महाभारत अध्याय २३ : जब अघोरीले भीमलाई झण्डै मारे

सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज !
जब अघोरीले भीमलाई झण्डै मारे
 

सम्पूर्ण महाभारत अध्यायहरू

महाभारत

भारतम् महाभारतम्

धर्म, अधर्म, संघर्षणम्

पक्षी, प्राणी, मानव च देव

धर्म अधर्म पाञ्चालिका

ज्ञान प्रभासित दिव्य जीवम्

सर्वे सर्व महाअमृतम्

भारतम्


सद्‌गुरु: पाण्डवहरू लुकिरहेको ठाउँबाट बाहिर आएपछि अर्जुनले द्रौपदीलाई स्वयंवरमा जिते, अनि पाँच भाइहरूले द्रौपदीसँग विवाह गरे । अर्कोतर्फ, कौरवहरू अपमानित, क्रुद्ध र स्तब्ध भएका थिए । मरिसकेका ठानेको पाण्डवहरू कसरी एक बर्षपछि फेरि जीवित भए भन्ने कुरा उनीहरूले बुझ्न सकिरहेका थिएनन् । किनकि, उनीहरूले जलेका शरीरहरू फेला पारेका थिए— अनि अचानक उनीहरू सानदार रूपमा फर्किएका थिए !

कौरवहरूका निम्ति सबैभन्दा ठूलो अपमानको कुरा अर्जुनले प्रतियोगिता जितेका थिए, जुन कुनैपनि कौरवहरूले सकेनन् ।

द्रौपदीसँगको विवाहद्वारा द्रुपदसँग गाँसिएको सम्बन्धले पाण्डवहरू पहिलेभन्दा अझ बढी शक्तिशाली भएका थिए । कौरवहरूका निम्ति सबैभन्दा ठूलो अपमानको कुरा अर्जुनले प्रतियोगिता जितेका थिए, जुन कुनैपनि कौरवहरूले सकेनन् । साथै, कर्णलाई छुद्र जातिको मानेर प्रतियोगितामा भाग लिन समेत दिइएन ।

यता युधिष्ठिर पत्नी र पुजारीसहित दरबारमा फर्किए, अनि राजगद्दीको हक दाबी गरे । धृतराष्ट्रसामु उनलाई भावी राजाको रूपमा अहिले युवराज घोषणा गर्नुबाहेक अरू कुनै विकल्प थिएन । त्यस घटनापछि कौरव र पाण्डवहरूबिच पहिलेभन्दा अझ बढी सङ्घर्ष र शत्रुता चर्कियो । र, अब यो दरबारभित्रै चुलियो । उनीहरूले एक–अर्कालाई शारीरिक रूपमा कुनै क्षति त पुर्याएनन्, तर दुवै पक्षले एक–अर्काको अहितमा काम गरिरहे ।

सत्ताको शक्ति सङ्घर्षले गर्दा राज्यको प्रशासन प्रभावित भयो, र राष्ट्रले कष्ट भोग्नु पऱ्यो । भीष्मलाई राज्य-संरक्षकको नाताले नियम र शासना व्यवस्था बहाल गर्नुपर्छ भन्ने महसुस भयो । उनले भने, “हामीले युधिष्ठिरलाई गद्दी सुम्पिनुपर्छ । उनलाई युवराजको रूपमा राखिरहनुको कुनै औचित्य छैन, अब उनलाई महाराज बनाउनुपर्छ । यसले कुनै न कुनै तरिकाले स्थिति सुल्झाउने छ । अनि, दुर्योधन र अरूहरूलाई बाँकी महत्त्वपूर्ण पदहरू दिन सकिन्छ ।”

दुर्योधनको प्रतिरोध

यो घोषणापछि दुर्योधन क्रोधले आगो भए । उनी आफ्नो पिता समक्ष गए र भने, “तपाईंले मलाई भावी राजाको रूपमा हुर्काउनुभयो, तर अहिले तपाईं मलाई यी जङ्गलबाट आएकाहरूको दास बन्न र उनीहरूको आदेशको पालना गर्न भनिरहनु भएको छ । सबैभन्दा खराब कुरा त तपाईं मलाई त्यो भीमबाट निर्देशनहरू लिएको हेर्न चाहनुहुन्छ ? त्यसले दिनहुँ मलाई घोचपपेच गरी मेरो मजाक उडाउने छ । योभन्दा त म आत्महत्या गर्नेछु ।”

परम्पराअनुसार सबैभन्दा जेठोले गद्दी सम्हाल्न पाउँथ्यो, र युधिष्ठिर सबै भाइहरूमा जेष्ठ थिए । त्यसैले, भीष्मले उनलाई राजा घोषित गरे ।

दुर्योधनले आत्महत्याको धम्की दिए, तर भीष्म आफ्नो कुरामा अडिग रहे, “युधिष्ठिर राजा हुनेछ । राष्ट्रको कल्याण यही कुरामा निहित छ ।” भलै, धृतराष्ट्रलाई यो मन नपरको भएपनि उनीसँग कुनै विकल्प थिएन, किनकि उनी नाम मात्रका राजा थिए । आफू दृष्टिबिहीन भएकाले कुनै पनि काम गर्न अरूमा निर्भर रहुनुपर्थ्यो ।

आयु, बल र बुद्धिमा भीष्म ठूला थिए, उनी राज्य संरक्षक थिए अनि महान योद्धा थिए । सबैले उनको आदर गर्दथे । सबैभन्दा ठूलो सत्ता र निर्णय लिने शक्ति उनीसँगै थियो । उनले युधिष्ठिरलाई रोजिसकेका थिए ।

तर, दुर्योधनले बारम्बार आफ्ना बुबासँग कचकच गर्दै आत्महत्या गर्ने धम्की दिइरहे । उनका भाइहरूले भने, “बरु, हामी गान्धार जान्छौँ र पहाडतिर बस्छौँ ।” उनीहरूकी आमा त्यहीँबाट आएकी थिइन् । धृतराष्ट्रले के गर्ने भनेर सोच्न सकिरहेका थिएनन् । उनी आफ्ना छोराहरूले नै राज्य चलाऊन् भन्ने चाहन्थे, तर यो कसरी सम्भव गराउने भन्ने उनलाई थाहा थिएन । परम्पराअनुसार सबैभन्दा जेठोले गद्दी सम्हाल्न पाउँथ्यो, र युधिष्ठिर सबै भाइहरूमा जेष्ठ थिए । त्यसैले, भीष्मले उनलाई राजा घोषित गरे ।

धर्मप्रति युधिष्ठिरको भक्ति

राज्याभिषेक गर्ने दिन आयो । युधिष्ठिरले ऋषिमुनिहरूसँग थुप्रै समय बिताएका थिए अनि विभिन्न ग्रन्थहरू अध्ययन गरेका थिए । यसले गर्दा उनको सम्पूर्ण चिन्तन धर्म र कर्म, सही र गलतबाट निर्देशित भएको थियो । उनी हरेक कुरामा उचित र अनुचित छुट्याउँथे । उनी आजीवन सत्यवादी, इमानदार र न्यायी हुन चाहन्थे ।

भीष्मले सभामा युधिष्ठिरलाई राजा घोषणा गरेपछि उत्सवको माहोल चलिरहँदा युधिष्ठिर उठे अनि बोले, "मैले गर्नुपर्ने सम्पूर्ण कामहरूको निम्ति म जिम्मेवारी लिन्छु । तर, जबसम्म धृतराष्ट्र जीवित हुनुहुन्छ, उहाँलाई राजा रहिरहन दिनुहोस् । म उहाँबाट आदेश लिनेछु, साथै दुर्योधनलाई पनि राजाको रूपमा बराबर अधिकार दिइयोस् । उनी पनि मेरा भाइ हुन् ।"

एकाएक दुर्योधन र उनका भाइहरूका आँखा ठूला भए । उनीहरूले भने, “हँ ? के हामीले सही सुन्यौँ ?” उनीहरूले यो विश्वास गर्न सकिरहेका थिएनन् । उनीहरूले त्यत्रो सङ्घर्ष गरे अनि अहिले आएर युधिष्ठिरले राज्यमा समान अधिकार दिने घोषणा गरे किनकि उनको निम्ति त्यही उनको धर्म र न्याय थियो ।

साधारणतया, ठूलाले सानालाई आदेश दिन्थे, जुन शान्तनु र पुरुको समयदेखि चलेको थियो, तर दुर्योधनको हकमा भने यो प्रथा उल्टिएको थियो ।

भीष्मले निराश भावमा हात माथि उठाउँदै भने, “मैले लामो समयदेखि यो राष्ट्रको भार सम्हालेको छु ।” उनी विगत तीन पुस्तादेखि राजा नबनिकन राज्य सम्हालेका थिए । उनलाई देश चलाउने बोझ उठाउनु परेको थियो, तर उनीसँग परिवार हुनुको सुख थिएन किनकि उनी ब्रह्मचारी थिए । उनले निकै बढी त्याग गरेका थिए । अनि अहिले, जब उनी कुरुवंशमा शान्तनु पछिको अर्का सुयोग्य शासक नियुक्त गर्न चाहन्थे, परिस्थिति अनावश्यक रूपमा जटिल बनेको थियो ।

बाँकी चार पाण्डव भाइहरू रिसले चूर भएका थिए, तर उनीहरूले बुबाको मृत्युको समयमा वचन दिएका थिए कि जेठो दाइको नाताले युधिष्ठिरले जे भन्नेछन्, त्यही उनीहरूको लागि लागू हुनेछ ।

यहाँ यही नियम हुने गर्थ्यो । बुबा जीवित रहँदासम्म, बुबाबाट आएको कुरा छोराहरूले पालना गर्दथे । साधारणतया, ठूलाले सानालाई आदेश दिन्थे, जुन शान्तनु र पुरुको समयदेखि चलेको थियो, तर दुर्योधनको हकमा भने यो प्रथा उल्टिएको थियो । चार भाइहरूले युधिष्ठिरलाई बुबा जसरी हेर्दथे । उनीहरूले सधैँ उनको आज्ञाको पालन गर्दथे ।

तर, यो कुरा भीमलाई असह्य भयो । यतिका वर्षसम्म सङ्घर्ष गरेपछि अन्तत: युधिष्ठिरलाई राजा बनाइँदै थियो, अनि पाण्डवहरूले सबै शक्ति पाउने वाला थिए । तर, युधिष्ठिरले स्वेच्छाले गद्दीको हक छोडेर धृतराष्ट्र र उसको वंशसँग आफ्नो अधिकार बाँड्ने निर्णय गरे । भीम न त आफ्ना दाइको विरूद्धमा केही बोल्न सक्थे, न उनीसँग झगडा गर्न सक्थे । स्तब्ध हुँदै उनी सभाबाट बाहिरिए ।

भीम र जालन्धराको प्रेम सम्बन्ध

भीम जलन्धरासँग प्रेम गर्थे । जलन्धरा, दुर्योधनकी पत्नी भानुमतीकी बहिनी थिइन् । यो सम्बन्धले समस्या निम्त्याउने पक्का थियो ।

भीम सदाझैँ टन्न खाना खान्थे अनि कसै न कसैसँग झगडा गर्दथे । उनलाई यही मन पर्थ्यो— टन्न खाने र मस्त लड्ने । उनीसँग कहिल्यै नसकिने ऊर्जा र भोक हुन्थ्यो । उनी एउटी स्त्रीको प्रेममा परे, जसलाई हरियाणामा जलन्धरा, उत्तर प्रदेशमा वलन्धरा अनि बङ्गालमा बलन्धरा नामले चिनिन्छ । जलन्धरा, दुर्योधनकी पत्नी भानुमतीकी बहिनी थिइन् । यो सम्बन्धले समस्या निम्त्याउने पक्का थियो ।

महाभारतमा भीम र जलन्धराको प्रेमकथा विस्तारमा वर्णन गरिएको छ । तीमध्ये एक घटनामा भीम जलन्धरालाई भेट्न चाहन्थे, जुन दरबारमा सम्भव थिएन । त्यसैले, भीमले उनलाई कसरत गर्ने ठाउँमा भेटौँ भनेर चिट्ठी पठाए । भीम आफ्नो बढी समय त्यहीँ बिताउँथे । उनी दिनहुँ व्यायाम गरी आफ्ना मांशपेशीहरू बलियो बनाउँथे अनि गदा चलाउने अभ्यास पनि गर्दथे ।

मध्यरातमा, जलन्धरा लुकीछिपी आएर उनलाई भलियाको व्यायामशालामा भेटिन् । भलिया सय बर्षभन्दा बढी उमेरका महान पहलवान थिए । उनी सोमेश्वरका बुबा थिए, जसमाथि राजवंशलाई तालिम दिने काम सुम्पिएको थियो । भेटमा भानुमतिले कृष्णसँग भेट्न चाहेको कुरा जलन्धराले भीमलाई बताइन् । तर, दुर्योधनले उनीमाथि कृष्णलाई भेट्न रोक लगाएका थिए । साथै, आफूलाई भीमले विशेष नजरले हेरेको मन पर्ने कुरा समेत व्यक्त गरिन् । आफ्नो प्रशंसा सुनेर भीमको रिस अलिकति शान्त भयो । जलन्धरा बोलिरहिन्, "यदि तिमी मेरो स्वयंवरमा आयौ भने, सबैलाई त्यागेर म तिम्रै घाँटीमा वरमाला लगाइदिनेछु । म तिमीबाहेक अरू कसैलाई रोज्दिनँ ।" यति सुन्नेबित्तिकै भीम पूरै पग्लिए । उनले जलन्धराको लागि जेसुकै गर्ने वचन दिए । उनले भने, "म कृष्णसँग कुरा गरेर तिम्रो भेटको लागि व्यवस्था गर्नेछु ।" यति सुनेपछि जलन्धरा र उनकी सेविका त्यहाँबाट गए । राजकुमारी भएर पराइ पुरुषसँग व्यायामशालामा भेट्न आएको कुरा अरूले थाहा पाए भने, उनको सबै प्रतिष्ठा र सम्मान माटोमा मिल्न सक्न्थ्यो । त्यसैले, पहिला दुवैलाई त्यहाँबाट बाहिर निस्किए अनि फेरि केही समयपछि अलिकति दुरीमा भीम आफ्ना साथीसँग त्यहाँबाट निस्किए । जलन्धरालाई पुऱ्याएर फर्किँदै गर्दा भीमले आफूलाई कसैले पछ्याइरहेको चाल पाए ।

भीमले ती व्यक्तिको घाँटी समातेर ऱ्याखऱ्याख पारे । शुरुमा जासुसले केही बताउन नचाहेपनि, भीमले राम्रोसँग धुलाइ गरेपछि अन्तत: उनले आफू शकुनिले पठाएको जासुस भएको स्वीकारे । शकुनिले पठाएको भन्नेबित्तिकै भीम चनाखो भए, किनकि शकुनी छल–कपटमा माहिर थिए । आफ्नो जिन्दगी खतरामा देखेपछि जासुसले बिन्तीभाउ गरे, "कृपया मलाई नमार्नुहोस् । म तपाईंलाई निकै काम लाग्ने सूचना दिनेछु । शकुनि र दुशासन मिलेर भीष्म र कृष्णलाई मार्ने योजना बनाइरहेका छन् । अर्को औँसीसम्म तपाईंहरू तीनैजना मारिँदै हुनुहुन्छ ।" भीम कड्किए, “तँ यो के बोल्दै छस् ? म किन एक महिनाभित्र मर्नु ? बरु, तँ चाहिँ अर्को एक मिनेटमा मर्ने वाला छस् ।” जासुसले विस्तारमा बताए, "नदी पारी एकजना अघोरी बस्छन् । दुशासन र शकुनी यतिखेर त्यहीँ छन् । उनीहरू मिलेर कालो जादु गरिरहेका छन्, जसले गर्दा तपाईंहरू तीनैजना मारिन सक्नुहुन्छ ।"

विचित्रको अघोरी

अघोरीले विशेष पूजा गरे अनि देवीको आह्वान गरे । अचानक एकदमै भयानक देवीको रूप प्रकट भयो अनि अघोरीसँग कुराकानी शुरु भयो ।

भीम र जासुस चुपचाप एउटा डुङ्गा लिएर नदी तरे । नदी पार गरेर उनीहरू अघोरीको कुटीमा पुगे । अघोरीहरू एक प्रकारका रहस्यदर्शीहरू हुन्, जो उग्र र विचित्र किसिमका योगी हुन् । अहिले पनि अघोरीहरू बाँकी समाजको तुलनामा निकै विषम जीवन बाँच्दछन्— ती को हुन् र तिनले के गर्छन् भन्ने कुराहरू अरूले बुझ्न सक्दैनन् ।

शकुनि र दुशासन अघोरीको छेउमा बसिरहेका थिए । त्यहाँ आगो बालिएको थियो । ७५–८० वर्षका अघोरी पूरै नग्न अवस्थामा थिए, जस्तो सामान्यतया अघोरी हुने गर्दछन् । अघोरीले केहीबेर मन्त्र पढेर केही बर्बराउन थाले । अघोरीले सबैभन्दा पहिला कसलाई समाप्त गर्न चाहन्छौ भनेर सोधे । दुशासनले जवाफ दिए, "सबैभन्दा पहिला भीष्मलाई समाप्त गर्न चाहन्छौँ ।"

अघोरीले विशेष पूजा गरे अनि देवीको आह्वान गरे । अचानक एकदमै भयानक देवीको रूप प्रकट भयो अनि अघोरीसँग कुराकानी शुरु भयो । अघोरीले भने, "अर्को औँसीसम्म गङ्गापुत्र भीष्मलाई समाप्त गर्नुपर्नेछ ।" देवीको आवाज गुन्जियो, "भीष्मले इच्छा मृत्युको वरदान पाएका छन्, त्यसैले हामी केही पनि गर्न सक्दैनौँ ।" शकुनिले अघोरीलाई भने, "त्यसोभए, कृष्ण ।" अघोरीले देवीलाई वासुदेव कृष्णलाई समाप्त गर्नुपर्छ भनेपछि देवी जोडले हाँस्दै भनिन्, "वासुदेव कृष्ण दिव्य अवतार हुन् । हामी कृष्णलाई छुन पनि सक्दैनौँ ।" त्यसपछि शकुनि बोले, "भीमलाई मार्नुपर्छ । ऊ नै पाण्डवहरूको वास्तविक शक्ति हो । यदि ऊ समाप्त भयो भने, हामी पाण्डवहरूलाई छिन्नभिन्न पारिदिन्छौँ ।" अघोरीले देवीलाई, "त्यसोभए, पाण्डु पुत्र भीम मर्नुपर्नेछ ।" देवीले भनिन्, "आवश्यक पूजा र अर्पणहरू गर्नू ।"

अघोरीले अर्को चरणको पूजा शुरु गरे, ताकि अर्को महिनामा भीमलाई समाप्त गर्न सकियोस् । तर, त्यसैबला भीम त्यहाँ गए अनि कुटीको छानो भत्काइदिए, जुन आगोमा परेर सल्कियो । पूरै यज्ञ भताभुङ्ग भयो अनि आगो दन्कियो । दुर्घटनावश अघोरी पनि आगोमा होमिए । उनको शरीरले आगो टिप्यो । आगोमा जलिरहँदा अघोरी पलेटी कसेर बसेका थिए, आँखा खुलै थियो अनि एक शब्द पनि उच्चारण गरेनन् । अघोरी प्रचण्ड ऊर्जामा बदलिए, जसबाट भयानक गर्जन आउन थाल्यो । यो सबै देखेर शकुनि र दुशासन डरले थरथर काँप्दै त्यहाँबाट भागे । भीम पनि यो दृश्यबाट अलिकति हच्किए । डुङ्गामा फर्किएपछि भीमले जासुसको घाँटी अँठ्याएर नदीमा डुबाइदिए, किनकि उनलाई आफूले जलन्धरासँग भेटेको कुरा जासुसले अरूलाई बताउँछन् भन्ने डर थियो ।

जो मानिसहरू अथर्व मार्ग अर्थात् विद्याको मार्गमा हुन्छन्, उनीहरू यस्ता चीजहरू सुन्न, देख्न, सुँघ्न, चाख्न र स्पर्श गर्न सक्छन्, जसको तपाईं कल्पना समेत गर्न सक्नुहुन्न । जीवनको स्तरमा हेर्ने हो भने, थुप्रै रहस्यमय घटनाहरू भइरहेका हुन्छन् । ईशा योग केन्द्र, नजिकै अवस्थित वेल्लियनगिरी पर्वतले थुप्रै सिद्धहरू, योगीहरू र तपस्वीहरू देखेको छ । उनीहरूले आफ्नो साधनाद्वारा यहाँ छोडेर गएका ऊर्जाहरूलाई कहिल्यै नष्ट गर्न सकिँदैन, त्यो सदैव रहनेछ । यदि तपाईंले सही स्थिति र वातावरण सृजना गर्नुभयो भने, त्यो ऊर्जा प्रबल रूपमा सक्रिय हुन सक्छ, अन्यथा त्यो यत्तिकै त्यहाँ रहनेछ ।

क्रमशः

 

सम्पूर्ण महाभारत अध्यायहरू