प्रश्नः सद्‌गुरु, तामिलमा एउटा प्रचलित भनाइ छ— ‘पुरुषसँग न त आफ्नो खेतको लागि सही वस्तुभाउ हुन्छ, न त आफ्नी आमाको लागि सही बुहारी।’ यसमा तपाईंको विचार के छ ?

सद्‌गुरुः अधिकांश मानिसहरूको जीवनमा यो एउटा मूलभूत समस्या होः उनीहरू आफ्नो जीवनमा सदैव सबैभन्दा उत्तम व्यक्ति वा सबैभन्दा राम्रो काम खोजिरहेका हुन्छन् । सबैभन्दा उत्तम व्यक्ति वा सबैभन्दा राम्रो काम भन्ने त्यस्तो केही हुँदैन । तपाईं जे-जति गर्नुहुन्छ, यदि त्यसलाई पूरै लगनताले गर्नुभयो अनि आफूलाई त्यसमा समर्पित गर्नुभयो भने, त्यो एउटा महान् काम बन्दछ । यतिखेर, तपाईंको छेउछाउमा चाहे जोसुकै होऊन्, यदि तपाईंले उसको लागि आफूलाई पूरै समर्पित गर्नुभयो, यदि तपाईंको संलग्नता पूर्ण भयो भने, तपाईंले पाउनुहुनेछ कि हरेक कोही ठीक छन् । यो क्षणमा तपाईंको नजिकमा जोसुकै भए तापनि, तपाईं पूरै घुलमिल हुन सक्नुहुन्छ भने, उनीहरूसँग रहँदाको क्षण विशेष र सुन्दर हुन्छ । तर, यदि तपाईं यो सोच्नुहुन्छ कि ″के यो व्यक्ति सबैभन्दा उत्तम हो ?″ — संसारमा कोही पनि सबैभन्दा उत्तम हुँदैन । यहाँ सम्म कि यदि तपाईंको विवाह भगवान्‌सँग भयो भने पनि, तपाईंकी आमाले मात्रै होइन कि तपाईंले समेत गुनासो गर्नुहुनेछ ।

सासु— कुनैबेला एक स्त्री र आमा

जहाँसम्म आमालाई खुसी राख्ने कुरा छ, हामीले यो बुझ्न जरूरी छ कि आमा सर्वप्रथम एक स्त्री हुन् । त्यसपछि उनी आमा बनिन् । पत्नी पनि मूलतः एक स्त्री हुन्, त्यसपछि मात्र पत्नी बनिन् । यो भूमिका पछि आउँछ । मूलतः उनको पहिचान स्त्री हो । त्यसपछि, उनको पहिचान पत्नी अनि पछि आमा बन्दछ । यो क्रमशः आउँछ ।

दुर्भाग्यवश, सम्बन्धमा हुने मूर्खतापूर्ण समस्याहरू सदियौँदेखि अन्तहीन चलिरहेका छन् ।

कुनै परिवारमा एउटा युवक विवाह गर्न चाहिरहेको थियो । उसले आफ्नी आमालाई यो कुरा भन्यो अनि केटीलाई घर ल्याउन चाह्यो । ऊ आमाको आशीर्वाद लिन चाहन्थ्यो, साथै पछि घरमा कुनै झगडा नहोस् भनेर अलिकति स्वीकृति पनि चाहन्थ्यो । ऊ आफ्नी आमाप्रति विश्वस्त थियो, तथापि ऊ यसलाई अलिकति रोमाञ्चक र मनोरञ्जक बनाउन चाहन्थ्यो ।

त्यसैले, उसले आफ्नी गर्लफ्रेन्डसँगै आफ्नो अफिसका अरू तीन युवती साथीहरूलाई पनि सँगै घरमा बोलायो । उनीहरू सबैजना रातिको खानाको लागि त्यहाँ भेला भए । आफूले रूचाएको केटीलाई आमाले चिन्न सक्नुहुन्छ वा सक्नुहुन्न भनेर ऊ हेर्न चाहन्थ्यो । ऊ सबै केटीहरूसँग एकै किसिमको व्यवहार गरिरहेको थियो, ताकि आमालाई सजिलै थाहा नहोस् । ती सबैजना फर्किएपछि उसले सोध्यो, ″आमा, के तपाईंले पत्ता लगाउनुभयो कि मैले रोजेको केटी को हो ?″ आमाले भन्नुभयो, ″मैले थाहा पाइसकेँ । त्यही, जसले रातो लुगा लगाएकी थिई ।″ छोराले सोध्यो, ″अरे! तपाईंले कसरी थाहा पाउनुभयो ? मैले त ऊतिर हेरेको समेत थिइन । तपाईंले थाहा पाउनुहोला भनेर म त अरूलाई मात्र धेरै हेरिरहेको थिएँ ।' आमाको जवाफ आयो, ″त्यो केटी भित्र छिर्ने बित्तिकै, मलाई मन परेन । त्यसैले, त्यही केटी हुनुपर्छ भन्ने लाग्यो ।″

आफ्नो कुरा अरूलाई दिन कठिन

घरमा आउने नयाँ-स्त्रीप्रति स्वतः अस्विकृति वा विरोध भाव हुन्छ, किनकि अब तपाईंले यस्तो व्यक्तिलाई अरूको हातमा सुम्पिनु पर्ने हुन्छ, जसप्रति तपाईंको मात्रै अधिकार थियो— यहाँ सम्म कि त्यो अधिकार अब बराबरी पनि हुँदैन । एउटी आमाको चाहना हुन्छ कि उसको छोराले विवाह गरोस् अनि खुसी रहोस् । तर, अर्को स्तरमा हेर्न हो भने, उनी अझै एउटी स्त्री हुन् । जो तपाईंको थियो, ऊसँग केही पल बिताउन पनि तपाईंले अनुमति लिनुपर्ने हुन्छ । यसबाट परिस्थिति थोरै कठिन बन्दछ । दुर्भाग्यवश, सम्बन्धमा हुने मूर्खतापूर्ण समस्याहरू सदियौँदेखि अन्तहीन चलिरहेका छन् । यसलाई बदल्न सकिन्थ्यो, तर त्यसलाई बदल्नेप्रति मानिसहरूमा कुनै चासो छैन ।

यो केही हदसम्म जैविक (बायोलोजिकल) समस्या हो, किनकि यो प्रजनन र सुरक्षाको प्रक्रिया अन्तर्गत पर्दछ । यदि एउटी स्त्रीमा आफ्नो चिजप्रति अधिकार भाव नहुने हो भने, सम्भवतः उनले आफ्नो बच्चाको हेरचाह गर्ने थिइनन् । उनी बच्चाहरू जन्माएर तिनलाई यत्तिकै छाडेर जाने थिइन् । यो जैविक प्रकिया हो, जुन कुनै न कुनै रूपमा जीवनभरी अनेक रूपमा व्यक्त भइरहेको हुन्छ । यद्यपि, यदि व्यक्तिमा परिपक्वता, समझदारी र चेतना हुने हो भने, यसबाट माथि उठ्न सकिन्छ ।

Editor’s Note: Why are relationships such a circus for most of us? What is this primal urge within us that demands a bond – physical, mental, or emotional – with another? And how do we keep this bond from turning into bondage? These are the fundamental questions that Sadhguru looks at in “Compulsiveness to Consciousness”. Ebook available for purchase at Isha Downloads.