महाशिवरात्रि— ’एक रात शिवको साथ’ शृङ्खलाको यो भागमा सद्‌गुरु यक्षको आवश्यकता, सार्थकता अनि महत्त्वको बारेमा बताउँदै हुनुहुन्छ ।


शास्त्रीय सङ्गीत

सद्‌गुरुः तपाईं जवान भएको बेला, तपाईंको शरीर स्वाभाविक रूपमा प्रबल हुन्छ । जब म जवान थिएँ, भलै मेरा मातापिताले शास्त्रीय सङ्गीतप्रति निकै रुचि राख्नु भए तापनि, म त्यसलाई पूरै घृणा गर्थेँ— म त्यसलाई सहनै सक्दिनथेँ । मलाई पाश्चात्य सङ्गीतमा रुचि थियो ! मैले कहिल्यै शास्त्रीय सङ्गीत सुन्नेतर्फ ध्यान समेत दिइनँ । उहाँहरूले शास्त्रीय धुन बजाउने बित्तिकै, म कोठाबाट बाहिर निस्किन्थेँ ।

तर, जसै म ध्यानमा बस्न सुरु गरेँ, एकाएक शास्त्रीय सङ्गीत नै मेरो लागि वास्तवमा सङ्गीत बन्यो । जुन सङ्गीतलाई म सहनै सक्दिनथेँ, म चूपचाप बस्नासाथ तुरुन्तै त्यसलाई सुन्न चाहन्थेँ । जब म आफूभित्र मौन भएँ, तब ध्वनिप्रतिको मेरो पूरै दृष्टिकोण बदलियो । अचानक भारतीय शास्त्रीय सङ्गीत मेरो लागि यति महत्त्वपूर्ण भयो कि त्यो जहाँजहाँ बजिरहेको हुन्थ्यो, म जसरी पनि त्यसलाई सुन्नको लागि त्यहाँ पुग्थेँ । अरू सम्पूर्ण गीत–सङ्गीतहरू मेरो दिमागबाट आफैँ हरायो । शास्त्रीय सङ्गीतको सन्दर्भमा, ध्वनिको सही उच्चारण र ध्यानको बिचमा एकदमै गहिरो सम्बन्ध हुन्छ ।

 

ध्वनिसँग एकाकार

सद्‌गुरुः जब तपाईं शास्त्रीय सङ्गीत सुन्नुहुन्छ, तपाईं सङ्गीत मात्र सुनिरहनु भएको हुँदैन, तपाईं स्वयं सङ्गीत बन्नुहुन्छ । यदि तपाईं स्वयं सङ्गीत बन्नुभयो भने, मृदङ्ग केवल मृदङ्ग रहँदैन, तार केवल तार रहँदैन, आवाज केवल आवाज रहँदैन— किनकि, जसलाई तपाईं ध्वनि भन्नुहुन्छ वा ध्वनिहरूको एउटा निश्चित संरचना भन्नुहुन्छ, त्यो वास्तवमा अस्तित्वको प्रारूप (प्रारम्भिक रूपरेखा) जस्तै हो ।

शरीरको लय हृदयको धड्कनमा मात्रै हुँदैन । शरीरको प्रत्येक रेसाको आफ्नै धुन हुन्छ । त्यसैले, केवल यत्तिकै सुन्ने र सराहना गर्ने नगर्नुहोस् । सृष्टि प्रकट हुने प्रक्रियामा ध्वनि र स्वरूप छिमेकी जस्तै हुन् । तपाईंलाई यो भनिने गरिन्छ कि आफ्नो छिमेकीलाई प्रेम गर्नुपर्छ ! प्रेम अर्थात् जसोतसो कुनै चीजसित सम्मिलित हुनु वा घुलमिल हुनु । तपाईं ध्वनिमा घुलिइनु पर्छ, यत्तिकै सुन्ने मात्रै होइन— किनकि जे ध्वनि हो, र जे तपाईंको भौतिक स्वरूप हो, यी दुई फरक-फरक चीजहरू होइनन् ।

 

धीर र शान्त हुने माध्यम

सद्‌गुरुः म चाहन्छु कि तपाईं यसलाई अपनाउनु होस् । यसको लागि तपाईं सङ्गीतकार हुनपर्छ भन्ने छैन । आफूमा भएजति शक्ति लगाएर एकदमै चिच्याउनु होस् । तपाईंले देख्नुहुनेछ कि जुन क्षण तपाईं रोकिनुहुन्छ, तब यस्तो हुन्छ कि एक क्षणको लागि मात्र तपाईंभित्र सबैथोक स्थिर हुन्छ, अनि त्यो फेरि हराउँछ । तर, यदि तपाईंले यत्तिकै चिच्याउनु भयो भने, तपाईंले महसुस गर्नुहुनेछ कि तपाईंभित्र सबैथोक एउटा लय वा तालमेलमा आउँदछ ।

त्यसैले, शास्त्रीय कलाहरूको उद्देश्य भनेकै मानिसभित्र यो स्थिरता (निश्चलता) ल्याउनु हो— पूर्णतया स्थिरता ! योबिना कला सम्भव नै हुँदैन । स्थिरता नहुने हो भने सही अर्थमा कला व्यक्त हुनै सक्दैन ।

कला, मनोरञ्जन मात्रै होइन !

सद्‌गुरुः संसारमा सम्भवतः अरू साधनको तुलनामा सङ्गीतले गर्दा बढी मानिसहरूमा भावना प्रबल हुन्छ र हर्षको आँशु बग्दछ । अस्तित्वको फरक-फरक रूपहरू अनि मानिसको स्वरबाट उत्पन्न हुने फरक-फरक ध्वनिहरू को सही समीकरण बनाउन सक्नुभयो भने— अर्थात्, यदि तपाईंले रूप र ध्वनिमा सही तालमेल स्थापित गर्नुभयो भने— तपाईं सृष्टिलाई छलेर जानुहुन्छ अनि सृष्टिको स्रोतलाई स्पर्श गर्नुहुन्छ । यसैकारण, दिव्यलाई स्पर्श गर्नका लागि साधनाको रूपमा सङ्गीत निकै सशक्त साधन भएको हो । सचेत भएर वा अनजानमा, यसलाई कैयौँ रूपहरूमा प्रयोग गरिएको छ । तर, अधिकांश समय यसलाई केवल मनोरञ्जनको साधनको रूपमा प्रयोग गरिन्छ, सृष्टिको पहुँचमा पुग्ने साँचोको रूपमा होइन । यथार्थमा, मानिसले आफूलाई कुनै पनि क्रियाकलापमा यसकारण संलग्न गर्दछ, किनकि उसमा त्यो कार्यले उसलाई जीवनको विशाल हिस्सासम्म पुऱ्याउनेछ भन्ने आशा वा अपेक्षा हुन्छ ।

यदि तपाईंले एक प्रकारको ध्वनि सुन्नुभयो भने, तपाईं मायालु वा स्नेही बन्नुहुन्छ; अर्को प्रकारको ध्वनि सुन्नुभयो भने, तपाईं खुसीले भरिनुहुन्छ अनि एउटा निश्चित ध्वनि सुन्दा तपाईं आक्रामक बन्नुहुन्छ । यस्तो हुने गर्छ, होइन त ? ध्वनिहरूले भावनाहरू सृजना गर्ने मात्र नभई, तपाईंको शरीरको रसायनलाई नै परिवर्तन गरिरहेका हुन्छन् । तसर्थ, तपाईं जुन प्रकारका ध्वनिहरू सुन्नुहुन्छ, अनि जस्तो किसिमको ध्वनि आफूभित्र उत्पन्न गर्नुहुन्छ, त्यसले तपाईंमाथि विभिन्न प्रभावहरू पार्दछ । शास्त्रीय सङ्गीतमा, कुन ध्वनिले कस्तो प्रभाव पार्दछ भनेर गणितीय रूपमा सटीक हुने हदसम्म पहिचान गरिएको छ । शास्त्रीय सङ्गीतले यस्ता कैयाैँ दिग्गजहरू जन्माएको छ, जसले यस कुरालाई अनुभवद्वारा जानेका छन् ।

कलाकारहरूको भूमिका

सद्‌गुरुः वर्षमा एकपटक हामी यो साङ्गीतिक उत्सव 'यक्ष' आयोजना गर्दछौँ । यसमा देशभरिका सर्वश्रेष्ठ सङ्गीतकारहरूलाई आमन्त्रण गरिन्छ । यदि तपाईंले अघिल्लो पुस्ताका सर्वश्रेष्ठ सङ्गीतकारहरू हेर्नुभयो भने, त्यस पछिका पुस्ताका सङ्गीतकारहरूमा त्यस हदसम्मको गहिराइ भेटिँदैन । थुप्रै मानिसहरू व्यवसायिक कलामा लागेका छन् । यस्ता निकै कम मानिसहरू छन्, जो एउटा विशेष कलाको स्वरूप वा ढाँचा विकास गर्नको निम्ति आफ्नो जीवन र समय खर्च गर्नमा इच्छुक छन् ।

तथापि, अहिलेका शास्त्रीय सङ्गीतकारहरू, नर्तकहरू अनि अन्य कलाकारहरूले यो बुझ्नुपर्छ कि उनीहरूले सङ्गीत र कलाका स्वरूपहरूलाई आम मानिसहरूका लागि सहज बनाउनै पर्छ । यो एकदमै महत्त्वपूर्ण छ । यदि तपाईं कुनै साङ्गीतिक समारोह ( वा कन्सर्ट) मा जानुभयो भने, सङ्गीतकार यत्तिकै आएर बस्छन्, “बो नानाना तारानानाना" गर्दै अलिकति गाउँछन्, अनि त्यहाँबाट जान्छन् । यो उचित तरिका होइन ।

तपाईंले मानिसहरूलाई कलाको प्रेमी बनाउनु पर्दछ । श्रोताहरू वा दर्शकहरू बिना कुनै पनि कला जीवित रहन सक्दैन, हैन त ? यो एकदमै जरूरी छ कि जो मानिसहरू तपाईंलाई सुन्न आएका हुन्छन्, तपाईं उनीहरूप्रति प्रेमभाव व्यक्त गर्नुहोस् । तपाईं उनीहरूसँग कुरा गर्नुहोस्, तपाईं जे गाउन जाँदै हुनुहुन्छ त्यसबारे उनीहरूलाई बुझाउनु होस्, उनीहरूलाई समेत संलग्न गराउनुहोस्, अनि त्यसपछि बल्ल गाउन सुरु गर्नुहोस् । सङ्गीत वास्तवमा तपाईंको बारेमा होइन । यसैकारण, यो एकदमै महत्त्वपूर्ण छ कि कलाकारहरूले आफूलाई उच्च ओहदामा राखेर गाउने प्रयास गर्नुहुँदैन । तपाईंहरू पनि दर्शक-श्रोताहरूमाझ रहनुपर्छ, अरू मानिसहरूले बुझ्ने गरी गाउनु पर्दछ— तर, कलाको स्वरूपमा सम्झौता नगरिकन ! यो एकदमै सम्भव छ, होइन र ?

यसकै हिस्साको रूपमा, हामी वर्षको एकपटक सङ्गीतमय महोत्सव मनाउँछौ । निकै उच्च दर्जाका सङ्गीतकारहरू उत्सवमा सर्वश्रेष्ठ सङ्गीतकारहरू आउनुहुन्छ अनि डेढ घण्टासम्म गाउनुहुन्छ । साथै, हामी यस्तो अवसर समेत प्रदान गरिरहेका छौँ, जहाँ उदयीमान कलाकारहरू समेत आएर लगभग २० मिनेट सम्म गाउन सक्नुहुन्छ ।

Pt. Shivkumar Sharma, from Wikipedia

 

यस अघिका यक्ष प्रस्तुतिहरू

https://www.youtube.com/watch?v=v1rziNHzAfg https://youtu.be/OoRjrQpa5VA https://youtu.be/14fRdeO43HU