सद्‌गुरुः महाशिवरात्रि, 'आदियोगी शिव' को रात हो । यो रातमा ग्रहहरू विशेष स्थितिमा हुन्छन्, जसले गर्दा मानव प्रणालीमा शक्तिशाली रूपमा उर्जाहरू स्वतः माथितर्फ प्रवाहित हुन्छन् । महाशिवरात्रिको रातमा मेरुद्दण्ड वा ढाडलाई सिधा राखी पूरै रात जागा रहनाले, यो रातको अत्यधिक लाभ लिन सकिन्छ । महाशिवरात्रि साधना, महाशिवरात्रिको रातको लागि आफूलाई तयार गर्नको निम्ति हो ।

७ वर्ष माथिका जो-कोहीले महाशिवरात्रि साधना गर्न सक्नुहुन्छ । यो साधनालाई लगातार ४०, २१, १४, ७ वा ३ दिनहरूसम्म गर्न सकिन्छ ।

साधना सुरु गर्ने मितिहरूः

  • ४० दिनको साधना : माघ १८ देखि फाल्गुन २७ सम्म
  • २१ दिनको साधना : फाल्गुन ७ देखि फाल्गुन २७ सम्म
  • १४ दिनको साधना : फाल्गुन १४ देखि फाल्गुन २७ सम्म
  • ०७ दिनको साधना : फाल्गुन २१  देखि फाल्गुन २७ सम्म
  • ०३ दिनको साधना : फाल्गुन २५  देखि फाल्गुन २७ सम्म

दैनिक साधनाको अभ्यास र विधिहरू

 

  • खाली पेटमा ′शिव नमस्कार′ को एउटा पूरा चक्र १२ पटक गर्नुहोस् । त्यसपछि, सर्वेभ्यो मन्त्रलाई तीन पटक उच्चारण गर्नुहोस् । यसलाई दिनमा एक पटक सूर्योदय अगाडि वा सूर्यास्त पछाडि गर्नुपर्दछ । तपाईं भिडियो मार्फत शिव नमस्कार सिक्न सक्नुहुन्छ ।

सर्वेभ्यो मन्त्र

ॐ सर्वेभ्यो देवेभ्यो नमः
 

ॐ पञ्च भुताय नमः
 

ॐ श्री सद्‌गुरुवे नमः
 

ॐ श्री पृथ्वीयै नमः
 

ॐ आदि योगेश्वराय नमः
 

ॐ, ॐ, ॐ

हामी सबै आकाशीय र दिव्य जीवहरूलाई नमन गर्दछौँ
हामी सबै पञ्च तत्त्वहरूलाई नमन गर्दछौँ
हामी शाश्‍वत गुरुलाई नमन गर्दछौँ
हामी मातृभूमि लाई नमन गर्दछौँ
हामी उनलाई नमन गर्दछौँ, जो योगको जनक हुन्

 

  • अघिल्लो रातमा ८-१० वटा कालो मरिचको दाना अनि २-३ वटा नीम वा बेलको पात सँगै महमा डुबाउनुहोस् अनि एक मुठी बदामलाई पानीमा भिजाउनुहोस् । शिव नमस्कार र मन्त्रोच्चारण पछि, पातहरू चबाउनुहोस्, कालो मरिच र महलाई कागती पानीसँग मिसाएर खानुहोस् । साथै, भिजाएको बदाम पनि खानुहोस् । यदि नीम वा बेल पत्र उपलब्ध छैन भने, नीमको धुलो (पाउडर) प्रयोग गर्न सक्नुहुन्छ । आफ्नो नियमित साधना, जस्तै कि शाम्भवी महामुद्रा सकिएपछि मात्रै यो खानुहोस् ।
  • शिव नमस्कार अभ्यासको बारेमा केही कुराहरूः
    • कृपया, गर्भवती महिलाहरूले शिव नमस्कार नगर्नुहोस् ।
    • स्त्रीहरूले आफ्नो महिनावारीको समयमा शिव नमस्कार गर्न सक्नुहुन्छ ।
    • यदि कसैलाई हर्नियाको समस्या छ भने, चकटी राखेर वा कुर्सीमा बसेर शिव नमस्कारको अर्को रूप अभ्यास गर्न सक्नुहुन्छ ।
  • बिहान एकपटक र बेलुका एकपटक दियो बाल्नुहोस् । यदि दियो उपलब्ध छैन भने, तपाईं मैनबत्तीको प्रयोग गर्न सक्नुहुन्छ ।
  • बिहान र बेलुका, दियो बालेपछि, १२ पटक योग योग योगेश्वराय मन्त्र उच्चारण गर्नुहोस् । यो साधनालाई ४० मिनेटको सन्ध्याकालको समयमा गर्नु उत्तम हुनेछ । सूर्योदय र सूर्यास्त हुनुभन्दा २० मिनेट अगाडिदेखि सूर्योदय र सूर्यास्त पछिको २० मिनेटसम्मको अवधिलाई सन्ध्याकाल भनिन्छ ।

योग योग योगेश्वराय मन्त्र

योग योग योगेश्वराय

भूत भूत भूतेश्वराय

काल काल कालेश्वराय

शिव शिव सर्वेश्वराय

शम्भो शम्भो महादेवाय

 

साधनाका केही निर्देशनहरूः

कृपया साधना अवधिभरि यी निर्देशनहरू पालना गर्नुहोस्:

  • दिनमा दुई पटक मात्र खाना खानुहोस् । पहिलो खाना १२ बजेपछि मात्र खानुहोस् ।
  • यदि तपाईंलाई भोक लाग्यो भने, तपाईं कालो मरिच-मह-कागतीको रस पानीमा मिसाएर फेरि पिउन सक्नुहुन्छ ।
  • साधना अवधिभरि धुम्रपान, मदिरापान अनि मांसाहारी भोजन नगर्नुहोस् ।
  • आफ्नो पाखुरामा एउटा कालो कपडा बाँध्नुहोस्; पुरुषले दायाँ पाखुरामा अनि महिलाले बाँया पाखुरामा । तपाईं जुनसुकै कालो कपडा बाँध्न सक्नुहुन्छ । यसको लम्बाइ १२ इन्च र चौडाइ १ इन्च हुनुपर्छ । साधना गर्ने व्यक्तिले कालो कपडा आफैँ खोज्न सक्नुहुनेछ ।
  • सेतो वा फिका रङ्गको कपडा मात्र लगाउनुहोस् ।
  • कृपया दिनमा दुई पटक हर्बल पाउडरले नुहाउनुहोस् । (साबुन प्रयोग नगर्नुहोस् ।)
  • यी बिन्दुहरूमा विभूति लगाउनुहोस्— आज्ञा, आँखीभौँको बिचमा; विशुद्धि, घाँटी मुनिको खाल्डो भागमा; अनाहत, करङ्गको हड्डी जोडिएको स्थानभन्दा ठीक मुनि; मणिपूरक, नाभि(नाइटो) को ठीक तल ।

साधना समापनः

यो साधनालाई महाशिवरात्रिको दिन समापन गरिनुपर्नेछ । ईशा योग केन्द्रमा उपस्थित भई साधना समापन गर्नु उत्तम हुनेछ । तर, यदि केही कारणवश तपाईं ईशा योग केन्द्रमा उपस्थित हुन सक्नुहुन्न भने, यो साधनालाई महाशिवरात्रिमा आफ्नै घरमा समापन गर्न सक्नुहुनेछ ।

आफ्नो घरमा साधना समापन गर्ने विधिः

  • पूरै रातभरि जागरणमा वा जागा बस्नुपर्नेछ ।
  • योग योग योगेश्वाराय मन्त्र ११२ पटक उच्चारण गर्नुहोस् ।
  • पैसा वा भोजन अत्यावश्यक भएका कोही ३ जनालाई केही अर्पण गर्नुहोस् ।
  • माथि उल्लेख गरिएका प्रकियाहरू गरेपछि, पाखुरामा बाँधिएको कपडा फुकाल्नुहोस्, कपडा जलाउनुहोस् अनि बचेको खरानी पाखुरा र खुट्टाहरूमा लगाउनुहोस् ।
  • तपाईं ध्यानलिङ्गको फोटो डाउनलोड गर्न सक्नुहुन्छ ।

Dhyanalinga

 

यो साधनामार्फत महाशिवरात्रिको लागि आफूलाई तयार गर्नुहोस् । अधिक जानकारीको लागि यसमा सम्पर्क गर्नुहोस्: 9813222621 or 9861399814