#१ आँखा बन्द रहनुपर्छ

सद्‌गुरु: मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू बन्द गर्नुहुन्छ, पूरै संसार बिलाउँछ— यदि तपाईंले आफ्नो दिमागमा आफ्नै काल्पनिक संसार निर्माण गर्नुभएको छ भने, त्यो बेग्लै कुरा हो ! यदि कुनै पनि कुरालाई आफूभित्र समाहित गर्नुपर्ने छ भने, आँखाहरू स्वत: बन्द हुन्छन्, किनकि आँखाले हामीलाई बाहिरी संसारमा तल्लिन राख्छन् । यदि तपाईंले आँखा बन्द गर्नुभयो भने, तपाईं अझैपनि सुन्न, सुँघ्न र महसुस गर्न सक्नुहुन्छ, तर आधा संसार बन्द भएको हुन्छ । अतः आँखाहरू बन्द रहेको बेलामा नै कुनै पनि कुरालाई आफूभित्र समाहित गर्ने प्रक्रिया सबैभन्दा उत्तम हुन्छ । जब तपाईं योग–आसनको अभ्यास गर्नुहुन्छ, तब तपाईं भित्री आयाममा केही गर्न चाहिरहनु भएको हुन्छ, त्यसैले आँखा बन्द राख्नु अपरिहार्य छ ।

#२ पेट खाली हुनुपर्छ

योग–आसनहरूको अभ्यास गर्ने क्रममा तपाईंको पेट त खाली हुनुपर्छ नै, साथसाथै आन्द्राहरू पनि खाली रहनुपर्छ । यदि तपाईं आफ्ना ऊर्जाहरूलाई माथितर्फ प्रवाहित गर्न चाहनुहुन्छ भने, ती सबैथोक शरीरबाट बाहिरिएको हुनुपर्छ, जुन यो शरीर होइन । योग अभ्यासहरू व्यायाम होइनन्, यो तपाईंको शरीरलाई पुनर्गठन गर्ने अनि आफूले चाहेअनुसार नै आफूलाई पुन: निर्माण गर्ने विधि हो । त्यसो हुन दिनको लागि शरीरबाहेक अरू केहि पनि रहनुहुँदैन ।

योगमा हुनु भनेको स्वयं सृष्टिकर्तासँग साझेदारीमा हुनु हो— तपाईं सम्पूर्णतया आफ्नै प्रयत्नले त्यसो गर्न सक्नुहुन्न; तर, तपाईं उनलाई आवश्यक काम गर्न दिनको लागि उचित परिवेश सृजना गर्न सक्नुहुन्छ । जब तपाईंलाई पहिलो पटक निर्माण गरिएको थियो, त्यो तपाईंको रोजाइले भएको थिएन; त्यो वंशाणुगत स्मृतिको कारणले भएको थियो । तर, अब तपाईं आफूलाई एकएक चरण गर्दै पुन: निर्माण गर्न खोजिरहनु भएको हुन्छ— तपाईं जस्तो बन्न चाहनुहुन्छ, ठीक त्यस्तै नै ।

सृष्टिको स्रोतसँग साझेदारीमा रहनु भनेको विशाल बुद्धिमत्तासँग मिसिनु हो— यस्तो बुद्धिमत्ता, जुन तपाईंले सम्भव छ भनेर कल्पना समेत गर्न सक्नुहुन्न । यदि यस्तो हुनुपर्ने हो भने, कुनै पनि अवरोधहरू हुनुहुँदैन— तपाईंले खानुभएको खाना वा तपाईंको शरीरले उत्पादन गरेको मल, यी दुवै शरीरबाट बाहिरिनुपर्छ ।

#३ चिसो पानीले नुहाउनु उत्तम

आफ्नो अभ्यास शुरु गर्नुअघि कोठाको तापक्रमभन्दा ५-६ डिग्री कम तापक्रमको पानीमा डुबुल्की लगाउनु वा शरीरमा पानी खन्याउनु सबैभन्दा उचित हुन्छ । यदि तपाईंले यसो गर्नुभयो भने, छालाका कोषिकाहरूबिच हुने छिद्रहरू खुल्दछन्, जुन योग–अभ्यासको निम्ति अपरिहार्य हुन्छ, किनकि हामी शरीरमा रहेका कोषिकाहरूको संरचनालाई एकदमै फरक आयामको ऊर्जाले भरिपूर्ण बनाउन चाहिरहेका हुन्छौँ । एकजना व्यक्तिको दाँजोमा अर्को व्यक्ति असाध्यै जीवन्त देखिनुको कारण पनि यही हो । जब कोषिकाहरूको संरचना ऊर्जाले भरिपूर्ण हुन्छ, यो निकै लामो समयसम्म ऊर्जावान् रहिरहन्छ ।

#४ सुखम् स्थिरम् आसनम्

योग सुत्रमा भनिएको छ: सुखम् स्थिरम् आसनम् । योग–आसनहरूको अभ्यास गर्नुको अभिप्राय भनेको यस्तो अवस्थामा पुग्नु हो, जहाँ तपाईंको आसन आरामदायक र स्थिर हुन्छ । त्यस अवस्थामा तपाईं जतिसुकै घण्टा बस्नुभयो भनेपनि, भित्र कुनै पनि खलबली नपुऱ्याइकन तपाईंको शरीर त्यही स्थितिमा रहिरहन्छ । र, यही अवस्थामा तपाईंको बोध–क्षमता बढदै जान्छ ।

योग दैनिक रूपमा गरिनुपर्छ वा हप्तामा दुईपटक गरिनुपर्छ भन्ने विषय महत्त्वपूर्ण होइन । हामी शरीरलाई यस प्रकारले परिष्कृत गर्न चाहिरहेका हुन्छौँ, ताकि नयाँ आकार दिन सकौँ । तसर्थ, आफूमाथि आवश्यक कार्य गर्नको लागि तपाईंसँग जति समय छ, तपाईंले त्यति समय यसमा समर्पित गर्नुपर्छ ।

शरीर केवल माटो हो । तपाईंका कर्महरूको संरचनाले यसलाई पकाउँछ अनि यो ठोस बन्दछ । यसरी स्थापित भएको स्मृतिलाई नै कर्म भनिन्छ । त्यही स्मृतिको भण्डारले गर्दा नै शरीर र मनको स्तरमा हुने कुराहरू ठोस बन्दै जान्छन् । हामी त्यसैलाई उल्ट्याउने प्रयास गरिरहेका हुन्छौँ । योग–आसनहरू गर्नुको ध्येय के हो भने, तपाईं शरीरसँग यति गहिराइमा काम गर्नुहुन्छ कि केही समयपछि यो पुन: काँचो माटो जस्तै रहनेछ । त्यसबेला, ऊर्जाहरू सजिलै गतिशील हुने भएकाले तपाईं यसलाई आफूले चाहेको आकार दिन सक्नुहुन्छ ।

#५ ऐना हेर्नु र सङ्गीत सुन्नु हानिकारक

तपाईंले हठ–योग अभ्यास गर्दा कहिल्यै पनि ऐना वा सङ्गीतको प्रयोग गर्नुहुँदैन । ऐनाको प्रयोग गर्ने प्रचलन जिम्न्यासियम (जिम) बाट आएको हो, किनकि उनीहरू आफ्ना शरीरको प्रशंसा गर्न चाहन्छन् । योगमा त्यस्तो मनोवृत्ति पटक्कै हुनहुँदैन । यदि तपाईंले थुप्रै योगीहरूलाई हेर्नुभयो भने, उनीहरूको शारीरिक संरचना कुनै खेलाडीको जस्तो हुँदैन— उनीहरू एकदमै सामान्य देखिन्छन् । उनीहरूमध्ये थुप्रैको त पुट्ट भुँडी पनि निस्किए हुन्छ, किनकी उनीहरू कहिल्यै पनि आफूलाई ऐनामा हेर्दैनन् ! उनीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो भित्री आयाममा माथि अनि अझ माथि जानु हो ।

यदि तपाईं आफूभित्र रहेको सृष्टिको स्रोतको सहकार्य चाहनुहुन्छ भने, तपाईंको शरीर, मन र ऊर्जा पूर्णतया संलग्न हुन आवश्यक छ । जब तपाईं ऐनामा हेर्नुहुन्छ, के तपाईं आफूलाई मात्र हेर्नुहुन्छ ? होइन । तपाईं अरू सबैलाई हेर्नुहुन्छ, होइन त ? आसनको अभ्यास गर्ने क्रममा तपाईंको मानसिक ध्यान केन्द्रित हुनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।

प्राचीन योगको अभ्यास गर्नको लागि तपाईंको शरीर, मन, ऊर्जा अनि अन्तस्करण विशेष रूपमा संलग्न रहनुपर्छ । जबसम्म तपाईं शत–प्रतिशत रूपमा संलग्न रहनुहुन्न, त्यो जुन सृष्टिको स्रोत हो, जसलाई हामी प्राय: दिव्य भन्ने गर्छौँ, उनले तपाईंलाई साथ दिन सक्दैनन् । यदि तपाईं अलिकति पनि हिच्किच्याउनु भयो वा विचलित हुनुभयो भने, तपाईंको लागि दिव्यता उपलब्ध हुँदैनन् ।

#६ अभ्यास गर्दा बोल्नुहुँदैन

आसनहरूले ध्यानको अवस्थामा रहन सहायता गर्छन् । तपाईं यत्तिकै स्थिर भएर रहन नसक्नु भएकोले नै ध्यानको अवस्थामा पुग्नको लागि अरू केहीको सहायता लिइएको हो । जुन स्थिति सबैभन्दा आरामदायक र स्थिर हुन्छ, त्यही तपाईंको आसन हो । जब तपाईंको शरीर सहज स्थितिमा रहन्छ, तपाईंको मन पनि सहज अवस्थामा हुन्छ अनि तपाईंका ऊर्जाहरू पूरै जीवन्त एवं सन्तुलित हुन्छन् । त्यसबेला, तपाईं यत्तिकै बस्नुभयो भने, तपाईं स्वत: ध्यानको अवस्थामा पुग्नुहुन्छ । यत्तिकै स्वाभाविक रूपमै ध्यानमग्न रहनको लागि योग–आसन प्रारम्भिक चरण हो ।

तसर्थ, यदि तपाईं बोल्नुभयो भने, शरीरमा मात्रै नभई ऊर्जाहरूको स्तरमा पनि थुपै कुराहरू नाटकीय ढङ्गले बदलिन्छन् । त्यसैले, योग–आसनहरूको अभ्यास गरिरहेको बेला नबोल्नु भनेको मानक मात्रै होइन— यो नियम हो । कुनै पनि आसनमा रहँदा तपाईं कहिल्यै पनि बोल्नुहुँदैन, किनकि तपाईंको ध्यान, श्वास र तपाईंको ऊर्जा प्रणालीमा जे भइरहेको छ, यी सबैथोक अत्यन्तै महत्त्वपूर्ण हुन्छ—तपाईं बोल्नुभयो भने, पूरै प्रणाली खलबलिन्छ । यदि तपाईं बोल्न चाहनुहुन्छ भने, कृपया आसनहरूको अभ्यास नगर्नुहोस्— बरु अरूसँग हिँड्दै जगिङ्ग गर्नुहोस् !

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com

Looking for more articles on Classical Yoga? Check out our Classical Yoga Series.