Satsang with Sadhguru
Satsang with Sadhguru

शिवका पाँच आधारभूत रूपहरू

article शिव–विशेष
यस संस्कृतिमा शिवका अनेक रूपहरू छन्, जुन आफ्नो आन्तरिक विकासको लागि शक्तिशाली सम्भावनाहरूको प्रतीक रहेका छन् । तीमध्ये पाँच मुख्य रूपहरूको बारेमा, सद्‌गुरु, विस्तारमा बताउँदै हुनुहुन्छ ।

शिवका असङ्ख्य रूपहरू छन्, जसले मानव मनले कल्पना गर्न सक्ने र कल्पना गर्न नसक्ने सबै विशेषताहरूलाई समेटेका छन् । यीमध्ये केही रूपहरू निकै उग्र र भयानक छन् । केही रहस्यमयी छन् । केही मनमोहक र आकर्षक छन् । अति सोझो भोलेनाथ देखि एकदमै डरलाग्दो कालभैरव सम्म, सुन्दर सोमसुन्दर देखि भयानक अघोर सम्म— शिवले प्रत्येक सम्भावनालाई अँगालेका छन्, तथापि ती सबैबाट अछुतो रहेका छन् ।

योग योग योगेश्वराय
भूत भूत भूतेश्वराय
काल काल कालेश्वराय
शिव शिव सर्वेश्वराय
शम्भो शम्भो महादेवाय

योगेश्वर

सद्‌गुरु: योगको पथमा हुनुको अर्थ यो हो कि तपाईं आफ्नो जीवनमा यस्तो घडी वा चरणमा आइपुग्नु भएको हुन्छ, जहाँ तपाईंले भौतिक हुँदाको सीमितताहरू महसुस गर्नुभएको हुन्छ, तपाईंले भौतिकताबाट पर जाने आवश्यकता महसुस गर्नुभएको हुन्छ— यहाँसम्म कि तपाईंले आफूलाई यो विशाल ब्रह्माण्डले समेत सङ्कुचित गरेको महसुस गर्नुभएको हुन्छ । तपाईंले यो बुझ्न सक्नुभएको हुन्छ कि यदि तपाईंलाई कुनै सानो घेराले सङ्कुचित गर्न सक्छ भने, कुनैबेला तपाईंलाई त्योभन्दा विशाल घेराले समेत सङ्कुचित गर्न सक्दछ ।
तपाईंले यो कुरा बुझ्नको लागि ब्रह्माण्डमा वारपार गर्नैपर्दैन । तपाईं यहीँ बसेर यो जान्न सक्नुहुन्छ कि यदि यो सीमाले तपाईंलाई रोक्दछ भने, यदि तपाईंले पुरै ब्रह्माण्ड नै वारपार गर्नुभयो भने पनि केही समयपछि त्यो पनि अवरोध बन्दछ— यो कुरा तपाईं कति टाढासम्म यात्रा गर्न सक्नुहुन्छ भन्नेमा निर्भर गर्दछ । जब तपाईंको यात्रा गर्ने वा छलाङ्ग लगाउने क्षमता बढ्दछ, जस्तोसुकै घेरा पनि तपाईंको लागि अवरोध बन्नेछ । जब तपाईं यसलाई बुझ्नुहुन्छ र जान्नुहुन्छ, जब तपाईं आफूभित्र यस्तो प्रबल इच्छा वा चाहना महसुस गर्नुहुन्छ, जसलाई भौतिक सृष्टिमाथि महारथ पाएर समेत मेटाउन सकिँदैन— त्यसबेला, तपाईं योगको पथमा हिँड्नुहुन्छ ।
योग अर्थात् भौतिक सृष्टिका अवरोधहरूबाट मुक्त हुनु । तपाईंका सम्पूर्ण प्रयासहरूको लक्ष्य अस्तित्वको भौतिक आयाममाथि मात्रि प्रभुत्व पाउने नभई यसको सीमालाई तोडेर अर्को आयामलाई स्पर्श गर्नु हो— जुन भौतिक प्रकृतिको होइन । त्यो, जुन सीमाभित्र छ, अनि त्यो, जुन असीम (सीमाहीन) छ— ती दुवैलाई तपाईं जोड्न चाहनुहुन्छ, । तपाईं सीमाहरूलाई अस्तित्वको असीम प्रकृतिमा विलिन गर्न चाहनुहुन्छ । अतः शिवको एउटा रूप योगेश्वर हो !

 

Forms of Shiva

भूतेश्वर

भौतिक सृष्टि, ती सबैथोक जसलाई हामी देख्न, सुन्न, सुँघ्न, चाख्न र छुन सक्छौँ— हाम्रो शरीर, यो पृथ्वी, जगत्, पूरै ब्रह्माण्ड— यी सबै पाँच तत्त्वहरूको खेल मात्र हुन् । जम्मा पाँचवटा तत्त्वहरूबाट कस्तो गज्जबको छल रचिएको छ, जसलाई “सृष्टि” भनिन्छ ! एउटै हातमा गन्न सकिने केवल पाँचवटा तत्त्वहरूबाट कति धेरै चीजहरू सृजना गरिएका छन् ! सृष्टि, योभन्दा बढी करूणामयी हुनै सक्दैन । यदि त्यहाँ पाँच करोड तत्त्वहरू भएका भए, तपाईं कता हो कता हराउनु हुने थियो ।
यी पाँच तत्त्वहरूलाई पञ्च–भूत पनि भनिन्छ । यी तत्त्वहरूमाथि महारथ प्राप्त गर्नाले सबैथोकको ख्याल राखिनेछ— तपाईंको स्वास्थ, तपाईंको कल्याण, विश्वमा तपाईंको शक्ति अनि तपाईंले चाहनुभएको कुरा सृजना गर्ने सामर्थ्य । जानेर वा नजानिकन, होशपूर्वक वा बेहोशीमा, प्रत्येक व्यक्तिले यी विभिन्न तत्त्वहरूमाथि केही हदसम्म नियन्त्रण पाएका हुन्छन् । यी तत्त्वहरूमाथि तपाईंको नियन्त्रण कति छ भन्ने कुराले सबैथोक निर्धारित गर्दछ— तपाईंको शरीरको प्रकृति, तपाईंको मनको प्रकृति, तपाईं के गर्नुहुन्छ र त्यसलाई कति सफलतापूर्वक गर्नुहुन्छ, अनि तपाईं कति दुरदर्शी हुनुहुन्छ जस्ता कुराहरू । भूत भूत भूतेश्वराय अर्थात् जसले यी पञ्च–भूत (पञ्च–तत्त्व) हरूमाथि महराथ प्राप्त गरेको हुन्छ, उसले कम्तीमा पनि भौतिक जगत्‌मा आफ्नो जीवनको नियती वा भाग्य निर्धारित गर्दछ ।

कालेश्वर

काल अर्थात् समय । भलै, तपाईंले पञ्च–तत्त्वहरूलाई आफ्नो अधीनमा लिए तापनि, तपाईं अनन्तसँग एक हुनु भएपनि वा तपाईंले विलिन हुन जाने तापनि— जबसम्म तपाईं यहाँ रहनुहुन्छ, समय बितिरहेको हुन्छ । समयलाई नै आफ्नो अधीनमा लिनु पूर्णतया फरक आयामको कुरा हो । काल भनेको समय मात्र होइन, अन्धकार पनि हो । समय अन्धकार हो । समय प्रकाश हुन सक्दैन, किनकि प्रकाश समयभित्र एउटा बिन्दुबाट अर्को बिन्दुमा यात्रा गर्दछ । प्रकाश, समयको दास हो । प्रकाश यस्तो तत्त्व हो, जसको शुरु र अन्त्य हुन्छ । तर, समय त्यस किसिमको तत्त्व होइन । हिन्दू जीवनशैलीमा, समयलाई ६ वटा विभिन्न आयामहरू अन्तर्गत निकै गहिराइमा र जटिल रूपमा बुझिएको छ । तपाईंले यो एउटा कुरा जान्नुैपर्छ— तपाईं जसै यहाँ बसिरहनु भएको छ, तपाईंको समय बितिरहेको छ । मृत्युको लागि तमिल भाषामा निकै सटीक अभिव्यक्ति रहेको छ— “कालम आयिटाङ्गा” अर्थात् “उसको समय सकियो !”

अंग्रेजीमा पनि हामी पहिले यस्तो भनाइ प्रयोग गर्थ्याैँ— “एक्सपायर्ड” अर्थात् “उसको म्याद सकियो !” कुनै औषधि वा अरू वस्तु जस्तै, मानिसले पनि म्याद लिएर आएको हुन्छ । तपाईं सायद यो सोच्नुहुन्छ कि तपाईं थुप्रै ठाउँहरूमा गइरहनु भएको छ । होइन, जहाँसम्म तपाईंको शरीरको कुरा छ, एक क्षणको लागि पनि बाटो नबिराइकन यो सिधै चिहान वा चितातर्फ गइरहेको हुन्छ । तपाईं यो प्रक्रियालाई अलिकति ढिलो बनाउन त सक्नुहुन्छ, तर यसले दिशा परिवर्तन गर्ने छैन । जसै तपाईंको उमेर ढल्किँदै जान्छ, तपाईंले यो महसुस गर्न सक्नुहुन्छ कि धरतीले तपाईंलाई निल्ने कोशिस गर्दछ । तब, जीवनले आफ्नो चक्र पूरा गर्दछ ।

समय, जीवनको एउटा विशेष आयाम हो— यो अरू तीनवटा आयामहरूसँग मेल खाँदैन । र, ब्रह्माण्डमा जे–जति छन्, ती सबैमध्ये समय अति रहस्यमयी छ । तपाईं यसको बारेमा पत्ता लगाउन सक्नुहुन्न, किनकि यो छैन । तपाईंले अस्तित्वमा जे–जति स्वरूपहरू जान्नुभएको छ, समय तीमध्ये कुनैपनि स्वरूपमा रहँदैन । यो सृष्टिको सबैभन्दा शक्तिशाली आयाम हो, जसले पूरै ब्रह्माण्डलाई एकसाथ राख्दछ । यसैकारण, गुरुत्वाकर्षणले कसरी काम गर्दछ भन्ने बारेमा आधुनिक भौतिक विज्ञानलाई कुनै सुँइको छैन । वास्तवमा, गुरुत्वाकर्षण हुँदैन; समयले नै सबैथोकलाई एकसाथ थामेर राख्दछ ।

शिव-सर्वेश्वर-शम्भो

शिव अर्थात् “त्यो जुन छैन; त्यो जुन विलीन भइसकेको छ ।” “त्यो जुन छैन”, सबैथोकको आधार हो, र त्यही असीम सर्वेश्वर हो । शम्भो, एउटा साँचो मात्र हो, एउटा मार्ग मात्र हो । यदि तपाईंले यसलाई निश्चित तरिकाले उच्चारण गर्न सक्नुभयो भने, यसरी कि मानौँ यसको उच्चारणले तपाईंको शरीर नै छियाछिया भयो भने, त्यसबेला यो एउटा मार्ग बन्नेछ । यदि तपाईं यी सबै पक्षहरूमाथि महारथ पाएर त्यहाँ पुग्न चाहनुहुन्छ भने, त्यसको लागि निकै लामो समय लाग्नेछ । यदि तपाईं गल्लीको बाटो भएर जान चाहनुहुन्छ भने, तीमाथि महारथ पाएर नभई सुटुक्क भित्र छिरेर तपाईं ती पक्षहरूलाई पार गर्न सक्नुहुन्छ ।

जब म सानो थिएँ, मैसूर चिडियाखानामा मेरा साथीहरू थिए । प्रत्येक आइतबार बिहान, आफ्नो दुई रूपियाँ पकेट मनी लिएर म माछा बजारमा जान्थेँ— भित्रैसम्म, जहाँ आधा कुहिएका माछाहरू बेचिन्थ्यो । दुई रूपियाँमा, कहिलेकाहीँ २–३ किलोसम्म माछा पाइन्थ्यो । त्यसलाई झोलामा हालेर म मैसूर चिडियाखाना जान्थेँ । मसँग थप पैसा हुँदैनथ्यो । त्यो समयमा टिकटको मूल्य एक रूपियाँ हुन्थ्यो— तपाईं सिधा बाटो गेटबाट जानुभयो भने ! त्यहाँ एउटा बार पनि हुन्थ्यो, जुन भुइँबाट दुई फिट जति माथि थियो । यदि तपाईं घिस्रिएर जान इच्छुक भएमा सित्तैमा भित्र जान सक्नुहुन्थ्यो । त्यो मेरो निम्ति समस्या थिएन— म घिस्रिएर भित्र पस्थेँ । म आफ्ना साथीहरूलाई कुहिएको माछा खुवाएर पूरै दिन त्यहीँ बिताउँथेँ ।

यदि तपाईं सिधा बाटो जान चाहनुहुन्छ भने, बाटो कठिन छ अनि अनेक किसिमका कामहरू गर्नुपर्ने हुन्छ । यदि तपाईं घिस्रिन इच्छुक हुनुहुन्छ भने, त्यहाँ सजिला तरिकाहरू छन् । जो घिस्रिने खालका हुन्छन्, उनीहरूले कुनै पनि चीजमा महारथ पाउने चिन्ता गर्नुपर्दैन । जतिन्जेल बाँच्नुहुन्छ, बाँच्नुहोस् । जब तपाईं मर्नुहुन्छ, तपाईं परमसम्म पुग्नुहुन्छ ।

कुनै पनि कुरामा, यहाँ सम्म कि सामान्य कुरामा निपुण हुनुमा समेत एक प्रकारको सुन्दरता हुन्छ, व्याख्या गर्नै नसकिने सौन्दर्य हुन्छ । जस्तै कि लात्ताले बल हिर्काउने काम एउटा सानो बच्चाले समेत गर्न सक्छ । तर, त्यसमा जब कोही निपुण वा पोख्त बन्दछन्, एकाएक त्यसमा सौन्दर्य बोध हुन्छ— जसले, आधा विश्वलाई नै जागा बसेर हेर्न बाध्य बनाउँछ । यदि तपाईं महारथ पाएर त्यसको आनन्द लिन चाहनुहुन्छ भने, गर्नुपर्ने थुप्रै कामहरू छन् । तर, यदि तपाईं घिस्रिन इच्छुक हुनुहुन्छ भने, त्यसको एउटै तरिका हो— शम्भो !