सद्‌गुरु: डर उत्पन्न हुनुको कारण के हो भने, तपाईं जीवनसँग बाँचिरहनु भएको छैन, तपाईं आफ्नो दिमागमा बाँचिरहनु भएको छ । तपाईंको डर अब के होला भन्ने विषयमा केन्द्रित रहेको हुन्छ । यसको अर्थ यो हो कि तपाईंको डर सदैव त्यसको बारेमा रहेको हुन्छ, जसको अस्तित्व नै छैन । यदि तपाईंको डर अस्तित्व-विहीनको बारेमा हो भने, तपाईंको डर शत-प्रतिशत काल्पनिक हो । यदि तपाईं अस्तित्वमा नै नभएको कुराबाट पीडित हुनु भइरहेको छ भने, त्यसलाई पागलपन भनिन्छ । मानिसहरू सामाजिक स्तरमा स्वीकार्य स्तरको पागलपनमा हुन सक्छन्, तर यदि तपाईं डराउनु हुन्छ वा अस्तित्वमा हुँदै नभएको कुराले पीडित बन्नुहुन्छ भने, त्यो पागलपन हुन्छ, होइन र ?

हिजो यस्तो भयो वा भोलि त्यस्तो होला कि भन्ने विषयलाई लिएर मानिसहरू सधैँ भयभीत भइरहेका हुन्छन्, पीडित बनिरहेका हुन्छन् । तसर्थ, तपाईं त्यसको बारेमा पीडामा डुबिरहनु भएको हुन्छ, जसको अस्तित्व नै छैन— किनकि, तपाईं यथार्थमा स्थापित हुनुहुन्न, तपाईंले आफ्नो मनमा जरा गाड्नु भएको छ । मनको एउटा भाग स्मृति हो, जबकि अर्को कल्पना । वास्तवमा भन्नुपर्दा, दुवै एक प्रकारले कल्पना नै हुन्, किनकि यतिखेर दुवैको अस्तित्व छैन । तपाईं आफ्नो कल्पनामा हराउनु हुन्छ— डर उत्पन्न हुनुको आधार नै यही हो । यदि तपाईं यथार्थमा स्थापित हुनुभएको भए, कुनै डर हुँदैनथ्यो ।

डरले तपाईंको वरिपरि घेराहरू बनाउँछ । तपाईंभित्र डर भएकै कारण, तपाईं सधैँ सीमाहरू बनाउनु हुन्छ । यदि तपाईं सीमा-रेखाहरू बनाएर आफ्नो जीवनको दायरालाई प्रतिबन्धित गर्नुहुन्छ भने, तपाईं सुरक्षित रहन त सक्नुहोला । तर, समस्या के हो भने, तपाईं जीवनबाट समेत जोगिनुहुन्छ । तपाईंलाई स्वयं जीवनले पनि केही गर्न सक्दैन । कस्तो गज्जबको सुरक्षा !

भ्रम सृजना गर्ने मन

तपाईंले यो निर्णय गर्नैपर्छ कि तपाईं यहाँ जीवनलाई अनुभव गर्न आउनुभएको हो वा जीवनबाट अलग्गै रहन । यदि तपाईं यहाँ जीवनलाई अनुभव गर्न आउनुभएको हो भने, सबैभन्दा आवश्यक तत्त्व हो तीव्रता । यदि तपाईंमा तीव्रता छैन भने, तपाईंको जीवनको अनुभव अपूर्ण हुनेछ । तपाईं जुन क्षण आफूलाई जोगाउनको लागि डरलाई साधनको रूपमा प्रयोग गर्नुहुन्छ, तपाईंको तीव्र उत्साह घट्दै जान्छ । जब यो उत्साह सेलाउँछ, जीवनलाई अनुभव गर्ने तपाईंको सामर्थ्य पनि हराउँछ । तपाईं मनोग्रस्त बन्नुहुन्छ । तपाईंको दिमागमा जे–जति चल्छ, त्यसमै सीमित रहनु हुनेछ । तपाईंले न त केही अद्‌भुत कुरा अनुभव गर्नुहुन्छ, न त परम–आनन्द नै अनुभव गर्नुहुन्छ । किनकि, जब तपाईं भयभीत बन्नुहुन्छ, तपाईंमा निष्फिक्री भाव रहनेछैन । तपाईं गाउन सक्नुहुन्न, नाच्न सक्नुहुन्न, हाँस्न सक्नुहुन्न, रून सक्नुहुन्न— तपाईं ती केही पनि गर्न सक्नुहुन्न, जुन वास्तवमा जीवन हो । तपाईं यहाँ बसेर जीवन र जीवनका सबै जोखिमहरूको विलाप मात्रै गर्न सक्नुहुन्छ ।

आउनुहोस्, यसलाई ध्यानपूर्वक मनन गरौँ, वास्तवमा डर केको बारेमा उत्पन्न हुन्छ ? घटिसकेको कुराले कहिल्यै डर उत्पन्न हुँदैन । अब के हुने होला भन्ने बारेमा नै डर रहेको हुन्छ । डर, सधैँ भविष्यको बारेमा रहेको हुन्छ । भविष्य अझै आउन बाँकी नै छ । यो अझै भइसकेको छैन । अर्थात्, यसको कुनै अस्तित्व छैन । त्यसैले, डराउनु भनेको के हो भने, तपाईं त्यसबाट पीडित बनिरहनु भएको छ, जसको अस्तित्व नै छैन । यदि तपाईं अस्तित्वमै नभएको कुराबाट पीडामा डुबिरहनु भएको छ भने, हामीले तपाईंलाई के भन्ने— सद्दे वा पागल ? "सबैजना म जस्तै छन्", यही तपाईंको सन्तोष हो । तपाईंसँग बहुमत छ ! तर, त्यसले अझैपनि स्थितिलाई ठिक गर्दैन, किनकि तपाईं त्यसबाट दुःखी हुनु भइरहेको छ, जुन अस्तित्वमा नै छैन ।

डरबाट कसरी मुक्त हुने ?

डर, जीवनको उपज होइन । डर भ्रामक मनको उपज हो । तपाईं हुँदै नभएको कुराबाट दु:खी बन्नुहुन्छ, किनकि तपाईंले आफूलाई यथार्थमा स्थापति गर्नुभएको छैन । बरु, आफ्नो दिमागमा जरा गाड्नु भएको छ, जसले निरन्तर अतीतबाट पोषित भएर भविष्यतमा विसर्जन गरिरहेको हुन्छ । तपाईंलाई वास्तवमा भविष्यको बारेमा केही पनि थाहा छैन । तपाईं अतीतबाट एउटा टुक्रा लिनुहुन्छ, त्यसमा केही श्रृङ्गार गर्नुहुन्छ अनि यो सोच्नुहुन्छ कि त्यही भविष्य हो ।

तपाईंले भविष्यको बारेमा योजना बनाउन सक्नुहुन्छ, तर तपाईं भविष्यमा बाँच्न सक्नुहुन्न । तर यतिखेर, अधिकांश मानिसहरू भविष्यमा बाँच्न खोजिरहेका हुन्छन्, र त्यसैकारण डर उत्पन्न हुन्छ । तपाईंले गर्न सक्ने एउटै काम भनेको वास्तविकतासँग साक्षात्कार गर्नु हो । कुनै पनि क्षणमा जे भइरहेको छ, त्यसलाई तपाईंले केवल सम्बोधन गर्नुभयो अनि अस्तित्वमै नभएको कुरा कल्पना गर्नुभएन भने, डरको लागि कुनै स्थान हुँदैन । जब मनगढन्ते कल्पनाहरू बिलाउँछन्, खै कहाँ हुन्छ डर ? यस अवस्थामा, तपाईं हुँदै नभएको कुराको कल्पना गर्नुहुन्न, बरु यतिखेर जे भइरहेको छ, त्यसप्रति आवश्यक रूपमा सम्बोधन गर्नुहुनेछ ।

जब व्यक्तिले भौतिक शरीर र मनको सीमाहरूबाट पर गएर आफूलाई अनुभव गर्न सक्दछ, तबमात्र त्यो व्यक्ति असुरक्षा र डरको भावनाबाट मुक्त हुन सक्छ ।

कृपया यसलाई मनन गर्नुहोस्, आखिर के नै हुने हो र ? बढीमा बढी तपाईं मर्नुहुन्छ, त्योभन्दा बढी केही हुँदैन । कम्तीमा पनि मर्नुअघि त राम्रोसँग बाँचौँ । किनकि, यसैपनि हामी सबै एकदिन मर्नेछौँ । हामी आफूमाथि त्यो भइदियोस् भनेर इच्छा गरिरहेका छैनौँ । हामी अझै धेरै वर्षहरूसम्म बाँच्न चाहन्छौँ, तर यो कुनै पनि क्षण हुन सक्छ, होइन र ? वास्तवमा, जीवनको सन्दर्भमा सुरक्षा भन्ने कुरा नै हुँदैन । प्रश्न यत्तिमात्र हो कि तपाईं कति सानदार तरिकाले अनि कति स्वतन्त्र भएर आफ्नो जीवन बाँच्नुहुन्छ । यदि तपाईंले यसअनुरूप जीवन बाँच्नुभएको छ भने, मृत्युको क्षण सार्थक हुनेछ । अन्यथा, जीवन पछुतो बन्नेछ, साथै मृत्यु पनि पछुतो बन्नेछ ।

जबसम्म तपाईं आफ्नो भौतिक शरीरसँग पहिचान स्थापित गर्नुहुन्छ, जबसम्म तपाईंको जीवनको अनुभव तपाईंको शारीरिक र मानसिक सङ्कायहरूमा मात्रै सीमित रहन्छ, डर र असुरक्षाको भावना उत्पन्न हुनु अवश्यमभावी हो । विभिन्न मानिसहरू डर र असुरक्षाको भिन्न–भिन्न स्तरहरूमा हुन सक्छन् । आज, यदि तपाईंको जीवन राम्रोसँग चलिरहेको छ भने, तपाईंले आफ्नो असुरक्षालाई बिर्सिनुभएको हुन सक्छ । भोलि, यदि तपाईंको जीवनमा उथलपुथल भइदियो भने, तपाईंलाई स्मरण हुन्छ, किनकि असुरक्षाको भावना तपाईंभित्र रहिरहेको हुन्छ । जब व्यक्तिले भौतिक शरीर र मनको सीमाहरूबाट पर गएर आफूलाई अनुभव गर्न सक्दछ, तबमात्र त्यो व्यक्ति असुरक्षा र डरको भावनाबाट मुक्त हुन सक्छ ।

Editor’s Note: Isha Kriya is a free, 12-minute guided meditation that can align the body and mind with your vision for life. Daily practice of this simple yet potent process brings health and wellbeing.

Try Isha Kriya Online