ब्रह्माण्डको उत्पत्ति— सृष्टिको ध्वनि

सद्‌गुरु:आज, आधुनिक विज्ञानले यो प्रमाणित गरिसकेको छ कि सम्पूर्ण अस्तित्व केवल कम्पन हो । यो मेरो आविष्कार होइन, यो वैज्ञानिक तथ्य हो । जहाँ कम्पन हुन्छ, त्यहाँ ध्वनि हुने निश्चित छ । तपाईं केवल कम्पन होइन, तपाईं ध्वनि समेत हो । आधुनिक विज्ञानले तपाईंलाई यही भनिरहेको छ । साथै, धेरै पहिले यो भनिएको थियो कि पहिला शब्द थियो र त्यी शब्द 'ईश्वर' हो ।

सृष्टिको स्रोतबाट निरन्तर सहारा नहुने हो भने, सृष्टिको प्रक्रिया एक पलको लागि पनि अगाडि बढ्न सक्दैन— किनभने, सृष्टि पूरै बनिसकेको रचना होइन; यो यस्तो प्रक्रिया हो, जुन निरन्तर चलिरहन्छ ।

शब्द वास्तवमा ध्वनि हो । मानौँ मैले "हो" शब्द उच्चारण गरेँ भने, तपाईं त्यसमा अर्थ जोड्नुहुन्छ, किनकि तपाईंले नेपाली भाषा जान्नुभएको छ । यदि तपाईंलाई नेपाली भाषा थाहा नभएको भए, स्वाभाविक रूपाम तपाईंले यो सोच्नुहुने थियो कि म कुनै ध्वनि (आवाज) निकालिरहेको छु । यदि मैले तपाईंलाई थाहा नभएको भाषामा बोलेँ भने, तपाईं निश्चय नै यो सोच्नुहुनेछ कि म अनौठो आवाज निकालिरहेको छु । तपाईंले यो जान्न सक्नुहुने थिएन कि म यथार्थमै कुनै भाषा बोलिरहेको छु वा केही फाल्तू कुरा गरिरहेको छु । तसर्थ, शब्द केवल ध्वनि हो ।

त्यही सन्दर्भमा, शब्द नै 'ईश्वर' हो भनिएको थियो । किनभने, जो–जसले अस्तित्वलाई गहिराइमा हेरेको छन्, उनीहरूले यो स्पष्ट बुझ्न सक्छन् कि सृष्टि र सृष्टिकर्तालाई अलग्याउन सकिँदैन । यदि तपाईंले दुवैलाई अलग्याउन खोज्नुभयो भने सृष्टि रहँदैन । सृष्टिको स्रोतबाट निरन्तर सहारा नहुने हो भने, सृष्टिको प्रक्रिया एक पलको लागि पनि अगाडि बढ्न सक्दैन— किनभने, सृष्टि पूरै बनिसकेको रचना होइन; यो यस्तो प्रक्रिया हो, जुन निरन्तर चलिरहन्छ । यदि यसमा सृष्टिको स्रोत संलग्न नभएको भए, सृष्टि कसरी निरन्तर चलिरहने प्रक्रिया बन्न सक्थ्यो र ? तसर्थ, सृष्टिको प्रक्रियामा सृष्टिको स्रोत निरन्तर संलग्न छन्, जसलाई अलग्याउन सकिँदैन । यही कारणले गर्दा यो भनिएको थियो कि "शुरुमा त्यहाँ शब्द थियो ।" यसको मतलब जब सृष्टि अव्यक्त अवस्थाबाट व्यक्त वा प्रकट हुन थाल्यो, सबैभन्दा पहिला ध्वनि सृजना भएको थियो । वैज्ञानिकहरू समेत यसमा सहमत छन् कि त्यो बिग ब्याङ्ग (ठूलो बिस्फोट) थियो । बिस्फोट वा ब्याङ्ग पनि ध्वनि हो ।

रुद्र को गर्जन— योग पद्धति अनुसार सृष्टिको शुरुवात

योग पद्धतिमा सृष्टिलाई भित्री आयामबाट व्याख्या गरिएको छ । यस संस्कृतिमा गहन कुराहरूलाई प्रतीकको सहाराले व्याख्या गरिन्छ । प्रतीकात्मक भाषाशैलीको आफ्नै विशेषता र सौन्दर्य छ, किनकि यस्तो आयामको बारेमा कुरा गरिएको छ, जुन हाम्रो तार्किक बुझाइको दायरामा छैन । अत: यसलाई प्रतीकात्मक रूपमा भनिनु उत्तम हुनेछ । कथा यसरी अघि बढ्छ:

शिव सुतिरहेका छन् । यहाँ "शिव" भन्नाले हामी कोही व्यक्ति वा योगीको बारेमा कुरा गरिरहेका छैनौँ । यहाँ "शिव" को अर्थ हो "त्यो जुन छैन" । "त्यो जुन छैन" सुतिरहन मात्र सक्दछ । उनलाई सदैव "काल" वा "अन्धकार" भनिएको छ ।

वैज्ञानिकहरू यो पनि भनिरहेका छन् कि कुनै बेला बिग ब्याङ्ग (Big Bang) भएझैँ बिग क्रन्च (Big Crunch) पनि सम्भव छ । यसको मतलब विशाल रूपमा बिस्फोट भएर फैलिएझैँ कुनै समयमा पूरै सृष्टि विशाल रूपमा खुम्चिनेछ ।

शिव निदाइरहेका हुन्छन्, शक्ति उनलाई खोज्दै आउँछिन् । उनी शिवलाई जगाउन चाहन्छिन्, किनकि उनी शिवसँग नाच्न चाहन्छिन्, खेल्न चाहन्छिन्, शिवलाई रिझाउन चाहन्छिन् । शुरुमा उनी चल्मलाउँदैनन्, तर केही समयपछि उनी ब्युँझिछन् । यदि तपाईं गहिरो निद्रामा हुनुहुन्छ अनि कोही आएर तपाईंलाई घचघच्यायो भने, तपाईं रिसाउनुहुनेछ— त्यो व्यक्ति जतिसुकै सुन्दर भएपनि त्यसले फरक पार्दैन ! शिव क्रोधित भएर गर्जिए अनि उठे । यसैकारण, शिवको पहिलो रूप र पहिलो नाम रुद्र हो । "रुद्र" अर्थात् जो गर्जिन्छन् । यस संस्कृतिको पहिलो देवता रुद्र हुन् ।

शिवलाई रुद्र भनिन्छ, किनभने सृष्टि शुरु हुँदा गर्जन भएको थियो । वैज्ञानिकहरू यसलाई ठूलो बिस्फोट वा बिग ब्याङ्ग भन्ने गर्छन् । साथै, वैज्ञानिकहरू यो पनि भनिरहेका छन् कि कुनै बेला बिग ब्याङ्ग (Big Bang) भएझैँ बिग क्रन्च (Big Crunch) पनि सम्भव छ । यसको मतलब विशाल रूपमा बिस्फोट भएर फैलिएझैँ कुनै समयमा पूरै सृष्टि विशाल रूपमा खुम्चिनेछ । यो बिग ब्याङ्गको विपरित प्रक्रिया हो, जसले सबैथोकलाई अहिल्यै यहीँ ल्याउँदछ ।

केही वैज्ञानिकहरू यो पनि भन्छन् कि एकपटक मात्र नभई श्रृङ्खलाबद्ध रूपमा बिस्फोट भएको हुनुपर्छ । विज्ञानले सदैव यो विश्वास गरेको छ कि हरेक कुराको शुरुवात र अन्त्य हुन्छ । तर, अहिले भौतिक–शास्त्रीहरूले कहिल्यै अन्त्य नहुने ब्रह्माण्डको बारेमा कुरा गरिरहेका छन् । वैज्ञानिक समुदायमा अहिले ब्रह्माण्ड अन्तहीन हुन सक्छ भन्ने सिद्धान्त लोकप्रिय हुँदै गइरहेको छ ।

अन्तहीन ब्रह्माण्ड

प्रिन्सटन विश्वविद्यालयमा सैद्धान्तिक विज्ञान केन्द्रका निर्देशक रहेका पल स्टिनहार्डले "अन्तहीन ब्रह्माण्ड" भन्ने पुस्तक लेखेका छन् । उनीसँगको भेटमा भएको कुराकानीको क्रममा मैले उनलाई सोधेको थिएँ, "के यो सम्भव छ कि यो कुनै बिस्फोट नभई गर्जन पो थियो कि ? निरन्तर गर्जन भएको हुन सक्ने सम्भवना छ ?"

यदि तपाईंले आफ्नो जागरूकताले यो मानव प्रणालीलाई छिचोल्नुभयो भने, यो सृष्टिको सम्पूर्ण इतिहास यसमा लेखिएको छ । यो सृष्टि ८४ पटक गर्जिएको छ ।

उनले यसबारे केहीबेर सोचे, थुप्रै कुराहरू हेरे अनि भने, "यो सम्भव छ । सायद त्यो बिस्फोट थिएन, बरु गडगडाहट थियो, गर्जन थियो । तर, त्यो एकपटक मात्र गर्जिएको थिएन— निश्चित समयसम्म गर्जन भइरहेर बिस्तारै सृष्टि हुन थालेको हुनुपर्छ ।" फेरि मैले उनलाई सोधेँ, "तपाईंलाई के लाग्छ कति पटक गर्जिएको होला ?" उनले भने, "हामी त्यो भन्न सक्दैनौँ, किनकि हामीसँग कति पटक गर्जन भयो भनेर जान्ने कुनै तरिका छैन । तर, अवश्य एकपटक भन्दा बढी गर्जन भएको छ ।" त्यसपछि मैले भनेँ, "कुनैदिन तपाईंको अनुसन्धानले तपाईंलाई त्यहाँसम्म पुऱ्यायो भने, यसलाई मार्गदर्शन (गाइड) को रूपमा राख्नुहोस् । ८४ पटक गर्जन भएको छ ।” उनले सोधे, “तपाईंलाई यो कसरी थाहा भयो ? तपाईं केको आधारमा यो भनिरहनु भएको छ ?" मैले भनेँ, "मैले आफ्नो प्रणालीमा हेरेर यो कुरा भनेको हुँ । ८४ पटक गर्जन भएको छ अनि अझै गर्जन भइरहने छ, अझ धेरै पटक ।" सबैभन्दा बढी ११२ पटकसम्म गर्जन हुनेछ । अन्तिम पटक गर्जन भएपछि, त्यहाँ न त शुरुवात हुन्छ, न अन्त्य— त्यो शाश्वत सृष्टि हुनेछ, अर्थात् त्यो निरन्तर फैलिरहने छ ।

त्यो निकै टाढा छ, तर मैले उनलाई भनें, "तपाईं ८४ लाई कुनै प्रकारको दिशा–निर्देशको रूपमा लिनुहोस् । तपाईंसँग उपकरणहरू र गणित छ, तपाईंले धेरै कुरा सिक्नुभएको छ । तपाईं यसमा काम गर्नुहोस् र कुनैदिन यदि तपाईं कुनै संख्यामा आइपुग्नुभयो भने त्यो संख्या ८४ हुनेछ ।” उनले सोधे, "यो कसरी सम्भव छ ?" मैले भनेँ, "यदि तपाईंले काटिएको रूख लिनुभयो भने, मानिसहरूले रूखमा भएको चक्रहरू हेरेर बितेको हजार वर्षमा सुख्खा परेको, अत्यधिक वर्षा भएको वा आगलागी भएको कुराहरू वर्णन गर्दछन् । त्यसैगरी, यदि तपाईंले आफ्नो जागरूकताले यो मानव प्रणालीलाई छिचोल्नुभयो भने, यो सृष्टिको सम्पूर्ण इतिहास यसमा लेखिएको छ । यो सृष्टि ८४ पटक गर्जिएको छ ।"

तपाईं अहिले ८४ औँ सृष्टिमा रहनुभएको कारण तपाईंको प्रणालीमा ८४ वटा चक्रहरू छन्, जुन निश्चित प्रकृतिका छन् । अत: योगमा ८४ वटा मूलभूत आसनहरू रहेको छ । ११२ वटा विभिन्न प्रकारका ध्यानहरू छन्, तर ८४ वटा मूल आसनहरू छन् ।

यो ८४ औँ चक्र हो अनि यो प्रक्रिया ११२ सम्म जारी रहनेछ । समग्र रूपमा सृष्टि केवल ११२ पटक घटित हुन सक्दछ । बाँकी दुई अभौतिक हुन्छन् । ११२ वटा सृष्टिहरू भौतिक प्रकृतिका हुनेछन् । अन्तिम दुई शाश्वत सृष्टिहरू हुनेछन् । यसको मतलब ११२ पछि, ११३ औँ पटकको सृष्टि आंशिक रूपमा भौतिक हुनेछ, पूर्णतया भौतिक अवस्थामा रहँदैन । त्यसपछि, ११४ औँ सृष्टि पूर्ण रूपमा अभौतिक सृष्टि हुनेछ, शून्य हुनेछ, जुन यतिखेर अ–व्यक्त वा अ–प्रकट छ । यो शून्यता सम्भव भएसम्म सबैभन्दा सूक्ष्म रूपमा स्वत: प्रकट हुनेछ । योग पद्धतिमा यही भनिएको छ । शिव ८४ पटक गर्जिएका छन् र ११२ पटकसम्म गर्जिने छन् । त्यसपछि उनी गर्जिने छैनन् । उनी बाहिरिने छन् । यसको मतलब शून्यता नै ब्रह्माण्ड हुनेछ । त्यो भौतिक अस्तित्व हुनेछैन ।

यसैको आधारमा, तपाईं अहिले ८४ औँ सृष्टिमा रहनुभएको कारण तपाईंको प्रणालीमा ८४ वटा चक्रहरू छन्, जुन निश्चित प्रकृतिका छन् । अत: योगमा ८४ वटा मूलभूत आसनहरू रहेको छ । ११२ वटा विभिन्न प्रकारका ध्यानहरू छन्, तर ८४ वटा मूल आसनहरू छन्, किनकि यी ८४ आसनहरू हाम्रो अतीतको स्मृतिसँग सम्बन्धित छन् । बाँकी भविष्य हो ।

८४ सृष्टिहरू मध्ये, ८३ वटा भइसकेका छन् र यो ८४ औँ सृष्टि अझै भइरहेको छ । साथै, जसैजसै सृजनाको प्रक्रिया चलिरहेको छ, विलय पनि भइरहेको छ । केही सृष्टिहरू विलिन भइरहेका छन् भने केही विलिन भइसकेका छन् । यी ८४ सृष्टिहरू मध्ये, २० वटा अझै पनि विभिन्न स्तरहरू विलिन भइरहेका छन्, जबकि बाँकी पूर्णतया हराइसकेका छन् । तपाईं अहिलेको सृष्टिलाई आफ्नो जागरूकता वा चेतनतामा हेरेर मात्र तिनलाई देख्न सक्नुहुन्छ, किनभने कुनै न कुनै रूपमा तिनका अवशेषहरू वा अनुभूतिहरू अहिलेको सृष्टिमा समाहित छन् ।

तपाईंले गर्ने हरेक कार्यमा आफ्नो जीवनका अनुभवहरू मिसिएर आउँछन्— त्यसैगरी, सृष्टिको प्रक्रियामा समेत विगतका हरेक सृष्टिको अनुभूति एउटाबाट अर्कोमा गर्दै समाहित भएको हुन्छ, यद्यपि ती पूर्णतया भिन्न–भिन्न हुन सक्छन् ।

सृष्टि को कर्म

तपाईंले गर्ने हरेक कार्यमा आफ्नो जीवनका अनुभवहरू मिसिएर आउँछन्— त्यसैगरी, सृष्टिको प्रक्रियामा समेत विगतका हरेक सृष्टिको अनुभूति एउटाबाट अर्कोमा गर्दै समाहित भएको हुन्छ, यद्यपि ती पूर्णतया भिन्न–भिन्न हुन सक्छन् । मानौँ, तपाईं २५ वर्षअघि स्कुलमा फुटबल खेल्नुहुन्थ्यो । अहिले तपाईं ४५ वर्षको हुनुहुन्छ अनि अचानक एकदिन तपाईंको घरभित्र चोर घुस्यो । त्यतिबेला तपाईं उसलाई फुटबल हिर्काए जसरी लात हान्नुहुनेछ, कराते किक वा कलरीपायट्टु किक वा अन्य रूपमा होइन । किनभने, तपाईंले विगतमा जसरी फुटबल खेल्नुहुन्थ्यो, त्यो अहिले पूर्ण रूपमा बिर्सिनुभयो भनेपनि, तपाईंको प्रणालीमा त्यसको अनुभव अझै पनि रहेको हुन्छ र त्यो एक्कासी अभिव्यक्त हुन्छ ।

तपाईंले जम्मा तीन महिनाको लागि फुटबल खेल्नुभएको हुन सक्छ, तर त्यो अनुभवको केही अंश अझैपनि तपाईंभित्र रहेको हुन्छ अनि त्यो पूर्णतया फरक समयमा असम्बन्धित स्थानमा व्यक्त हुन सक्दछ । यही रूपमा तपाईं हरेक पल अघि बढिरहनु भएको हुन्छ । यसैलाई हामीले कर्म भनेका हौँ ।

जब तपाईं अतीतलाई भविष्य बन्न दिनुहुन्छ, तपाईंमा कुनै नयाँ सम्भावना हुँदैन— वास्तवमा तपाईंको निम्ति भविष्य नै हुँदैन, किनकि त्यही कुरा दोहोरिरहने छ ।

हामी यहाँ व्यक्तिगत कर्मको कुरा गरिरहेका छौँ । तर, ब्रह्माण्डको कर्म पनि हुन्छ । सृष्टिको आफ्नै कर्म हुन्छ, किनकि सृष्टि आफैँमा कर्म हो । सृष्टिको प्रक्रिया पनि कर्म हो । त्यस कर्मको अवशेष सदैव अर्को चरण वा अर्को स्तरको सृष्टिमा गइरहेको हुन्छ ।

यसरी अहिलेसम्म ८३ वटा सृष्टिहरू घटित भइसकेका छन् र ८४ औँ चलिरहेको छ । पुरानाहरू मध्ये थुप्रै पूर्ण रूपमा विलिन भइसकेका छन् । ती अर्को सृष्टिमा अनुभूतिको छापको रूपमा मात्रै रहेका छन्, तर तिनको जीवित अस्तित्व छैन । तर, अघिल्ला २० वटा सृष्टिहरू विभिन्न स्तरहरूमा जीवित छन् । केही अति नै अस्पष्ट भएका छन्, केही थोरै सशक्त छन्, केही अझ बढी प्रबल छन् अनि केही अहिलेको सृष्टि जत्तिकै वास्तविक छन् । तर, ती विलिन हुने प्रक्रियामा छन्, अर्थात् तिनमा सृष्टिको प्रक्रिया सक्रिय रूपमा भइरहेको छैन ।

८४ सृष्टिहरू

जब तपाईं बच्चा हुनुहुन्थ्यो, मानौँ तपाईंको शरीरमा एक वर्षमा एक खर्ब कोषिकाहरू उत्पादन हुन्थ्यो । तपाईं ३५ वर्षको हुँदा, त्यो सङ्ख्या कम हुन्छ । तपाईं ४५ वर्षको हुँदा, त्यो अझै कम हुन्छ । तपाईं ५५ वर्षको हुँदा, यो अझ बढी कम हुन्छ; तपाईं ७५ वर्षको हुँदा, यो अझै बढी कम हुन्छ । यस्तो समय आउँछ, जहाँ कोषिकाहरू जन्म हुने तुलनामा कोषिकाहरू मर्ने सङ्ख्या बढी हुन्छ । यसरी नै वृद्धावस्था हुने गर्दछ । ठीक यही प्रक्रिया सृष्टिको सन्दर्भमा समेत लागू भइरहेको हुन्छ ।

केवल २१ वटा सृष्टिहरूको कुनै न कुनै प्रकारको अस्तित्व छ । बाँकी ६३ वटा सृष्टिहरू पूर्ण रूपमा मेटिएका छन् । तपाईं तिनलाई कहीँ पनि देख्न सक्नुहुन्न, तर तिनलाई आफ्नै प्रणालीभित्र स्मृतिका छापहरूको रूपमा देख्न सक्नुहुन्छ, किनकि त्यो छाप र त्यो अनुभूति अझै पनि यहाँ रहेको छ ।

विलयको प्रक्रिया जतिबेला पनि भइरहेको हुन्छ । यस सृष्टिमा पनि विलयको प्रक्रिया चलिरहेको छ, तर साथसाथै नयाँ सृजना पनि सोही रूपमा भइरहेको हुनाले यो सृष्टि जीवन्त छ । त्यसैले यो सक्रिय छ । जब सृष्टि क्षीण हुन थाल्छ अनि त्यसको प्रक्रिया केही समयको लागि रोकिन्छ, तब विलयको प्रक्रिया शुरु हुन्छ अनि केही समयपछि केवल स्मृतिका छापहरू बाँकी रहन्छन्, त्यसको जीवित अस्तित्व रहँदैन । यस सन्दर्भमा, केवल २१ वटा सृष्टिहरूको कुनै न कुनै प्रकारको अस्तित्व छ । बाँकी ६३ वटा सृष्टिहरू पूर्ण रूपमा मेटिएका छन् । तपाईं तिनलाई कहीँ पनि देख्न सक्नुहुन्न, तर तिनलाई आफ्नै प्रणालीभित्र स्मृतिका छापहरूको रूपमा देख्न सक्नुहुन्छ, किनकि त्यो छाप र त्यो अनुभूति अझै पनि यहाँ रहेको छ ।

यो सृष्टि वास्तविक छ । बाकीँ सृष्टिहरू सक्रिय रूपमा विलिन भइरहेका छन् । अहिलेको सृष्टिमा, दुईवटा पक्षहरू छन्— पहिलो भौतिकता, जसले सम्पूर्ण कुराको स्मृति (स्मरण) बोकेको छ । अर्को पक्ष सृष्टिको स्रोत हो, जुन भविष्यको आधार समेत हो । जब तपाईं आफ्नो अतीतलाई भविष्य बन्न दिनुहुन्छ, हामी तपाईंलाई हेर्छौँ र भन्छौँ, "यो तपाईंको कर्म हो ।" यसको अर्थ, तपाईं आफ्नो अतीतलाई भविष्य बन्ने अनुमति दिइरहनु भएको छ । जब तपाईं अतीतलाई भविष्य बन्न दिनुहुन्छ, तपाईंमा कुनै नयाँ सम्भावना हुँदैन— वास्तवमा तपाईंको निम्ति भविष्य नै हुँदैन, किनकि त्यही कुरा दोहोरिरहने छ ।

आध्यात्मिक मार्गमा हुनुको अर्थ

तपाईं जन्मेको क्षण नै तपाईंले आफ्नो मृत्युको पहिलो पाइला चालिसक्नु भयो, यो अझै जारी छ— कुरा यत्ति हो कि तपाईं यसलाई पूरा हुन दिन पर्खिँदै हुनुहुन्छ वा तपाईं यसलाई पर धकेल्न चाहनुहुन्छ, तर यो पहिल्यै शुरु भइसकेको छ अनि अझै भइरहेको छ ।

जब तपाईं भन्नुहुन्छ, "म आध्यात्मिक मार्गमा हिँड्दै छु", एक स्तरमा तपाईं यो भन्दै हुनुहुन्छ कि तपाईं आफ्नो अतीतलाई भविष्यको रूपमा दोहोऱ्याउन चाहनुहुन्न, तपाईं यो चाहनुहुन्छ कि तपाईंको जीवन अगाडि बढोस् । तपाईं चक्रमै फसिरहन चाहनुहुन्न । "यो तपाईंको कर्म हो" भन्नुको अर्थ "तपाईं कहीँ पनि पुग्नुहुन्न", किनकि तपाईं चक्रमा घुमिरहँदा पनि तपाईंलाई त्यो नयाँ यात्रा हो भन्न भान हुन्छ । तर, त्यो नयाँ यात्रा लाग्नुको कारण यत्ति हो कि तपाईंको स्मरण कमजोर छ !

सबैजनामा एक स्तरको डिमेन्सिया (बिर्सिने रोग) छ । उनीहरूलाई आमाको गर्भमा रहनुभन्दा पहिला के थियो भनेर थाहा छैन । त्यसैले, हरेक पटक त्यही प्रक्रियाबाट जाँदा समेत त्यो नयाँ लाग्दछ । यो ट्रेडमिलमा हिँड्नु जस्तै हो । यस्तो महसुस हुन्छ कि तपाईं कहीँकतै पुग्दै हुनुहुन्छ, तर वास्तवमा तपाईं कहीँकतै पुग्नुहुन्न— यही कर्म हो ।

सृष्टिका दुईवटा आयामहरू छन्— एउटा भइसकेको छ, अर्को भइरहेको छ । ८३ वटा सृष्टिहरू भइसकेका छन् । यदि यसलाई सङ्ख्यामा भन्ने हो भने, ८३ औँ सृष्टि भइसकेको छ, तर केही अवशेषहरू अझै भइरहेका छन् । जस्तै कि: तपाईंको जन्म भइसकेको छ, तर यो अझै भइरहेको छ । तपाईंको मृत्यु पनि भइसकेको छ, तर यो अझै भइरहेको छ । तपाईंको मृत्यु हुने निश्चित छ, यो शुरु भइसकेको छ । तपाईं जन्मेको क्षण नै तपाईंले आफ्नो मृत्युको पहिलो पाइला चालिसक्नु भयो, यो अझै जारी छ— कुरा यत्ति हो कि तपाईं यसलाई पूरा हुन दिन पर्खिँदै हुनुहुन्छ वा तपाईं यसलाई पर धकेल्न चाहनुहुन्छ, तर यो पहिल्यै शुरु भइसकेको छ अनि अझै भइरहेको छ ।

तपाईंभित्र अर्को आयाम छ, जसको न त जन्म भएको छ, न मृत्यु हुनेछ । यदि तपाईंले त्यस आयामलाई स्पर्श गर्नुभयो भनेमात्र, तपाईंको निम्ति भविष्य हुनेछ, अन्यथा तपाईंसँग केवल कर्म हुनेछ । कर्म अर्थात् तपाईंले आफ्नो अतीतलाई भविष्यको रूपमा दोहोऱ्याउँदै हुनुहुन्छ । सायद तपाईंले रङ्ग फेर्नुभएको हुन सक्छ, तपाईंले आफ्नो तरिका वा शैली बदल्नुभएको हुन सक्छ, तर यी सबै त्यही कुरा हुन्, यसमा केही पनि फरक छैन । तपाईं अझैपनि त्यही गर्दै हुनुहुन्छ, जुन वन–मान्छेहरूले गर्दथे ।

साधना— ८४ सृष्टिहरूको स्मृति शुद्ध गर्न

सम्पूर्ण आध्यात्मिक साधनाको ध्येय यही हो: तपाईं मुक्त हुन चाहनुहुन्छ । मुक्त हुनुको मतलब त्यसलाई बिर्सिनु भन्ने होइन, तर तपाईं आफूलाई वशमा पार्ने स्मृतिहरूबाट मुक्त हुन जरूरी छ ।

यो स्मृति अङ्कुश जस्तै हो । तपाईंले अङ्कुश हालेर आफ्नो डुङ्गा चलाउने कोशिस गर्नुभयो भने, बढीमा बढी त्यो गोल–गोल मात्र घुम्न सक्दछ । आध्यात्मिक साधना मार्फत हामी त्यो अङ्कुश हटाउन खोजिरहेका हुन्छौँ, त्यो अङ्कुशमा बाँध्ने डोरी काट्न खोजिरहेका हुन्छौँ, ताकि जब हामी ऊर्जा भर्छौँ, डुङ्गा अगाडि बढोस् ।

सम्पूर्ण आध्यात्मिक साधनाको ध्येय यही हो: तपाईं मुक्त हुन चाहनुहुन्छ । मुक्त हुनुको मतलब त्यसलाई बिर्सिनु भन्ने होइन, तर तपाईं आफूलाई वशमा पार्ने स्मृतिहरूबाट मुक्त हुन जरूरी छ । स्मृति तपाईंको दिमागमा मात्रै हुँदैन । तपाईंको शरीरका प्रत्येक कोषिकामा स्मरण रहेको हुन्छ । वंशाणुको विज्ञान र यस्तै अन्य कुराहरूको आधारमा यो कुरा स्पष्ट छ कि तपाईंले आफ्ना पूर्खाहरूको स्मृति बोकिरहनु भएको छ अनि तपाईं अझैपनि उनीहरू जस्तै व्यवहार गर्दै हुनुहुन्छ !

शरीरमा यस्ता थुप्रै पक्षहरू छन्, जसबाट यो स्पष्ट हुन्छ कि यी ८४ सृष्टिहरूको स्मृति अझैपनि तपाईंको शरीरमा छन् । यो स्मृति अस्तित्वको हरेक परमाणुमा समेत रहेको छ । तपाईं यसलाई स्मृतिबाट मुक्त गर्न चाहनुहुन्छ, किनकि यही स्मृतिले तपाईंलाई कसैसँग सम्बन्धित भएको महसुस गराउँछ, तर साथसाथै यही स्मृतिले तपाईंलाई बन्धनमा पार्दछ— यसले तपाईंलाई अघि बढ्न दिँदैन । जब तपाईं साधना गर्नुहुन्छ, तपाईं सबैथोक काट्ने कोशिस गर्दै हुनुहुन्छ । किनभने, आफूलाई बाँध्ने अङ्कुश नकाटी तपाईं अगाडि बढ्न सक्नुहुन्न ।

तपाईं स्मृतिलाई उपयोग गर्न चाहनुहुन्छ, तर आफ्नो स्मृतिबाट प्रयोग हुन चाहनुहुन्न— यही आध्यात्मिक साधना हो । तपाईं आफ्नो निम्ति यस्तो भविष्य चाहनुहुन्छ, जुन तपाईंको अतीत भन्दा पूर्णतया फरक हुनेछ ।

वास्तवमा, स्मृतिकै कारण तपाईंको शरीर अहिलेको स्वरूपमा सङ्गठित भएको छ, तपाईंको यो ढाँचा वा बनावट सम्भव भएको छ । स्मृतिबिना यो शरीर निर्माण हुन सक्ने थिएन । तपाईंभित्र एक कोषिय जीवको स्मृति नभएको भए, विकासक्रमको प्रक्रियाद्वारा ती सम्पूर्ण जानकारीहरू सञ्चित नभएको भए, यो शरीर अहिलेको आकारमा सङ्गठित हुन सक्दैनथ्यो ।

अत: स्मृति तपाईंको शत्रु होइन, कुरा यत्ति हो कि यसलाई कसरी सञ्चालन गर्ने भनेर तपाईंलाई थाहा छैन । तपाईं यसमै फस्नुभएको छ, यही मुख्य समस्या हो । अब तपाईं यसबाट बाहिर निस्किन चाहनुहुन्छ । तपाईं स्मृतिलाई उपयोग गर्न चाहनुहुन्छ, तर आफ्नो स्मृतिबाट प्रयोग हुन चाहनुहुन्न— यही आध्यात्मिक साधना हो । तपाईं आफ्नो निम्ति यस्तो भविष्य चाहनुहुन्छ, जुन तपाईंको अतीत भन्दा पूर्णतया फरक हुनेछ ।

Editor's Note:  Peek into the mystical side of life with Of Mystics and Mistakes. – an essential book for any spiritual seeker.

Orion Nebula from Wikipedia