ता र व्यथा हुन्छ । तर, जब चुनौतीहरू वास्तवमै सशक्त बन्दै जान्छन्, त्यसैबेला मनुष्यहरू अघि सर्नेछन् अनि आफ्नो सामर्थ्यले भ्याएको सबैभन्दा उत्तम कुरा गरी महान् सम्भावनाहरू निर्माण गर्नेछन् । मेरो विचारमा यो उथलपुथलले संसारको अन्त्य गर्नेछैन । यदि हामीले जिम्मेवार भएर यसलाई सम्हाल्यौँ भने, हामीले मृत्युदर र अरू क्षतिहरूलाई कम गर्न सक्नेछौँ ।

कोरोना (कोभिड–१९) को चिन्ताबाट मुक्त हुने दुईवटा सरल अभ्यासहरू:

  • स्थिर बस्नुहोस्:

चाहे तपाईं यसलाई तनाव भन्नुहोस्, चिन्ता वा अरू कुनै नाम दिनुहोस्— मूल कुरा के हो भने, तपाईंको प्रणालीमा संघर्ष चलिरहेको छ । तसर्थ, सर्वप्रथम आफ्नो प्रणालीलाई ज्यामितिको सङ्गतिमा ल्याउनु अनि उचित तरिकाले त्यसको घर्षण कम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ । यसो गर्नको लागि केही तरिकाहरू छन् । जहाँ ज्यामिति सही सङ्गतिमा रहन्छ, त्यहाँ कुनै घर्षण हुँदैन, त्यहाँ प्रयास गर्नुपर्दैन । तपाईंले आफ्नो प्रणालीलाई त्यही अवस्थामा ल्याउनुपर्छ । आफ्नो जीवनमा यस्ता सानातिना कुराहरू हावी हुन नदिनुहोस् । यदि तपाईंलाई चिन्ताले जतिबेला पनि सताइरह्यो भने, त्यसले तपाईंको जीवनको प्रक्रियालाई सीमित गर्नुको साथै बर्बाद गरिदिन सक्छ । यसलाई जतिसक्दो छिटो सुल्झाउनुपर्छ ।

यसरी बस्नुहोस् कि तपाईंको शरीर मांसपेशीहरूको सहाराबिनै यत्तिकै बस्न सकोस्, अर्थात् यो यति सन्तुलित रहोस् कि यदि यो बस्यो भने, यत्तिकै बसिरहोस् । दिनमा केही घण्टासम्म यसको अभ्यास गर्नुहोस् ।

आफ्नो शरीरलाई सन्तुलित राख्नको निम्ति केही सरल उपायहरू छन् । सबैभन्दा सरल उपाय भनेको सही तरिकाले बस्न सिक्नु हो । हाम्रो प्रणालीमा अनेक रसायनहरू क्रियाशील भइरहेका हुन्छन्; शरीरमा विभिन्न ग्रन्थिहरूले आफ्नो काम गरिरहेका हुन्छन् । यसरी बस्नुहोस् कि तपाईंको शरीर मांसपेशीहरूको सहाराबिनै यत्तिकै बस्न सकोस्, अर्थात् यो यति सन्तुलित रहोस् कि यदि यो बस्यो भने, यत्तिकै बसिरहोस् । दिनमा केही घण्टासम्म यसको अभ्यास गर्नुहोस् । बिस्तारै, तपाईंले निकै राम्रो महसुस गर्नुहुनेछ । चिन्ताको समस्याबाट बाहिर निस्किनको लागि केही जटिल प्रक्रियाहरू पनि छन् । तर, कम्तीमा पनि यति प्रयास गर्नुहोस्— ज्यामितीय रूपमा आफूलाई यस प्रकारले राख्नुहोस् कि तपाईंको प्रणालीमा कुनै तनाव नरहोस् ।

  • ऊर्जा प्रस्फुट गर्नको निम्ति ध्वनिको प्रयोग:

जब तपाईं बस्नुहुन्छ वा उठ्नुहुन्छ, तपाईंको प्रणालीले काम गर्ने शैलीमा पूर्ण रूपले परिवर्तन हुन्छ— शरीरको स्तरमा मात्र नभई रसायन र ऊर्जाको स्तरमा पनि । आफ्नो विचार, भावना र शारीरिक प्रक्रियाहरू संलग्न गरी कुनै शक्तिशाली ध्वनिको प्रयोग गर्न सक्नुहुन्छ ।

हामी यस्तो परिस्थितिमा छौँ, जहाँ हामीसँग भाइरसको बारेमा विस्तारमा कुनै जानकारी छैन । आवश्यक जानकारीहरू उपलब्ध नभएको बेला हाम्रो बुद्धि असाहय महसुस गर्दछ अनि यसले उदासीनता, असाहयता र उत्तेजनाका भावहरू उत्पन्न गर्दछ । यस्तो समयमा तपाईंले आफ्ना ऊर्जाहरूलाई स्फूर्त राख्नु असाध्यै महत्त्वपूर्ण हुन्छ । जब तपाईं ऊर्जाले भरिपूर्ण बन्नुहुन्छ, तपाईंले बौद्धिक रूपमा नबुझे तापनि तपाईंले आफ्नो प्रणालीमा सही कुराहरू गर्नुहुनेछ— जब प्रणालीमा ऊर्जा प्रस्फुटित हुन्छ, यसले निश्चित तरिकाले कार्य गर्नेछ । तपाईं एउटा सरल प्रक्रिया गर्न सक्नुहुन्छ— आफ्नो विचार, भावना र शारीरिक प्रक्रियाहरू संलग्न गरी कुनै शक्तिशाली ध्वनिको प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि जब तपाईं बस्नुहुन्छ वा उठ्नुहुन्छ, तपाईंको प्रणालीले काम गर्ने शैलीमा पूर्ण रूपले परिवर्तन हुन्छ— शरीरको स्तरमा मात्र नभई रसायन र ऊर्जाको स्तरमा पनि । यही कारणले गर्दा, यस संस्कृतिमा यस्तो प्रक्रियाको विकास गरिएको थियो कि तपाईं उठ्दा वा बस्दा "शिव" भन्नुहुन्थ्यो । केही राम्रो कुरा देख्नुभयो भने, "शिव" भन्नुहुन्थ्यो; केही नराम्रो कुरा देख्नुभयो भनेपनि "शिव" भन्नुहुन्थ्यो । यदि तपाईंले आफूभित्र शक्तिशाली रूपमा प्राण प्रतिष्ठा गरिएको शब्द उच्चारण गर्नुभयो भने, ऊर्जाको प्रस्फुटन हुन्छ ।

Editor's Note:  Anxious about the coronavirus pandemic? It’s time to take charge of your interiority. Inner Engineering Online is available free of cost for COVID Warriors and at 50% of the cost for everyone else.