सद्‌गुरुः पुण्याक्षी, अत्यन्तै ज्ञानी स्त्री र भविष्यदर्शी थिइन्, जो भारतीय उपमहाद्वीपको दक्षिणी किनारमा बस्थिन् । उनमा शिवलाई पाउने तीव्र चाहना उत्पन्न भयो, वा भनौँ कि उनलाई शिवसँग प्रेम भयो अनि आफू शिवकी अर्धाङ्गिनी बनेर उनको हात थाम्ने धोको राखिन् । उनले शिवबाहेक अरू कसैसँग पनि विवाह नगर्ने निधो गरिन् । त्यसैले, पुण्याक्षीले शिवको ध्यान आकर्षित गर्न आफूलाई लायक र उपयुक्त बनाउनेतर्फ काम शुरु गरिन् । उनी आफ्नो जीवनको प्रत्येक क्षण पूर्णतया शिवको ध्यानमा बिताउन थालिन्; उनको भक्तिले सबै सीमाहरू नाघ्यो अनि उनको तपस्या पागलपनको हदसम्म पुग्यो ।

तर, पुण्याक्षी जुन समाजमा बस्थिन्, त्यहाँका मानिसहरू चिन्तित भए । उनीहरूलाई लाग्यो कि यदि पुण्याक्षीले विवाह गरिन् भने, आफ्नो भविष्यवाणी गर्ने क्षमता गुमाउने छिन् र उनीहरूलाई मार्गदर्शन र रक्षा गर्नको निम्ति असमर्थ हुने छिन् ।

शिव करूणाले भरिए

उनको प्रेमको तीव्रता देखेर, शिव समेत प्रेम र करूणाले छचल्किए । उनको हृदयमा पनि प्रेमको भाव जाग्यो अनि पुण्याक्षीसँग विवाह गर्न इच्छुक भए । तर, पुण्याक्षी जुन समाजमा बस्थिन्, त्यहाँका मानिसहरू चिन्तित भए । उनीहरूलाई लाग्यो कि यदि पुण्याक्षीले विवाह गरिन् भने, आफ्नो भविष्यवाणी गर्ने क्षमता गुमाउने छिन् र उनीहरूलाई मार्गदर्शन र रक्षा गर्नको निम्ति असमर्थ हुने छिन् । त्यसैले, उनीहरूले यो विवाहलाई रोक्न सम्भव भएसम्म सबै प्रयास गरे । तर, शिवप्रति पुण्याक्षीको भक्ति र दृढतालाई कुनै पनि कुराले विचलित गर्न सकेन ।

शिवले पनि उनीप्रति करूणा देखाए, अनि उनीहरूको विवाहको मिति तोकियो । शिवले भारतको दक्षिणी छेउतर्फको यात्रा आरम्भ गरे । तर, पुण्याक्षीको समुदायका मानिसहरू यो विवाहको विरुद्धमा थिए । त्यसैले, उनीहरूले शिवसँग गुहार गरे, “हे शिव ! यदि तपाईंले उनीसँग विवाह गर्नुभयो भने, हाम्रो साथमा रहेकी एकमात्र ज्ञानी र पथ-प्रदर्शक व्यक्तिलाई  हामीले गुमाउनेछौँ । कृपया तपाईं पुण्याक्षीसँग विवाह नगर्नुहोस् ।" तर, शिव कसैको पनि कुरा सुन्ने पक्षमा थिएनन्, तसर्थ उनले विवाहको लागि आफ्नो यात्रा जारी राखे ।

पुण्याक्षीप्रति शिवको गहिरो प्रेम भाव थियो र उनी जसरी भए पनि उनीसँग विवाह गर्न चाहन्थे ।

समुदायका केही पाका मानिसहरूले उनलाई रोके अनि भने, “यदि तपाईं यी कन्यालाई आफ्नो बधू बनाउन चाहनुहुन्छ भने, तपाईंले केही सर्तहरू पूरा गर्नुपर्ने हुन्छ । तपाईंले हामीलाई वधूको मूल्य दिनुपर्ने हुन्छ ।"

शिवले भने, “वधू–मूल्य के हो ? त्यो जेसुकै भए पनि, म तिर्नेछु ।"

त्यसपछि, उनीहरूद्वारा शिवले बधूको मूल्यको रूपमा दिनुपर्ने तीनवटा चिजहरू बताइयो, “हामीलाई आँख्ला नभएको उखु, धर्साहरू नभएको पानको पात र आँखा नभएको नरिवल चाहिन्छ । तपाईंको निम्ति यिनै चीजहरू बधूको मूल्य हो ।" यी सबै चीजहरू अप्राकृतिक हुन् । उखुमा अवश्य आँख्ला हुन्छन्, धर्साहरू नभएको पानको पात हुँदैन अनि आँखा नभएको नरिवल हुनै सक्दैन । यो एउटा असम्भव बधू–मूल्य थियो, जुन विवाहलाई पक्का रोक्ने चाल थियो ।

तर, पुण्याक्षीप्रति शिवको गहिरो प्रेम भाव थियो र उनी जसरी भए पनि उनीसँग विवाह गर्न चाहन्थे । अतः उनले आफ्नो तान्त्रिक शक्ति र चमत्कारिक क्षमताहरूको प्रयोग गरे अनि प्रकृतिको नियमलाई तोडेर तीनवटै चीजहरू सृजना गरिदिए । उनले अन्यायपूर्ण र असम्भव बधू–मूल्य चुकाउनको लागि प्रकृतिका मूल नियमहरू नै तोडिदिए । आफूबाट माग गरिएका चीजहरू दिएपछि, उनी विवाहको लागि अगाडि बढे ।

कन्याकुमारी और शिव की कथा-5

तर फेरि, ती मानिसहरूले शिवसामु एउटा अन्तिम सर्त राखे । उनीहरूले भने, “भोलि बिहान सूर्य उदाउनुअघि नै तपाईंले विवाह गरिसक्नु पर्नेछ । यदि तपाईं ढिलो आउनुभयो भने, तपाईंले कन्यासँग विवाह गर्न पाउनु हुने छैन ।"

यो सुन्नेबित्तिकै, शिव निकै छिटो अगाडि बढ्न थाले । उनले द्रुत गतिमा यात्रा गर्न थाले— पुण्याक्षी भएको ठाउँमा समयमै पुग्छु भन्नेमा उनी विश्वस्त थिए । समुदायका ती पाका मानिसहरूले यो देखे कि उनीहरूले शिवको निम्ति तय गरेका सम्पूर्ण असम्भव सर्तहरूलाई शिवले पूरा गरिरहेका थिए अनि पुण्याक्षीलाई दिएको वाचा पूरा गर्न जाँदै थिए । उनीहरू निकै चिन्तित बने ।

शिव आफ्नो यात्रामा हतारिएर जाँदै थिए । उनी विवाह स्थलबाट केही किलोमिटर मात्र टाढा रहेको स्थानमा आइपुगे, जसलाई अहिले सुचिन्द्रम भनिन्छ । तब उनले सूर्य उदाउँदै गरेको देखे ! उनले विश्वास नै गर्न सकेनन् । उनी आफ्नो लक्ष्यमा असफल भएका थिए !

तर, यो वास्तवमा ती मानिसहरूको अन्तिम दाउ थियो; उनीहरूले एउटा नक्कली सुर्योदय देखाइदिने निधो गरेका थिए । उनीहरूले विशाल मात्रामा कपुर जम्मा गरेर थुप्रो बनाए अनि त्यसमा आगो लगाइदिए । कपुर दन्किएर बल्न थाल्यो अनि यस्तो रूप लियो कि शिवले त्यसलाई टाढैबाट हेर्दाखेरी, उनलाई सूर्य उदाइसकेको भान भयो अनि आफ्नो लक्ष्यमा असफल भएको आभास भयो । उनी एकदमै नजिक थिए— केही किलोमिटर मात्र पर थिए ! तर, उनलाई झुक्याइयो— समय बितिसकेको र पुण्याक्षीसँग गरेको वाचा पूरा गर्न नसकेको भ्रममा पारियो ।

कन्याकुमारी और शिव की कथा-6

 

पुण्याक्षीको क्रोधको पराकाष्ठा

पुण्याक्षी चाहिँ शिवसँगको भव्य विवाहको लागि तयारी गरिरहेकी थिइन्— उनको समुदायले विवाहलाई उजाड्नको लागि गरेका प्रयासहरूको बारेमा उनी पूरै अनभिज्ञ थिइन् । जब क्षितिजमा साँच्चिकै सुर्योदय भयो, तब उनलाई थाहा भयो कि शिव अझै आएका छैनन् । उनी रिसले चुर भइन् । उनले उत्सवको तयारीका लागि बनाइएको भोजन राखिएका माटाका भाँडाहरूलाई लात्ताले हानेर फुटाइदिइन्, अनि अति नै रिसाएको झोँकमा भूमिको छेउमा गएर उभिइन् । उनी एक सिद्ध योगिनी थिइन्, उनले यस उपमहाद्विपको अन्तिम छेउमा उभिएर आफ्नो शरीर त्यागिन् । आजसम्म पनि त्यो स्थानमा एउटा मन्दिर छ, जहाँ उनले आफ्नो शरीर त्यागेकी थिइन्— अहिले त्यस ठाउँलाई कन्याकुमारी भनिन्छ ।

पुण्याक्षी एक सिद्ध योगिनी थिइन्, उनले यस उपमहाद्विपको अन्तिम छेउमा उभिएर आफ्नो शरीर त्यागिन् ।

पुण्याक्षी

यता शिवलाई आफूसँग छल गरिएको हो भनेर थाहा थिएन । उनलाई लाग्यो कि उनले पुण्याक्षीसँग गरेको वाचा पूरा गर्न सकेनन्, जसकारण उनी आफैँसँग निकै खिन्न र निराश थिए । उनी पछाडि फर्किए अनि आएको बाटो फर्किन थाले । तर, आफूभित्र अझै क्रोध रहेको कारण, उनी कतै बसेर त्यसलाई शान्त पार्न चाहन्थे । अतः उनी वेल्लियनगिरि पहाडमा चढे अनि त्यसको टुप्पोतिर बसे । उनी परम–आनन्दको अवस्थामा वा ध्यानमा मग्न भएर बसिरहेका थिएनन् । उनी आफैँसँग खिन्न भएर, आफैँसँग रिसाएर त्यहाँ बसेका थिए । उनी त्यस स्थानमा लगभग तीन महिनाभन्दा बढी समयका लागि बसे । त्यो पहाडले उनको ऊर्जालाई आफूमा समाहित गऱ्यो, जसकारण अन्य कुनै पनि ठाउँको तुलनामा यो ठाउँ अत्यन्तै फरक छ ।

वेल्लियन्गिरि पर्वत— दक्षिणको कैलाश

परम्परादेखि नै, शिवले जुन ठाउँमा केही निश्चित समय बिताउँथे, त्यस ठाउँलाई कैलाश भन्ने गरिन्थ्यो । तसर्थ, यस पहाडलाई दक्षिणको कैलाश भन्ने गरिन्छ । उचाइ र रङ्गको दृष्ठिले अनि सम्भवतः आकारको हिसाबले वेल्लियनगिरि र हिमालयमा रहेको कैलाशलाई तुलना गर्न सकिँदैन, तर सामर्थ्य, सौन्दर्य र पवित्रताको दृष्टिकोणले यो पहाड पनि कम छैन । हजारौँ वर्षदेखि थुप्रै साधुहरू, योगीहरू र आध्यात्मिक गुरुहरूले यस पहाडमा आफ्नो पाइला राखेका छन् । वेल्लियनगिरिको पर्वत श्रेणीमा थुप्रै मात्रामा आध्यात्मिक कार्यहरू भएका छन् । थुप्रै महा–पुरुषहरूले यो पहाडमा पाइला चालेका छन्— यस्ता महान् पुरुषहरू, जसले यति गरिमा र अनुग्रहले जीवन बिताएका थिए कि स्वयं देवताहरूलाई पनि ईर्ष्या हुने थियो । यी महा–पुरुषहरूले आफूले जानेको सम्पूर्ण कुरालाई यो पर्वतमा छोडे, जसलाई यसले आत्मसात गऱ्यो— र, यो कहिल्यै हराउन सक्दैन ।

वेल्लियनगिरि

यो त्यही पर्वत हो, जहाँ मेरा गुरु स्वयं हिँड्नुभएको थियो, साथै त्यही स्थान हो, जहाँ उहाँले आफ्नो शरीर त्याग्नु भएको थियो । त्यसैले, यो हाम्रा निम्ति पहाड मात्रै होइन, यो हाम्रा निम्ति एउटा मन्दिर हो । यस पहाडमा जानकारीहरूको विशाल भण्डार छ । मलाई ध्यानलिङ्गको प्राण–प्रतिष्ठा गर्ने पूरै ज्ञान यहीँबाट प्राप्त भएको थियो ।

 

Editor’s Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw. The ebook is filled with rich graphics and pearls of wisdom from Sadhguru that reveal many virtually unknown aspects about the being we call Shiva. Encounter Shiva like never before!