प्रश्न: सद्‌गुरु, के गाँजा सेवन गरेर बुद्धत्त्व पाउन सकिन्छ ? स्वयं शिवद्वारा नशा प्रयोग गरिन्थ्यो भनिन्छ नि !

सद्‌गुरुः यदि तपाईंले मेरा आँखामा गहिरिएर हेर्नुभयो भने, तपाईंले देख्नुहुनेछ कि म जतिबेला पनि नशामा डुबेको हुन्छु । थुप्रै पटक यस्तो भएको छ कि हिमालयमा र अन्य स्थानहरूमा जाँदा, त्यहाँ बसेर नशा लिइरहेका मानिसहरूले मलाई पनि सेवन गर्नको लागि आमन्त्रण गर्दथे— मानिसहरू यो सोच्छन् कि म पनि नशा सेवन गर्ने व्यक्ति हुनुपर्छ ! मैले कहिल्यै त्यस्ता पदार्थहरू छोएको छैन । र, यदि तपाईं मसँग एक निश्चित तरिकाले रहन सक्नुभयो भने, म तपाईंलाई पनि नशामा डुबाउन सक्छु— किनभने, नशा उत्पन्न गर्ने पदार्थ कतै बाहिर हुँदैन, यो हामीभित्रै हुन्छ । प्रश्न यत्ति हो कि तपाईं के चाहनुहुन्छः स्वचालित (आफैँबाट हुने) वा परिचालित (बाहिरी चीजबाट हुने) ? 

हामीले शरीरभित्र जस्तोसुकै रसायानहरू हाले तापनि, त्यसले हामीभित्र केही अनुभव जगाउन मात्र सक्दछ । यदि तपाईंले त्यसलाई आफूभित्रबाट कसरी जगाउने भनेर जान्नुभयो भने, तपाईं यहाँ यत्तिकै बसेर अत्यन्तै सुख अनुभूति गर्न सक्नुहुन्छ; बाहिरबाट कुनै पनि पदार्थ लिनै पर्दैन ।

सोम वा सोमसुन्दर, शिवका विभिन्न नामहरूमध्ये एउटा प्रख्यात नाम हो— उनी पूर्णतया नशामा छन्, तर पूर्ण रूपमा सतर्क छन् । उनी गाँजा–भाङ–धुतरो जस्ता झिनामसिना चीजको नशा लिइरहेका होइनन् । उनका उर्जाहरू चरम अवस्थामा पुगेका थिए ।

शिवलाई विभिन्न नामहरूले उल्लेख गरिन्छ, जसमध्ये एउटा महत्त्वपूर्ण नाम सोम हो । "सोम" शब्दको शाब्दिक अर्थ मादकता वा नशा हो । शिव त्यस हदसम्म पङ्गु थिएनन् कि उनलाई बाहिरबाट रसायान लिन परेको होस् । उनी सदैव नशामा डुबिरहन्थे, त्यसमा कुनै शंकै छैन । तर, उनले कुनै पदार्थ प्रयोग गरिरहेका होइनन्— शिव स्वयं पदार्थ हुन् ।

यदि तपाईं नशामा उन्मत्त हुनुभएको छैन भने, तपाईं त्यो चरम शून्यतामा हाम फाल्नको लागि पागल बन्नुहुने छैन, जुन एकमात्र मुक्ति हो । मादकताको विशेष अवस्थामा मात्र, हाम्रो शरीर र मन सीमित रहँदैनन् । त्यसैले सोम वा सोमसुन्दर, शिवका विभिन्न नामहरूमध्ये एउटा प्रख्यात नाम हो— उनी पूर्णतया नशामा छन्, तर पूर्ण रूपमा सतर्क छन् । उनले गाँजा–भाङ–धुतरो जस्ता झिनामसिना चीजको नशा लिइरहेका होइनन् । उनका ऊर्जाहरू चरम अवस्थामा पुगेका थिए । अर्थात्, यो जीवनलाई जुन हदसम्म माथि उकास्न सकिन्छ, शिव त्यहाँसम्म पुगेका छन् । नशा, तिव्रता र सामर्थ्यको दृष्टिले उनी सबैभन्दा शिखरमा छन् ।

एकपटक यस्तो भयो... आदि शंकराचार्य हिँडिरहेका थिए । उनी निकै चाँडो हिँड्ने व्यक्ति हुनुपर्छ, किनकि उनले ३२ वर्षको उमेरमा आफ्नो शरीर त्यागे । तर, १२ देखि ३२ वर्षको उमेरसम्म, ती २० वर्षहरूमा उनले पूरै भारतलाई केही पटक वारपार गरे— उत्तर देखि दक्षिणसम्म, पूर्व देखि पश्चिमसम्म, केरला देखि वद्रिनाथसम्म र पुनः त्यहाँबाट केरलासम्म, सबै दिशाहरूमा सबैजसो ठाउँहरूमा यात्रा गरे । पक्कै पनि उनी अति नै छिटो हिँड्ने मानिस हुनुपर्छ, जसले छोटो जीवनकालमा त्यस हदसम्म यात्रा गरे — साथसाथै, उनले हजारौँ पाना साहित्यहरू समेत रचना गरे ।

एकदिन उनी कतै लम्किरहेका थिए, पछाडि केही शिष्यहरूले उनलाई छिटोछिटो पछ्याइरहेका थिए । उनीहरू एउटा गाउँमा आइपुगे । त्यो गाउँबाट पर उनले केही मानिसहरूले पिइरहेको देखे— सम्भवतः घरमै बनाइएको जाँड हुनुपर्छ । त्यसबेला अनि २५-३० वर्ष अगाडिसम्म पनि मदिरा पसलहरू गाउँको बाहिर मात्र हुने गर्दथे । त्यसलाई गाउँभित्र ल्याइँदैनथ्यो । तर अहिले, गाउँमै मदिरा बेचिन्छ, तपाईंको घरको छेउमा बेचिन्छ र यहाँ सम्म कि तपाईंको बच्चाको स्कुल अगाडि नै बेचिएको हुन्छ !

आदि शंकराले ती केही मानिसहरूलाई मातिएको अवस्थामा देखे । तपाईंलाई थाहै छ, पियक्कडहरू सधैँ यो सोच्छन् कि उनीहरू मात्रै जीवनको भरपूर आनन्द लिइरहेका छन्, अनि अरू सबै यसबाट चुकिरहेका छन् । त्यसैले उनीहरूले शंकाराप्रति केही टिप्पणी गरे । एक शब्दबिनै, आदि शंकरा पसलभित्र पसे, घडा उठाए, तनतन पिए अनि फेरि हिँड्न थाले ।

उनको पछाडि उनका शिष्यहरू छिटोछिटो पछ्याइरहेका थिए । उनीहरूले आफू–आफूमा खासखुस गर्न थाले, “यदि हाम्रो गुरुले त पिउन हुन्छ भने, हामीले किन हुँदैन ?" आफ्नो पछाडि के भइरहेको छ भन्ने बारेमा आदि शंकरा सजग थिए । जब उनी अर्को गाउँमा आइपुगे, त्यहाँ एकजना लोहार काम गरिरहेका थिए । आदि शंकरा भित्र पसे, पगालिएको फलाम राखिएको भाँडो उठाए, घटघट पिए अनि यात्रा जारी राखे । अब चाहिँ तपाईंले उनको नक्कल गर्नुहुने छैन ! त्यसैले, यदि तपाईंलाई शिवले नशा लिन्थे भन्ने लाग्छ भनेपनि, तपाईं उनको नक्कल गर्ने प्रयास नगर्नुहोस् ।

मेरो निम्ति सबैभन्दा ठूलो कुरा भनेको पूर्ण स्पष्टतामा जीवन बाँच्नु हो । गाँजाको धुवाँ उडाएर लट्ठ पर्नु अनि के भइरहेको छ भनेर छुट्याउन नसक्नु जीवन बाँच्ने तरिका होइन । बरु, बिरामी हुँदा वा मर्नै लाग्दा, जीवनमा के भइरहेको छ भनेर थाहा नहुन सक्छ । जब तपाईं जीवित हुनुहुन्छ, स्पष्ट हुनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । र, स्पष्टता एकदमै मादक पनि हुन सक्छ । सायद तपाईंले ती मानिसहरूलाई देख्नुभएको हुन सक्छ, जो पहाडहरूबाट हाम फाल्छन्, हवाइजहाजबाट हाम फाल्छन् र अन्य त्यस्तै खतरायुक्त कामहरू गर्छन् जुन विश्वास गर्नै सकिँदैन । उनीहरू ती सबै किन गर्छन् भने जब तपाईं अत्यन्तै सतर्क रहनुहुन्छ, तब त्यहाँ अर्कै प्रकारको मादकता र जीवन्तता हुन्छ ।

मानिसहरू आफूभित्र ऊर्जा बढाउनको लागि बाहितिर विभिन्न प्रकारका शारीरिक गतिविधिहरू गरिरहेका हुन्छन् । तर, कुनै पनि बाहिरी उद्दिपक वा उत्तेजकबिना, तपाईं यहाँ बसेर पूरै जीवन्त, सतर्क र नशामा रहन सक्नुभयो भने, तब हामी भन्छौँ कि तपाईंभित्र "शिव" को तत्त्व आएको छ । यदि तपाईं यत्तिकै अति सतर्क भएर बस्नुभयो भने, तपाईं नशामा उन्मत्त बन्नुहुन्छ— र, नशामा हुने तरिका नै त्यही हो, कुनै घाँसपातको धुवाँ उडाएर होइन ! घाँसपात गाई–वस्तुहरूका निम्ति छोडिदिनु होस् । मानिसहरूसँग त्योभन्दा उत्तम विकल्पहरू छन् ।

कुनै पनि प्रकारको उत्तेजक वा नशालु पदार्थहरू— मदिरा, लागुपदार्थ वा अन्य किसिमका ड्रगहरू— को सेवनले, तपाईं कुनै न कुनै तरिकाले मानिसमा हुने सामर्थ्यलाई घटाइरहनु भएको हुन्छ । यदि ती पदार्थहरूले समेत एक मनुष्यको रूपमा तपाईंका क्षमताहरू बढाउने भएको भए, म सबैलाई हर क्षण पिउन सुझाव दिने थिएँ । तर समस्या के हो भने, एक मनुष्यको रूपमा यसले तपाईंलाई तल झार्दछ । अनुसन्धानहरूले यो बताएका छन् कि यदि कसैले लगातार ६० देखि ९० दिनसम्म नशा लिइरह्यो भने, व्यक्तिको आई.क्यू ८ अंकले कम हुन्छ । यसको तात्पर्य के हो भने, व्यक्तिको बौद्धिक क्षमतामा निकै ह्रास आउँछ । अनि, दिमागको कार्य–क्षमतामा हुने यो क्षय कहिल्यै पूर्ण रूपमा पहिलेको स्थितिमा फर्काउन सकिँदैन । 

तपाईंले कुनै अनुसन्धानलाई आधार बनाउनै पर्छ भन्ने छैन । यदि तपाईंले नशा सेवन गर्ने मानिसहरूलाई ध्यान दिएर हेर्नुभयो भने, यो पाउनुहुनेछ कि उनीहरू नशामा भएको बेला शान्त देखिन्छन्, तर यदि तपाईंले दुई दिनसम्म उनीहरूलाई नशालु पदार्थ दिनुभएन भने, उनीहरू कुन हदसम्म बौहुलाउन सक्छन् भनेर देख्न सक्नुहुन्छ । नशाले लट्ठिएको बेला तपाईं शान्त रहन सक्नुहुन्छ । तर, त्यस्तो शान्तिको कुनै औचित्य हुँदैन । यदि तपाईंले कुनै बाहिरी पदार्थको प्रयोग गर्नुभयो भने, तपाईंको केही पक्षमा ह्रास आउनेछ । तर, यदि तपाईं आफूभित्र बाटै नशामा डुब्नुभयो भने, तपाईंको केही पक्ष समृद्ध हुनेछ । यही ठूलो भिन्नता हो ।

आज, अमेरिकाको थुप्रै राज्यहरूमा गाँजाले कानुनी रूपमा मान्यता पाएको छ, जसकारण थुप्रै ठूला कम्पनीहरूले गाँजाबाट निर्मित विभिन्न वस्तुहरू बजारमा ल्याइरहेका छन् । सन् २०१८ मा, अमेरिकामा गाँजाले १०४ खर्ब डलरको व्यापार सम्हालेको थियो ।

लाखौँ–करोडौँ वर्षको विकास प्रक्रियाले मानिसको मस्तिष्कले अहिलेको स्तरमा काम गर्न सक्षम भएको छ । तर, तपाईंलाई यो क्षमतालाई कसरी प्रयोगमा ल्याउने भनेर थाहा छैन, जसकारण तपाईं लट्ठ हुने गरी धुवाँ उडाउन चाहनुहुन्छ । यो अवश्य पनि अधोगति हो । यसमा केही पनि आध्यात्मिकता छैन ।

यस्तै अर्को लागुपदार्थको नाम हो, अयावास्का, जुन दक्षिण अमेरिकामा पाइन्छ । के हुन्छ भने, तपाईं यसलाई निल्नुहुन्छ र सबैथोक वान्ता गर्नुहुन्छ ! यदि तपाईंलाई यो आध्यात्मिक लाग्छ भने— तपाईंलाई शुभकामना छ ! जब हामी हुर्किँदै थियौँ, एउटा जुलाफ (पखला लगाउने औषधि) पाइन्थ्यो, जसलाई कुन्ती कुमारी बेधि इन्नाइ भनिन्थ्यो । यो जाइफल मिसाइएको अँडिरको तेल (क्यास्टर आयल) हो । यदि कसैले जतिबेला पनि विचित्रको वा सन्काह व्यवहार देखाउने गऱ्यो भने, अरू मानिसहरू भन्थे, “उसलाई कुन्ती कुमारी बेधी इन्नाइ दिनू !" किनकि, दिमागमा रद्दी चीज भरिएको छ । त्यसलाई पटक–पटक पखालिनु पर्छ, शुद्ध गरिनुपर्छ, जुन वास्तवमै साँचो हो । तपाईंको दिमागमा रद्दी र फाल्तू चीजहरू घुसेका छन्, अनि तपाईं गाँजाको धुवाँ उडाएर त्यसलाई निकाल्न चाहिरहनु भएको छ— होइन, तपाईंलाई कुन्ती कुमारी बेधी इन्नाइ चाहिएको हो !

Editor’s Note: Celebrate Mahashivratri at the Isha Yoga Center with explosive guided meditations accompanied by dance and music, nightlong satsang with Sadhguru, musical performances by eminent artists. Bask in the Grace of Shiva, The AdiYogi! Visit the Mahashivratri webpage for details on the many ways you can participate.