प्रश्नः परम्परादेखि नै पूर्वीय अध्यात्ममा चन्द्रमाका विभिन्न चरण वा पक्षहरूलाई ठूलो महत्त्व दिइएको छ । पूर्णिमा र औंशीको वास्तविक महत्त्व के हो ?


सद्‌गुरु: पूर्णिमाको रात र औँशीको रातमा थुप्रै भिन्नताहरू छन् । जो-जो थोरै सन्की वा पागल छन्, उनीहरूले स्पष्ट रूपमा यो भिन्नता जानेका हुन्छन् !

यो एक प्रकारले माइक्रोफोनको ध्वनि जस्तै हो । माइक्रोफोनको ध्वनि बढाउँदा कुरा उही हुन्छ, तर अचानक आवाज ठूलो सुनिन्छ र स्पष्ट हुन्छ । त्यसैगरी, यदि पहिल्यैदेखि थोरै पागलपन थियो भने, जब तपाईं यसमा थोरै ऊर्जा भर्नुहुन्छ वा ऊर्जाको प्रवाह बढाउनुहुन्छ, तब सबैथोक बढेको जस्तो देखिन्छ । पूर्णिमाको दिन उर्जा अलिकति बढेको हुन्छ । पागलपन मात्रै बढ्ने होइन । यदि तपाईं शान्त हुनुहुन्छ भने, तपाईं अझ बढी शान्त बन्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुहुन्छ भने, तपाईं अझ बढी आनन्दित बन्नुहुन्छ । तपाईंको गुण जस्तोसुकै भए पनि, त्यो अझ बढ्दछ । मानिसहरूले पागलपनलाई मात्रै ध्यान दिन्छन्, किनकि अधिकांश मानिसहरू त्यही अवस्थामा रहेका हुन्छन् ! तर, यदि तपाईं एक मायालु वा स्नेही व्यक्ति हुनुहुन्छ भने, पूर्णिमामा तपाईंको प्रेम बढी छचल्किनेछ ।

के कारणले उर्जाको स्तरमा वृद्धि हुन्छ ? एउटा कारण यो हो कि यसमा विशेष सौन्दर्य हुन्छ । जब तपाईं कुनै पनि चीजलाई हेर्नुहुन्छ, यदि त्यो सुन्दर छ भने, अचानक त्यस वस्तुप्रति तपाईंको ग्रहणशीलता बढ्दछ । तपाईं जुन चीजलाई कुरूप ठान्नुहुन्छ, त्यसलाई हेर्ने बित्तिकै तपाईंको ग्रहणशीलता घट्छ । पूर्ण चन्द्रमा (पूर्णिमा) मा विशेष सौन्दर्य हुन्छ, जसले तपाईंको ग्रहण गर्ने क्षमतालाई निश्चय नै बढाउँदै लैजान्छ ।

अर्को पक्ष के हो भने, पृथ्वी आफ्नो भू-उपग्रह (स्याटलाइट) को सम्बन्धमा एउटा निश्चित स्थानमा पुगेको हुन्छ, जसले कम्पनहरूलाई निकै प्रत्यक्ष र शक्तिशाली बनाउँछ । यसदिन चन्द्रमाको गुरुत्वाकर्षण बल बढी हुने भएकोले समुन्द्रमा छालहरू माथिसम्म उठ्छन् । समुद्रको पानी उर्लिएर माथि उठ्ने कोसिस गरिरहेको हुन्छ । त्यसैगरी, तपाईंको रगत पनि माथितर्फ उर्लिने कोसिस गरिरहेको हुन्छ । जब तपाईंको दिमागमा रगतको सञ्चार बढ्छ, तपाईंको गुणमा पनि वृद्धि हुन्छ— गुण चाहे जस्तोसुकै किन नहोस् ।

ध्यानको निम्ति पूर्णिमा, अनुष्ठानको निम्ति औँशी

पूर्णिमा र औंशीको दिनमा, ध्यानको गुणमा थुप्रै भिन्नताहरू हुन्छन् । ध्यान गर्ने व्यक्तिको लागि पूर्णिमा राम्रो दिन हो । केही अनुष्ठानहरू गर्नको लागि ओँशी राम्रो दिन हो । औंशीको रातमा तपाईंका उर्जाहरू उग्र हुन्छन् । जङ्गली हात्ती जस्तै तपाईंका उर्जाहरू पनि अनियन्त्रित हुन्छन् । यही कारणले गर्दा तान्त्रिकहरूले औंशीको रातको सदुपयोग गर्छन् । यसदिन ऊर्जाहरू अधिक गतिशील हुन्छन् । पूर्णिमाको रात सौम्य हुन्छ, जुन बढी सूक्ष्म, सुखद र सुन्दर हुन्छ— प्रेम जस्तै । जबकि, औंशीको रातमा उर्जा बढी स्थूल हुन्छ । यदि हामीले दुवैको तुलना गर्ने हो भने, हामी यो भन्न सक्छौँ कि औंशी यौन-उन्मुख हुन्छ, जबकि पूर्णिमा प्रेम-उन्मुख हुन्छ । औंशीको प्रकृति बढी जड र शक्तिशाली हुन्छ । पूर्णिमाको प्रकृति ज्यादै सूक्ष्म हुन्छ । यति सूक्ष्म हुन्छ कि तपाईंले यसको शक्तिलाई महसुस गर्न सक्नुहुन्न । कुण्डलिनीको प्रकृति समेत यस्तै हुन्छः पूर्णिमामा, यो निकै बिस्तारै अघि बढ्दछ अनि औंशीमा यो पूरै धमाकासहित अघि बढ्छ । औंशीको दिन कुण्डलिनी अलिकति उग्र र हिंस्रक हुन्छ ।

यदि तपाईंले आफूभित्रको सूर्य र चन्द्र— पिङ्गला र ईडा— माथि केही हदसम्म प्रवीणता पाउनुभयो भने, सूर्यको प्रचण्ड प्रकाशमा समेत तपाईंभित्र पूर्णिमाको सौन्दर्य रहिरहन्छ ।

पूर्णिमाको उपस्थिति निकै विशाल हुन्छ । यसदिन चन्द्रमाको उपस्थिति यति स्पष्ट हुन्छ कि तपाईंले जतासुकै हेरे पनि, सबैथोक चम्किलो लाग्दछ । यसको प्रकाश र स्पन्दनमा विशेष गुण हुन्छ, जहाँ हरेक चीजले नयाँ आभा ग्रहण गर्दछ । अरू रातहरूको तुलनामा, पूर्णिमाको रातमा चन्द्रमाको स्पन्दन र भाव निकै भिन्न हुन्छ । तपाईंभित्र हुने ईडा र पिङ्गला पनि फरक तरिकाले काम गर्दछन् । प्राण उर्जा पनि फरक तरिकाले बहन्छ । तपाईंको सम्पूर्ण उर्जा फरक रूपमा प्रवाहित हुन्छ, किनकि स्पन्दनहरू परिवर्तन भएका हुन्छन् ।

यस्तो होइन कि तपाईं हरेक दिन पूर्णिमामाझैँ रहन सक्नुहुन्न । अवश्य सक्नुहुन्छ । यदि तपाईंले आफूभित्रको सूर्य र चन्द्र— पिङ्गला र ईडा— माथि केही हदसम्म प्रवीणता पाउनुभयो भने, सूर्यको प्रचण्ड प्रकाशमा समेत तपाईंभित्र पूर्णिमाको सौन्दर्य रहिरहन्छ । यदि तपाईंले केही हदसम्म निपुणता र नियन्त्रण प्राप्त गर्नुभएको छ भने, तपाईं हरेक दिन पूर्णिमामाझैँ रहन सक्नुहुन्छ । वा, तपाईं हरेक दिन औंशीमाझैँ रहन सक्नुहुन्छ । अथवा, तपाईं केही पनि नरोज्न सक्नुहुन्छ: प्रकृतिमा चाहे जेसुकै भइरहेको भए तापनि, तपाईं जीवनका सबै अवस्थाहरूको आनन्द लिन सक्नुहुन्छ— ती जस्ता छन्, सोही रूपमा ।

′उपस्थिति′ र ′अनुपस्थिति′ को भिन्नता

पूर्णिमा एउटा विशाल उपस्थिति (चन्द्रमा हुनु) हो, जबकि औंशी अनुपस्थिति (चन्द्रमा नहुनु) हो । तार्किक दिमागले जहिल्यै यो सोच्छ कि उपस्थिति शक्तिशाली हुन्छ, जबकि अनुपस्थिति केही पनि होइन । तर, यो त्यस्तो हुँदैन । प्रकाशमा एक प्रकारको शक्ति भए जस्तै, प्रकाशको अनुपस्थिति वा अन्धकारमा समेत आफ्नै किसिमको शक्ति हुन्छ । खासमा भन्नुपर्दा, प्रकाशमा भन्दापनि अन्धकारमा अत्यधिक शक्ति हुन्छ । दिनको तुलनामा रात बढी प्रखर हुन्छ, किनकि अन्धकार भनेको केवल अनुपस्थिति हो । अन्धकारको अस्तित्व छ भन्नु गलत हुन्छ । यथार्थमा, प्रकाश अनुपस्थित भएको हो, अनि त्यही अनुपस्थितिमा ज्यादै सशक्त उपस्थिति हुन्छ । सोही कुरा यहाँ पनि लागू हुन सक्छ ।

गुणहरूका आधारमा हेर्ने हो भने पूर्णिमा प्रेम हो, जबकि औंशी आक्रमक प्रवृत्ति हो ।

तपाईंको चेतनाको सन्दर्भमा कुरा गर्ने हो भने, जब तपाईं ध्यानमग्न अवस्थामा पुग्नुहुन्छ, यसको अर्थ यो हुन्छ कि तपाईं अनुपस्थित हुनुभएको छ । जब तपाईं अनुपस्थित रहनुहुन्छ, तपाईंको उपस्थिति विशाल हुन्छ । जब तपाईं उपस्थित हुने कोसिस गर्नुहुन्छ, तपाईंको उपस्थिति कत्ति पनि हुँदैन । अहंको कुनै उपस्थिति हुँदैन । तर, जब तपाईं अनुपस्थित बन्नुहुन्छ, त्यहाँ विशाल उपस्थिति हुन्छ । सोही कुरा औंशीमा समेत लागू हुन्छ । बिस्तारै-बिस्तारै चन्द्रमा अदृश्य बन्दै गएको हुन्छ, अनि त्यही अनुपस्थितिले विशेष शक्ति सृजना गरेको हुन्छ । त्यसैकारण, औंशीलाई महत्त्वपूर्ण मानिन्छ ।

मिहिनेती, कठोर, आक्रामक व्यक्तिको निम्ति औंशी निश्चित रूपमा महत्त्वपूर्ण पक्ष हो । जो निकै संवेदनशील र सौम्य छन्, उनीहरूका निम्ति पूर्णिमा एकदमै महत्त्वपूर्ण पक्ष हो । दुवैका आआफ्नै शक्ति छन् । गुणहरूका आधारमा हेर्ने हो भने पूर्णिमा प्रेम हो, जबकि औंशी आक्रमक प्रवृत्ति (जोस) हो । तथापि, हामी दुवैको उपयोग गर्न सक्छौं । किनकि, दुवै ऊर्जा हुन् ।

Editor’s Note: This article is excerpted from “Of Mystics and Mistakes”, a book from Sadhguru which reminds us that each one of us can make the journey from confusion to clarity, from error to enlightenment, from self-deception to self-discovery – if only we choose. Download now.