Sadhguru: मूलत: यस परम्परामा जब हामी कुनै पनि कुरामा “योग” शब्द जोड्छौँ, यसले यो इङ्गित गरिरहेको हुन्छ कि त्यो आफैँमा पूर्ण मार्ग हो । हामी हठ योग भन्छौँ, तर आसन योग भन्दैनौँ । तर, यदि कोही अमेरिकाबाट आएका हुन् भने, उनीहरू जे पनि भन्छन् !

शाब्दिक रूपमा, योग भनेको “मिलन” हो । मिलनको अर्थ यो हो कि यसले तपाईंलाई परम सत्यसम्म पुऱ्याउँछ, जहाँ जीवन जसरी व्यक्तिगत रूपमा प्रकट भइरहेको हुन्छ, सृष्टिको प्रक्रियामा त्यो सतही फोकाहरू मात्र हुन्छन् ।

यदि यो आफैँमा पूर्ण मार्ग हो भने, यसलाई कसरी अबलम्बन गरिनुपर्छ ? यदि यो सरल अभ्यास भएको भए, तपाईं यसलाई एउटा तरिकाले अपनाउन सक्नुहुन्थ्यो । यदि यो कलाको स्वरूप वा केवल मनोरञ्जनको विषय भएको भए, यसलाई अर्को तरिकाले अपनाउन सकिन्थ्यो । म यी सबै शब्दहरू यसकारण उल्लेख गरिरहेको छु, किनकि अहिले संसारैभरि यी शब्दहरू प्रयोग गरिन्छन् । अचेल मानिसहरू “मनोरञ्जनात्मक योग”, “स्वास्थ्य योग” भन्ने गर्छन्; मानिसहरूले योगलाई पनि कलाको स्वरूप भन्न थालेका छन्— योगलाई कलाको रूप दिएर उनीहरू सेवा गरिरहेका छन् भन्ने ठान्छन् । होइन । तपाईंले “योग” शब्दको उच्चारण गर्नेबित्तिकै यसले यो आफैँमा पूर्ण मार्ग हो भनेर जनाइरहेको हुन्छ ।

मूलभूत रूपमा “योग” भनेको त्यो हो “जसले तपाईंलाई वास्तविकतामा पुऱ्याउँछ ।” शाब्दिक रूपमा, योग भनेको “मिलन” हो । मिलनको अर्थ यो हो कि यसले तपाईंलाई परम सत्यसम्म पुऱ्याउँछ, जहाँ जीवन जसरी व्यक्तिगत रूपमा प्रकट भइरहेको हुन्छ, सृष्टिको प्रक्रियामा त्यो सतही फोकाहरू मात्र हुन्छन् । उदाहरणको लागि, नरिवलको रूख र आँपको रूख यही धरतीबाट बाहिर आएका हुन् । त्यसैगरी, मानव शरीर र अन्य थुप्रै प्राणीहरूसमेत यही धरतीबाट अस्तित्वमा आएका हुन् । यी सबैथोक वास्तवमा त्यही धरती हो ।

अस्तित्वको परम प्रकृतिलाई जान्नु, यो जुन रूपमा बनेको छ, त्यसलाई अनुभवको स्तरमा जान्नु नै योगको मूल उद्देश्य हो ।

जब हामी योगको अर्थ मिलन हो भनिरहेका छौँ, यो कुनै विचार, दर्शन वा धारणा होइन । यदि तपाईंले ब्रम्हाण्डमा सबैथोक समान छन् भनेर बौद्धिक विचारको रूपमा अभिव्यक्ति दिनुभयो भने, यसले तपाईंलाई चिया–गफमा लोकप्रिय बनाउन सक्ला, यसले तपाईंलाई समाजमा केही हदसम्म मान–प्रतिष्ठासमेत दिन सक्ला, तर यसले त्योभन्दा बढी अरू केही गर्दैन । हामी जीवन र मृत्युसम्म पुग्नै पर्दैन, जब पैसाको कुरा आउँछ, " यो म हुँ, त्यो तपाईं हो" भनेर प्रष्ट सीमारेखा कोरिन्छ— तपाईं र म एक हुने त प्रश्न नै उठ्दैन !

यदि सबैथोकलाई बौद्धिक स्तरमा हेरेर एक हो भन्न थाल्ने हो भने, यसले वास्तवमा मानिसहरूलाई क्षति पुऱ्याउँछ । सबैथोक एक हो भन्ने धारणा बोकेर मानिसहरू अनेक प्रकारका मूर्खतापूर्ण कामहरू गरिरहेका छन् । तर, जब कसैले उनीहरूलाई राम्रो पाठ सिकाउँछन्, तब उनीहरू यो प्रष्ट देख्छन् कि “यो म हुँ, त्यो तपाईं हो । कुनै पनि हालतमा एक हुनै सकिँदैन ।”

आफ्नो व्यक्तिगत अस्तित्व छ भन्नु एउटा विचार हो । सर्वव्यापी हुनु वा सबैतिर व्याप्त हुनु कुनै विचार होइन, यो त वास्तविकता हो ।

तर, यदि यही कुरा अनुभूतिको स्तरको सत्य बन्यो भने, अपरिपक्व कार्यहरूको जन्म हुँदैन । यसले जीवनको विशाल र गहन अनुभवलाई अभिव्यक्त गर्दछ । आफ्नो व्यक्तिगत अस्तित्व छ भन्नु एउटा विचार हो । सर्वव्यापी हुनु वा सबैतिर व्याप्त हुनु कुनै विचार होइन, यो त वास्तविकता हो । अर्को शब्दमा भन्नुपर्दा, योग भनेको आफ्ना सम्पूर्ण विचारहरूको अन्त्येष्टि गर्नु हो !

Editor’s Note: Excerpted from Sadhguru’s discourse at the Isha Hatha Yoga School’s 21-week Hatha Yoga Teacher Training program. The program offers an unparalleled opportunity to acquire a profound understanding of the yogic system and the proficiency to teach Hatha Yoga. For more information, visit www.ishahathayoga.com or mail info@ishahatayoga.com