शिवको उपस्थिति— पहिलो गुरुका पद चिन्ह

सद्‌गुरु, ती चार स्थानहरू— कैलाश, कान्तिसरोवर, काशी र वेल्लियनगिरि— को बारेमा बताउँदै हुनुहुन्छ, जहाँ शिवले आफ्नो अधिकांश समय बिताएका थिए । साथै, सद्‌गुरु हामीलाई ती स्थानहरूको शक्ति र उर्जाको बारेमा समेत बताउँदै हुनुहुन्छ । चित्रमा दिइएका विवरणहरू नुछुटाउनु होस् !
शिवको उपस्थिति— पहिलो गुरुका पद चिन्ह
 

 

 


सद्‌गुरु: योग परम्परामा, शिवलाई भगवानको रूपमा हेरिँदैन । उनले यस धरतीमा पाइला राखेका थिए । उनी योग परम्पराहरूको जनक वा स्रोत हुन् । उनी आदियोगी (पहिलो योगी) र आदिगुरु (पहिलो गुरु) हुन् । हिमालयमा अवस्थित केदारनाथबाट अलिकति दुरीमा रहेको कान्तिसरोवर तालको तटमा, योग विज्ञानहरूलाई पहिलो पटक सञ्चार गरिएको थियो । आदियोगीले, आफ्ना सातजना शिष्यहरूलाई क्रमबद्ध र व्यवस्थित तरिकाले यो भित्री तकनिकीलाई स्पष्ट र सविस्तारमा व्याख्या गरेका थिए । यिनै शिष्यहरूलाई यस संस्कृतिमा सप्तऋषिको रूपमा पुजिन्छ ।

कान्तिसरोवर— कृपाले भरिएको ताल

किंवदन्ती अनुसार, कान्तिसरोवरको किनारमा शिव–पार्वती निवास गर्दथे, अनि अरू थुपै योगीहरू केदारमा बसोबास गर्दथे । शिव–पार्वतीले ती योगीहरूलाई बेलामौकामा भेट्ने गर्थे । केही वर्षअघिसम्म, प्रत्येक वर्ष म एक–दुई महिनाको लागि एक्लै हिमालयमा जान्थेँ । सन् १९९४ मा म पहिलो पटक कान्तिसरोवर गएको थिएँ । कान्तिसरोवर त्यही ताल हो, जुन २०१३ को बाढीको समयमा उर्लिएर केदारसम्म आएको थियो । आज यसलाई गान्धी सरोवर भनिन्छ । यो यथार्थमा कान्तिसरोवर हो । कान्ति अर्थात् कृपा, सरोवर अर्थात् ताल । यो कृपाको ताल हो ।

जब म लामो यात्रापछि केदारमा पुगेँ, मैले कान्तिसरोवरको बारेमा सुनेँ । त्यसैले, एकदिन दिउँसो लगभग २–२:३० बजेतिर म त्यतातर्फ लागेँ अनि एक घण्टाभन्दा अलिकति बढी समयमा त्यहाँ पुगेँ । त्यहाँ ताल थियो, अनि वरिपरि हिमालहरू थिए । प्राकृतिक दृष्टिकोणले त्यो निकै सुन्दर र मनमोहक थियो— तालको जल पूर्णतया स्थिर भएको, छेउछाउमा कतै हरियाली नभएको अनि पूरै स्थिर तालमा हिमशृङ्खलाका प्रतिबिम्बहरू देखिएको— यो एउटा अद्‌भुत स्थान थियो ।

कान्तिसरोवरमा सद्‌गुरु

म यत्तिकै बसिरहेको थिएँ अनि त्यो ठाउँको शान्ति, मौनता र पवित्रता मेरो चेतनामा छायो । त्यहाँसम्मको चढाइ, त्यो उचाइ अनि त्यो ठाउँको निर्जन सुन्दरताले मलाई स्तब्ध बनाइदियो । त्यो निश्चलतामा, म एउटा सानो चट्टानमा बसेर चारैतिर आँखा डुलाउँदै आफ्नो वरिपरि भएका हरेक स्वरूपलाई हृदयङ्गम गर्न थालेँ । बिस्तारै–बिस्तारै सेरोफेरोका चिजहरूले आफ्नो आकार गुमाउँदै गए, अनि त्यहाँ केवल नाद (ध्वनि) रह्यो । त्यो पर्वत, त्यो ताल, सेरोफेरो अनि यहाँसम्म कि मेरो शरीर पनि आफ्नो सामान्य स्वरूपमा थिएनन् । सबैथोक केवल ध्वनि थियो । मभित्र एउटा भजन गुञ्जियोः ″नाद ब्रम्हा विश्व स्वरूपा″

नाद ब्रह्मा

नाद ब्रह्मा विश्वरूपा
नाद हि सकला जीवरूपा
नाद हि कर्म नाद हि धर्म
नाद हि बन्धन नाद हि मुक्ति
नाद हि शंकर नाद हि शक्ति
नादम् नादम् सर्वम् नादम्
नादम् नादम् नादम् नादम्

म यस्तो व्यक्ति हूँ, जो संस्कृत भाषा सिक्नबाट सधैँ पन्छिने गर्थेँ । भलै, मलाई त्यो भाषा निकै प्रिय लाग्छ अनि मलाई त्यो भाषाको गहिराइ थाहा छ, तर त्यो भाषा सिक्नबाट टाढै रहेँ । किनकि, तपाईं जुन क्षण संस्कृत पढ्नुहुन्छ, तपाईं निश्चि रूपमा शास्त्रहरू अध्ययन गर्न थाल्नुहुन्छ । मेरो अन्तर्दृष्टिले एक क्षणको लागि पनि मलाई कुनै कुरामा कहिल्यै धोका दिएको छैन, त्यसैले मैले आफूलाई ग्रन्थहरू, शास्त्रहरू र यी सबै परम्पराहरूबाट आफूलाई अस्तव्यस्त बनाउन चाहिनँ । त्यसैले, म संस्कृत भाषाबाट टाढै रहेँ ।

जब म त्यहाँ बसिरहेको थिएँ— निश्चय नै मेरो मुख बन्द थियो अनि आँखा खुला थियो— मैले एकाएक यो भजनलाई ठूलो आवाजमा सुनेँ, त्यो पनि आफ्नै स्वरमा ! यो भजन मेरो आवाजमा ठूलो स्वरमा गुञ्जिरहेको थियो, अनि त्यसमाथि त्यो संस्कृत भजन थियो ! मैले त्यसलाई एकदमै स्पष्ट रूपमा ठूलो आवाजमा सुनेको थिएँ, मानौँ पूरै हिमालहरूले गाइरहेका जस्तो । मेरो अनुभवमा सबैथोक ध्वनि बनेको थियो । र, त्यसैबेला मैले यो भजनलाई अनुभूति गरेँ । मैले न त त्यसलाई रचेको थिएँ, न त लेखेको नै— त्यो यत्तिकै ममा बर्सिएको थियो । पूरै भजन संस्कृतमा बाहिर आइरहेको थियो । त्यो अनुभव उद्वेलित गरिदिने किसिमको थियो ।

केही समयपछि, बिस्तारै–बिस्तारै सबैथोक आफ्नो पुरानै स्वरूपमा फर्किए । आफ्नो चेतनाबाट फर्किँदा— नाद बाट पुनः रूप मा फर्किँदा— मेरा आँखा आँसुले भरिएका थिए ।

यदि तपाईंले आफूलाई यो गीतमा पूरै डुबाउनु भयो भने, यसमा एक प्रकारको शक्ति महसुस गर्नुहुनेछ । यदि तपाईंले साँच्चिकै आफूलाई यसमा सुम्पिनुभयो भने, यसमा एउटा व्यक्तिलाई विलिन गर्ने सामर्थ्य छ ।

कैलाश— रहस्यमयी पर्वत

हिन्दू जीवनशैलीमा, यो भनिएको छ कि कैलाश शिवको निवास हो । यसको अर्थ उनी त्यहाँ शिखरमा नृत्य गरिरहेका छन् वा हिउँमा लुकेर बसिरहेका छन् भन्ने होइन । यसको आशय के हो भने, उनले जे–जति जानेका थिए, त्यसलाई त्यहाँ भण्डारन गरिदिए । आदियोगीले यो देखे कि सप्तऋषिहरूमध्ये प्रत्येकले ज्ञानको एउटा आयाम मात्रै ग्रहण गरेका थिए, तर योगका सातैवटा आयामहरू ग्रहण गर्न सक्ने सामर्थ्य भएको अर्को कोही मुनष्य फेला परेन । र त्यसैबेला, आफूले जानेको र अनुभव गरेको सबैथोक उनले कैलाश पर्वतमा भण्डारन वा जम्मा गर्ने निधो गरे, जसले गर्दा जीवनको यान्त्रिकीलाई जान्ने सातवटै आयामहरू एउटै स्थानमा र एउटै स्रोतमा सुरक्षित रूपमा भण्डारन गरिएको छ । कैलाश, यस धरतीको सबैभन्दा रहस्यमयी पुस्तकालय हो— एक जीवित पुस्तकालय; जानकारीहरूले भरिएको होइन, बरु जिवन्त छ !

कैलाशको दक्षिण–मुख

जब व्यक्तिले आफूलाई पूर्ण रूपमा जान्दछ वा आत्मज्ञान प्राप्त गर्दछ अनि उसको बोध सामान्य मानिएको स्तरभन्दा पर जान्छ, तब प्रायः के हुन्छ भने, उसले जे बोध गरेको हुन्छ, त्यसलाई वरपरका मानिसहरूमाझ सधैँ सञ्चारित गर्न सकिँदैन । त्यसको सानो अंशलाई सञ्चार गर्न सकिने सम्भावना हुन्छ । आफूलाई पूर्ण रूपमा सञ्चारित गर्नको लागि अर्को मानिस फेला पर्नु भनेको कुनै पनि गुरुका निम्ति निकै दुर्लभ कुरा हो ।

त, तपाईंले यी सबै कहाँ छोड्नुहुन्छ ? तपाईं यसलाई नष्ट हुन दिन चाहनुहुन्न । त्यसैले, हजारौँ वर्षदेखि प्रबुद्ध व्यक्तिहरूले सधैँ कैलाशसम्म यात्रा गरे अनि यो पर्वतलाई आधार बनाएर आफ्नो ज्ञानलाई एउटा विशेष ऊर्जा रूपमा त्यहाँ भण्डारन गरे । यही कारणले गर्दा, दक्षिण भारतको रहस्यविद्यामा सदैव यो भनिएको छ कि त्यस किसिमको रहस्यविद्या र आध्यात्मिकताको आधार रहेका अगस्त्यमुनि कैलाशको दक्षिणी भागमा निवास गर्छन् । बौद्ध धर्मावलम्बीहरू अनुसार, उनीहरूका तीनजना प्रमुख बुद्ध पुरुषहरू त्यस पर्वतमा बास गर्दछन् । जैन धर्मावलम्बीहरू अनुसार, उनीहरूका २४ तीर्थङ्करहरूमध्ये, पहिला तीर्थङ्कर कैलाशमा बास गर्छन् ।

एक आध्यात्मिक साधकको निम्ति, कैलाश पुग्नु भनेको यो धरतीको परम स्रोतलाई स्पर्श गर्नु जस्तै हो । जो रहस्यविद्याको खोजमा छन्, जो आध्यात्मिकताको खोजमा छन्— यो महत्त्वपूर्ण स्थान हो । यो जस्तो अरू कुनै स्थान नै छैन ।

वेल्लियनगिरि— दक्षिणको कैलाश

दक्षिण भारतमा हामी जुन स्थानमा रहेका छौँ, त्यसको नजिकै रहस्यविद्याको एउटा अर्को भण्डार छ— वेल्लियनगिरि पर्वत ! यसलाई दक्षिणको कैलाश पनि भनिन्छ । यो एउटा अद्‌भुत स्थान हो । ज्ञानको सबैभन्दा ठूलो भण्डार कैलाश हो । तर, दक्षिणका थुप्रै आध्यात्मिक गुरुहरू र योगीहरूले आफ्नो ज्ञान सङ्ग्रहित गर्नको लागि वेल्लियनगिरि पहाडको उपयोग गरेका थिए । ज्ञानको मात्राको सन्दर्भमा, एक पुस्तकालयको रूपमा कैलाशसँग अरू कुनै पनि चिजको तुलना गर्न सकिँदैन । तर, गुणको सन्दर्भमा वेल्लियनगिरि उत्तिकै गुणवान् छ ।

वेल्लियनगिरि पर्वत

यो पर्वतलाई सेभेन हिल्स अर्थात् सात–पहाडहरू भनेर समेत चिनिन्छ, किनकि तपाईं यो पहाड चढ्दाखेरी सातवटा उकाला–ओरालाहरू भेटिन्छन्, जसले तपाईंलाई यो महसुस गराउँछन् कि तपाईं सातवटा पहाडहरू चढ्दै हुनुहुन्छ । अन्तिम शिखरमा एकदमै जोडले हावा चल्दछ— त्यहाँ घाँसबाहेक अरू केही पनि उम्रिँदैन । यहाँ केवल तीनवटा विशाल चट्टानहरू छन्, जसले एकआपसमा मिलेर आश्रय जस्तो बनाएका छन्, जसले लगभग मन्दिरको आकार बनाएका छन् । यो एकदमै शक्तिशाली स्थान हो ।

यो पर्वतमा आउने योगी र सिद्ध पुरुष हरू एकदमै फरक किसिमका थिए— निकै उग्र र प्रचण्ड रूपका । यस्ता थुप्रै महापुरुषहरूले यो पर्वतमा पाइला राखेका छन्, जसलाई देखेर स्वयं देवताहरूले पनि ईर्ष्या गर्ने थिए किनकि उनीहरूले निकै ठूलो गरिमा र महानता अनि अनुग्रहले जीवन व्यतीत गरेका थिए । यी महापुरुषहरूले आफूले जानेको सम्पूर्ण कुरालाई यो पर्वतमा छोडे, जसलाई यसले आत्मसात गऱ्यो— र, यो कहिल्यै हराउन सक्दैन । यो त्यही पर्वत हो, जहाँ मेरा गुरुले पाइला राख्नुभएको थियो, साथै त्यही स्थान हो, जसलाई उहाँले आफ्नो शरीर त्याग्नको लागि रोज्नुभएको थियो । त्यसैले, यो हाम्रो निम्ति पर्वत मात्रै होइन, यो हाम्रो निम्ति एउटा मन्दिर हो ।

काशी— शाश्वत शहर

हजारौँ वर्षदेखि संसारैभरिका मानिसहरू काशीमा पुग्नको लागि यात्रा गरिरहेका छन् । गौतम बुद्धले आफ्नो पहिलो ज्ञान यहीँ दिएका थिए । बुद्धको आगमन भएपछि चीनियाँहरू पनि यहाँ आए । नालन्दा विश्वविद्यालय काशीबाट टप्किएको ज्ञानको एउटा सानो थोपा मात्रै हो— नालन्दा विश्वविद्यालयलाई शिक्षाको एउटा महान् संस्थान मानिएको छ । तपाईंले जो–जसका बारेमा सुन्नुभएको छ, जस्तै कि आर्यभट अनि अरू थुप्रै यस क्षेत्रबाटै आएका हुन् । यी सबै त्यस संस्कृतिबाट जन्मिएका थिए, जुन काशीमा जीवन्त थियो ।

जब योगीहरूले ब्रह्माण्डको प्रकृति नियाले— यो कसरी स्वयं आफैबाट प्रकट भइरहेको छ, अनि कसरी अनन्त रूपमा फैलिन सक्दछ भन्ने जस्ता कुराहरू नियाले— तब उनीहरू आफ्नै सृष्टि बनाउनको लागि लालायित भए । काशीमा, उनीहरूले शहरलाई नै उपकरणको रूपमा निर्माण गरे, जसले स्थूल र सूक्ष्म बिच एकत्व (एक हुनुको अवस्था) ल्याउँछ । यो जाबो मान्छेमा समेत ब्रह्माण्डसँग जोडिने अद्भुत सम्भावना रहेको हुन्छ, तथा ब्रह्माण्डसँग एक हुँदाको सुख, परम–आनन्द र सौन्दर्य जान्ने सम्भावना रहेको हुन्छ । ज्यामिति वा बनावटको दृष्टिकोणले, विशाल ब्रह्माण्ड र सूक्ष्म जगत् कसरी मिल्न सक्छन् भन्ने कुरा दर्शाउनको निम्ति काशी सटीक उदाहरण हो । यस भूमिमा यस्ता थुप्रै उपकरणहरू रहेका छन्, तर काशी जस्तो शहर निर्माण गर्ने महत्त्वकाङ्क्षा हुनको लागि पागलपन चाहिन्छ । र, यो काम उनीहरूले हजारौँ वर्ष पहिल्यै गरेर देखाए । त्यहाँ ७२,००० वटा तीर्थस्थानहरू थिए— मानव शरीरमा सोही सङ्ख्यामा नाडीहरू हुन्छन् । यसको समग्र प्रक्रिया यस्तो छ कि मानौँ ज्यादै ठूलो मानव शरीर निर्माण गरिएको छ, ताकि विशाल ब्रह्माण्डिय शरीरसँग सम्पर्क बनाउन सकियोस् । यही कारणले गर्दा, यो परम्पराको सुरुवात भएको होः "यदि तपाईं काशी जानुभयो भने, त्यो नै सबैथोक हो ।" तपाईं त्यहाँ गएपछि त्यो स्थानलाई छोड्न चाहनुहुन्न, किनकि एकपटक जब तपाईं ब्रह्माण्डिय प्रकृतिसँग जोडिनुहुन्छ, तपाईं किन कतै अन्त जान चाहनुहुन्छ र ?

 

काशीको बारेमा रहेको किंवदन्ती शत प्रतिशत यसैमा आधारित छ कि शिव स्वयं यहाँ बास गर्दथे । उनी जाडोयाममा यहाँ आउने गर्थे । यसबारे रहेको कथामा के भनिएको छ भने, उनले एकपछि अर्को गर्दै मान्छेहरूलाई काशी पठाए, तर कोही पनि फर्किएनन्, किनकि यो शहर निकै मनमोहक र अद्‌भुत थियो । तर, सायद कथाले के भनिरहेको हुन सक्छ भने, उनले मानिसहरूलाई यो शहर निर्माण गर्न पठाए, जसमा ती मानिसहरूलाई निकै समय लाग्यो । शहरको निर्माण कार्य पूरा भएपछि, जब शिव यहाँ आए, उनलाई काशी यति मन पऱ्यो कि उनले त्यहीँ बस्ने निधो गरे ।

पछिल्ला केही शताब्दीहरूमा, काशीलाई तीन पटक पूर्ण रूपमा ध्वस्त गरिएको थियो । त्यसको कति हिस्सा जीवन्त छ भन्ने कुरामा सन्देह छ, तर निश्चय पनि केही अझै जीवन्त छ— त्यो पूर्ण रूपमा नष्ट भएको छैन । यो हाम्रो दुर्भाग्य हो कि काशी पूर्ण रूपमा जीवन्त भएको बेला हामी यहाँ थिएनौँ ! पक्कै पनि यो अत्यन्तै अद्‌भुत र भव्य शहर रहेको हुनुपर्छ, किनकि यसले संसारभरिबाट मानिसहरूलाई आकर्षित गरेको थियो ।

हामी अतीतबाट बचेर त आएका छौँ, तर प्रश्न के हो भने, के हामी भविष्यमा पनि बच्न सक्ने छौँ ? ‘हामी’ भन्दाखेरी म कुनै निश्चित धर्मलाई लक्षित गररहेको छैन । म यो धरतीको त्यस आवाधि (जनसङ्ख्या) को कुरा गरिरहेको छु, जो जीवनलाई यसको वास्तविक रूपमा हेर्न इच्छुक छन्— आफ्नो धारणा अरूमाथि थोपर्ने प्रयास नगरिकन ! विश्वलाई कुनै धार्मिक विचारधारा, सिद्धान्त वा विश्वास–प्रणालीहरूको आवश्यकता छैन । आवश्यक के हो भने, हामी जुन आयामहरूलाई "गूढ र परको" ठानिरहेका छौँ, त्यसलाई बोध र अनुभूति गर्नको निम्ति मनुष्यमा हुने सामर्थ्यलाई सम्भव बनाइनुपर्छ । यही तरिकाले मात्रै मनुष्यले जान्न सक्नेछ । यही तरिकाले मात्रै मनुष्यको चेतना विस्तार हुनेछ । यही एकमात्र तरिका हो, जसमार्फत मानव समाजहरूमा विद्यमान सम्पूर्ण सङ्कीर्ण विभाजनहरूबाट मनुष्य माथि उठ्न सक्दछ ।

Editor's Note: Download Sadhguru's ebook, Shiva - Ultimate Outlaw. The ebook is filled with rich graphics and pearls of wisdom from Sadhguru that reveal many virtually unknown aspects about the being we call Shiva. Encounter Shiva like never before!