सद्‌गुरुः हरेक व्यक्तिले जीवनको प्रक्रियासँगै जानी-नजानिकन एउटा निश्चित छवि वा आफ्नो व्यक्तित्व निर्माण गर्दछ । तर, तपाईंले आफूभित्र जुन छवि निर्माण गर्नुभएको छ, त्यसको वास्तविकतासँग कुनै सम्बन्ध हुँदैन । तपाईंको अस्तित्व, तपाईंको भित्री प्रकृतिसँग पनि यसको कुनै सरोकार हुँदैन । यो यस्तो छवि हो, जुन तपाईंले अधिकांश समय बेहोशीमा वा अचेतन रूपमा बनाउनु भएको हो । निकै थोरै मानिसहरूले मात्रै सचेतन रूपमा आफ्नो छवि निर्माण गरेका हुन्छन् । अरू सबै मानिसहरूको सन्दर्भमा, उनीहरू जस्तो परिस्थितिमा फस्छन् वा उनीहरूको प्रवृत्ति जस्तो हुन्छ, त्यसकै आधारमा आफ्नो छवि बनाउँछन् ।

त्यसोभए, तपाईं वास्तवमा जस्तो बन्न चाहनुहुन्छ, सचेतन रूपमा त्यस्तो छवि किन नबनाउने ? यदि तपाईं बुद्धिमानी हुनुहुन्छ, पर्याप्त रूपमा चेतन हुनुहुन्छ भने, तपाईं आफ्नो छविलाई नयाँ रूप दिन सक्नुहुन्छ— पूरै नयाँ रूप, जुन तपाईं वास्तवमै चाहनुहुन्छ । यो सम्भव छ । तर, तपाईं आफ्नो पुरानो छवि त्याग्न इच्छुक हुनुपर्छ । यो कुनै ढोँग वा देखावटी होइन । यसो गर्नको लागि तपाईंले कुनै पनि कार्यलाई बेहोशीमा गर्नुको सट्टा चेतनपूर्वक गर्नुहोस्, सचेत भई गर्नुहोस् । तपाईं आफ्नो लागि सहायक हुने छवि बनाउन सक्नुहुन्छ; यस्तो छवि, जसले तपाईं वरपर सबैभन्दा बढी सामञ्जस्य र तालमेल सृजना गर्दछ; यस्तो छवि जसमा कमभन्दा कम वैमनस्यता उत्पन्न हुन्छ । तपाईं यस्तो छवि बनाउनुहोस्, जुन तपाईंको भित्री प्रकृतिको नजिक हुन्छ । तपाईंलाई के लाग्छ, कस्तो किसिमको छवि तपाईंको भित्री प्रकृतिको नजिक हुन्छ ? कृपया हेर्नुहोस्, भित्री प्रकृति एकदमै मौन हुन्छ, शासन गर्ने खालको हुँदैन, तर एकदमै शक्तिशाली हुन्छ । निकै सूक्ष्म, तर एकदमै प्रबल ।

हामीले पनि त्यही गर्न आवश्यक छः जुन चीजहरू आफ्नो भित्री प्रकृति अनुरूप छैनन्— आफ्नो रिस, आफ्ना सीमाहरू— तिनलाई जरैदेखि हटाउन जरूरी छ । आफ्नो नयाँ छवि बनाउनुहोस्, जुन सूक्ष्म छ, तर अत्यन्तै शक्तिशाली छ । अर्को एक दुई दिनसम्म यसको बारेमा सोच्नुहोस् अनि आफ्नो लागि उपयुक्त छवि बनाउनुहोस्— तपाईंका विचार र भावनाहरूको मूलभूत प्रकृति कस्तो हुनुपर्छ ? हामीले कुनै छवि बनाउनु पहिले, यसमा ध्यान दिन जरूरी छ कि अब बनाउन गइरहेका छवि अहिलेको छविभन्दा उत्तम छ वा छैन ? यस्तो समय रोज्नुहोस्, जहाँ तपाईंलाई कसैले वा कुनै चीजले खल्बल्याउने छैन । आफ्नो मेरुद्दण्ड वा ढाडलाई अडेस लगाएर आरामपूर्वक बस्नुहोस् । अब, आफ्ना आँखा बन्द गर्नुहोस् अनि कल्पना गर्नुहोस्— अरू मानिसहरूले तपाईंलाई कुन रूपमा अनुभव गर्नुपर्छ ? एउटा नयाँ व्यक्ति कल्पना गर्नुहोस् । यसलाई जतिसक्दो विस्तृत र स्पष्ट रूपमा कल्पना गर्नुहोस् । हेर्नुहोस्, के यो नयाँ छवि पहिलेको तुलनामा बढी मानवीय, बढी कुशल र बढी स्नेही र मायालु छ ?

यो नयाँ छविलाई जतिसक्दो प्रभावशाली रूपमा आफ्नो मनमा कल्पना गर्नुहोस् । यसलाई आफूभित्र जीवन्त बनाउनुहोस् । यदि तपाईंको विचारमा पर्याप्त शक्ति छ, यदि तपाईं आफ्नो मनमा त्यो छविलाई बढी प्रभावशाली रूपमा प्रकट गर्न सक्नुहुन्छ भने, यसले कर्मको बन्धनलाई समेत तोड्न सक्छ । तपाईं जे बन्न चाहनुहुन्छ, त्यसलाई सशक्त रूपमा कल्पना गर्नाले कर्मका सीमाहरू भत्काउन सकिन्छ । तपाईंका विचार, भावना र कार्यका सम्पूर्ण सीमितताहरूबाट माथि उठ्नको लागि यो एउटा अवसर हो ।

Editor's Note: Download the ebook “Inner Management”, where Sadhguru reveals effective tools to enhance capabilities, change your life, and open up a new dimension that frees us from external influences. Set "0" in the price field to download for free.

Download Inner Management