सद्‌गुरु: रावण शिवका महान् तथा उग्र भक्त थिए । उनीहरूका बारेमा थुप्रै कथाहरू उल्लेखित छन् । एउटा भक्त महान् बन्नु हुँदैन, तर रावण महान् भक्त थिए ! उनी दक्षिणबाट हिँडेरै कैलाशसम्म पुगे— कृपया तपाईं यो कल्पना गर्नुहोस्, उनले हिँडेरै त्यत्रो दुरी पूरा गरे । शिवको महिमा गाउँदै रावणले पूरै यात्रा तय गरे । आफूसँग भएको डमरु बजाउँदै, कुनै तयारीबिनै उनले तत्कालै १००८ श्लोकहरू रचना गरे, जसलाई शिव ताण्डव स्तोत्रम भनिन्छ ।

रावणको भजनले शिव अत्यन्तै प्रसन्न एवं मन्त्रमुग्ध भए । भजन गाउँदै गर्दा, बिस्तारै रावणले दक्षिणतर्फबाट कैलाशमाथि चढ्न शुरु गरे । रावण लगभग टुप्पोमा पुगिसकेका थिए । यता शिव भने त्यो सङ्गीतमा पूरै मग्न भएका थिए । पार्वतीले रावण माथितिर आइरहेको देखिन् ।

कैलाशको शिखरमा दुईजनाको लागि मात्र स्थान थियो ! त्यसैले, पार्वतीले शिवलाई सङ्गीतको नशाबाट बाहिर निकाल्ने प्रयास गरिन् । उनले भनिन्, “लौ न ! रावण त माथि नै आइपुगिसक्यो।" तर, शिव भने रावणको भजन र सङ्गीतमा चुर्लुम्मै डुबेका थिए । अन्ततः पार्वतीले उनलाई भजनको सम्मोहनबाट बाहिर सामान्य अवस्थामा फर्काइन् । अनि, रावण शिखरमै पुग्न लाग्दा शिवले उनलाई लात्ताले धक्का दिए । कैलाशको दक्षिणपट्टीको भागबाट रावण घिस्रिँदै तल पुगे । यस्तो भनिन्छ कि रावण डमरु लिएरै तल गुल्टिएको हुँदा पूरै पर्वतभरि त्यसको छाप बनेको हो । यदि तपाईंले कैलाशको दक्षिणी भागलाई हेर्नुभयो भने, तपाईं त्यसको बिचमा चिरिएको जस्तो दाग देख्नुहुनेछ, जुन सिधै तलसम्म गइरहेको छ ।

वास्तवमा भन्नुपर्दा, कैलाशको एकपट्टीको भाग र अर्कोपट्टीको भागबिच तुलना गर्नु वा भिन्नता देखाउनु उपयुक्त होइन । तर, हाम्रो निम्ति कैलाशको दक्षिण भाग विशेष छ, किनकि यस भागमा अगस्त्य मुनिले देह त्याग गरी पर्वतसँग एक भएका थिए । हामी यहाँ दक्षिण भारतमा रहेकोले त्यो मेरो पूर्वाग्रह पनि हुन सक्छ अनि मलाई लाग्छ कि त्यो सबैभन्दा सुन्दर भाग हो ! त्यस भागमा हिउँ भइरहने हुनाले अवश्य पनि त्यो सुन्दर छ ।

अनेक कारणहरूले गर्दा, कैलाशको दक्षिण भागमा सबैभन्दा बढी प्रखरता र तिव्रता छ, तर निकै कम मानिसहरू मात्र त्यहाँ पुग्छन् । त्यो अलिकति दुर्गम छ अनि कठिन मार्ग समेत भएकोले केही निश्चित मानिसहरू मात्र त्यहाँ जाने गर्छन् ।