शिवको नीलकण्ठ रूपले के दर्शाउँछ ?

article शिव–विशेष
आदियोगी शिवका अनेकौँ नामहरूमध्ये एउटा महत्त्वपूर्ण नाम "नीलकण्ठ" हो । सद्‌गुरु, शिवको नीलकण्ठ रूपको प्रतिकात्मक अर्थ बताउँदै हुनुहुन्छ । Shiva Bluethroat

 

प्रश्न: शिवको घाँटी किन निलो देखाइन्छ ?

सद्‌गुरु: योग–विद्यामा एउटा कथा छ । देवता र दानवहरूको बिचमा युद्ध चलिरहेको थियो । जब बारम्बार युद्ध भइरह्यो अनि धेरैजना मारिने क्रम चलिरह्यो, उनीहरूले समुद्रमा लुकेर रहेको अमृत निकालेर आफू–आफूबिच बाँड्ने निधो गरे— ताकि दुवै पक्ष अमर बन्न सकून् अनि आनन्दपूर्वक युद्ध लड्न सकुन् ! युद्ध यसकारण भयानक हुने गर्दछ, किनकि त्यहाँ थुप्रैको मृत्यु हुन्छ । यदि मृत्यु हुने पक्षलाई सम्हालियो भने, युद्ध समेत अद्‌भूत बन्दछ ।

उनीहरूले आपसमा साझेदारी गरे अनि समुद्र मन्थन गर्ने निर्णय गरे । किंवदन्तीअनुसार, उनीहरूले मेरु नामक पर्वत उचालेर त्यहाँ ल्याए अनि एउटा विशाल सर्पलाई मथनी वा डोरीको रूपमा प्रयोग गरी समुद्र मन्थन शुरु गरे । समुद्र मन्थन शुरु भएपछि शुरुवातमा अमृतको सट्टा समुद्रको पिँधबाट घातक विष बाहिर निस्कियो । यसलाई हलाहल भनिन्थ्यो । यो घातक विष विशाल मात्रामा निस्किन थाल्यो । सबै देवताहरू डराए, किनकि यति विशाल मात्रामा विष निस्किएको हुनाले पूरै संसार विनाश हुने खतरा थियो । अनि, त्यहाँ कसैमा पनि यसलाई रोक्ने सामर्थ्य थिएन ।

सदाझैँ, जब कुनै पनि परिस्थितिमा केही गर्नको लागि कोही पनि इच्छुक हुँदैनन्, तब सबैले शिवलाई पुकार्छन् । यो परिस्थितिलाई शिवले नै पार लगाउन सक्ने ठानेर उनीहरूले शिवलाई पुकारे अनि विशाल मात्रामा निस्किरहेको विष देखाए । “यदि यो फैलियो भने, यसले सम्पूर्ण जीवन नष्ट गरिदिन्छ । तपाईंले केही गर्नैपर्छ ।” सदाझैँ, आफ्नो हित-अहितबारे कुनै चिन्ता नै नगरी उनले सहजै विष पिइदिए । उनकी अर्धाङ्गिनी पार्वतीले यो देखिन् र तुरुन्तै गएर उनको घाँटीमा च्याप्प समाइन् । अनि, सबै विष उनको घाँटीमै रोकियो र उनको घाँटी पूरै निलो भयो ।

पूर्वाग्रहको विष र नीलकण्ठ को प्रतीक

यो कथा निकै महत्त्वपूर्ण छ । यो हरेक मानिसको सन्दर्भमा यथार्थ हो । यदि तपाईंले हरेक मानिसको भित्री गहिराइसम्म खोतल्नुभयो भने, त्यहाँ एउटै कुरा छ— निरन्तर फैलिरहेको जीवन । यदि यस पक्षसँग मानिसहरूले आफ्नो पहिचान गाँस्ने हो भने, उनीहरूको मन र भावना पनि त्यसैअनुरूप काम गर्दछ । तर, यदि तपाईंले उनीहरूलाई सतही रूपमा हेर्नुभयो भने, यो महिला, यो पुरूष, यो विदेशी, यो स्वदेशी अनि यस्तै थुप्रै कुराहरू हुन्छन् । यही पूर्वाग्रह विष हो । जब उनीहरूले सतहमा मन्थन गरे, तब सांसारिक विष बाहिर निस्किए । सबैजना भागाभाग गर्न थाले, किनकि कोही पनि विषलाई छुन चाहँदैनन् । शिवले संसारको विष पिए अनि त्यो उनको घाँटीमै रोकियो । यदि त्यो विष भित्र गएको भए, उनलाई विषले असर गर्ने थियो । तर, त्यो घाँटीमै रोकियो, जसकारण उनले चाहेको समयमा त्यसलाई थुकेर फाल्न सक्छन् । यदि त्यो तपाईंको घाँटीमा छ भने, तपाईंले त्यसलाई थुकेर फाल्न सक्नुहुन्छ । यदि त्यो तपाईंको शरीरभित्र प्रवेश गऱ्यो भने, तपाईंले त्यसलाई बाहिर निकाल्न सक्नुहुन्न ।

यतिखेर, तपाईंको राष्ट्रियता, लैङ्गिकता, परिवार, वंशाणुगत पहिचानहरू, जातिय पहिचानहरू, धर्म इत्यादि तपाईंको घाँटीमा रोकिएको छैन । ती सबैथोक तपाईंको प्रत्येक कोषिकामा घुसेका छन् । तपाईंले गर्नुपर्ने काम भनेको त्यसलाई मन्थन गर्नु हो, ताकि ती सबै बाहिर निस्किऊन् र तपाईंले त्यसलाई बाहिर थुक्न सक्नुहोस्— अनि, तपाईं यहाँ जीवनको अंशको रूपमा मात्रै रहन सक्नुहोस् !

शिवको घाँटी निलो देखाइनुको प्रतीकात्मक अर्थ यही हो । उनले संसारको विष आफ्नो घाँटीमा जम्मा गरे, ताकि त्यसलाई जब निकाल्नुपर्ने हुन्छ, तब बाहिर थुक्न सकियोस् । यदि त्यो भित्र शरीरमा गएको भए, त्यसलाई कुनै पनि तरिकाले बाहिर निकाल्न सकिँदैनथ्यो । एक तरिकाले सम्पूर्ण आध्यात्मिक प्रक्रिया पनि मन्थन गर्ने प्रक्रिया हो— ताकि, तपाईंका सबै पूर्वाग्रह र पक्षपाति धारणाहरू माथि आऊन् अनि एकदिन हामी तपाईंलाई त्यसलाई थुकेर बाहिर फाल्ने बनाउन सकौँ । यदि त्यो निकै भित्र गढेको छ भने, त्यसलाई कसरी बाहिर निकाल्ने ? यदि मैले तपाईंको एउटा पूर्वाग्रहलाई बाहिर निकाल्न खोजेँ भने, तपाईंको अनुभवमा तपाईंको जीवन नै खोसिँदैछ जस्तो महसुस हुनेछ । तपाईंले आफ्नो लैङ्गिकता, सन्तान, मातापिता वा राष्ट्रसँग जुन पहिचान जोड्नुभएको छ, यदि मैले त्यसलाई तपाईंबाट अलग गराउने कोशिस गरेँ भने, तपाईंको प्राण नै निकालिँदैछ जस्तो महसुस गर्नुहुनेछ । त्यसो होइन, पूर्वाग्रहको विषलाई मात्र बाहिर निकालिएको हो । अत: पूर्वाग्रहहरूको विषलाई बाहिर थुक्ने समय भएको छ !

सम्पादकीय: शिवका विभिन्न रूपहरू बारे चकित हुनुभएको छ ? आदियोगी शिवको बारेमा रोचक कथाहरू पढ्नको लागि यहाँ जानुहोस्

Dont want to miss anything?

Get the monthly Newsletter with exclusive shiva articles, pictures, sharings, tips
and more in your inbox. Subscribe now!