सद्‌गुरु: कहिलेकाहीँ जीवनले मानिसलाई यस्ता कठिन परिस्थितिहरूमा उभ्याइदिन्छ कि त्यस क्षणमा मानिसहरू आफूले सामना गर्नुपरेको परिस्थितिहरूभन्दा मृत्यु पक्कै पनि उचित हो भन्ने महसुस गर्न सक्छन् । तर, यदि तपईंले यसलाई स्वीकार गर्नुभयो भने, आफूले सामना गर्ने सानातिना अप्ठ्याराहरूलाई पनि उनीहरू सबैभन्दा कठिन परिस्थिति ठान्नेछन् अनि आफूलाई अन्त्य गर्न चाहनेछन् । त्यसैले, यसलाई कुनै पनि हालतमा सही मान्न सकिँदैन । किनकि, सामाजिक संरचना र समाजको मनस्थितिमा यसलाई मान्यता दिनेबित्तिकै ठूलो सङ्ख्यामा मानिसहरू आत्महत्या गर्न थाल्नेछन् । कुनै सानो अप्ठ्यारो हुनेबित्तिकै आफैँलाई मार्नेछन् !

यो जीवन तपाईंले सृजना गर्नुभएको होइन, त्यसैले यसलाई समाप्त गर्ने तपाईंलाई कुनै अधिकार छैन— चाहे त्यो तपाईंको आफ्नो जीवन होस् वा अरू कसैको किन नहोस् ! सिधा कुरा के हो भने, जबसम्म तपाईंमा यसलाई सृजना गर्ने सामर्थ्य हुँदैन, तपाईंले यसलाई नष्ट गर्नुहुँदैन । जीवनमा अनेक किसिमका परिस्थितिहरू सामना गर्नुपर्छ— केही ठीक हुन्छन्, केही ठीक हुँदैनन्, केही त एकदमै भयानक समेत हुन्छन्— त्यसबेला पनि तपाईंलाई आफ्नो जीवन त्याग्ने कुनै अधिकार हुँदैन, किनकि तपाईं यो जीवन सृजना गर्न सक्षम हुनुहुन्न ।

यो जीवन तपाईंले सृजना गर्नुभएको होइन, त्यसैले यसलाई समाप्त गर्ने तपाईंलाई कुनै अधिकार छैन— चाहे त्यो तपाईंको आफ्नो जीवन होस् वा अरू कसैको किन नहोस् !

स्वाभाविक रूपमा जो-कसैका निम्ति आफ्नो जीवन अमूल्य हुन्छ । यद्यपि, यदि कसैले यो भावनालाई नाघेर आफ्नो जीवन त्याग्ने कोसिस गरेका छन्, र यदि बाँचेका छन् भने, म पूर्णतया 'नाईं' भन्छु । तर, यदि कसैले आत्महत्या गरिसके भने, उसको त्यस निर्णयलाई सम्मान गर्नुहोस् अनि त्यो विषयलाई त्यहीँ छोड्नुहोस् । आफूसँग भएको यति अमूल्य कुरा हुँदाहुँदै पनि कसैले आफ्नै ज्यान लिने कठोर पाइला चालेका छन् भने, हामीलाई त्यो कार्य जतिसुकै मूर्खतापूर्ण लागे तापनि उसको निर्णयलाई सम्मान गर्नुपर्छ, किनकि जे भइसक्यो, त्यो भइसक्यो । तर, यदि कोही जीवित छन् भने, तपाईंले १००% 'हुँदैन' भन्नुपर्छ, किनकि उसलाई त्यसो गर्ने कुनै अधिकार छैन ।

मानिसको कर्मसँग सम्बन्धित संरचनाको आधारमा अनि उसको आध्यात्मिक विकासको सन्दर्भमा हेर्ने हो भने, १००% त्यसो गर्नुहुँदैन । यसको प्रश्न नै उठ्दैन । जीवनका परिस्थितिहरूमा फस्नु वा अल्झिनुको सट्टा तपाईंले हरेक परिस्थितिलाई एउटा सम्भावनाको रूपमा हेर्नुपर्छ, ताकि तपाईं मुक्तितर्फ अघि बढ्नु होओस् । यदि तपाईंले हरेक परिस्थितिलाई अघि बढ्नको निम्ति खुड्किलाको रूपमा प्रयोग गर्नुभयो भने, आत्महत्याको प्रश्न नै उठ्दैन । यदि समाजमा आध्यात्मिक प्रकियाहरू सक्रिय हुने हो भने, आत्महत्याको घटना लगभग पूरै हराउनेछ— मानसिक रोग लागेका मानिसहरूबाहेक । उनीहरू केही न केही गर्न सक्छन्, किनकि उनीहरू जे-जति गरिरहेका हुन्छन्, त्यो स्वयं उनीहरूकै नियन्त्रणमा हुँदैन । तर, यदि व्यक्तिको जीवनमा आध्यात्मिक प्रक्रियाको सहारा छ भने, जानीबुझी आफ्नो ज्यान लिने मानिसहरू निकै कम हुनेछन् । सम्भवतः यो पूरै हराउन पनि सक्छ ।

Editor’s Note: Get the latest updates from the Isha Blog. Twitter, facebook, rss or browser extensions, take your pick.