योगको मूल मार्गहरू

योगमा चारवटा मूल मार्गहरू छन्ः ज्ञान, भक्ति, कर्म र क्रिया योग । हामीले जुनसुकै योग गरे तापनि, ती मूलतः चारवटा मार्गहरू अन्तर्गत पर्दछन् । योग कति प्रकारका हुन्छन् भन्ने प्रश्नको जवाफ दिने क्रममा, योगी एवं दिव्यदर्शी, सद्‌गुरु योगको पथमा अघि बढ्नको निम्ति यी चारैवटाको सही मिश्रण हुनु अपरिहार्य छ भन्ने कुरा बताउँदै हुनुहुन्छ ।
योगको मूल मार्गहरू
 

प्रश्नः सद्‌गुरु, योगका यति धेरै प्रकारहरू छन् । म यो कसरी जानूँ कि कुन योग मेरो लागि सबैभन्दा उत्तम हो ?


सद्‌गुरुः यतिखेर, तपाईं आफ्नो शरीर, आफ्नो मन र आफ्ना भावनाहरूलाई मात्रै अनुभव गर्न सकिरहनु भएको छ । तपाईंलाई केही हदसम्म यिनको बारेमा थाहा छ, अनि तपाईं यो अनुमान लगाउन सक्नुहुन्छ कि यी कुराहरू जुन तरिकाले काम गरिरहेका छन्, त्यसो हुनको लागि पक्कै पनि ऊर्जाले काम गरिरहेको हुनुपर्छ । ऊर्जा नहुने हो भने, यी सबैथोक हुन सक्दैनन् । तपाईंहरूमध्ये केहीले ऊर्जालाई अनुभव गर्नुभएको पनि हुन सक्छ । अरूहरूले यो सजिलै अड्कल लगाउन सक्छन् कि शरीर, मन र भावनाहरूले काम गर्नका लागि त्यसको पछाडि ऊर्जा हुनैपर्छ । उदाहरणको लागि, माइकबाट बोलदा आवाज ठूलो हुन्छ । यदि तपाईंलाई माइकको बारेमा केही थाहा छैन भनेपनि, तपाईं यो अड्कल गर्न सक्नुहुन्छ कि यसलाई कुनै चीजले चलाइरहेको छ ।

चारवटा पक्षहरूका निम्ति योगका चारवटा मार्गहरू

शरीर, मन, भावना र ऊर्जा नै तपाईंको जीवनका वास्तविक पक्षहरू हुन् । तपाईं आफूमाथि जे–जति गर्न चाहनुहुन्छ, ती यिनै चार स्तरहरूमा गरिनुपर्छ । तपाईं जे‐जति गर्न चाहनुहन्छ, तपाईं तिनलाई आफ्नो शरीर, आफ्नो मन, आफ्ना भावनाहरू र आफ्नो ऊर्जाको सहायताले मात्र गर्न सक्नुहुन्छ । यदि तपाईंले आफ्नो बुद्धिको प्रयोग गरी परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, त्यसलाई ज्ञान-योग भनिन्छ । यदि तपाईंले आफ्ना भावनाहरूको प्रयोग गरी परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, हामी त्यसलाई भक्ति-योग भन्छौँ । यदि तपाईंले आफ्नो शरीरको प्रयोग गरेर वा कुनै शारीरिक काम गरेर परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, हामी त्यसलाई कर्म-योग भन्छौँ । यदि तपाईंले आफ्नो भित्री ऊर्जालाई रूपान्तरित गरेर परम प्रकृतिसम्म पुग्ने प्रयास गर्नुभयो भने, त्यसलाई क्रिया-योग भनिन्छ ।

तपाईंको जीवनमा केवल चारवटा वास्तविक पक्षहरू छन्— शरीर, मन, भावना र ऊर्जा । तपाईं आफूभित्र जे–जति गर्न चाहनुहुन्छ, त्यो यिनै चारवटा तहहरूमा गर्न सकिन्छ ।

केवल यिनै चार तरिकाहरू छन्ः कर्म, ज्ञान, भक्ति वा क्रिया— अर्थात् शरीर, मन, भावना वा ऊर्जाको प्रयोग गरेर नै कहीँकतै पुग्न सकिन्छ । "हैन, हैन म त आस्थाको मार्गमा छु । मैले अरू केही पनि गर्नुपर्दैन ।" त्यस्तो कुनै कुरा हुँदैन । किनकि, कोही पनि केवल दिमाग, केवल हृदय, केवल हातहरू वा केवल ऊर्जाहरू हुँदैनन् । यी मध्ये कुन चाहिँ रोजूँ भन्ने कुनै विकल्प हुँदैन, किनभने तपाईं यी सबैथोकको मिश्रित रूप हो । तपाईं यी चारवटै पक्षलाई सही अनुपातमा प्रयोग गर्न सक्नुहुन्छ । कुरा यत्ति हो कि एउटा व्यक्तिमा दिमाग प्रबल हुन सक्छ, अर्को व्यक्तिमा उसको हृदय प्रबल हुन सक्छ, जबकि अर्कोमा हातहरू प्रबल हुन सक्छन् । यसलाई सही अनुपातमा मिश्रण गरियो भनेमात्र, यसले तपाईंको लागि उत्तम ढङ्गले काम गर्दछ । एउटा व्यक्तिको लागि जुन मिश्रणले काम गर्दछ, त्यसले तपाईंको लागि राम्रोसँग काम नगर्न सक्छ । यसैकारण, आध्यात्मिक मार्गमा जीवित गुरु हुनु अत्यन्तै महत्त्वपूर्ण मानिन्छ, किनकि गुरुले तपाईंको लागि सही अनुपातमा मिश्रण बनाउँछन्— अन्यथा त्यसले सही ढङ्गले काम गर्दैन ।

चारवटै मार्गहरूको मिश्रण

अधिकांश मानिसहरूको सन्दर्भमा हेर्ने हो भने, यी आयामहरू छुट्टाछुट्टै दिशामा गइरहेका हुन्छन् । तपाईंको मन एउटा तरिकाले सोच्ने र महसुस गर्ने गरिरहेको छ, तपाईंको भौतिक शरीर अर्कोतिर हिँडिरहेको छ, तपाईंको ऊर्जा अर्कै बाटोतर्फ लागिरहेको छ ।

योगमा एउटा सुन्दर कथा छ । एकदिन चारजना व्यक्तिहरू जङ्गलमा हिँडिरहेका थिए । पहिलो ज्ञान–योगी थियो, दोस्रो भक्त–योगी, तेस्रो कर्म–योगी अनि चौथो क्रिया–योगी थियो ।

साधारणतया, यी चार व्यक्तिहरू कहिल्यै सँगसँगै रहन सक्दैनन् । ज्ञान योगी अरू सबैथरीको योगलाई पूरै तिरस्कारको नजरले हेर्दछ । ऊ बुद्धिको प्रयोग गरेर योगमा पुग्न चाहन्छ । अनि, सामान्यतया एउटा बुद्धिजीविले अरू सबैलाई तुच्छ दृष्टिले हेर्ने गर्छ, विशेषगरी ती भक्तालु किसिमका मानिसहरूलाई, जो जतिबेला पनि माथितर्फ हेर्दै भगवानको नाम जपिरहन्छन् । उसको नजरमा ती सबै मूर्खहरूको जमात हो ।

तर, भक्त योगी सोच्दछ कि— ज्ञान, कर्म र क्रिया— यी सबै मार्गहरू समयको नाश मात्र हो । ऊ ती सबैप्रति दया गर्दछ, जो यति सरल कुरा बुझ्न सक्दैनन्: जब भगवान नै यहाँ छन् भने, हामीले गर्नुपर्ने भनेको उनको हात समातेर पूरै भरोसा गरी अघि बढ्ने हो । उसलाई दिमाग घुमाउने दर्शनहरू, र हड्डी बङ्ग्याउने योग फजुल लाग्दछ । भक्तको लागि भगवान यहीँ छन्, किनकि भगवान सर्वत्र छन् ।

कर्म योगी काम गर्नुपर्छ भन्ने सोच्दछ । उसलाई अरू सबै योगीहरू आफ्नै मनगढन्ते दर्शनमा अल्झिएका अल्छीहरू हुन् भन्ने लाग्छ ।

तर, क्रिया योगी अहंकार र तिरस्कारले पूरै भरिएको हुन्छ । ऊ सबैप्रति खिस्याएर हाँस्छ । के अरूहरूलाई यति पनि थाहा छैन कि अस्तित्व एउटा ऊर्जा मात्र हो ? ऊ यो सोच्छ कि चाहे हामी भगवानको कामना गरौँ वा अरू जुनसुकै चीजको, हामीले आफ्नो ऊर्जालाई रूपान्तरण नगरुन्जेल केही पनि हुन सक्दैन । कसैगरी पनि रूपान्तरण सम्भव हुँदैन ।

साधारणतया, यी चार व्यक्तिहरू मिल्नै सक्दैनन् । तर, संयोगवश त्यसदिन उनीहरू एकैसाथ जङ्गलमा हिँडिरहेका थिए । अकस्मात्, आँधीबेरी आयो र त्यसले उग्र रूप लिँदै गयो । मुसलधारे वर्षात हुन थाल्यो । निथ्रुक्कै भिजेका चारै योगीहरू हतासमा जोगिने ठाउँको खोजीमा दौडिन थाले ।

भक्ति योगीले भन्यो, ″त्यहाँ एउटा प्राचीन मन्दिर छ । त्यतै जाऔँ ।″ (भक्त भएकोले ऊ मन्दिरहरूको भौगोलिक स्थितिबारे राम्रोसँग परिचित थियो ।)

उनीहरू त्यतैतिर दौडिए । उनीहरू प्राचीन मन्दिर भएको स्थानमा आइपुगे । मन्दिरका सबै भित्ताहरू निकै अगाडि भत्किसकेका थिए, छत र चारवटा खम्बा मात्र बचेका थिए । उनीहरू हुत्तिँदै मन्दिरभित्र पसे— भगवानप्रतिको प्रेमले होइन, मुसल्धारे वर्षा छल्नको लागि मात्र ।

मन्दिरको बिच भागमा देवताको मूर्ति थियो । उनीहरू त्यसतर्फ दौडिए । वर्षातले जताततैबाट चुट्न थाल्यो । अन्त जाने कुनै ठाउँ नभएकोले उनीहरू नजिक अनि अझ नजिक सर्दै गए । अन्ततः कुनै विकल्प बाँकी नभएपछि उनीहरू थचक्क बसे अनि मूर्तिलाई अङ्कमाल गरे ।

यी चारै जनाले त्यस मूर्तिलाई अङ्कमाल गर्नेबित्तिकै, अचानक भगवान प्रकट भए ।

ती सबैको दिमागमा एउटै प्रश्न उब्जियोः आखिर किन यतिखेर ? उनीहरूले आश्चर्यचकित भावमा सोधे, “हामीले थुप्रै सूक्ष्म र रहस्मय दर्शनहरू खोज्यौँ, सम्भव भएसम्म साना-ठूला सबै तिर्थस्थलहरूमा पूजा आराधना गऱ्यौँ, निःस्वार्थ भावले मानिसहरूको सेवा गऱ्यौँ, शरीर नाश गर्ने किसिमको कठोर तपस्या गऱ्यौँ, त्यसबेला त तपाईं कहिल्यै प्रकट हुनुभएन । अहिले, हामी यो मुसल्धारे वर्षा छल्नको लागि मात्रै यहाँ के आएका थियौँ, तपाईंले आफ्नो दर्शन दिनुभयो । आखिर यसबेला किन ?”

भगवान बोले, “अन्ततः चारैजना मूर्खहरू एकसाथ आयौ !”

यदि यी सबै आयामहरू सँगसँगै हिडेनन् भने, मनुष्य आफैँमा अस्तव्यस्त बन्दछ । अहिले, अधिकांश मानिसहरूको सन्दर्भमा हेर्ने हो भने, यी आयामहरू छुट्टाछुट्टै दिशामा गइरहेका हुन्छन् । तपाईंको मन एउटा तरिकाले सोच्ने र महसुस गर्ने गरिरहेको छ, तपाईंको भौतिक शरीर अर्कोतिर हिँडिरहेको छ, तपाईंको ऊर्जा अर्कै बाटोतर्फ लागिरहेको छ । वास्तवमा, योग भनेको यिनै तीन आयामहरूलाई एउटा सङ्गति वा लयमा ल्याउने विज्ञान हो ।

योग— परम मिलन

“योग” को शाब्दिक अर्थ “मिलन” हो । तपाईं जब चैतन्यमा सबैथोकलाई एउटा ऊर्जाको रूपमा अनुभव गर्नुहुन्छ, तब तपाईं योगमा रहनुहुन्छ ।

तपाईंहरूमध्ये थुप्रैका लागि योग भनेको सम्भवतः कठिन आसनहरूमा बटारिनु भन्ने हुन सक्छ । तर, हामी त्यसलाई इङ्गित गरिरहेका छैनौँ । योग भनेको उत्तम तालमेल वा सङ्गतिमा रहनु हो । । जब तपाईं योगमा रहनुहुन्छ, तपाईंको शरिर, मन, ऊर्जा अनि यो अस्तित्वबिच पूर्णत: तालमेल हुन्छ । जब तपाईंको शरीर र मन आरामपूर्ण स्थितिमा हुन्छन, आनन्दको अवस्थामा रहन्छन्, तब तपाईं यस्ता थुप्रै रोगहरूबाट छुटकारा पाउन सक्नुहुन्छ, जसले निरन्तर कष्ट दिइरहन्छन् । उदाहरणको लागि तपाईं लगातार टाउको दुखिरहेको अवस्थामा अफिस जानुभयो । टाउको दुख्नु कुनै ठूलो रोग होइन, यद्यपि त्यो झनझनाहटले गर्दा तपाईंको कामप्रतिको उत्साह र सायद त्यसदिनको आफ्नो क्षमतामा ह्रास आउन सक्छ । तर, योगको अभ्यासले आफ्नो शरीर र मन दुवैलाई सम्भव भएसम्मको उच्चतम शिखरमा राख्न सकिन्छ ।

“योग” को शाब्दिक अर्थ “मिलन” हो । तपाईं जब चैतन्यमा सबैथोकलाई एउटा ऊर्जाको रूपमा अनुभव गर्नुहुन्छ, तब तपाईं योगमा रहनुहुन्छ । आफूभित्र त्यो एकत्वलाई प्राप्त गर्नको लागि अनेक तरिकाहरू छन् । उदाहरणको लागि हठ–योग । हठ–योग मा तपाईं आफ्नो शरीरबाट शुरु गर्नुहुन्छ । शरीरको आफ्नै प्रवृत्ति हुन्छ, आफ्नै दम्भ हुन्छ, आफ्नै प्रकृति हुन्छ । तपाईंको मनबाहेक शरीरको पनि आफ्नै दम्भ हुन्छ ! मानौँ कि तपाईंले यो सोच बनाउनुभयो, “भोलिदेखि म बिहानै ५ बजे उठेर हिँड्न जान्छु” । तपाईं अलार्म लगाएर सुत्न जानुहुन्छ । भोलि बिहान अलार्म बज्छ । तपाईं उठ्न चाहनुहुन्छ, तर तपाईंको शरीरले “ह्याँ, चुप लागेर सुत्” भन्छ । यसको आफ्नै स्वभाव हुन्छ ।

योगको समग्र प्रक्रिया भनेको यही होः तपाईं जेजति जान्नुहुन्छ, त्यसबाट एउटा पाइला चालेर एकदमै अन्जान आयाममा जानु हो । योगको विज्ञान लगभग भौतिक विज्ञान जस्तै छ ।

त्यसैले, हामी शरीरबाट शुरु गर्छाैँ । हठ–योग भनेको शरीरसँग काम गर्ने, शरीरलाई अनुशासित गर्ने, शुद्ध गर्ने अनि उच्च स्तरका ऊर्जाहरू ग्रहण गर्नको निम्ति शरीरलाई तयारी गर्ने माध्यम हो । हामी सबै मानव हौँ अनि यतिखेर हामी सबै जीवित छौँ, तैपनि हामी सबैले जीवनलाई त्यही गहिराइमा र त्यही प्रखर रूपमा अनुभव गरिरहेका हुँदैनौँ, किनकि हाम्रा प्राण ऊर्जाहरू उस्तै हुँदैनन् । भिन्न‐भिन्न मानिसहरूले जीवनलाई भिन्दाभिन्दै स्तरको तीव्रतामा अनुभव गर्छन् ।

उदाहरणको लागि, कसैले रूख देख्यो । रूख केवल रूख न हो । तर, अधिकांश मानिसहरूले देख्दा पनि देख्दैनन् । कसैले भने त्यही रूखलाई विस्तृत रूपमा देख्दछ । कुनै चित्रकारले त्यसको एकएक पत्र देख्छन् । तर, कसैले भने रूख मात्र नभई रूखमा उपस्थित दिव्यता नै देखिरहेको हुन्छ । सबैको हेराइ एउटै हुँदैन, किनभने तपाईं जीवनलाई जति गहन र प्रखर रूपमा अनुभव गर्नुहुन्छ, त्यो पनि एउटै हुँदैन ।

चारवटै मार्गहरूको संयोजन अपरिहार्य

शुरुमा तपाईं आफ्नो शरीरसँग काम गर्नुहुन्छ, अनि श्वासमा काम गर्नुहुन्छ, अनि मनमा, त्यसपछि आफ्नो भित्री आयाममा काम गर्नुहुन्छ । सबै पक्षहरूलाई अत्यन्तै सन्तुलित तरिकाले एकैपटक एउटा एकाइको रूपमा सम्बोधन गरिनु अपरिहार्य छ ।

योगको समग्र प्रक्रिया भनेको यही हो: तपाईं जे–जति जान्नुहुन्छ, त्यसबाट एउटा पाइला चालेर एकदमै अन्जान आयाममा जानु हो । योगको विज्ञान लगभग भौतिक विज्ञान जस्तै छ । जस्तै कि: यदि तपाईंले दुई भाग हाईड्रोजन र एक भाग अक्सिजन मिसाउनुभयो भने, त्यसबाट पानी बन्दछ । यदि महान् वैज्ञानिकले मिसाउने हो भनेपनि, त्यसबाट पानी निस्कन्छ, अनि यदि एक मुर्खले मिसाए भनेपनि, त्यसबाट पानी नै निस्कन्छ । त्यसैगरी, योगमा समेत यही लागू हुन्छ— चाहे कुनै महान् योगीले गरून् वा कुनै अज्ञानी व्यक्तिले, यसले केही फरक पार्दैन । यदि उचित तरिकाले अभ्यास र साधना गर्ने हो भने, यसको प्रतिफल स्पष्ट रूपमा देखिन्छ ।

योगमा केही पद्धतिहरू निर्धारित गरिएका छन् । शुरुमा तपाईं आफ्नो शरीरसँग काम गर्नुहुन्छ, अनि श्वासमा काम गर्नुहुन्छ, अनि मनमा, त्यसपछि आफ्नो भित्री आयाममा काम गर्नुहुन्छ । यसरी थुप्रै चरणहरू बनाइएका छन् । वास्तवमा, योगमा विभिन्न प्रकारहरू हुँदैनन्, बरु यसका विभिन्न पक्षहरू वा आयामहरू हुन्छन् । खासमा भन्नुपर्दा, हामी ती सबैलाई एकैसाथ सम्बोधन गर्दछौँ । सबै पक्षहरूलाई अत्यन्तै सन्तुलित तरिकाले एकैपटक एउटा एकाइको रूपमा सम्बोधन गरिनु अपरिहार्य छ । अत: योग यी सबैको समजोड हो ।

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com