सद्‌गुरु: यो विराट् अस्तित्वमा "पुरानो वर्ष" र "नयाँ वर्ष" भन्ने त्यस्तो केही हुँदैन । यी सबैथोक हामी मानिसहरूले कोरेका सीमारेखाहरू हुन् । हामीले यी सीमाङ्कनहरू कोर्नुको कारण के हो भने, हामी आफ्नो जीवनमा अगाडि बढिरहेका छौँ कि पछाडी धकेलिएका छौँ भनेर जान्नको लागि हामीलाई जीवनमा केही मापक, केही मार्गदर्शन वा कुनै कोशेढुङ्गा चाहिन्छ । त्यसैले, एकपटक पुनः नयाँ वर्ष आएको छ । बितेको एक वर्षमा तपाईं एक मनुष्यको रूपमा अगाडि बढ्नुभयो कि बढ्नुभएन भनेर मूल्याङ्कन गर्नको लागि यो उपयुक्त समय हो । सम्भवतः तपाईंको व्यापार-व्यवसाय फस्टाएको हुन सक्छ, तपाईंले अझ धेरै धन-सम्पत्ति जोड्नुभएको हुन सक्छ, तपाईंले आफ्नी छोरीको बिहे गरिदिनु भएको हुन सक्छ— चाहे जेसुकै होस्, त्यो विषय महत्त्वपूर्ण होइन । यो एक वर्षको अवधिमा एक मनुष्यको रूपमा के तपाईंले आफूलाई अझ माथि उठाउनु भएको छ ?

तपाईं जे गर्न चाहनुहुन्छ, त्यसको लागि एउटा खाका कोर्नुहोस्, जसले तपाईंलाई यो बताउनेछ कि अर्को एक वर्षमा तपाईं आफूलाई अहिलेको भन्दा अझ राम्रो मानिस बनाउनु हुनेछ ।

आउँदो वर्षको लागि, यो नयाँ वर्षमा तपाईंले के गर्ने सोच्नुभएको छ ? आफूले जे गर्न खोज्दै हुनुहुन्छ, त्यसको निधो गर्नुहोस् । तपाईं जे गर्न चाहनुहुन्छ, त्यसको लागि एउटा खाका कोर्नुहोस्, जसले तपाईंलाई यो बताउनेछ कि अर्को एक वर्षमा तपाईं आफूलाई अहिलेको भन्दा अझ राम्रो मानिस बनाउनु हुनेछ । सम्भव भएसम्म सबै तरिकाले अझ सुन्दर मानिस, जो बढी आनन्दित, बढी शान्त, बढी स्नेही हुनेछ ! यति त तपाईं आफैँले निधो गर्नुपर्छ । यदि तपाईंले आफू वरपरको संसारलाई महसुस गर्नुभयो भने, अर्थात् यो मानव संसारलाई महसुस गर्नुभयो भने, तपाईंले विभिन्न आवाजहरू, विचारहरू र भावनाहरूको कर्कश ध्वनि मात्र अनुभव गरिरहनु भएको हुन्छ । यी आवाजहरू, विचारहरू अनि भावनाहरू मानिस विभिन्न तहको दुविधा र अन्योलको स्थितिमा हुँदा प्रकट भएका हुन्छन् । वर्तमानको वास्तविकता जे हो, त्यसबारे रहेको निकै अधुरो-अपुरो बुझाइबाट नै यी आवाजहरू, विचारहरू र भावनाहरू निर्मित हुन्छन् र व्यक्त गरिन्छन् । जब व्यक्ति यस हदसम्म अन्योलमा हुन्छ, जब ऊ आफू वरपरको वास्तविकताको बारेमा रहेका मिथ्या र भ्रमपूर्ण धारणाहरूको अधीनमा हुन्छ, तब उसले आफू स्वयं र वरपरका मानिसहरूका लागि उत्पन्न गर्ने पीडा र दुःख निकै दुर्भाग्यपूर्ण हुन्छ ।

हाम्रो वरपर यतिखेर जे वास्तविक हुन्छ, हामी जहिल्यै त्यसैको आधारमा आफ्नो जीवन निर्माण गर्ने प्रयास गरिरहेका हुन्छौँ । यस क्षणमा हामीसँग चाहे जेसुकै भएपनि त्यसले कुनै महत्त्व राख्दैन । हामी भोलि कहाँ जान चाहन्छौँ भन्ने कुरा आज हामी कहाँ छौ भन्ने कुरासँग सम्बन्धित हुन जरूरी छैन । हामी आफ्नो जीवनमा सबैभन्दा उच्च के चाहन्छौँ भन्ने कुरालाई हाम्रो हालको परिस्थितिले निर्धारण गर्न आवश्यक छैन । यदि हामीले आफ्नो दृष्टिलाई अहिलेको परिस्थितिको दास बनायौँ भने, हामी आफूलाई पुनः एकपटक सजिलै पाउन सकिने, सामान्य अनि आफ्नो निम्ति सम्भव भएका कुराहरूमा समायोजन गर्नेछौँ । के सम्भव छ र के सम्भव छैन भनेर सोच्न जरूरी छैन । तपाईंले आफ्नो जीवनमा खोज्न सक्ने सर्वोच्च कुरा के हो, तपाईं कत्तिको दूरदर्शी हुनुहुन्छ भन्ने कुरालाई देख्न सक्नु नै सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ ।

व्यक्तिको जीवनमा दूरदर्शिता (पछिसम्मको कुरा देख्ने क्षमता) र इच्छाशक्ति नहुनुको मूल कारण के हो भने, उसले आफू वरपरको संसारलाई गलत रूपमा बुझेको हुन्छ ।

यदि व्यक्तिले आफ्नो लागि र आफू वरपरको संसारको लागि गर्न चाहेको कुरालाई स्पष्ट रूपमा देख्न सक्ने हो भने, त्यो कुरा सृजना गर्नु उसको क्षमताभन्दा पर हुँदैन । त्यो कि त यही जीवनकालमा हुन सक्छ वा अरू केही जीवनकालहरू लाग्न सक्ला, तर चाहेको कुरा निश्चय नै पूरा हुनेछ । जो व्यक्तिमा आफ्नो जीवनको दृश्य स्पष्ट हुन्छ अनि यदि ऊ आफ्नो जीवनको प्रत्येक क्षण त्यही मात्र खोजिरहन्छ भने, सबैभन्दा उच्च मानिएको कुरा पनि उसको सामु झुक्नेछ । तर, एउटा व्यक्ति अनेकौँ भ्रम र दुविधाहरूको डङ्गुर लिएर बाँचिरहेको हुन्छ, उसले अधिकांश समय आफूले नचाहने कुराहरू मात्रै खोजिरहेको हुन्छ— जसकारण, आफूले वास्तवमै चाहेको कुरा उसले कहिल्यै पाउँदैन । व्यक्तिको जीवनमा दूरदर्शिता (पछिसम्मको कुरा देख्ने क्षमता) र इच्छाशक्ति नहुनुको मूल कारण के हो भने, उसले आफू वरपरको संसारलाई गलत रूपमा बुझेको हुन्छ ।

तपाईंलाई जुन कुरा सबैभन्दा उच्च लाग्छ, त्यसैको खोज गर्नुहोस् । त्यो पूरा हुन्छ वा हुँदैन भन्ने कुराले केही फरक पार्दैन, किनकि मानिसको निम्ति त्यो दूरदृष्टि लिएर बाँच्नु आफैँमा समृद्ध पार्ने, आनन्द प्रदान गर्ने अनि सर्वोपरि मुक्त गर्ने प्रक्रिया बन्दछ । त्यो भोलि नै पूरा हुन्छ वा सय वर्षपछि भन्ने प्रश्नले महत्त्व राख्दैन । सबैभन्दा महत्त्पूर्ण कुरा के हो भने यदि तपाईंमा दूरदृष्टि छ भने, त्यस स्थितिमा कुनै कुरा सम्भव छ कि असम्भव, सजिलो छ कि अप्ठ्यारो, पहुँचमा छ कि पहुँचभन्दा बाहिर भन्ने कुरालाई लिएर तपाईं चिन्तित बन्नुहुन्न । यहाँ सम्म कि त्यो कुराको अन्तिम नतिजा के होला भन्नेप्रति तपाईंमा कुनै चासो हुँदैन । तपाईंमा दूरदृष्टि हुनु अनि त्यसमै आफ्नो जीवन समर्पित गर्नु बढी महत्त्वपूर्ण हुन्छ । परम प्रकृतिसम्म पुग्नको लागि पनि सबैभन्दा सजिलो तरिका यही हो— केही होला कि नहोला भन्ने कुराप्रति कुनै सरोकार नराखिकन आफूले चाहेको कुराप्रति आफूलाई पूर्णतः समिर्पित गर्नु ! यो आफैँमा एउटा आध्यात्मिक प्रक्रिया हो ।

आफूभित्र र आफूबाहिर रहेका सीमाहरू पार गर्ने महत्त्वपूर्ण तरिका भनेकै दूरदृष्टि हुनु हो । यदि कोही व्यक्ति आफूमा दूरदर्शिता र इच्छाशक्ति विकसित गर्नुपर्ने बोझ नलिइकनै यहाँ बाँच्न चाहन्छ भने, त्यस्तो व्यक्ति पूर्णतया निर्दोष र अबोध हुनुपर्छ । त्यस्तो व्यक्ति मात्र यहाँ यत्तिकै रहन सक्छ— उसलाई दूरदृष्टि चाहिँदैन । यदि उसमा अलिकति पनि दम्भ छैन र एउटा बच्चा जस्तै पूर्णतया अबोध छ भने, उसमा कुनै पनि चीजप्रति इच्छाशक्ति हुनुपर्दैन । यदि त्यस्तो छैन भने, मानिसले दूरदृष्टि लिएर बाँच्नु निकै महत्त्वपूर्ण हुन्छ ।

यदि तपाईंले गहिराइमा हेर्नुभयो भने, तपाईंको दूरदृष्टि सदैव सार्वभौमिक हुनेछ अर्थात् सबैलाई समावेश गर्ने किसिमको हुनेछ ।

हामीले अहिलेको निम्ति मात्र नभई पछिसम्मको लागि पनि वास्तवमै जे चाहेका हौँ, त्यसको लागि आफूभित्र एउटा दूरदृष्टि निर्माण गर्ने समय भइसकेको छ । यदि तपाईंले गहिराइमा हेर्नुभयो भने, तपाईंको दूरदृष्टि सदैव सार्वभौमिक हुनेछ अर्थात् सबैलाई समावेश गर्ने किसिमको हुनेछ । जीवनको यात्रामा सबैथोक पूरा हुन्छन् वा हुँदैनन् भन्ने कुरा महत्त्वपूर्ण होइन । जुन कुरा तपाईंको निम्ति सबैभन्दा उच्च छ, त्यसबाट अलकिति पनि विचलित नभइकन त्यसकै खोज गर्नुहोस् । यो जीवनलाई जान्ने एउटा सरल तरिका हो— जे यहाँ छ अनि जे यहाँभन्दा पर छ !

नयाँ वर्षः आफूलाई नवीन र जीवन्त बनाउनुहोस्