logo
logo
shiva linga

शिवलिङ्ग— १२ अद्‌भुत कुराहरू

लिङ्ग शब्दको अर्थ हो "स्वरूप" । हामी यसलाई "स्वरूप" भनिरहेका छौँ, किनकि जे अप्रकट थियो, जब त्यो आफैँ प्रकट हुन थाल्यो, वा अर्को शब्दमा भन्नुपर्दा जब सृष्टिको शुरुवात हुन थाल्यो, त्यसले लिएको पहिलो स्वरूप दीर्घवृत्ताकार अर्थात् एलिप्सोइड थियो ।

१. लिङ्ग— पहिलो र अन्तिम स्वरूप


सद्‌गुरुः लिङ्ग शब्दको अर्थ हो "स्वरूप" । हामी यसलाई "स्वरूप" भनिरहेका छौँ, किनकि जे अप्रकट थियो, जब त्यो आफैँ प्रकट हुन थाल्यो, वा अर्को शब्दमा भन्नुपर्दा जब सृष्टिको शुरुवात हुन थाल्यो, त्यसले लिएको पहिलो स्वरूप दीर्घवृत्ताकार अर्थात् एलिप्सोइड थियो । पूर्ण दीर्घवृतलाई हामी लिङ्ग भन्छौँ । सृष्टिको शुरुवात सदैव लिङ्गको रूपमा भएको थियो, र त्यसपछि यो विभिन्न रूपहरूमा रहेको छ । अनि, हामीले यो आफ्नै अनुभवबाट जानेका छौँ कि जब तपाईं ध्यानको गहिराइमा पुग्नुभहुन्छ, पूर्ण रूपमा विलिन हुने विन्दुभन्दा अगाडि एकपटक पुनः ऊर्जा लिङ्गको स्वरूपमा रहन्छ । तसर्थ, पहिलो स्वरूप लिङ्ग हो र अन्तिम स्वरूप पनि लिङ्ग हो ।

२. लिङ्गको रूपमा दिव्य ऊर्जा स्थापित गर्ने


"आवश्यक तकनिकीको सहायताले, कुनै साधारण स्थान, यहाँसम्म कि पत्थरको टुक्रालाई पनि दिव्य ऊर्जाले प्रचुर बनाउन सकिन्छ । यो चैतन्यलाई स्थापित गर्ने प्रक्रिया हो ।" – सद्‌गुरु
सद्‌गुरुः

यदि तपाईंले मलाई कुनै वस्तु दिनुभयो भने, मानौँ कागजको टुक्रा दिनुभयो भनेपनि, म त्यसलाई निकै बढी ऊर्जावान बनाएर तपाईंलाई दिन सक्छु । तपाईंले त्यो कागजलाई मैले छुनुअघि र मैले छोएपछि समात्नुभयो भने, तपाईंले त्यसमा भिन्नता महसुस गर्नुहुनेछ । तर, कागजले यो ऊर्जालाई धरै समयसम्म राखिरहन सक्दैन । तर, यदि तपाईंले एउटा सही लिङ्ग बनाउनुभयो भने, यसले ऊर्जालाई अनन्त कालसम्म भण्डारन गर्न सक्छ । एकपटक त्यसलाई ऊर्जाले प्रतिष्ठा गर्नुभयो भने, त्यो सदैव त्यही अवस्थामा रहनेछ ।

प्राण–प्रतिष्ठा


प्रतिष्ठा भनेको दिव्य ऊर्जा स्थापित गर्नु हो । प्रतिष्ठा गरिने केही सामान्य तरिकाहरूमा मन्त्र उच्चारण, अनुष्ठान लगायत अन्य प्रकारका प्रक्रियाहरू प्रयोग हुन्छन् । यदि तपाईंले कुनै स्वरूपलाई मन्त्रद्वारा प्रतिष्ठा वा स्थापना गर्नुभयो भने, त्यहाँको देवतालाई जीवन्त राख्न निरन्तर रेखदेख र अनुष्ठान गर्नुपर्ने हुन्छ ।

प्राण प्रतिष्ठा त्यस्तो होइन । जब कुनै स्वरूपलाई मन्त्र र अनुष्ठानद्वारा नभई जीवन–ऊर्जाको माध्यमले प्राण प्रतिष्ठा गरिन्छ, त्यो स्थापित भइसकेपछि सधैँको लागि रहिरहन्छ अनि त्यसलाई रेखदेख वा स्याहार गर्नुपर्दैन । त्यसैकारण, ध्यानलिङ्गमा कुनै पूजा गरिँदैन; यसलाई त्यस किसिमको रेखदेख चाहिँदैन । यसलाई प्राण–प्रतिष्ठाद्वारा स्थापित गरिएको हो । यो सदैव त्यस्तै रहिरहनेछ । यहाँसम्म कि यदि तपाईंले लिङ्गबाट पत्थरको भाग निकाल्नुभयो भनेपनि, यो त्यस्तै रहनेछ । यदि सम्पूर्ण विश्व नै अन्त्य भयो भनेपनि, त्यो ऊर्जा–स्वरूप त्यस्तै रहिरहनेछ ।

३. लिङ्ग–निर्माण: आत्मपरक वा भित्री विज्ञान


सद्‌गुरुः लिङ्ग निर्माण गर्ने विज्ञान भित्री अनुभवबाट जन्मिएको हो, जुन हजारौँ वर्षदेखि रहिरहेको छ । तर, पछिल्लो ८–९ सय वर्षयता, विशेषगरी भक्ति आन्दोलनको लहर चलेपछि, मन्दिर निर्माण गर्ने विज्ञान हराएर गयो । भक्तको लागि उसको भावनाबाहेक अरू केहीपनि महत्त्वपूर्ण हुँदैन । उसको मार्ग भावनाको हो । उसले भावनाको शक्तिले नै सबैथोक गर्दछ । त्यसैले, उनीहरूले मन्दिर निर्माणको विज्ञानलाई एकातिर पन्छाए अनि आफ्नो इच्छाअनुसार मन्दिरहरू बनाउन थाले । यो एउटा प्रेम सम्बन्ध हो, थाहा छ ? भक्तले आफूलाई मन लागेको जेसुकै गर्न सक्छ । उसको लागि जुनसुकै कुरा उचित हुन्छ, किनकि ऊसँग केवल भावनाको शक्ति हुन्छ । यसैकारण, लिङ्ग निर्माण गर्ने विज्ञान हराउँदै गयो । अन्यथा, यो निकै गहिरो विज्ञानको रूपमा थियो । यो मूलतः आत्मपरक विज्ञान हो, अनि यसलाई कहिल्यै लेखिएन— किनकि, यदि लेखियो भने यसलाई पूरै गलत रूपमा बुझिने सम्भावना हुन्छ । यस किसिमले विज्ञानको जानकारीबिना कयौँ लिङ्गहरू निर्माण गरिएका छन् ।

४. लिङ्गले चक्रलाई दर्शाउँछ


सद्‌गुरुः चक्र यस्तो विन्दु हो, जहाँ ऊर्जा प्रणालीको मिलन हुन्छ । त्यहाँ प्राणका नाडीहरू मिल्छन् अनि ऊर्जाको भूमरी बन्दछ । हाम्रो शरीरमा ११४ चक्रहरू छन्, तर सामान्यतया जब हामी "चक्र" भन्छौँ, हामी सातवटा महत्त्वपूर्ण चक्रहरूको बारेमा कुरा गर्छौँ, जसले जीवनका सात आयामहरूलाई दर्शाइरहेका हुन्छन् । ती सात मुख्य केन्द्रहरू जस्तै हुन् ।

हाल भारतमा रहेका प्रायः लिङ्गहरूमा एक वा बढीमा दुईवटा चक्रहरू मात्र स्थापित छन् । ईशा योग केन्द्रमा प्राण–प्रतिष्ठा गरिएको ध्यानलिङ्ग यसकारणले विशेष छ, किनकि यसमा सातवटै चक्रहरूलाई ऊर्जाको चरम शिखरमा पुऱ्याएर स्थापित गरिएको छ । यो ऊर्जाको सबैभन्दा उच्चतम अभिव्यक्ति हो— यस अर्थमा कि यदि तपाईंले ऊर्जालाई तीव्रताको चरम सीमासम्म पुऱ्याउनुभयो भने, निश्चित विन्दुसम्म मात्र त्यसले कुनै आकार धारण गर्न सक्छ; त्यसभन्दा पर त्यो निराकार बन्दछ । यदि त्यो निराकार बन्यो भने, मानिसहरूले त्यसलाई अनुभव गर्न सक्दैनन् । ऊर्जाहरूलाई त्यस उच्च विन्दुसम्म पुऱ्याउने जहाँबाट पर कुनै आकार रहँदैन, अनि त्यसलाई निश्चित रूप दिने— यही विधिबाट ध्यानलिङ्गको प्राण–प्रतिष्ठा गरिएको हो ।

५. पञ्चभूत स्थलका लिङ्गहरू


सद्‌गुरुः योगमा भएको सबैभन्दा आधारभूत साधना भूत शुद्धि हो । पञ्चभूत भनेको प्रकृतिमा भएका पाँच तत्त्वहरू हुन् । तपाईंले आफूलाई हेर्नुभयो भने, तपाईंको भौतिक शरीर पाँच तत्त्वहरू मिलेर बनेको छ । ती हुन्ः पृथ्वी, अग्नि, वायु, जल र आकाश । ती खास तरिकाले मिलेर शरीर बन्दछ । आध्यात्मिक प्रक्रिया भनेको भौतिक शरीर र पञ्च–तत्त्वहरूबाट पर जानको लागि हो । तपाईंले अनुभव गर्ने हरेक चीजमा यी पञ्च–तत्त्वहरूको बलियो पकड रहेको हुन्छ । तीबाट पर जानको लागि, योगमा मूलभूत अभ्यास छ जसलाई भूत शुद्धि भनिन्छ । हरेक तत्त्वको लागि तपाईंले निश्चित अभ्यास गरी त्यसबाट मुक्त हुन सक्नुहुन्छ ।

दक्षिण भारतमा पाँचवटा भव्य मन्दिरहरू निर्माण गरिएका थिए । प्रत्येक मन्दिरमा एउटा लिङ्ग स्थापित गरिएको छ, जसले कुनै एक तत्त्वलाई प्रतिनिधित्व गर्दछ । यदि तपाईं जल तत्त्वको लागि साधना गर्न चाहनुहुन्छ भने, तपाईं तिरुवन्नैकवल मन्दिर जानुस् । आकाश तत्त्वको लागि तपाईं चिदम्बरम् जानुस्, वायु तत्त्वको लागि कालहस्ती, पृथ्वी तत्त्वको लागि काँचीपुरम् अनि अग्निको लागि तिरुवन्नामलई जान सक्नुहुन्छ ।

यी स्थानहरू साधनाको लागि बनाइएका हुन्— पूजाको लागि होइन ।

६. ज्योतिर्लिङ्गहरू


सद्‌गुरुः पूर्वीय संस्कृति यस धरतीमा भएका केही त्यस्ता संस्कृतिहरूमध्ये एक हो, जहाँ हजारौँ वर्षसम्म पूरै आवादी केवल मनुष्यको परम–खुसियालीप्रति केन्द्रित थियो । यदि तपाईं यस संस्कृतिमा जन्मिनुभयो भने, तपाईंको जीवन तपाईंको व्यवसाय, तपाईंकी पत्नी, तपाईंको पति वा तपाईंको परिवारको लागि हुँदैनथ्यो— तपाईंको जीवन केवल मुक्तिको लागि हुन्थ्यो । सम्पूर्ण समाज यसैगरी बनेको थियो ।

यसै परिपेक्षमा कुरा गर्दा, यस संस्कृतिमा कयौँ प्रकारका शक्तिशाली साधन वा यन्त्रहरू निर्माण गरिएका थिए । निकै शक्तिशाली साधनको रूपमा ज्योतिर्लिङ्गहरू स्थापित गरिएको थियो । यस्ता स्वरूपहरूको सानिध्यमा रहँदा शक्तिशाली अनुभव हुन्छ । ज्योतिर्लिङ्गहरू निकै शक्तिशाली हुन्छन्, किनकि तिनलाई एउटा निश्चित तरिकाले सृजना गरिएको हुन्छ— अर्थात्, मानव क्षमता मात्र नभई प्रकृतिको शक्ति समेत प्रयोग गरिएको हुन्छ ।

विश्वमा केवल १२ वटा ज्योतिर्लिङ्गहरू छन् । भौगोलिक र खगोलीय दृष्टिकोणले ती निश्चित स्थानहरूमा अवस्थित छन् । यी स्थानहरूमा विशेष शक्तिहरू रहेका छन् । लामो समयअघि, खास स्तरको बोध भएका मानिसहरूले एकदमै ध्यानपूर्वक यी स्थानहरूको जाँच गरी खगोलीय गतिविधिको आधारमा यी स्थानहरू रोजेका थिए ।

केही ज्योतिर्लिङ्गहरू अब "जीवित" छैनन्, तर तीमध्ये केही अझैपनि निकै शक्तिशाली यन्त्रको रूपमा रहेका छन् ।

७. ध्यानलिङ्ग


"ध्यानलिङ्गको परिधिभित्र केही मिनेटसम्म मौन रहेर बस्नाले मात्रै पनि कहिल्यै ध्यानको अनुभव नभएका मानिसहरूको निम्ति समेत ध्यानको गहन अवस्था अनुभव हुनको लागि पर्याप्त छ ।"

- सद्‌गुरु

एक दिव्य प्रक्रिया, प्राण–प्रतिष्ठाद्वारा सद्‌गुरुले आफ्नै प्राण–ऊर्जाहरू प्रयोग गरी ध्यानलिङ्गलाई ऊर्जाको चरम अवस्थामा स्थापित गर्नुभएको थियो । यस प्रक्रियामा सबै सात चक्रहरू (शरीरमा भएका ऊर्जाका प्रमुख केन्द्रहरू) लाई चरम स्तरसम्म ऊर्जावान बनाएर स्थापित गरिएको छ, जसले गर्दा ध्यानलिङ्ग सबैभन्दा विकसित जीवको ऊर्जा शरीर जस्तो भएको छ ।

यस ध्यान गर्भगृहमा, कुनै पनि पूजा वा प्रार्थना आवश्यक छैन । अनि, यहाँ सबै धर्महरूलाई एउटै स्रोतबाट उत्पत्ति भएका भिन्न–भिन्न रूप मानिन्छ ।

८. महाकालेश्वर लिङ्ग— परम मुक्ति दाता

सद्‌गुरुः


शि–व को शाब्दिक अर्थ हो "त्यो जुन होइन" वा "न–भएको" । 'न' र 'भएको' बिचमा भएको योजक चिन्ह वा हाइफन महत्त्वपूर्ण छ । पूरै सृष्टि विशाल शून्यता वा खालीपनको काखमा घटित भएको हो । परमाणु र पूरै ब्रहामाण्डको ९९% भन्दा बढी हिस्सा शून्य हो वा केही न–भएको । 'काल' शब्द समय र स्थान दुवैलाई जनाउन प्रयोग गरिन्छ, अनि शिवको एउटा रूप कालभैरव हो । कालभैरव अन्धकारको जीवन्त स्थिति हो— तर, जब उनी पूर्णतः स्थिर हुन्छन्, उनी महाकाल बन्छन्, जो समयको परम–स्वरूप हुन् ।

उज्जैनमा अवस्थित महाकाल मन्दिर अद्‌भुत रूपले प्राण–प्रतिष्ठित स्थान हो । यो शक्तिशाली ऊर्जा–स्वरूप कमजोर मुटु भएकाहरूका लागि होइन । भरपूर शक्तिले भरिएको यो स्थान, ती सबैका लागि उपलब्ध छ जो सम्पूर्ण रूपमा विलिन हुन चाहन्छन्— अर्थात्, समयको अस्तित्वलाई मेटाउनु ।

विश्वको जुनसुकै ठाउँमा भएका आध्यात्मिक प्रक्रियाहरू सदैव भौतिकबाट पर जानमा केन्द्रित छन् । किनकि, जुनसुकै भौतिक रूप चक्रको अधिनमा हुन्छ । त्यसैले, कालभैरवलाई अज्ञानता संहार गर्ने रूपमा हेरिन्छ— जसले जन्म र मृत्यु, हुनु र नहुनुको बाध्यात्मक चक्रहरूलाई ध्वस्त पारिदिन्छन् ।

९. विश्वभरमा रहेका लिङ्गहरू


सद्‌गुरुः यस्ता कोही आत्मज्ञानी छैनन्, जसले शिवको बारेमा कुरा गरेनन्— चाहे असीम आयामको रूपमा होस् वा भौतिक प्रकृतिभन्दा परको आयामको रूपमा । फरक यत्ति हो कि उनीहरूले आफ्नो क्षेत्रको भाषा र प्रतीकहरू प्रयोग गरेर त्यसलाई व्यक्त गरेका होलान् ।

यद्यपि, पछिल्लो १५०० वर्षमा संसारभरि निकै आक्रमक तरिकाले जसरी धर्मको विस्तार गरियो, त्यसले गर्दा प्राचिन मेसोपोटामियन सभ्यता, मध्य एसियाली सभ्यता र उत्तर अमेरिकी सभ्यता जस्ता विगतका महान संस्कृतिहरू हराएर गएका छन् । ती अहिले त्यति देखिँदैनन्, तर तपाईंले ईतिहासलाई गहिराइमा हेर्नुभयो भने, यो सबैतिर रहेको थियो । तसर्थ, हरेक संस्कृतिमा रहस्यविद्याको विज्ञान कुनै न कुनै रूपमा रहेको थियो । तर, पछिल्लो १५०० वर्षमा विश्वका अन्य भागहरूमा ती धेरै हदसम्म हराएका छन् ।

१०. लिङ्ग निर्माण गर्दा प्रयोग हुने सामग्रीहरू


प्राकृतिक रूपमा बनेका लिङ्गहरूलाई स्वयम्भू अर्थात् स्व-निर्मित लिङ्ग भनिन्छ । उत्तर प्रदेशको जम्मुमा रहेको अमरनाथमा एउटा गुफा छ । त्यो गुफाभित्र हरेक वर्ष बरफको शिवलिङ्ग बन्दछ । त्यो लिङ्ग गुफाको छानोबाट चुहिएको स्टालाग्माइट (एक प्रकारको चुना जस्तो पत्थर) द्वारा प्राकृतिक रूपमा बन्दछ । गुफाको छतबाट पानीका स–साना थोपाहरू बिस्तारै तल झर्छन् अनि झर्नेबित्तिकै बरफ बन्छन् । यो दृश्य निकै अद्‌भूत देखिन्छ ।

केही लिङ्गहरू पत्थर, काठ वा रत्नहरूबाट समेत बनाइन्छ; अरू लिङ्गहरू माटो, बालुवा वा धातुबाट पनि बनाइन्छन् । यी लिङ्गहरूलाई प्रतिष्ठा गरिएको हुन्छ । कयौँ लिङ्गहरूलाई धातुले बेरेर त्यसमा मुखाकृति कुँदिएको हुन्छ, ताकि भक्तालुहरूले अझ राम्ररी आत्मसात गर्न सकून् । यिनलाई मुखलिङ्ग भनिन्छ । केही लिङ्गहरूको सतही भागमा शिवको सम्पूर्ण आकृति नै कुँदिएको हुन्छ ।

लिङ्गले पौरुष र स्त्रैण ऊर्जाको मिलनलाई दर्शाउँछ । लिङ्गको आधार वा फेद भागले स्त्री–प्रकृतिलाई दर्शाउँछ, जसलाई गौरीपीठम वा अवुदैयार भनिन्छ । लिङ्ग र आधार भाग दुवै मिलेर शिव (पुरुष प्रकृति) र शक्ति (स्त्री प्रकृति) को मिलन अभिव्यक्त हुन्छ ।

११. लिङ्ग— एक गुरु


योग–विज्ञानले ऊर्जाको जुन स्थितिहरूमाथि काम गर्दछ, ती हाम्रा पाँच इन्द्रियहरूको दायराभित्र पर्दैनन् । त्यसैले, यी भित्री स्थितिहरू अनुभव गर्नको लागि गुरुको मार्गर्दशन जरूरी हुन्छ । अधिकांश नाता-सम्बन्धहरू मानसिक, भावनात्मक र शारीरिक सम्बन्धमा निर्भर हुन्छन्, तर गुरु-शिष्यको सम्बन्ध पृथक हुन्छ— किनकि, यो ऊर्जामा आधारित हुन्छ ।

पाँचवटा इन्द्रियहरूमा मात्र पूर्णतया भर पर्ने हुँदा, आधुनिक विज्ञानले खोज–अनुसन्धानको प्रक्रियामा प्रयोगात्मक वा तार्किक तरिकालाई मात्र विशेष प्राथमिकता दिएको छ, जसले गर्दा यसले आफूलाई मानव मनको साधारण क्षमता वरपर मात्रै सीमित राखेको छ । आधुनिक शिक्षाले पनि यही तरिकालाई दोहोऱ्याएको छ, अनि व्यक्तिको ग्रहणशील क्षमतालाई बेवास्ता गरेको छ । यस्तो माहोलमा, गुरुमा हुने यस्तो भित्री दृष्टि, जुन तर्कहरूभन्दा पर हुन्छ, त्यसमाथि निकै शङ्का गरिन्छ । तथापि, इतिहासभरि यो देखिएको छ कि एक जिज्ञासु स्वाभाविक रूपमा गुरुतर्फ आकर्षित हुन्छन् । आध्यात्मिक मार्गदर्शनको यो चाहनालाई पूरा गर्नको लागि केही दूरदर्शी गुरुहरूले यस्ता ऊर्जा केन्द्रहरू स्थापना गरेका छन्, जुन गुरुको सानिध्य र गुरुको ऊर्जा जस्तै हुन्छन् ।

ध्यानलिङ्ग, गुरुको परम अभिव्यक्ति हो । यो योग विज्ञानको अन्तर्निहित सार हो, जसले भित्री ऊर्जाहरूलाई तिनको चरम अवस्थामा व्यक्त गर्दछ ।

१२. शिवलिङ्ग— पूरै ब्रह्माण्डमा फैलिएको स्तम्भ



कथा यसरी अघि बढ्छ... एकपटक ब्रह्मा र विष्णु आगोको विराट स्तम्भ अगाडि आइपुगे । तेजिलो प्रकाश प्रवाह भइरहेको सो अन्तहीन स्तम्भबाट ॐ ध्वनी गुञ्जिरहेको थियो । यसबाट चकित परेर दुवैले यसको खोज गर्ने निर्णय गरे । ब्रह्माले हाँसको रूप लिए अनि स्तम्भको शीर भेट्टाउन निलो आकाशमा निकै उचाइमा गए । विष्णुले वराहको रूप लिए अनि स्तम्भको फेद भेट्टाउन ब्रह्माण्डको गहिराइमा गए ।

दुवै असफल भए । किनकि, त्यो विराट स्तम्भ अरू कोही नभएर स्वयं शिव थिए । जो असीमित छन्, उनलाई कसरी नाप्न सकिन्छ र ? जब विष्णु फर्किए, उनले आफ्नो हार स्वीकार गरे । तर, आफ्नो हार स्वीकार गर्न नचाहेका ब्रह्माले स्तम्भको शीर भेटेको धाक लगाए । प्रमाणको रूपमा उनले एउटा सेतो केतकीको फूल देखाए अनि स्तम्भको शिखरमा भेटेको दाबी गरे ।

यो झुठ उच्चारण हुनासाथ आदियोगी शिव प्रकट भए । दुवै देवताहरूले शिवलाई झुकेर नमन गरे । ब्रह्माले झुठ बोलेका हुनाले शिवले घोषणा गरे— अब उपरान्त, पूजा–आराधना गरिने सौभाग्यबाट ब्रह्मा वञ्चित हुनेछन् । यस्तो जघन्य अपराधमा केतकीको फूलले पनि साथ दिएको हुनाले त्यसले समेत आफ्नो महत्त्व गुमायो । आदियोगीले त्यस उपरान्त सो फूललाई अर्पणको रूपमा लिनबाट अस्वीकार गरे । तथापि, महाशिवरात्रिको पवित्र रातको लागि छुट दिइयो । वर्षको सबैभन्दा अन्धकार रात अनि असीम आध्यात्मिक सम्भावनाहरूको रात, महाशिवरात्रिमा केतकीको सेतो फूललाई पूजाको लागि अर्पण गरिन्छ ।

    Share

Related Tags

रहस्यवाद

Get latest blogs on Shiva

Related Content

शिव र काली— तान्त्रिक प्रतीकको अर्थ